स्थापित पार्टी र नेताहरूप्रतिको असन्तुष्टि प्रकट गर्न देखापरेको स्वतन्त्र उम्मेदवारप्रतिको आकर्षणको लाभ भने स्वतन्त्र पार्टीलाई पुग्ने देखिएको छ।
काठमाडौँ–
‘यसपालि भोट कि स्वतन्त्रलाई कि राजावादीलाई दिने हो’
‘अरू जो भए पनि समानुपातिकमा चाहिँ स्वतन्त्र वा राजावादीलाई भोट दिन्छौँ’
काठमाडौँ क्षेत्र नम्बर २ अन्तर्गत पर्ने कोटेश्वर मन्दिर परिसरमा उद्धव भट्टराई र शंकर बस्नेत आपसमा गफिइरहेका थिए। उमेरले दुबैजना ६० कटिसकेका छन्।
“२०३६ सालदेखि भोट हाल्न थालेको, कुन पार्टीलाई पो भोट हालिएन। सबैलाई भोट हालियो, कसैले केही गरेनन्”, शंकरले भने, “यसपालि भोट स्वतन्त्रलाई दिने, घण्टीमा हाल्ने।”
“स्वतन्त्र भन्नाले ‘स्वतन्त्र व्यक्ति’ भन्नु भएको हो कि ‘स्वतन्त्र पार्टी”, हाम्रो प्रश्न थियो।
बस्नेतले भने, “व्यक्ति स्वतन्त्र भए पनि पछि त्यही स्वतन्त्र पार्टीमै गई हाल्छन् नि।”
भट्टराई र बस्नेतले आफ्नो क्षेत्रबाट मनमोहन अधिकारी, मदन भण्डारीदेखि विद्यादेवी भण्डारीसमेतलाई जिताएको सम्झे। तर, जितेर गएका नेता फर्केर नआएको गुनासो पनि सुनाए।
क्षेत्र नम्बर २ मा पर्ने कागेश्वरी मनोहरा नगरपालिकास्थित बाबाचोकमा पुग्दा साइँला गिरी र उनका दाैँतरी चियाको चुस्कीसँगै पार्टी र नेताहरूप्रति आक्रोश पोख्दै थिए। “हाम्रो भोटको अपमान मात्र भयो। जुन परिवेशमा हामी पार्टीका लागि लाग्यौँ, भोट दियौँ, उनीहरूले हाम्रो लागि केही गरेनन्। आफू र आफ्नाका लागि मात्र गरे”, साइँला भन्दैथिए।
साइँला आफू र आफ्नो टोल समिति यसपटक भोट नै दिने कि नदिने भन्ने विषयमा सोचिरहेको बताउँछन्। “सोच्ने समय आएको छ, जनताको दुःख बुझ्ने, राम्रो प्रत्याशी उम्मेदवार भएमा भोट गर्ने हो, नत्र भोट भनेर हिजो जस्तो दौडधुपमा गइँदैन” उनले भने। भोट दिएमा पार्टीभन्दा बाहिर, स्वतन्त्रलाई दिने योजना उनले सुनाए।
आफ्नो क्षेत्रबाट प्रतिनिधि सभाका लागि मणिराम फुयाँल र प्रदेश सभाका लागि उम्मेदवार रहेका भरत फुयाँल स्थानीय भए पनि उनीहरूलाई मत दिने मनसाय बनिनसकेको उद्धव बताउँछन्। “एक पार्टीले पाँच पार्टी बोकेर चुनाव लड्दै छन्। सक्षम उम्मेदवार हो भने आफै एक्लै पो गर्छ, त्यसकारण पनि स्वतन्त्रलाई भोट दिने सोच छ”, बस्नेत भन्छन्, “स्वतन्त्र भनेको बालेन साहजस्तो हुनुपर्छ। रवि लामिछानेको पनि पार्टी हो। तर, केही गर्ला कि देश र जनताको लागि।”
कागेश्वरी मनोहराकै मिलनचोकमा भेटिए गणेश आचार्य। राजनीतिक विषयमा विमर्श गरिरहने आचार्य यसपटक पुरानै पार्टीलाई मत हाल्ने पक्षमा छैनन्। पुराना नेताहरुलाई सबक सिकाउनका लागि पनि नयाँलाई भोट दिनुपर्ने उनी बताउँछन्। र नयाँका रुपमा स्वतन्त्रलाई जिताउनुपर्ने बताउँछन्।
“स्वतन्त्रलाई पनि सहज त छैन। यसरी हेर्दा जनताका लागि काम गर्ने, युवा जोश–जाँगर भएका पार्टीलार्ई भोट दिने योजनामा छु”, उनी भन्छन्, “रवि लामिछानेको पार्टीका उम्मेदवारहरु युवा, योग्य र सक्षम पनि देखिन्छन्।”
काठमाडौँ क्षेत्र नम्बर ६ की, २२ वर्षीया शिक्षा न्यौपाने आफूमात्र नभई आफ्नो परिवारलाई समेत रवि लामिछानेको पार्टीलाई भोट दिन लगाउने मनसायमा छिन्। उनको बुझाइमा रवि स्वतन्त्र हुन्, उनको पार्टी पनि स्वतन्त्र हो। “यो अरू पार्टी जस्तो होइन नि”, उनी भन्छिन्।
टोखा नगरपालिका–६ का हरिराम अधिकारी पनि उनकै जस्तो बुझाइमा छन्। पार्टीगत संगठनबाट विरक्तिएका उनी यसपटक स्वतन्त्र उम्मेदवार रोज्न चाहन्छन्। “यसपालि घण्टीमै भोट हाल्नुपर्ला”, उनले भने।
यसपटकको चुनावी माहोलमा धेरै मतदातामाझ ‘स्वतन्त्र’ र ‘रवि लामिछाने’ पर्यायवाची जस्तै बन्न पुगेका देखिन्छन्। गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले जितेपछि स्वतन्त्रको तरंग झन् बढेको छ। त्यसको लाभ भने पार्टी गठन गरेका रवि लामिछानेलाई मिलिरहेको देखिन्छ।
राजनीतिक विश्लेषक विजयकान्त कर्णका अनुसार, टेलिभिजनमा काम गर्दा भ्रष्टाचारविरुद्धका विषय उठाउँदा राम्रै चर्चा बटुलेका लामिछानेलाई त्यसको लाभ मिलेको छ। “सोही ख्यातिको आधारमा लामिछानेले राजनीतिमा आउने र मंसिर ४ को चुनाव लड्ने घोषणा गरे”, उनी भन्छन्, “आफ्नो इमेज स्वतन्त्र वा भनौँ बालेनजस्तै बनाए। पछि सोही स्वतन्त्र उम्मेदवारीलाई उनले पार्टीको रूप दिए।”
लामिछानेले गत असार २ गते एक भिडियो सन्देशमार्फत राजनीतिमा लाग्ने घोषणा गरेका थिए। असार ७ गते उनले आफ्नै नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीकै घोषणा गरे।
उनी पार्टी खोलेरै राजनीतिमा होमिए पनि धेरैले अहिले पनि उनलाई ‘स्वतन्त्र उम्मेदवार’कै रूपमा लिइरहेको देखिन्छ। अहिले पार्टीभन्दा स्वतन्त्र उम्मेदवारप्रति जस्तो आकर्षण देखिन्छ, त्यसको लाभ पनि लामिछाने र उनको पार्टीलाई नै पुगिरहेको छ।
पार्टीको नामकै विषयलाई लिएर स्वतन्त्र उम्मेदवारी दिएका मनोज पण्डितसहित अन्य ५–७ समूहले स्वतन्त्र शब्द हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी पनि दिएका थिए। जसमा आयोगले लामिछानेको पक्षमा निर्णय गरेको थियो।
नामको सवालमा यस प्रकारको उजुरी जायज नभएको कर्णको तर्क छ। उनले ‘स्वतन्त्र’ शब्द कसैको ब्रान्ड नभएको बताउँदै आएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकाल स्थानीय तह निर्वाचनले स्वतन्त्र उम्मेदवारहरूको ‘क्रेज’ बढाएकाले त्यसको लाभ स्वतन्त्र पार्टीलाई मिलिरहेको स्विकार्छन्। “निर्वाचनमा नामकै कारणले पनि केही लाभ हुन्छ भन्ने हामीले आकलन गरेकै हो, तर त्यही हिसाब गरेर यो नाम राखिएको चाहिँ होइन”, उनले उकालोसँग भने, “हामी अरू पार्टी भन्दा फरक छौँ, सामूहिक निर्णयको अभ्यास गरेका छौँ। हाम्रोमा आन्तरिक लोकतन्त्रको अभ्यास पनि छ। नेताकै मान्छे भएको कारण अवसर पाउनेभन्दा ‘जान्नेलाई छान्ने’ हाम्रो नीति छ।”
आकर्षण र मतको तालमेल
राजनीतिक विश्लेषक कर्ण, स्वतन्त्र नामले पनि निर्वाचनमा रवि लामिछानेको पार्टीलाई फाइदा पुर्याउने सम्भावना देख्छन्। यद्यपि, नामले फाइदा पुर्याउने वा नपुर्याउने भन्दा पनि त्यो आकर्षण मतपेटिकामा कति जोडिन्छ, त्यो महत्त्वपूर्ण हुने उनको भनाइ छ।
“स्वतन्त्र नामले उनलाई चुनावमा फाइदा गर्नु वा नगर्नु मुख्य विषय नै होइन”, कर्णले उकालोसँग भने, “बरू उनले स्वतन्त्रको नाममा कमाइरहेको ख्याति भोटको रूपमा बाकससम्म कति पुग्न सक्छ, त्यो महत्त्वपूर्ण हो।”
मतदाताको मनोविज्ञानले पनि यसमा भूमिका खेल्ने उनी बताउँछन्। “बालेनको केसमा उनी लोकप्रिय पनि बनेका थिए, उनलाई रोज्ने कमिटेड भोटर्स पनि थिए। त्यसकारण उनी सफल भए। धरानमा हर्क साम्पाङले त्यत्रा पार्टीहरूको बीचमा जित हासिल गरे। लामिछानेको सवालमा के हुन्छ, त्यो चुनावी मैदानमै देखिनेछ”, उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
