Friday, March 29, 2024

-->

टीकापुरजस्तै हत्याकाण्ड, तर कसरी ‘उन्मुक्ति’ पाए लक्ष्मी महतोले?

महोत्तरी–१ बाट निर्वाचित एमाले सांसद लक्ष्मी महतो कोइरी सशस्त्र प्रहरीका घाइते असईलाई एम्बुलेन्सबाट थुतेर हत्या गरेको घटनाका ‘फरार अभियुक्त’ हुन्। काठमाडौँ आउजाउ गरिरहने उनी पक्राउ भने पर्दैनन्।

टीकापुरजस्तै हत्याकाण्ड तर कसरी ‘उन्मुक्ति’ पाए लक्ष्मी महतोले

काठमाडौँ– महोत्तरी क्षेत्र नम्बर १ लामो समयदेखि माओवादीको ‘किल्ला’ जस्तै बनेको थियो। नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले २०६४ सालयता त्यहाँबाट प्रत्येक निर्वाचन जित्दै आएका थिए। गत मंसिर ४ को निर्वाचनमा भने उनी पहिलोपटक त्यही क्षेत्रबाट पराजित भए।

पोखरेललाई पराजित गर्ने अरू कोही नभएर निर्वाचनको मुखैमा नेकपा एमालेमा प्रवेश गरेका लक्ष्मी महतो कोइरी थिए। महतो २३ हजार ४०२ मतसहित प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदा पोखरेलले २२ हजार ३७२ मत पाए। 

२०७४ सालमा पनि महतो यही क्षेत्रबाट उम्मेदवार बनेका थिए। त्यसबेला संघीय समाजवादी फोरमबाट उम्मेदवार बन्दा उनी पोखरेलसँग पराजित भएका थिए। त्यसबेला पोखरेल २३ हजार ७७३ मत ल्याएर प्रतिनिधिसभा निर्वाचित हुँदा महतोले १९ हजार ४९२ मत प्राप्त गरेका थिए। यसपालि जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवार बन्न चाहेका उनी टिकट नपाएपछि एमाले प्रवेश गरेका थिए। 

एमाले प्रवेश गरेका महतोको रोचक पक्ष के भने उनी आफैँ उम्मेदवारको मनोनयन दर्ता गराउन गएका थिएनन्, वारेसमार्फत उम्मेदवारी दिएका थिए। निर्वाचित भएपछि मुख्य निर्वाचन अधिकृतबाट प्रमाणपत्र लिन पनि गएनन्। प्रमाणपत्र पनि वारेसले नै लिइदिए। कारण महतो अहिले पनि ‘फरार अभियुक्त’ हुन्, त्यो पनि एउटा जघन्य अपराधको।

संविधानसभाबाट संविधान जारी गर्ने अन्तिम तयारी चलिरहेका बेला २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा संयुक्त थरुहट/थारुवान संघर्ष समितिले गरेको आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र २० महिनाको एक नाबालकको हत्या गरिएको थियो। सुरक्षाकर्मीलाई आन्दोलनमा सहभागी समूहले भाला रोपेर विभत्स तवरले हत्या गरेको थियो भने घरभित्रै खेलिरहेका नाबालकलाई गोली लागेको थियो। यो घटनाका योजनाकार भनेर मुद्दा चलाइएका रेशम चौधरी जिल्ला र उच्च अदालतको फैसलापछि अहिले कारागारमा छन्। उनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। 

रेशमसँगै टीकापुर घटनामा संलग्न रहेको अभियोगमा मुद्दा चलाइएकामध्ये केही कारागारमा छन् भने केही अहिलेसम्म फरार छन्।  

टीकापुर घटनाकै झल्को दिनेगरी त्यसको करिब दुई सातापछि, भदौ २५ मा पूर्वी मधेशको महोत्तरीमा पनि त्यस्तै विभत्स घटना भएको थियो। जारी गर्न लागिएको संविधानमा ‘मधेशीका अधिकार कटौती गरिएको’ भन्दै मधेशकेन्द्रित दलहरू आन्दोलनमा उत्रिएका थिए। त्यहीक्रममा उनीहरूले महोत्तरीको जलेश्वर बेसक्याम्पमा कार्यरत सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकसहितका सुरक्षाकर्मी र मधेशकेन्द्रित दलहरूको ‘मधेशी मोर्चा’का कार्यकर्ताबीच झडप भयो। मोर्चाका कार्यकर्ताले विकलाई नियन्त्रणमा लिएर लाठी, लात्ती, मुक्काले कुटपिट गरी गम्भीर घाइते बनाए।  

घाइते विकलाई त्यहाँबाट उद्धार गरी प्रहरीले उपचारका लागि जिल्ला अस्पताल जलेश्वर पुर्‍यायो। तर, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई सशस्त्र प्रहरी बलको जिल्ला कमान्ड पोस्ट सुरक्षा बेस महोत्तरीले जिल्ला अस्पतालको एम्बुलेन्समा राखेर जनकपुर अञ्चल अस्पताल लैजाँदै थियो। त्यहीक्रममा मोर्चाका कार्यकर्ताले एम्बुलेन्समै आक्रमण गरे। महोत्तरी गाउँपालिका–८, सोनउखडामा उनलाई एम्बुलेन्सबाट निकालेर धानखेतमा लगी हत्या गरियो। आन्दोलनकारीले एम्बुलेन्स पनि जलाइदिए।

हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले मोर्चाका केही कार्यकर्तालाई पक्राउ गरेर महोत्तरी जिल्ला अदालतमा पेस गरेको थियो। त्यसमा लक्ष्मी महतो कोइरी पनि थिए। 

महोत्तरी जिल्ला अदालतले महतोलाई एक लाख धरौटी लिएर साधारण तारेखमा छाड्न आदेश दियो। २०७६ असोज २ गते महोत्तरी जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीको इजलासले महतोलाई ‘मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ र ७२ बमोजिम एक लाख रुपैयाँ नगद धरौटी लिई साधारण तारेखमा राख्ने’ आदेश दिएको थियो। 

त्यो आदेशविरुद्ध सरकार २०७६ मंसिर १० गते पुनरावेदनमा गयो। उच्च अदालत जनकपुरले त्यसमाथि सुनुवाइ गर्दै जिल्ला अदालतको आदेशमा त्रुटि भएको ठहर गरेको थियो। उच्च अदालत जनकपुरका न्यायाधीशद्वय पुष्पराज कोइराला र प्रभा बस्नेतको संयुक्त इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम २०७७ मंसिर १९ मा महतोलाई थुनामा राखी पुर्पक्ष गर्न आदेश दिएको थियो।

“लक्ष्मी महतोसमेत वारदातमा संलग्न रही मृतकलाई कुटपिट गरेको भनी बोल गरेका र मिसिल संलग्न शव परीक्षण प्रतिवेदन समेतमा तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादी निर्दोष रहेनछन् भन्न र अभियोग दाबी बमोजिमको कसुर गरेको रहेनछन् भनी तत्काल प्राप्त प्रमाणबाट भन्न सकिने अवस्था नदेखिँदा”, उच्च अदालत जनकपुरले महोत्तरी जिल्ला अदालतलाई २०७७ मंसिर १९ मा दिएको आदेशमा लेखिएको छ– “प्रतिवादीलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नुपर्नेमा यहाँ अदालतबाट सोही ऐनको दफा ६८ र ७२ बमोजिम यी प्रतिवादीबाट १ लाख धरौटी वा जेथा जमानी माग्ने गरी २०७६ असोज २ गते मा भएको आदेश मिलेको नदेखिँदा बदर गरिदिएको छ। अब पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा प्रतिवादी लक्ष्मी महतोलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम थुनैमा राखी मुद्दाको पुर्पक्ष गर्नू।”  

उच्च अदालत जनकपुरको आदेशपछि महतो पक्राउ पर्नुपर्ने हो। तर, उनी तारेख बेवास्ता गरेर अदालतको सम्पर्कमा आएनन्। उनी अहिले पनि ‘फरार सूची’मा छन्।

फरार अभियुक्तले कसरी जिते चुनाव?
महोत्तरी–१ मा यसअघि तीनवटा निर्वाचन माओवादीले चुनाव जितेको थियो। यसपटक माओवादी एक्लै थिएन, उसलाई सत्तागठबन्धनका नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीको साथ पनि थियो। तर, माओवादीका उम्मेदवार गिरिराजमणि पोखरेल पराजित भए। महतो विजयी भए। २०७४ को निर्वाचनमा पोखरेलसँग करिब ४ हजारको मतान्तरले पराजित भएका महतोले जसपाको संगठन नभएका बेला पनि १९ हजार मत ल्याएको र यसपटक एमालेको साथ पाउँदा जित्ने अवस्थामा पुगेको माओवादीका प्रदेशस्तरीय नेता राजन ढुंगाना बताउँछन्। 

महोत्तरी–१ को भूगोलले पहाड र मधेश दुवैलाई समेट्छ जहाँ मिश्रित समुदायको बसोबास छ। यहीकारण यसपालि जातीय ध्रुवीकरण हुँदा माओवादीले हार बेहोर्नुपरेको उनको दाबी छ। माओवादी केन्द्रका मधेश इन्चार्ज गणेश शाह पनि यसपालि माओवादी आन्तरिक रूपमा कमजोर भएकाले महतोको जित सम्भव भएको बताउँछन्। “हामी स्थानीय निर्वाचनमा पनि हारेका थियौँ, त्यसलाई आमनिर्वाचनमा बेवास्ता गरियो”, शाहले भने, “यसपटक समुदायगत ध्रुवीकरण जस्तो पनि देखियो। त्यसको लाभ लक्ष्मी महतोलाई भयो।” महतोले अत्यधिक पैसा र बाहुबल पनि प्रयोग गरेको दाबी साहको छ। 

यसपालि पनि महतो जसपाबाट उम्मेदवार बन्ने आशामा थिए। तर, जसपाबाट टिकट नपाउने भएपछि उनी मनोनयन पत्र दर्ता गर्ने दिने, गत असोज २३ गते एमाले प्रवेश गरेका थिए। त्यही दिन एमालेबाट उनले महोत्तरी–१ बाट प्रतिनिधिसभा सदस्यमा वारेसमार्फत उम्मेदवारी दर्ता गराए। एमालेका युवा नेता गुरु भट्टराई भने महतो एक वर्षदेखि नै एमाले प्रवेश गर्ने तयारीमा रहेको दाबी गर्छन्। 

“उहाँ पहिले पनि एमाले पृष्ठभूमिकै मान्छे हो, मधेश आन्दोलनका क्रममा उता लाग्नुभएको मात्र हो। उहाँ एक वर्ष अघिदेखि नै एमाले प्रवेश गर्नका लागि विभिन्न चरणमा पार्टीसँग सम्पर्कमा हुनुहुन्थ्यो”, उनले भने, “कुराकानी भइराखेकै थियो, रातारात एमालेले ल्याएको भन्ने कुरा सत्य होइन। उपयुक्त समयमा आउँछु भन्दाभन्दै अन्तिममा यो चुनाव लड्छु भनेर स्वीकार गर्नुभएको हो।”  

निर्वाचनमा उम्मेदवारी दर्ता गरेसँगै महतोबारे धेरै विषय बाहिर आए। भदौ २५ को जघन्य अपराधमा संलग्नता, उनीमाथि चलेको हत्याको मुद्दा र अहिले पनि फरार सूचीमा रहेको विषय चर्चामा आयो। तर, एमालेले त्यसलाई वास्ता गरेन। बरु उनको बचाउमा लाग्यो। भट्टराई भन्छन्, “असोज ३१ गते उहाँ बालकोटममै पुगेर पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभयो। मैले कैयौँपटक भेटेर कुरा गरेको छु। उहाँ लुकिलुकी हिँडेको भनेको कपोकल्पित कुरा हो।”  

एमालेले महतो सशस्त्रका असई विकको हत्यामा संलग्न नभएको भन्दै प्रतिरक्षा समेत गरिरहेको छ। “लक्ष्मी महतोजीले हिजो मधेश आन्दोलनमा एउटा एरियाको नेतृत्व गरेको हो। त्यहाँ प्रहरी मारिएको भन्ने विषय आयो। तर त्यसमा उहाँ आफै संलग्न भएको होइन। जसले मार्‍यो, ठ्याक्कै संलग्न भएका दुईजना मान्छे जेलमा छन्”, भट्टराईको तर्क छ, “लक्ष्मी महतोलाई अपराधी भन्ने हो भने माओवादीले त देशैभर चुनाव लड्नै भएन नि। बाबुराम भट्टराईदेखि अग्नि सापकोटा, गिरिराजमणिहरूमाथि पनि त अभियोग लागेको थियो। उनीहरूले चाहिँ एम्नेस्टी पाउने, प्रधानमन्त्री हुने, मन्त्री हुने सारा चिज हुने, अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा चलिरहेका बेला सभामुख हुने। लक्ष्मी महतोले चाहिँ गिरिराजमणिलाई हरायो भनेर अपराधी भन्ने?” 

महोत्तरी जिल्ला अदालतका शाखा अधिकृत महेन्द्र झाका अनुसार उच्च अदालत जनकपुरबाट महतोलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश भएपछि महतो अदालतमा उपस्थित नै भएनन्। “अदालतबाट थुनामा राख्ने आदेश भएपछि उनी आउनुपर्ने हो, त्यसपछि हामीले थुनामा लैजान प्रक्रिया थाल्ने हो, तर उनी अदालतमा उपस्थित नभएर फरार नै छन्”, उनले भने। एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोटसम्म पुगिरहेका ‘फरार सूची’का महतोलाई प्रहरीले पनि अहिलेसम्म ‘फेला नपार्नु’ अनौठो कुरा भएको छ।


सम्बन्धित सामग्री