Saturday, April 20, 2024

-->

नेपाली ग्राहकले गुल्जार रक्सौल : बालेन शाह ‘पोष्टर बोई’, पसलका साइनबोर्ड नेपालीमा

नेपाली ग्राहकका लागि वीरगन्जपारिको भारतीय बजार रक्सौलका व्यापारीले साइनबोर्ड पनि नेपालीमा लेख्ने गरेका छन्। नेपालतर्फ दैनिक उपभोग्य मात्र नभई अन्य सामानसमेत महँगो हुँदा उताको बजार गुल्जार बनेको छ।

नेपाली ग्राहकले गुल्जार रक्सौल  बालेन शाह ‘पोष्टर बोई’ पसलका साइनबोर्ड नेपालीमा
रक्सौलको चश्मा पसलमा बालेन शाहको तस्वीरसहितको साइनबोर्ड। तस्वीरः रितेश/उकालो

रक्सौल (भारत)– वीरगन्जस्थित नेपालको सीमाबाट नजिकै पर्ने भारतीय शहर रक्सौलको मुख्य बजार बैंक रोडमा एउटा चश्मा पसल छ। त्यसको साइनबोर्डमा काठमाडौँ महानगरका मेयर बालेन शाहको चश्माधारी तस्वीर राखिएको छ। उनको तस्वीर राख्नुको एउटै उद्देश्य हो नेपाली ग्राहकलाई आकर्षित गर्नु।

रक्सौलका कतिपय पसलका नाम पनि नेपालीबाटै राखिएका छन्। ‘जय नेपाल साडी शोरुम’, ‘नेपाल इलेक्ट्रोनिक’ जस्ता पसल रक्सौलकै पुराना मानिन्छन्। साइनबोर्डमा पनि हिन्दी वा स्थानीय भोजपुरी भाषाको दोकान शब्द नराखेर ‘पसल’ लेखिएको छ। ‘हामी कहाँ फलानो बस्तु पाइन्छ’ जस्ता जानकारी पनि नेपालीमै लेखिएका छन्। 

नेपाल–भारत सीमा दशगजापारिको रक्सौल स्टेसनमा ओहोरदोहोर गर्ने रेलको आवाज वारि वीरगन्जमा स्पष्टै सुनिन्छ। सीमावारि वीरगन्जका स्थानीय दैनिक उपभोग्यलगायत अन्य सामान किन्न रक्सौल पुग्छन्। उताको रहनसहन, संस्कृति, भाषा र जीवनशैली यताको जस्तै छ। त्यसैले पनि पारि गएर सामान किन्न नेपाली उपभोक्तालाई समस्या छैन।

तर, नेपाली उपभोक्ता पारिको बजारमा आकर्षित हुनुको प्रमुख कारण भने यताको महँगी हो। खाद्यबस्तु मात्र नभइ लत्ताकपडा, भाँडा, विद्युतीय सामग्री, सौन्दर्य सामग्रीलगायत हरेक बस्तु उता सस्तोमा पाइन्छ। त्यसकारण, मकवानपुर र चितवनदेखिका मानिस किनमेलका लागि रक्सौल पुग्ने होटल व्यावसायी संघ पर्साका अध्यक्ष हरि पन्त बताउँछन्। नेपाली ग्राहकलाई ध्यानमा राखेर नै रक्सौलका व्यापारीले साइनबोर्ड नेपाली भाषामा लेखेको उनको भनाइ छ।

वीरगन्ज र रक्सौललाई जोड्ने मितेरी पुल।

“भारतीय पाहुनाहरू हाम्रो होटेलमा आउँदा हामीले उनीहरूसँग हिन्दीमा कुरा गरेजस्तै हो उनीहरूले बोर्डमा नेपाली राख्नु”, पन्तले भने, “पछिल्लो समय किनमेल गर्नैका लागि पारिको बजार पुग्नेको संख्या झनै बढेको हामीले पनि महसुस गरेका छौँ।” नेपाली ग्राहक पारि जाने हुँदा वीरगन्जका भन्दा रक्सौलका पसल बढी गुल्जार हुने उनी बताउँछन्।

स्थानीय व्यावसायीहरूका अनुसार २०७२ सालको भूकम्पपछि रक्सौल जाने नेपालीको संख्या घटेको थियो। २०७२ असोज ३ मा संविधान जारीपछि भएको मधेश आन्दोलनका कारण  झण्डै चार महिना नाका बन्द हुँदा रक्सौल बजार सुकेको थियो। नाका बन्द भएपछि नेपालमा अत्यावश्यक बस्तुको अभाव भएपछि तस्करी पनि बढेको थियो। 

वीरगन्ज–रक्सौल नाकामा धर्ना बसेका नेपाली आन्दोलनकारीलाई शुरूमा रक्सौलका स्थानीयले खानेकुरा र पानी दिएर सहयोग गरेका थिए। तर, व्यापार चौपट हुँदै गएपछि माघ २३ गते धर्नास्थलमा राखिएको त्रिपाल उखेलेर फालिदिएका थिए। नाका सञ्चालन गर्नुपर्ने उनीहरूको माग थियो।

मधेश आन्दोलन र नाकाबन्दी सकिएपछि पनि नेपाली ग्राहक रक्सौल फर्किएनन्। रक्सौलका व्यापारी दीपककुमार रौनियार भन्छन्, “नेपालीले नयाँ साल, त्यसपछि आउने तीज र दशैँमा किनमेल गर्छन्। चाडबाडका लागि हामीले कपडाहरू ल्याएका हुन्छौँ। मधेश आन्दोलनपछि पनि नेपाली ग्राहक नआउँदा त्यो साल ल्याइएको रातो साडीलगायत सामान दुई वर्षमा जेनतेन सल्टाइयो।”

उनका अनुसार पछिल्लो समय भने रक्सौल बजार पुरानो लयमा फर्किएको छ। नेपाली ग्राहकहरूको घुइँचो बढेको छ। रक्सौल चेम्बर अफ कमर्श टेक्सटाइलका अध्यक्ष अरुण कुमारका अनुसार रक्सौलमा हुने समग्र कारोबारको करिब ८० प्रतिशत नेपाली ग्राहकका कारण हुन्छ। उनी यसलाई ‘दुई देशबीचको विशिष्ट सम्बन्ध’ भन्छन्। 

तर, सीमापारिको बजार गुल्जार हुँदा वारि आफूहरूलाई भने व्यवसायमा टिकिराख्नै मुस्किल हुन थालेको वीरगन्जका व्यापारी सचिन अग्रवाल बताउँछन्। “एक त मानिसहरूको किनमेल गर्ने क्षमता घटेको जस्तो देखिन्छ। त्यसमाथी जो किन्नेहरू छन्, रक्सौल पुगिरहेका छन्। हामीलाई सटर भाडा तिर्न, स्टाफलाई तलब दिन र बैंकको ब्याज तिर्न धौधौ छ,” कपडा व्यवसायी अग्रवाल भन्छन्, “बडो मुस्किलले बजारमा टिकेका छौँ।” 

नेपाली ग्राहक भारतीय बजार पुग्नुको प्रमुख कारण उता सस्तोमा सामान पाउनु नै भएको उद्योग वाणिज्य महासंघ मधेश प्रदेश समिति सदस्य अशोक टेमानी बताउँछन्। “यताको महँगी नै ग्राहक भारतीय बजार जानुको प्रमुख कारण हो। हेटौँडा, नारायणघाटसम्मका व्यवसायी र उपभोक्ता सामान किन्न रक्सौल पुग्छन्”, टेमानीले भने, “ग्राहकको मनोविज्ञान र परम्परागत चलन पनि कारण छन्।”

वीरगन्ज नाकास्थित शंकाराचार्य गेट।

उनका अनुसार नेपालमा उत्पादन हुने डाबर दन्तमन्जन पनि कतिपय ग्राहकले सस्तो ठानेर पारिबाट किन्ने गरेका छन्। “पहाडतिरका ग्राहकलाई भारतीय बजारको छाप झनै धेरै छ। बिहेबारीमा लताकपडा किन्न पारि जाने चलन तराइका ग्राहकमा पनि छ, नेपाली उत्पादनका कपडामा धेरै भेराइटी उपलब्ध नहुने भएकोले पनि उता जाने चलन चलेको हो।”

सुक्तै गएको नेपाली बजार उकास्ने ‘समाधानको साँचो’ संघीय सरकारसँग भएको टेमोनी बताउँछन्। भारतमा १८ देखि २८ प्रतिशत ‘जीएसटी’ (गुड्स एण्ड सर्भिस टेक्स) जोडेर सामानहरू बिक्री हुन्छ। “त्यहाँ जाने नेपालीले पनि जीएसटी तिरेरै सामान किन्नुपर्छ। भारतीय जीएसटीको बराबर हुनेगरी भन्सार महशुल नेपाल सरकारले कायम गरिदिने हो भने यो समस्या धेरै हदसम्म समाधान हुन्छ”, इन्डो–नेपाल इकोनोमिक फोरमका संयोजक रहेका टेमानीले भने, “सरकारलाई हामीले लिखित रुपमै सुझाव दिएको छौँ।”

यसो गर्दा भारत र नेपालमा रहेको मूल्यको अन्तर मात्र घट्ने नभइ बिनाभन्सार भित्रिने सामानमा नियन्त्रण आई देशको आम्दानी पनि बढ्ने उनी बताउँछन्।

रक्सौलमा के–के किन्छन् नेपाली?
सीमावर्ती क्षेत्रका ग्राहक दैनिक आवश्यकताका बस्तु किन्न रक्सौल पुग्छन्। मकवानपुर र चितवनबाट जाने ग्राहक भने प्रायः लत्ताकपडा र धेरै मूल्य पर्ने अन्य बस्तु किन्न आउँछन्। रक्सौलमा भेटिएका वीरगन्ज बस्ने एक ग्राहकले भने, “चामल, दाल, तेल, मसला, चिनी, साबुन र सर्फजस्ता सामान लिन रक्सौल आउँछु। नेपालको बजारमा महँगी छ, यता आउँदा राहत महसुस हुन्छ।” 

पोखरिया नगरपालिका –९ पर्साका अनिल कुमार वीरगन्जको ‘ट्रान्सपोर्ट’मा काम गर्छन। उनी रक्सौलमै डेरा लिएर बसेका छन्। “नेपालमा आम्दनीभन्दा खर्च धेरै हुन्छ, बाँच्न गाह्रो भइरहेको करण सपरिवार रक्सौलतिरै डेरा सारेको हुँ”, उनले भने, “दैनिक रूपमा वीरगन्ज ओहोरदोहोर गर्छु। खेतीपाती गाउँमा छ, काम परेको बेला जान्छु। जीवन धान्न यता आएको हुँ।” 

नेपालतर्फ १ हजार ८०० नेरू पर्ने जिरा मसिनो चामल रक्सौलमा १ हजार ४४० नेरू पर्छ। वारि ३ हजार ६०० पर्ने बासमती चामल पारि २ हजार ८८० मा आउँछ। यता किलोको १६५ पर्ने मुसुरो दाल उता १३०, यता लिटरको ३५० पर्ने तोरीतेल उता २८८ पर्छ। नेपाल सरकारले खाद्यान्नको उत्पादन तथा प्रशोधन लागत घटाउन सके खाद्यबस्तुमा सीमा वारपार रहेको अन्तर हटाउन सकिने नेपाल चामल तेल दाल उद्योग संघका अध्यक्ष सुबोध गुप्ता बताउँछन्। अपुग खाद्यान्नका लागि उत्पादन बढाउने दीर्घकालीन नीति सरकारसँग नभएको उनको भनाइ छ।

“दुनियाँमा नामचलेको भारत देहरादुनको बासमती चामल उस्तै हावापानी र भौगोलिक उचाइको सुदुरपश्चिममा उत्पादन गर्न सक्ने प्रचुर सम्भावना छ, तर सदुपयोग भएको छैन”, गुप्ताले भने, “हाम्रो मुसुरो दालको माग बंगलादेशमा पनि छ। तेल उत्पादन तराई मधेशमा धेरैको पुस्तैनी पेशा हो। तर हामी नै परनिर्भर छौँ।”


सम्बन्धित सामग्री