Friday, April 26, 2024

-->

जसपामा चर्कियो समस्या, उपेन्द्रविरुद्ध बनेको ‘मोर्चा’ विभाजनसम्मको तयारीमा

संघीय परिषद् अध्यक्ष अशोक राईलाई संसदीय दलको नेता बन्न कार्यकारी अध्यक्ष उपेन्द्र यादवले रोकेको भन्दै जसपामा असन्तुष्टि चुलिएको छ। राई समूह संसदीय दल र केन्द्रीय समितिमा 'मोर्चाबन्दी'मा लागेको छ।

जसपामा चर्कियो समस्या उपेन्द्रविरुद्ध बनेको ‘मोर्चा’ विभाजनसम्मको तयारीमा

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष अशोक राई पार्टी वरीयतामा पहिलो नम्बरमा र कार्यकारी अध्यक्ष उपेन्द्र यादव दोस्रो नम्बरमा छन्। प्रतिनिधिसभा निर्वाचनमा यादव सप्तरी–२ बाट पराजित हुँदा राई सुनसरी–१ बाट निर्वाचित भए। पहिलो वरीयतामा रहेका कारण राई सर्वसम्मत संसदीय दलको नेता बन्न चाहन्थे।

तर, गत बुधवार संसदीय दलको नेतामा पार्टीको राजनीतिक समिति सदस्य रामसहाय यादव चयन भए। राईले मैदान छाडेपछि रामसहाय सर्वसम्मत भएका थिए। तर, चुनाव लडेरै भए पनि संसदीय दलको नेता हुने तयारीमा थिए रामसहाय।

यद्यपि, संसदीय दलको निर्वाचनको लागि गठित निर्वाचन समितिले रामसहायको एकल उम्मेदवारी परेकोले उनी सर्वसम्मत निर्वाचित भएको सूचना सार्वजनिक गरेको थियो। राईसहित उनीनिकट सांसदले कुनै प्रतिवाद गरेका थिएनन्। यस्तो परिस्थितिको आकलन पहिले नै गरेको राई निकट एक नेताले बताए। 

संसदीय दलको नेता बनेका रामसहाय कार्यकारी अध्यक्ष उपेन्द्र निकटका नेता हुन्। उनले संसदीय दलको नेताका लागि चुनाव लड्ने बताएपछि राईले मैदान छाडे। उपेन्द्रकै योजनामा रामसहाय अगाडि सरेकाले राई पछि हटेको पार्टीका एक नेताको भनाइ छ।

रामसहाय मधेशी जनाधिकार फोरम स्थापनादेखि नै उपेन्द्रका विश्वासपात्र हुन्। पार्टी पटक–पटक विभाजन हुँदा हरेकपटक उनी उपेन्द्रसँगै छन्। शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारमा मन्त्री आलोपालो गर्न दबाव बनेपछि उपेन्द्रलाई विवाद मिलाउन सहज हुने गरी रामसहायले वन तथा वातावरण मन्त्री छाडेका थिए। त्यसपछि प्रदीप यादव मन्त्री बनेका थिए।

निर्वाचनअगाडि राई उम्मेदवार बन्ने वा नबन्ने नश्चित थिएन। जसपाका कतिपय नेताले राई एमालेमा जाने पनि बताएका थिए। तर निर्वाचनको लागि उम्मेदवारी मनोनयनभन्दा एक दिनअगाडि जसपाले एमालेसँग तालमेल गरेपछि उनी सुनसरी–१ बाट उम्मेदवार बने र एमालेको सहयोगमा विजयी भए। 

पार्टी स्रोतका अनुसार चुनावी गठबन्धका लागि उनले बढाएको प्रयास सफल हुने भएपछि मात्र एमाले पस्ने तत्कालीन योजना रोकेका थिए। तर, चुनावमा पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्रलाई सप्तरी–२ मा एमालेले साथ दिएन। 

निर्वाचनपछि मंसिर १८ गते पार्टी अध्यक्ष उपेन्द्रले विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै चुनावपछि एमालेसँग आफ्नो दलको सहकार्य सकिएको बताए। यस्तो अभिव्यक्ति दिएर सप्तरी–२ मा एमालेले साथ नदिएको रोष उपेन्द्रले पोखेको एक नेता बताउँछन्। लगत्तै अर्को दिन मंसिर १९ गते राईले उपेन्द्रको भनाइ व्यक्तिगत भएको बताए।

निर्वाचन अघिबाटै शुरू भएको राई र यादव टकराव निर्वाचन सम्पन्न भएको १५ दिनपछि सतहमै आयो। प्रतिद्वन्द्विताकै कारण संसदीय दलको नेता बन्ने बाटो थुनेर उपेन्द्रले पहिलो वरीयताका अध्यक्षलाई पार्टीमा कमजोर बनाएको राई पक्षका नेता बताउँछन्।

रामसहायलाई संसदीय दलको नेता बनाउँदा राई पक्षले प्रतिवाद नगरे पनि अब 'ठूलो झड्का' दिने तयारी गरिरहेको पार्टी स्रोत बताउँछ। संघीय परिषद् अध्यक्ष राईलाई सिरहा–२ बाट जितेका राजकिशोर यादव र पर्सा–१ बाट जितेका प्रदीपलगायतले साथ दिएका छन्। उनीहरू थप सांसदलाई आफूतिर तान्ने रणनीतिमा छन्। संसदीय दल र केन्द्रीय समितिमा ४० प्रतिशत पुर्‍याएर जसपा विभाजन हुने वातावरण भित्रभित्रै तयार भएको स्रोतको दाबी छ। 

सांसद प्रदीपले भने पार्टीमा त्यस्तो अवस्था नआएको प्रतिक्रिया दिए। “रामसहायजी संसदीय दलको नेता चयन हुनु भएपछि त्यसको विरोध भएको अवस्था छैन। सतहमा कुनै असन्तुष्टि पनि व्यक्त भएको छैन”, उनले भने, “शुरूमा संघीय परिषदका अध्यक्ष अशोक राईज्यूले आफू सर्वसम्मत भएमा संसदीय दलको नेता बन्ने इच्छा जनाउनुभएको थियो, तर निर्वाचनमा गएर मतदानबाट छानिने प्रक्रियामा उहाँ सामेल हुनु भएन।”

प्रतिनिधिसभामा १२ सांसद भएको जसपाले प्रत्यक्षमा सात र समानुपातिमा पाँच सिट हासिल गरेको छ। जसपाको राजनीतिक समितिको बैठक पुस १८ र १९ गते राखिएको छ। उक्त बैठकले पार्टीका विषयमा उठेका धेरै विषय टुंगो लगाउने प्रदीपले बताए।


सम्बन्धित सामग्री