२०७९ कात्तिक २१, सोमबार

आज सोमबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।

तस्वीर : केपी ओलीको सचिवालय र आरजु देउवाको फेसबुकबाट।

उकालो एक्स्क्लुसिभ: सरकारी कागजातकै खुलासा : गृहमन्त्री खाँण बहुविवाहमा संलग्न

वर्तमान गृहमन्त्री बालकृष्ण खाँण मुलुकको कानूनले वर्जित गरेको बहुविवाहमा संलग्न भेटिएका छन्। गृहमन्त्री खाँणले सरकारी प्रयोजनका लागि विभिन्न निकायमा पेस गरेका कागजातले उनका दुई जना श्रीमती रहेको देखाउँछन्।

कानून कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारीमा रहेका गृहमन्त्री बालकृष्ण खाँण नै मुलुकको कानूनले वर्जित गरेको बहुविवाहमा संलग्न भेटिएकोबारे मुकेश पोखरेलको रिपोर्ट : सरकारी कागजातकै खुलासा : गृहमन्त्री खाँण बहुविवाहमा संलग्न

-------------------

ओली-आरजु : कोभन्दा को कम?
नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवा गत सप्ताहभर निकै चर्चामा रहिन्। कारण– उनको एकपछिको अर्को 'सनसनीखेज' राजनीतिक बयानबाजी।

उनी कहिले कुनै बिनाहिसाब वा आँकडा 'गठबन्धन ले ९५ प्रतिशत ठाउँमा चुनाव जित्ने' दाबी गर्दै पत्रिकाहरूमा हेडलाइन बन्न पुगिन् भने कहिले 'म पनि प्रधानमन्त्री बन्न चाहन्छु, तर अहिले मेरो उमेर पुगिसकेको छैन' भन्दै वक्तव्य दिँदै हिँडिन्।

यीभन्दा अझै बढी चर्चामा रह्यो उनको शनिबारको हेलिकप्टर भाषण!

"जसरी हामी यहाँ हेलिकप्टरमा चढेर आयौँ। आजभन्दा १०-१५ वर्षपछि यहाँ हेलिकप्टरमा उडेर आउने क्षमता बनाउन सक्ने मान्छेलाई छान्नुस्!"

नेपाली कांग्रेसको डडेलधुरामा आयोजित एउटा चुनावी सभामा उनले बोलेका शब्दले २-३ दिनसम्म मिडिया र सामाजिक सञ्जालमा निकै स्थान पाए। पटक पटक विवादित भाषण दिएर विवादमा आइरहँदा पनि उनका बयान अझै चर्का हुँदै गइरहेका छन्।

नेपाली राजनीतिमा बोल्नेको पीठो मात्र होइन व्यक्तित्व नै बिक्छ। गज्जब बोलेकै भरमा जनताले क्षणभरमै उचालेर काँधमा राख्छन् र जान्ने राजनीतिज्ञले जनताले जे सुन्न चाहेका छन् त्यही बोलिदिन्छन्। उनीहरूलाई थाहा छ यहाँ हिसाब केहीको मागिन्न - न गोलीको न बोलीको!

यसका उदाहरण हुन् उखान-टुक्का का जगमा आफ्नो छविको 'रिमोडलिङ्ग' गर्दै बनाएका शीर्ष नेता केपी शर्मा ओली।

सधैँ केही न केही भनेर सबैको ध्यान आफूतिर राखिरहन माहिर एमाले अध्यक्ष केपी ओली निर्वाचन नजिकिँदै गर्दा नगर्जिने कुरै भएन।

आजकल उनी कहिले आफ्ना कट्टर प्रतिद्वन्द्वी माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई 'ढिकुरपोखरीमा जन्मेका दाहालको छोराको चकाचौँध हेर्नुस् त' भन्दै गिज्याइरहेका छन् भने, कहिले 'सुकुम्वासी प्रचण्डका सुकुम्वासी नातेदारहरू आजकल जमिनदार भएका छन्' भन्दै उक्साइरहेको छन्।

आज भने उनले आफ्नो बोलीको तीर नेपाली कांग्रेसका सभापति, प्रधानमन्त्री शेरबहादुर देउवातिर साँधेका छन्। बागलुङमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै ओलीले देउवा पनि प्रचण्ड पथमा लागेको भनेका थिए। सत्ता गठबन्धन सातुको डल्ला भएको र देउवाले दाहालको पछि लागेर कांग्रेसलाई माओवादीभन्दा सानो बनाउने उनको टिप्पणी थियो।

उनले पहिलो एमालेबाहेक अरू सबै दल सबै देश र जनविरोधी भएको भनेका थिए भने अलि पछि आफ्नो दलसँग विभिन्न स्थानमा गठबन्धन गरेका अन्य पार्टीहरूलाई भने राष्ट्रवादी भनेर चोख्याएका थिए।

आजकल ओली, आरजुहरूको यस्तो बडेमानका गफ सुन्दा लाग्छ - आखिर कोभन्दा को कम?

-------------------

उकालो विशेष: गठबन्धनका नाममा बन्धक बन्दै लोकतन्त्र
"गठबन्धनका कारण मार्गदर्शक सिद्धान्त फरक–फरक भएका दलहरू विचारबाट विचलित भएको आरोप पनि लागेको छ। अहिलेको सत्ता गठबन्धनलाई ‘विजातीय’ भनेका राम कार्की पनि यसलाई स्वीकार गर्छन्। कांग्रेस लोकतान्त्रिक समाजवादलाई आफ्नो मार्गदर्शक सिद्धान्त मान्छ। माओवादी केन्द्रको मार्क्सवाद–लेनिनवाद–माओवाद, एकीकृत समाजवादीको मार्क्सवाद–लेनिनवाद र जसपाको समुन्नत संघीय समाजवाद मार्गदर्शक सिद्धान्त हुन्। दलहरूले गठबन्धनका नाममा सिद्धान्त छाड्दै गएको कार्की बताउँछन्।

छिमेकी मुलुक भारतलगायत कतिपय मुलुकमा गठबन्धनको अभ्यास नभएको होइन। भारतीय जनता पार्टी (भाजपा)ले चुनावमा एकल बहुमत ल्याए पनि चुनावका बेला बनाएको गठबन्धनबाट अलग भएको देखिँदैन। तर, नेपालमा गठबन्धन नै अस्थिर र विवादित हुने गरेको छ।"

लोकतान्त्रिक अभ्यासलाई पार्टीहरूले गठबन्धनका नाममा मिलीजुली खाने बाटो बनाउँदा लोकतन्त्रको मर्म  नै कमजोर बन्दै छ। बीपी अनमोल, दिपा दाहालको संयुक्त रिपोर्ट : गठबन्धनका नाममा बन्धक बन्दै लोकतन्त्र

-------------------

कहाँ पुग्यो सेतोपाटी-निर्वाचन आयोग विवाद
नेपाली अनलाइन खबर पोर्टल सेतोपाटीले गत शुक्रबार लेखेको एक रिपोर्ट हटाउन २४ घन्टे अल्टिमेटम दिँदै पत्र लेखेको निर्वाचन आयोगले सो पत्र फिर्ता लिएको छ।

आयोगले स्पष्टीकरण माग गरेको उक्त पत्र शनिबार लेखेको थियो भने 'आफ्नो आमसञ्चार नीति र मान्यताभन्दा फरक हुने गरी प्राविधिक कारणवश सेतोपाटीलाई पत्र गएको' भन्दै आइतबार बेलुकी एक विज्ञप्ति प्रकाशित गर्दै फिर्ता लिएको थियो।

उक्त रिपोर्टमा नेकपा एमालेका नेता, पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलका छोरा निशान अमेरिकी सेनामा तर नेपाली नागरिकता कायमै भन्ने व्यहोरा थियो। आयोगले भने निर्वाचनमा उम्मेदवार भएका व्यक्ति तथा उनका परिवारको चरित्रहत्या भएको र व्यक्तिगत लाञ्छना लगाउने गरी समाचार प्रकाशन भएको देखिएको भन्दै पत्र पठाएको थियो। त्यसको प्रतिवादमा उक्त पोर्टलले समाचार नहटाउने भन्दै सम्पादकीय लेखेको थियो।

आयोगले पत्र फिर्ता लिएर दुवै पक्ष साम्य भइसकेपछि भने प्रेस काउन्सिल नेपालले सोही मुद्दा उठाउँदै सम्बन्धित सञ्चारगृहसँग फेरि अर्को २४ घण्टे स्पष्टीकरणको माग गरेको छ।

-------------------

डेंगीबाट हालसम्म ५०,००० बढी संक्रमित, ५५ को मृत्यु
डेंगीबाट संक्रमित हुनेको संख्या ५० हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकबाट जानकारी प्राप्त भएको छ।

हालसम्मको संक्रमित संख्या ५० हजार २६३ पुगेको छ, जुन अहिलेसम्मकै सबैभन्दा बढी हो। यो वर्ष डेंगीको प्रकोप ७७ वटै जिल्लामा फैलिएको थियो।

तथ्यांकका अनुसार यसबाट ५५ जनाको मृत्यु भइसकेको छ। तापक्रम घट्दै गएको हालको अवस्थामा भने डेंगीको संक्रमण बिस्तारै कम हुँदै गएको पाइएको छ।

-------------------

महानगर प्रमुखको आयोगलाई स्पष्टोक्ति
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले निर्वाचन आयोगले कात्तिक १८मा माग गरेको स्पष्टीकरणको आज जवाफ दिएका छन्।

'लौरो अभियान'ले हाम्रो नेपाली पार्टीलाई मेयर बालेनको समेत समर्थन रहेको भन्दै सामाजिक सञ्जालमा प्रचार गरेपछि आयोगले स्पष्टीकरण सोधेको थियो।

यसको जवाफमा साहले हाम्रो नेपाली पार्टीले दलगत रूपमा लौरो चिह्न लिएर गरिरहेको प्रचारप्रति आफ्नो कुनै सम्बन्ध नरहेको प्रस्ट पारेका छन्।

"स्थानीय सदस्य निर्वाचन-२०७९ मा म स्वतन्त्र उम्मेदवारका रूपमा लौरो चुनावचिह्न प्राप्त गरी काठमाडौं महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार भई निर्वाचित भएको हुँ। यही ४ मंसिर २०७९ मा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा हाम्रो नेपाली पार्टीले दलगत रूपमा लौरो चिह्न प्राप्त गरी चुनावमा सहभागी भइरहेको उक्त दल र उक्त दलका कुनै पनि उम्मेदवारसँग मेरो कुनै सम्बन्ध छैन" उनले स्पष्टीकरणमा भनेका छन्।

-------------------

राष्ट्रपति विद्यादेवी आइसल्यान्ड प्रस्थान
राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार आइसल्यान्डतर्फ प्रस्थान गरेकी छिन्।

उनी विश्वभरका महिला नेताहरूको 'समूह वुमेन पोलिटिकल लिडर्स् (डब्लूपीएल)'को आयोजनामा नोभेम्बर ८-१० का बीच हुने रेइक्याभिक ग्लोबल फोरममा भाग लिन गइरहेकी हुन्।

राष्ट्रपति भण्डारीले यो वर्षको डब्लूपीएल ट्राइलब्लेजर अवार्ड प्रदान गरिने कार्यक्रम रहेको छ भने उक्त ग्लोबल फोरममा अवार्ड ग्रहणसँगै उनले आफ्नो मन्तव्य पनि राख्ने छिन्।

राष्ट्रपतिको भ्रमण दलमा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी पनि सहभागी छन्। भ्रमण सकेर राष्ट्रपति भण्डारी नोभेम्बर १२ मा स्वदेश फर्किने छिन्।

-------------------

स्टारडम सम्हाल्न नसक्दा सिद्धिएका ‘स्टार
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई उतिबेला नै सन्दीप लामिछानेको लोभलाग्दो नाम र दाम देखेर चिन्ता लागिसकेको थियो। नलागोस् पनि किन? छोटो समयमै ‘ग्लोबल स्टार’ बन्ने खुबी थियो सन्दीपमा जसलाई उनले क्रिकेट पिचमै सिद्ध गरिरहेका थिए। स्याङ्जामा जन्मेका सन्दीपले करिब एक दशकको क्रिकेट करिअरमा एकपछि अर्को व्यावसायिक सफलता हात पारिरहे।

टी–२० लिगमा ‘ग्लोबल स्टार’को रूपमा छाएका उनले राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेको ६ वर्षको अन्तरालमा कप्तानी सम्हाल्ने अवसर पाए। तर, चार वर्षअघि उनी इन्डियन प्रिमियर लिग (आइपीएल) खेलेर नेपाल फर्किएलगत्तै उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका पारसले जे आशंका गरेका थिए, आखिर त्यही भएको छ। छोटो समयमा आर्जन गरेको चमत्कारिक प्रगति, नाम र दामलाई ‘म्यानेज’ गर्न नसक्दा सन्दीपको क्रिकेट करिअर मात्र ध्वस्त भएको छैन, उनको सार्वजनिक प्रतिष्ठा र व्यक्तिगत जीवनसमेत धूलिसाथ बनेको छ। विस्तृतमा हेर्नुहोस् दीप सुवेदीको स्टोरी: स्टारडम सम्हाल्न नसक्दा सिद्धिएका ‘स्टार