नेपालमा बढ्दो डिजिटल बजार र यसका फाइदा–बेफाइदा

चिनजानको पसलबाट खरिद गरेको सामान फिर्ता गरे वा साटेजस्तो सहजता अनलाइन बजारमा नहुँदा धेरै ग्राहकले थप झन्झट बेहोर्नु परिरहेको छ।

डिजिटल प्रविधि र च्यानलको प्रयोगबाट वस्तु तथा सेवाको खरिदबिक्री तथा खरिदबिक्रीलाई सहायता प्रदान गरिन्छ भने त्यो डिजिटल बजार हो। संसारमा डिजिटल बजारीकरणको इतिहास उति पुरानो नभए पनि पछिल्लो दशकमा यसप्रतिको आकर्षण र लोकप्रियता ह्वात्तै चुलिएको छ। व्यस्त जीवनशैली र अन्तर्मुखी स्वभावका मानिसका लागि त यसको प्रयोग झनै फलदायी बन्न पुगेको छ।

डिजिटल मार्केटिङ शब्दको प्रयोग सन् १९९० ताका शुरू भएको हो। इन्टरनेट सेवा तथा वेब प्लेटफर्मको विकास सँगसँगै डिजिटल मार्केटिङको शुरूआत र लोकप्रियताको रेखा क्रमशः उकालो लागेको इतिहास देख्न सकिन्छ। सन् १९९४ मा इन्टरनेटको दुनियाँमा याहुको जन्म भएलगत्तै डिजिटल मार्केटिङको दायरा फराकिलो हुँदै गयो।

विभिन्न ‘सर्च इन्जिन’ प्रवर्द्धक कम्पनीहरूले आफ्नो खोज इन्जिनलाई प्रतिस्पर्धी र चुस्त बनाउन हर सम्भव प्रयत्न गर्दै गए। सन् १९९६ मा हटबट, लुकस्मार्ट र एलेक्साजस्ता थप खोज इन्जिन र उपकरणको उदय भयो, जसले डिजिटल बजार क्षेत्र विस्तार गर्दै लगिरहेको थियो। सन् १९९८ मा गुगलको जन्म भएपछि त इन्टरनेटको बिस्तार र डिजिटल बजारले फड्को नै मार्‍यो।

सन् १९९९ मै काठमाडौँ उपत्यकाका उपभोक्तालाई लक्षित गरेर शुरू भएको ठमेल डटकम र सन् २००० मा स्थापना भएको मुन्चाडटकमलाई नेपालको डिजिटल मार्केटको पायोनियर मानिन्छ। नेपालमा भर्खर-भर्खर इन्टरनेट सेवा विस्तार भइरहेको समय, खासगरी विदेश बस्ने नेपालीले नेपालमा (शुरूमा काठमाडौँ उपत्यकामा) बस्ने आफ्ना आफन्तका लागि उपहार पठाउन अत्यन्तै उपयोगी मानिएको अनलाइन बजारको प्लेटफर्मको रूपमा परिचित उल्लेखित कम्पनी कुनै बेला विदेशमा बस्ने नेपालीमाझ अत्यन्तै लोकप्रिय डिजिटल बजार च्यानल हुन्।

पछि बिस्तारै विभिन्न थप स्वदेशी तथा विदेशी कम्पनी थपिँदै गए। हाल नेपालको ग्रामीण क्षेत्रसम्म इन्टरनेटको पहुँच विस्तार भइरहेको अवस्थामा डिजिटल प्लेटफर्ममा आधारित बजारको लोकप्रियता दिनानुदिन बढ्दै छ।

हाल संसारमा अमेजन, इबे, एट्सी, वालमार्ट, अलिएक्सप्रेस, राकुटेनलगायत कम्पनीले डिजिटल बजार प्लेटफर्मको नेतृत्व गरिरहेका छन् भने नेपालमा दराज, सस्तोडिल, पठाओ , इनड्राइभ, फुडमान्डु, हाम्रो बजार, ठमेल डटकम, मुन्चा, स्मार्ट डोको, ग्यापूलगायत विभिन्न अनलाइन बजार प्लेटफर्मले नेपालको अनलाइन बजार बिस्तारको नेतृत्व गरिरहेका छन्।

सर्वसाधारण नेपालीमाझ इन्टरनेटको सहज पहुँच र साक्षरतामा भएको अभिवृद्धिसँगै नेपालमा डिजिटल बजारको लोकप्रियता दिनानुदिन उकालो चढ्दै छ। सामानको तस्वीर (कहिलेकाहीँ भिडियोसमेत) उपलब्ध हुने, मूल्य निश्चित हुने, बजार गएर सामान खोज्ने र मूल्य बार्गेनिङ गर्ने झन्झट नहुने तथा सामान आफ्नै ढोकासम्म आइपुग्ने कारणले पनि अनलाइन बजार तथा डिजिटल बजारप्रति मानिसको झुकाव बढ्दो क्रममा छ। संसारभर र नेपालमा पनि अनलाइन बजारको यो तहको विकास भएको थिएन भने मानिसको जीवनशैली कति असहज हुन्थ्यो भनेर अनेकौँ कोणबाट परिकल्पना गर्न सकिन्छ।

नेपालको बैंकिङ प्रणाली नै हालको तहको डिजिटल प्रविधिमा जोडिएको थिएन भने ससानो बचत र भुक्तानी गर्नसमेत बैंकको शाखामा घण्टौँ लाइन लाग्नुपर्ने बाध्यता आइपर्ने थियो। डिजिटल भुक्तानी, रकम स्थान्तरणलगायत विविध सेवा सुविधा डिजिटल प्लेटफर्ममा उपलब्ध हुँदा धेरै सर्वसाधारण नेपालीले सहजताको महसुस गर्न पाएका छन्, भलै त्यसको लागत र सेवाको गुणस्तरबारे बहस र समीक्षा जरुरी छ। 

नेपालमा डिजिटल बजारको लोकप्रियतासँगै यसका सेवा र गुणस्तरबारे विभिन्न टीकाटिप्पणी र गुनासोसमेत सुनिने गरेका छन्। जनचेतनाको अभाव तथा अपरिपक्व खरिद निर्णयले गर्दा अनलाइनमार्फत खरिद गरिएका सामानमा ठगिएको अनुभव पनि आफन्त-साथीभाइबीच तथा सामाजिक सञ्जालमा देखिने-सुनिने गरेका छन्। त्यस्तै, अनलाइन प्लेटफर्मले बनाएका जटिल कर्मकाण्डी प्रक्रियाका कारण सामान फिर्ता गर्न अप्ठ्यारो पर्ने गरेको टिप्पणी धेरै पटक सुनिएको छ।

यो पनि पढ्नुहोस्: जुम्रोले झैँ बजार उपभोक्तालाई चुस्छ, सरकार घुर्दै सुत्छ

नेपालको सन्दर्भमा डिजिटल बजारका राम्रा र नराम्रा पक्ष केलाएर नराम्रा पक्ष सुधार्न सके सूचना प्रविधिमा दिनानुदिन फड्को मारिरहेको संसारको गतिसँगै नेपाली बजारलाई अगाडि बढाउन थप मद्दत पुग्नेछ। नेपाली ग्राहकको तर्फबाट हेर्दा देखिने नेपालमा डिजिटल बजारको केही फाइदा तथा बेफाइदा नियालौँ: 

फाइदा

१. सहज खरिद: ग्राहकले घर-कार्यालय वा आफ्नै स्थानमा बसेर अनलाइन प्लेटफर्म र इ-कमर्सका विभिन्न प्लेटफर्मको प्रयोग गरी सामान हेर्न र त्यसको निश्चित मूल्य हेरेर चित्त बुझे खरिद आदेश अगाडि बढाउन सकिने हुनाले यो बजार एक उपयोगी बजार बन्न पुगेको छ। सर्वसाधारण ग्राहकको निम्ति बजार गएर मूल्यमा बार्गेनिङ गरेर खरिद गर्नुभन्दा अनलाइनमार्फत गरिने खरिद तुलनात्मक रूपमा बढी सहज छ। 

२. समयको बचत: सर्वसाधारणको जीवनशैली निक्कै व्यस्त बन्दै गइरहँदा निश्चित समय सीमाभित्र असीमित काम गर्नुपर्ने बाध्यता तथा शहरी क्षेत्रमा यातायातको अस्तव्यस्तताले गर्दा मानिसको समय पहिलेभन्दा मूल्यवान् बन्दै गइरहेको छ। यसर्थ, डिजिटल बजारमार्फत गरिने खरिदले ग्राहकको समय बचत गर्छ। 

३. बृहत् विकल्प: कुनै निश्चित बजारमा गएर सामान खरिद गर्दा सीमित विकल्प मात्रै भेटिन्छन्। अनलाइन बजारमा आफ्नो बजेट सीमाभित्र तुलनात्मक रूपमा विविध विकल्प भेटिन्छन्, ग्राहकको निम्ति धेरै खुशीको कुरो हो। यहाँ उपलब्ध विकल्पमध्ये ग्राहकले उत्तम विकल्प छनोट गर्न सक्छन्। 

४. छुट र अफर: अनलाइन बजार प्लेटफर्मले विभिन्न चाडपर्व तथा विशेष समयमा छुट तथा 'अफर' प्रस्ताव गरिरहेका हुन्छन्। अनलाइनबाटै छुट र अफरको जानकारी हुँदा ग्राहकको खरिद क्षमता बढ्न जान्छ र बिक्रेताको बिक्रीसमेत बढ्छ।

५. तुलना गर्न सहज: भौतिक बजारका पसल-पसल चहार्दै मूल्य र गुणस्तर तुलना गर्न आम ग्राहकको लागि निकै झन्झटिलो हुन्छ। अनलाइनमा उपलब्ध विभिन्न डिजिटल बजार प्लेटफर्ममा उपलब्ध वस्तु तथा सेवा र तिनको मूल्य र विशेषतासमेत घरमै बसी-बसी तुलना गर्न डिजिटल बजार निकै उपयोगी छ। 

६. मूल्यमा पारदर्शिता: सामान्यतया डिजिटल बजारकर्ताले वस्तु तथा सेवाको मूल्य आफ्नो अनलाइन प्लेटफर्ममै पारदर्शी तरिकाले देखाउने हुनाले ग्राहकले मूल्य चित्त बुझे खरिद आदेश अगाडि बढाउने र चित्त नबुझे खरिद आदेशअगाडि नबढाउने गर्न सक्छन्। त्यसो हुँदा ग्राहकले साधरणतया मूल्यमा ठगिएको अनुभव गर्नुपर्दैन। 

७. ढुवानीको सुविधा: डिजिटल बजारको महत्त्वपूर्ण विशेषता उपभोक्ताको स्थानसम्म नै ढुवानी सेवा हो। (यो प्राय: ठूला शहरबजारमा सीमित छ।) आफ्नो घर, कार्यालय वा आफू उपलब्ध हुने स्थानमा नै निश्चित ढुवानी खर्च जोडेर तथा 'नजोडीकन' डिजिटल बजारकर्ताले समान ढुवानी गर्दिने हुनाले बजारसम्म जान कठिनाइ हुने र समय पर्याप्त नहुने वर्गका लागि यो अत्यन्तै उपयुक्त खरिद प्रक्रिया हुन जान्छ। 

यी लगायत अन्य थुप्रै फाइदा तथा राम्रा पक्ष हुँदाहुँदै पनि नेपालमा डिजिटल बजारको प्रक्रिया र प्रयोगको सन्दर्भमा विविध प्रश्नहरू समेत उठ्ने गरेका छन्। डिजिटल बजारका केही नराम्रा पक्षलाई यसरी हेर्न सकिन्छ: 

१. इन्टरनेट पहुँच र भौगोलिक जटिलता: नेपालमा इन्टरनेटको विस्तार क्रमशः भइरहेको भए पनि अधिकांश भूभागमा इन्टरनेट सेवाको सहज पहुँच पुगिसकेको छैन, जसले गर्दा नेपालमा डिजिटल बजारको प्रयोग आम सर्वसाधारण नेपालीले सहज रूपमा गर्न पाएका छैनन्। अर्कोतर्फ, भौगोलिक क्षेत्रअनुसार इन्टरनेट सेवामा आउने समस्याले खरिद प्रक्रिया सम्पन्न गर्न निक्कै कठिनाइ उत्पन्न हुने गरेको छ। इन्टरनेट उपलब्ध हुँदा पनि अनलाइन प्लेटफर्म प्राय: शहरबजार केन्द्रित भएकाले तिनले जटिल भूगोलका ग्रामीण भेगसम्म सेवा दिँदैनन्, लागत बढ्न जानु पनि त्यसको कारण हुनसक्छ।  

२. गोपनीयता र सुरक्षा : डिजिटल बजारको प्रमुख समस्या भनेको व्यक्तिगत जानकारीको सुरक्षा हो। ग्राहकले अनलाइन भुक्तानी गर्दा आफ्नो क्रेडिट कार्ड र बैंक विवरण दिने हुनाले यो जानकारी चोरी हुने जोखिम रहन्छ। सुरक्षा र गोपनीयताको पर्याप्त ज्ञानको अभावमा तथा प्राविधिक ज्ञानको अभावमा फिसिङ र ह्याकिङजस्ता समस्याले ग्राहकको गोपनीयता संकटमा पार्न सक्छ।

३. गुणस्तरमा ठगिने डर : साथीभाइ/आफन्तबीचको कुराकानीमा तथा सामाजिक सञ्जालमा अत्यन्तै धेरै देखिने-सुनिने अर्को गुनासो हो अनलाइनमा देखाएजस्तो गुणस्तर पाइएन। अनलाइनमा राखिने वस्तु वा सेवाको फोटो/ भिडियोजस्तो खरिद गरिएको वस्तु वा सेवा नहुने तथा एउटा फोटो र भिडियो देखाएर अर्कै समान पठाउने समस्याले पछिल्लो समय डिजिटल बजारप्रति सर्वसाधारणको धारणा नकारात्मकसमेत बन्दै गएको छ।  

४. गुनासो तथा समस्या समाधानमा ढिलाइ : केही अनलाइन प्लेटफर्ममा ग्राहक सेवा अत्यधिक ढिलो र अप्रभावी हुन्छ। ग्राहकले उत्पादनको समस्या वा प्रश्नको जवाफ पाउन धेरै समय कुर्नुपर्ने हुन्छ। यसैगरी डिजिटल माध्यमबाट गरिने भुक्तानीमा आउने समस्याले पनि धेरै ग्राहक हैरान छन्। यस्ता किसिमका हैरानी र झन्झटले गर्दा ग्राहक डिजिटल बजारप्रति सन्तुष्ट हुन नसकेका प्रशस्त उदाहरण छन्। 

५. परिपक्व खरिद निर्णयको अभाव: डिजिटल बजारमा ग्राहकले खरिद गर्नुअघि उत्पादनलाई सिधै देख्ने/छाम्ने वा केही हदसम्म परीक्षण गर्ने अवसर मिल्दैन। कपडा, फर्निचर, र इलेक्ट्रोनिक्सजस्ता उत्पादनको भौतिक निरीक्षण गर्ने अवसर नपाउँदा ग्राहकलाई सही निर्णय गर्न गाह्रो हुन सक्छ। विभिन्न सामाजिक सञ्जाल र डिजिटल बजार प्लेटफर्ममा उपलब्ध वस्तुको फोटो र भिडियो हेरेर तुरुन्तै बहकिएर गरिने निर्णय अन्ततः अपरिपक्व ठहर्छ र धेरै ग्राहक पछुताउन पुग्छन्। अनलाइनमा देखाएजस्तो र व्याख्या गरिएजस्तो गुणस्तर नहुँदा धेरैजसो ग्राहकको खरिद निर्णय अपरिपक्व साबित हुँदै आएको छ। खर्च बचाउन खोज्दा झनै बढ्दै गएको समेत पाइन्छ।

६. फिर्ता गर्न तथा साट्न झन्झटिलो: चिनजानको पसलबाट खरिद गरेको सामान फिर्ता गरे वा साटेजस्तो सहजता अनलाइन बजारमा नहुँदा धेरै ग्राहकलाई थप झन्झट महसुस हुने गरेको छ। कुनै कारणवश सामान खोजे जस्तो नपाइएमा फिर्ता गर्ने सुविधा नेपालमा सञ्चालित धेरै जसो डिजिटल बजार प्लेटफर्ममा उपलब्ध छैन र भएकामा समेत खरिद गरिसकेपछि फिर्ता गर्न निक्कै झन्झट व्यहोर्नुपर्ने गुनासो सुनिन्छ। 

७. साक्षरता ज्ञानको अभाव: चेतना र साक्षरताको अभाव साथै प्रविधिलाई प्रयोग गर्ने क्षमता नपुग्दा नेपाली ग्राहकलाई वस्तु वा सेवाको छनोट गर्न र डिजिटल माध्यमबाट खरिद तथा भुक्तानी गर्न अझै पनि निकै कठिनाइ हुने गरेको छ। यसले गर्दासमेत घरका केही सदस्यले मात्रै यस्ता खरिद प्रक्रिया अपनाउन सक्छन्। 

नेपाली ग्राहकले डिजिटल बजारमा सुरक्षित र सन्तुष्ट अनुभव प्राप्त गर्न सामाजिक सञ्जाल, ग्राहकको गुनासो सम्बोधन र आत्म-समीक्षामा ध्यान दिनुपर्छ। यसले अनलाइन खरिदारीको अनुभवलाई बढी सुरक्षित र प्रभावकारी बनाउनेछ। व्यवसायले पनि डिजिटल बजारमा ग्राहकको विश्वास जित्न उच्चस्तरीय सेवा बिस्तार, पारदर्शिता र सुरक्षित लेनदेन सुनिश्चितता कायम गर्न जरुरी छ। 

अन्त्यमा,
नेपालमा डिजिटल बजारले ग्राहकको जीवनमा धेरै सुविधा ल्याएकोमा सायदै कसैको असहमति नरहला तर सुरक्षा तथा गोपनीयतामा थपिएको चुनौती र डिजिटल बजारमार्फत ठगिएको गुनासा डिजिटल बजारका अँध्यारा पाटा हुन्। इन्टरनेटको सहज पहुँच बिस्तार, वित्तीय/प्राविधिक साक्षरता अभिवृद्धि र सरकारी निकायको तर्फबाट उचित तथा प्रभावकारी नियमन गर्न सके नेपालको डिजिटल बजार थप विस्तार हुनेछ। स्वस्थ र स्वच्छ ढंगबाट डिजिटल बजार बिस्तार हुँदा ग्राहक, व्यवसायी र सरकार तिनै पक्षलाई फाइदा नै पुग्नेछ।