Saturday, April 27, 2024

-->

काठमाडौँमा किन कमजोर भयो एमाले?

पार्टीभित्रको गुटबन्दी र कारबाही सिफारिस गरिएकालाई समेत उम्मेदवार बनाउने केन्द्रको निर्णयका कारण काठमाडौँमा प्रतिनिधिसभा र प्रदेशसभाका अधिकांश क्षेत्रमा एमाले पराजित भएको कार्यकर्ता बताउँछन्।

काठमाडौँमा किन कमजोर भयो एमाले

काठमाडौँ- नेकपा एमालेले प्रतिनिधिसभातर्फ काठमाडौँका १० निर्वाचन क्षेत्रमध्ये एउटामा मात्र जित हासिल गर्‍यो। काठमाडौँ–९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ ११ हजार ९५६ मत प्राप्त गरे जित हासिल गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत ल्याए।

त्यसबाहेक काठमाडौँका अन्य सात क्षेत्रमा एमालेका उम्मेदवार निकटतम् प्रतिद्वन्द्वी भए। काठमाडौँ–१ मा भने एमाले उम्मेदवार चौँथो स्थानमा पुगे। जबकि, चार महिनाअघि मात्र गठन भएको स्वतन्त्र पार्टीले प्रतिनिधिसभातर्फ काठमाडौँका चार क्षेत्रमा विजय हासिल गर्‍यो।

प्रदेशसभातर्फ पनि काठमाडौँका २० क्षेत्रमध्ये चार स्थानमा मात्र एमाले उम्मेदवार विजयी भए। क्षेत्र नम्बर ४(२) मा जयराम थापा, क्षेत्र नम्बर ६(२) मा अमन मास्के, क्षेत्र नम्बर ७ (२) मा प्रकाश श्रेष्ठ र क्षेत्र नम्बर ९(२) मा केशवप्रसाद पोखरेल विजयी भए। प्रदेशसभातर्फ २०७४ सालको निर्वाचमा विजयी भएर मन्त्रीसमेत भएका एमालेका उपल्लो तहका कतिपय नेता पनि पराजित भए।

प्रदेशसभा तर्फ बागमती प्रदेशको भौतिक तथा पूर्वाधार मन्त्री बनेका रामेश्वर फुँयाल क्षेत्र नम्बर ३(२) मा नेपाली कांग्रेसका विमल ठकुरीसँग २ हजार ३७० मतान्तरमा पराजित भए। बागमती प्रदेशका सभामुख सानु श्रेष्ठ पनि क्षेत्र नम्बर २(१) मा राष्ट्रिय प्रजातन्त्र पार्टीका सुनिल केसीसँग १ हजार ५१९ मतान्तरमा पराजित भए। 

सांगठनिक रूपमा एमालेभन्दा कमजोर मानिएको राप्रपाका पाँच उम्मेदवारले काठमाडौँका प्रदेशसभा क्षेत्रमा जित निकालेका छन्। तर, राम्रो संगठन मानिएको एमाले राप्रपाभन्दा पछि परेको छ। 

एमालेको खराब नतिजा आउनुको पछाडिको प्रमुख कारण पार्टी विभाजन नै भएको पोलिटब्यूरो सदस्य एवम् काठमाडौँ–३(२) मा पराजित फुँयाल बताउँछन्। उनका अनुसार, पार्टी भित्रको कमजोर आन्तरिक एकता, पाँचदलीय गठबन्धन र पार्टीको नीति र कार्यक्रमलाई लिएर जनताको घरसम्म पुग्न नसक्नु पनि पराजयको कारण हो।

“पार्टी फुटको प्रभाव पर्‍यो। हामीले पार्टीको आन्तरिक नेतृत्व छनोटमा वडादेखि माथिसम्म सर्वसम्मत पद्दति अपनायौँ। त्यसको असर पनि निर्वाचनमा देखियो”, फुँयाल भन्छन्, “त्यसले प्रतिस्पर्धात्मक क्षमतालाई घटायो। सर्वसम्मत उम्मेदवार छनोट मात्रै पनि समाधान होइन रहेछ भन्ने सिकाइ भएको छ।” प्रतिस्पर्धाबाट नेतृत्व छनोट गर्नु ‘जनताको बहुदलीय जनवादको चुरो कुरा’ भएको र आगामी दिनमा प्रतिस्पर्धालाई खुला छोड्नुपर्ने उनको भनाइ छ।

एमाले काठमाडौँमा गएको जिल्ला अधिवेशनदेखि नै विवाद थियो। पार्टी कार्यकर्ताको बहुमत सदस्य दीपक निरौलाबाहेकलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा थिए। तर, सर्वसम्मतिका नाममा एमाले नेतृत्वले निरौलालाई अध्यक्ष बनाएको नाम उल्लेख गर्न नचाहने एमाले काठमाडौँका एक नेता बताउँछन्। 

उनका अनुसार निरौलालाई अध्यक्ष बनाएपछि पार्टीको ठूलो पंक्ति निस्कृय बस्यो। जिल्ला अधिवेशनमा अध्यक्ष मण्डलमा रहेका एमाले काठमाडौँका पूर्वसचिव एवम् काठमाडौँ महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्य पनि निरौलालाई अध्यक्ष बनाउने प्रस्ताव आएपछि अध्यक्ष मण्डलको काम नै नटुंग्याइ हिँडेका थिए। शाक्यसहितको समूहले निरौलालाई अध्यक्ष बनाउन नहुने लबिइङ गरेको थियो।

ती एमाले नेताका अनुसार काठमाडौँमा यति खराब नतिजा प्राप्त गर्नुको कारण पार्टीभित्र ‘आन्तरिक लोकतन्त्र कमजोर’ हुनु नै हो। “पार्टीका कमिटीहरूमा सदस्यलाई आफ्ना धारणा राख्न समय नै दिइएन। कुनै अजेन्डामा छलफल नै भएनन्,” ती नेता भन्छन् “सचिवालयका तर्फबाट निर्णय गरेर आउने अनि ताली ठोक्न लगाएर अनुमोदन गर्ने काम भयो। ठूला र भद्दा कमिटिले एमालेमा वैचारिक प्रशिक्षणको परम्परा नै हरायो।”

उम्मेदवार बनेका जिल्लाका पदाधिकारी पराजित  
यसपटकको निर्वाचनमा उम्मेदवार बनेका एमाले काठमाडौँ जिल्ला कमिटीका पदाधिकारी सबै पराजित भए। अध्यक्ष दीपक निरौला क्षेत्र नं. ५(२) मा कांग्रेसका श्यामबहादुर खड्कासँग एक हजार ३२८ मतान्तरमा पराजित भए। जिल्ला सह–इन्चार्ज नारायणबहादुर सिलवाल क्षेत्र नं. ५(१) मा तेस्रो स्थानमा परे। यहाँ राप्रपाका राजेन्द्र प्रजापति विजयी भए।

जिल्ला सचिव राजेश शाक्य क्षेत्र नं. ८(१) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यसँग एक हजार ७५२ मतान्तरमा पराजित भए। जिल्ला कमिटी उपसचिव तेजप्रसाद ढकाल क्षेत्र नं. ४(१) मा तेस्रो भए। यो क्षेत्रमा नेपाली कांग्रेसका श्रीराम लामिछाने विजयी भए भने राप्रपाका ऋद्दिप्रताप राणा निकट्तम प्रतिद्वन्द्वी भए। 

एमाले उम्मेदवारले हार्नु पछाडिको अर्को कारण अपारदर्शी टिकट वितरण पनि भएको एमालेका स्थानीय नेता बताउँछन्। गत स्थानीय निर्वाचनमा असहयोग गरेको भन्दै एमालेको वडा नं. १६ कमिटीले जीवन मानन्धरलाई कारबाही सिफारिस गरे पनि उनलाई क्षेत्र नं. ७(१) मा टिकट दिइएको थियो। उनी उम्मेदवारका लागि कुनै कमिटीबाट सिफारिसमा समेत नपरेको एक नेताले बताए।

मानन्धरलाई टिकट दिएकै कारण संघको प्रतिनिधिसभा तर्फका उम्मेदवार श्यामकुमार घिमिरे पराजित भएको ती क्षेत्रीय कमिटी सदस्य रहेका ती नेता बताउँछन्। “कारबाही सिफारिस गरेको व्यक्तिलाई प्रदेशसभामा उम्मेदवार बनाउँदा संघमा समेत गाह्रो (पराजित) भयो”, उनले भने। 

काठमाडौँमा एमाले अध्यक्ष केपी ओलीको चाहना बमोजिम नै टिकट वितरण गरिएको र जनाधार भएको उम्मेदवार नखोजिएको ती नेताले बताए। केन्द्रबाट जथाभावी टिकट वितरण हुँदा एमालेले जित्न सक्ने क्षेत्र पनि गुमाएको उनको भनाइ छ।

गएको १०औँ महाधिवेशनमा ओलीकै जोडबलमा वरिष्ठ उपाध्यक्ष बनाइएका ईश्वर पोखरेल क्षेत्र नं. ५ मा कांग्रेसका प्रदीप पौडेलसँग पराजित भए। ओलीसँग निकट भएर युवा संघ अध्यक्ष बनाइएका किरण पौडेल काठमाडौँ–१ मा पराजित भए। ओलीकै चाहनामा टिकट दिइएका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पनि काठमाडौँ–६ मा पराजित भए।

काठमाडौँको नतिजाबारे समीक्षा बैठकमा छलफल हुने जिल्ला अध्यक्ष निरौला बताउँछन्। “चुनावमा गएपछि जित हार भइहाल्छ, यो सामान्य विषय हो,” उनी भन्छन्। 

एमालेको त्यो विरासत
२०४६ सालमा प्रजातन्त्र पुर्नस्थापनापछि २०४८ सालमा भएको पहिलो आमनिर्वाचनमा एमालेले काठमाडौँका पाँचमध्ये चार निर्वाचन क्षेत्रमा जित हासिल गरेको थियो। क्षेत्र नं. २ मा कांग्रेसका दमननाथ ढुंगाना विजयी भएका थिए। 

एमाले काठमाडौँका नेता एवम् पोलिटब्यूरो सदस्य फुँयालका अनुसार त्यति बेला क्षेत्र नं. २ बाट अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाए पनि अन्तिम समयमा वाम गठबन्धन गरेर एमालेले संयुक्त जनमोर्चालाई सघाउने निर्णय गरेको थियो। शुरूमा उम्मेदवार बनाइएकी अष्टलक्ष्मीले घरदैलो पनि गरिसकेकी थिइन्। तर, पछि उम्मेदवार फेर्दा त्यसको फाइदा कांग्रेसले लिएको फुँयालको दाबी छ।

२०५१ सालमा भएको मध्याअवधि निर्वाचनमा काठमाडौँमा सात क्षेत्र कायम गरिए। सातवटै क्षेत्र एमालेले जितेको थियो। २०५६ सालको आमनिर्वाचनमा सातमध्ये पाँच क्षेत्रमा एमाले उम्मेदवार विजयी भए। काठमाडौँ–७ मा कृष्णगोपाल श्रेष्ठ र ४ मा डा. भरत प्रधान कांग्रेस उम्मेदवारसँग पराजित भए।

२०६४ सालको संविधानसभा निर्वाचनमा भने एमालेले उपत्यकामा एक सिट पनि जित्न सकेन। २०७० सालको संविधानसभा निर्वाचनमा एमाले उम्मेदवार क्षेत्र नं. २, ३ र ७ मा विजयी भएका थिए। २०७४ सालको आमनिर्वाचनमा २, ३, ५, ८ र ९ मा एमालेले जित हात पारेको थियो।

एमाले पोलिटब्यूरो सदस्य फुँयाल एमालेको जग नै पार्टीको संगठन भएको र विगत १० वर्षदेखि एमालेका तर्फबाट संगठन निर्माणमा ध्यान नपुगेको बताउँछन्। “संगठन निर्माणको परम्परा स्थानीय तहदेखि नै थियो। योबीचको १० वर्षमा जनसंगठन निर्माणमा आधारभूत ध्यान गएन। काठमाडौँमा एमाले कमजोर बन्नुको एउटा कारण त्यो पनि हो,” उनी भन्छन्। नयाँ पुस्तालाई नेतृत्व निर्माणमा सामेल गराएपनि प्रशिक्षित गर्न नसक्दा पनि एमाले कमजोर भएको उनको भनाइ छ।


सम्बन्धित सामग्री