रुसी सेना खेरसनबाट पछि हट्नु युक्रेनको जित हो : नेटो प्रमुख

युक्रेनले बिहीबार आफ्नो सेनाले दक्षिणी खेरसन क्षेत्रका एक दर्जन गाउँहरू पुन: दाबी गरेको बताएको छ।

तस्वीर : नेटो

नेटो प्रमुख जेन्स स्टोल्टनबर्गले खेर्सनबाट रुसको फिर्ती कसरी हुन्छ भनेर हेर्नको लागि आफू आतुर रहेको र यदि त्यसो भएमा 'युक्रेनको अर्को जित' हुने बताएका छन्।

"हामीले आगामी दिनहरूमा राजनीतिक घटना क्रमको विकास कसरी हुन्छ भनेर हेर्नु पर्छ, किनकि रुस ठूलो दबाबमा छ। यदि तिनीहरूले खेरसन क्षेत्र छोडे भने यो युक्रेनको अर्को जित हुनेछ," उनले बिहीबार रोममा एक कार्यक्रमा भने।

युक्रेनले बिहीबार आफ्नो सेनाले दक्षिणी खेरसन क्षेत्रका एक दर्जन गाउँहरू पुन: दाबी गरेको बताएको छ। यो दाबी रुसले आफ्ना सेनाहरूलाई उक्त शहरबाट फिर्ता हुन आदेश दिएको एक दिनपछि बाहिर आएको हो।

"हामीले देखेका छौँ कि कसरी युक्रेनी सशस्त्र सेनाले रूसी सेनालाई पछाडि धकेल्न र आफ्नो क्षेत्र स्वतन्त्र गराउन सक्षम भएको छ", स्टोल्टेनबर्गले भने, "यी सबै उपलब्धिहरू युक्रेनका साहसी सैनिकहरूको कारणले भएको हो।"

उनले एकै समयमा इटलीलगायत नेटो सहयोगीहरूले प्रदान गरेको अभूतपूर्व समर्थनले युद्धको मैदानमा हरेक दिन फरक पारिरहेको बताए। उनले युक्रेनी प्रगतिका लागि यो विषय महत्त्वपूर्ण रहेको बताए। गत महिनाको अन्त्यमा पदभार ग्रहण गरेका इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीसँगको पहिलो आमने-सामने वार्तापछि स्टोलटेनबर्गले आफ्नो धारणा व्यक्त गरेका हुन्।

मेलोनीका सरकारी सहयोगीहरूमा मस्कोप्रति सहानुभूति राख्ने धेरै व्यक्तिहरू रहेको भए तापनि मेलोनी आफैँले बारम्बार युक्रेन र रूसविरुद्ध प्रतिबन्धहरूको लागि समर्थनमा जोड दिएकी छिन्।

मेलोनीले भनिन्, "उनका प्राथमिकताहरूमध्ये एक गठबन्धनलाई सुदृढ पार्न काम गर्नु थियो र यसलाई सबै दिशाबाट आउने धम्कीहरूको जवाफ दिन अझ सक्षम बनाउन आवश्यक छ।"

उनले देशको सुरक्षा र समृद्धिका लागि गठबन्धन अपरिहार्य रहेको पत्रकारहरू माझ बताएकी छिन्।