रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनलाई नै उम्मेदवारविहीन बनाएर सहजै निर्वाचन जित्न सकिने अनुकूलता एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई कसरी प्राप्त भयो?
बुटवल– रुपन्देही क्षेत्र नम्बर २, दोस्रो संविधानसभा निर्वाचन (२०७०) देखि नै अधिक चर्चामा रहेको क्षेत्र हो। यो क्षेत्रबाट यसपालिको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन्। खासमा २०५१ मा पाल्पाबाट निर्वाचित पौडेल २०५६ सालदेखि भने लगातार यही क्षेत्रबाट उम्मेदवार रहँदै आएका छन्। २०७० मा माओवादी नेता बाबुराम भट्टराई पनि त्यहीँबाट प्रत्याशी बनेपछि यो क्षेत्र देशकै चर्चाको केन्द्र बनेको थियो।
२०५६ को निर्वाचनमा मात्र पराजय बेहोरेका पौडेलले २०७० मा भट्टराईलाई पनि पाखा लगाए। २०७४ को त कुरै भएन, पौडेलका लागि यसै अनुकूल त्यो क्षेत्रमा वाम गठबन्धनले थप अनुकूलता जुराइदियो।
आउँदो मंसिर ४ मा हुने निर्वाचनले यो क्षेत्रलाई पुनः चर्चामा ल्याइदिएको छ। यसपालिको चर्चाको कारण चाहिँ भिन्न छ। पौडेलका प्रतिस्पर्धी ठानिएका सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङ र स्वतन्त्र उम्मेदवार निकोलस भुसालको उम्मेदवारी खारेज भएपछि पौडेललाई ‘वाकओभर’ मिले झैँ भएको टिप्पणी भइरहेको छ।
एमालेले विभाजन बेहोरेको, सत्ता गठबन्धनको सिंगै शक्ति एकातिर रहेको अवस्थामा यसपालि पौडेलका लागि अनुकूल क्षेत्रमा प्रतिकूलता बढेको चर्चा भइरहेको थियो। स्थानीय तह निर्वाचनमा बुटवल उपमहानगरपालिकाको मेयरमा एमालेले फराकिलो हार बेहोरेपछि यसैपनि पौडेलको चुनौती बढेकै थियो। सत्ता गठबन्धनले आफ्नो उम्मेदवार नै बाँकी नरहेपछि राष्ट्रिय जनमुक्ति पार्टीका केशव थापामगरलाई सघाउने निर्णय त गरेको छ। तर, प्रतिस्पर्धी उम्मेदवारकै उम्मेदवारी कायम नरहेपछि रुपन्देही–२ मा पौडेल फेरि ‘निर्विकल्प’ जस्तै बनेका छन्।
संकटकै अवस्थामा पनि पौडेल कसरी शक्तिशाली बने?
खाँण ‘दाहिना’ बन्दा...|
रुपन्देही–२ मा पौडेलका मुख्य प्रतिस्पर्धी ठानिएका सत्ता गठबन्धनका उम्मेदवार, नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य राजु गुरुङको उम्मेदवारी बैंकिङ कसुर (चेक बाउन्स) प्रकरणमा कालो सूचीमा रहेको भन्दै जिल्ला निर्वाचन अधिकृतको कार्यालयले असोज २५ मा रद्द गर्ने निर्णय गरेको थियो। आयोगको निर्णयविरुद्ध गुरुङले सर्वोच्च अदालतमा रिट दायर गरेपछि सर्वोच्चले शुरूमा अल्पकालीन अन्तरिम आदेशमार्फत उनको उम्मेदवारी कायम राख्न त आदेश दियो, तर पुनः सुनुवाइ गर्दै जिल्ला निर्वाचन अधिकृतको कार्यालयको निर्णय नै सदर गरिदियो।
रुपन्देही–२ मा स्वतन्त्र उम्मेदवारी दिएका डा. निकोलस भुसालको चर्चा पनि बाक्लो थियो। तर, जिल्ला निर्वाचन अधिकृतको कार्यालयले सत्ता गठबन्धनका गुरुङसँगै उनको उम्मेदवारी पनि खारेज गरिदियो। सरकारी छात्रवृत्तिमा अध्ययन गरेको र उनको उम्मेदवारी निर्वाचन कानूनविपरीत रहेको भन्दै जिल्ला निर्वाचन अधिकृतको कार्यालयले रद्द गर्ने निर्णय गरेको थियो। यो निर्णयविरुद्ध भुसालले सर्वोच्चमा दिएको रिटमाथि कात्तिक १५ मा सुनुवाइ हुँदैछ। त्यसपछि मात्र उनको उम्मेदवारी कायम रहने/नरहने टुंगो लाग्नेछ। तर, गुरुङको उम्मेदवारी खारेजीले नै पौडेलका लागि सहज अवस्था बनेको छ।
सत्ता गठबन्धनबाट उम्मेदवार तय हुनु अघिसम्म पनि रुपन्देहीमा पौडेलको ‘विजय–यात्रा’मा यसपालि ‘ब्रेक’ लाग्नसक्ने आकलन भइरहेको थियो। जब गठबन्धनले रुपन्देही–२ बाट उनको प्रतिस्पर्धीका रूपमा एकीकृत समाजवादीका गुरुङलाई उम्मेदवार बनाउने निधो गर्यो, पौडेलका निम्ति सहज अवस्था बन्न थाल्यो।
नेपाली कांग्रेस रुपन्देहीका एक नेता रुपन्देही–२ बाट एमालेका पौडेलको जित सुनिश्चित गर्न ‘भित्री साँठगाँठ’ गरेर त्यो क्षेत्र गठबन्धनबाट एकीकृत समाजवादीको भागमा पारिएको बताउँछन्। उनले गृहमन्त्री बालकृष्ण खाँणकै कारण रुपन्देही–२ कांग्रेसको भागमा नपरेको दाबी गरे।
ती नेताले भने झैँ कांग्रेसमा खाँण सभापति शेरबहादुर देउवाका भित्रियामध्ये पर्छन् जो सत्ता गठबन्धन जोगाउन मात्र होइन, सिट बाँडफाँट र उम्मेदवार चयनमा समेत ‘निर्णायक’ थिए। “काँग्रेसको भागमा परेको भए यहाँबाट खाँणले नरुचाएका नेताहरू नै उम्मेदवार बन्ने निश्चित थियो। त्यो अवस्थामा पौडेल पराजित हुन सक्थे,” आफ्नो नाम उल्लेख गर्न नचाहने ती कांग्रेस नेताले भने, “खाँणको शक्ति चलुन्जेलसम्म अरू कांग्रेसीले यहाँ नेता हुन र जित्न पाउँदैनन्।”
कांग्रेसबाट रुपन्देही–२ मा युवराज गिरि, चुन्नु पौडेल टिकटका आकांक्षी र दाबेदार थिए। उनीहरू दुवै जना कांग्रेसभित्रको समीकरणमा नेता डा. शेखर कोइरालानिकट छन्। उनीहरूप्रति खाँण कतिसम्म असहिष्णु थिए भन्ने रुपन्देही कांग्रेसका नेताहरूको भनाइले प्रस्ट्याउँछ। एक नेताले भने, “रुपन्देही–२ बाट टिकटका आकंक्षी रहेका चुन्नु पौडेल एक दिन खाँणसँग कुरा गर्न जाँदा उल्टै ‘मेरो क्षेत्रबाट चुनाव लड न त’ भनेर धम्की दिनुभएछ।”
कांग्रेसबाट रुपन्देही–२ मा आकांक्षी रहेका युवराज गिरि आफूहरूले प्रतिनिधिसभामा नेपाली कांग्रेस र प्रदेशसभामा एकीकृत समाजवादीलाई भागवण्डा पार्नेगरी मिलाउन पार्टी नेतृत्वलाई पटक–पटक आग्रह गरेपनि नेतृत्वले बेवास्ता गरेको बताउँछन्।
रुपन्देही कांग्रेसका नेताहरू जिल्लामा पार्टीबाट आफूलाई चुनौती दिने नेता नै तयार नहोस् भनेर खाँण सधैँ लागिपर्ने गरेको बताउँछन्। यसपालि भने उनले पौडेललाई सघाउन पनि गठबन्धनबाट यस्तो निर्णय गरेको उल्लेख गर्दै एक नेताले भने, “नेपाली कांग्रेसको उम्मेदवार नै नभएपछि कांग्रेसका केही मत नै पौडेललाई जाने भो।”
ती नेता एकीकृत समाजवादीबाट गुरुङले नै टिकट पाउनुमा पनि खाँणको हात रहेको आशंका गर्छन्। “गृहमन्त्री भएकाले उहाँलाई धेरै कुरा थाहा थियो, गुरुङलाई नै उम्मेदवार बनाउँदा भोलि उम्मेदवारी नै रद्द हुनसक्ने र त्यसले पौडेललाई थप सहज बनाउने आकलन सायद पहिल्यै गरिएको थियो”, उनले भने।
एमाले रुपन्देहीका नेताहरू पनि रुपन्देही–२ कांग्रेसको भागमा नपर्नु नै पौडेलका लागि सहज स्थिति भएको बताउँछन्। एमाले रुपन्देहीका एक सचिवालय सदस्यले भने, “यो क्षेत्र कांग्रेसको भागमा परेर कांग्रेसका उम्मेदवार खडा गरिएको भए पौडेलका लागि गाह्रो स्थिति बन्थ्यो। कांग्रेस उम्मेदवार नहुनु नै पौडेलका लागि सहज भयो। पौडेल र खाँणबीच के सम्बन्ध छ त म भन्न सक्दिनँ। तर, उहाँहरूको व्यवहारले हार्दिकतापूर्ण सम्बन्ध रहेको लख काट्न सकिन्छ।”
अर्को रोचक के भने एउटै जिल्लाका भए पनि पौडेल र खाँण रुपन्देहीमा अहिलेसम्म चुनावी प्रतिस्पर्धामा आमनेसामने भएका छैनन्। उनीहरू सधैँ अलग–अलग निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्छन्। यसपालि पनि नेपाली काग्रेस क्षेत्र नम्बर २ को क्षेत्रीय समितिले प्रतिनिधिसभामा खाँणको नाम सिफारिस गरेको थियो। तर, उनले क्षेत्र नम्बर २ रोजेनन्, बरु क्षेत्र नम्बर ३ पुगे। “यसपालि २ नम्बरबाटै उम्मेदवार बनेको भए खाँणले पौडेललाई पराजित गर्ने परिस्थिति बनेको थियो, तर उहाँले त्यसो गर्नै चाहनुभएन”, रुपन्देही कांग्रेसका एक नेता भन्छन्, “यसले पनि उहाँ र विष्णु पौडेलबीच केही न केही साँठगाँठ छ भन्ने देखाउँछ।”
चौतर्फी प्रतिकूलताबीच सिर्जित ‘अनुकूलता’
रुपन्देहीको विकासमा जस पाउने नेता हुन्, विष्णु पौडेल। बुटवलमा अन्तराष्ट्रियस्तरको सभाहल निर्माण, बुटवल–भैरहवा सडक विस्तार, तिनाउ खोलाका विभिन्न ठाउँमा गरिएका पुल निर्माण, लुम्बिनीमा सभाहल निर्माण, तिनाउ–दानव करिडोर, मोतीपुर औद्योगिक क्षेत्र स्थापनालगायत थुप्रै पूर्वाधार विकासमा भएका कामको जस जिल्लावासीले पौडेललाई नै दिन्छन्। एमाले रुपन्देहीका सचिव यज्ञ गैरे भन्छन्, “३० वर्षसम्म हुन नसक्ने विकास रुपन्देहीले पाएको छ, अरू नेताबाट यो सम्भव थिएन। विष्णु पौडेल नभएको भए रुपन्देहीको विकास ३० वर्ष पछि पर्थ्यो।”
तर, यति हुँदाहुँदै पनि यसपालि उनका लागि ठूलो प्रतिकूलता खडा भएको थियो। यसपालि पौडेलमाथि तेर्सिएको सबभन्दा ठूलो प्रश्न थियो– ‘प्रदेश राजधानी बुटवलबाट किन दाङ सारियो?’
२०७४ को निर्वाचनमा पौडेलले लुम्बिनी प्रदेशको राजधानी बुटवललाई कायम गर्ने वाचा गर्दै मत मागेका थिए। निर्वाचित भइसकेपछि उनले पटक–पटक सार्वजनिक रूपमै भनेका थिए, “प्रदेश राजधानी कुनै हालतमा यहाँबाट सर्दैन, कसैले सार्न पनि सक्दैन।”
पौडेलका तिनै अभिव्यक्ति यसपालि उनका लागि प्रतिकूलता बनेर तेर्सिए। किनभने लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङको भालुवाङ क्षेत्रमा सार्ने औपचारिक निर्णय भएर त्यहाँ पूर्वाधार निर्माण पनि भइरहेको छ।
प्रदेश राजधानी बुटवलमा रहने वा नरहने विषयले जनजीविकाका सवाल र जीवनस्तरमा खासै फरक नपार्ला। तर, रुपन्देहीवासीले अहिलेसम्म त्यसलाई भुल्नसकेका छैनन्। त्यसको कारण, प्रदेश राजधानीको विषयलाई लिएर बुटवलमा त्यसबेला भएका उग्र प्रदर्शनहरू पनि हुन् जसले यो विषयलाई सर्वसाधारणको भावनासित जोडिदियो। अहिले उठिरहेका प्रश्नको जवाफ दिन पौडेलकै पार्टी, एमालेका नेता–कार्यकर्तालाई समेत हम्मे परिरहेको छ। पौडेलकै निर्वाचन क्षेत्रका एमाले कार्यकर्ता युवराज पराजुली भन्छन्, “के कारणले राजधानी बुटवल कायम हुन सकेन, त्यो कुरा उहाँले स्पष्ट भन्नुपर्छ। उहाँले गर्दागर्दै नसकेको हो भने पनि मैले प्रयास गरेको थिएँ, यो कारण सकिन भन्नुपर्यो। हिजो इन्द्रेको बाउ चन्द्रेले पनि राजधानी सार्न सक्दैन भनेको त उहाँले नै हो नि।”
२०७४ मा तत्कालीन एमाले–माओवादी गठबन्धनले शंकर पोखरेललाई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका रूपमा अघि सारेपछि प्रदेश राजधानीको विषय पेचिलो बन्न सक्ने हेक्का पौडेल जत्तिका चलाख नेतालाई पक्कै थियो। तर, उनले त्यसलाई सहज विषय ठान्दा अहिले उठेका प्रश्नको उत्तर दिन पनि हम्मे परेको छ।
पौडेलको अर्को प्रतिकुलता रुपन्देहीमा एमालेको कार्यकर्ता पंक्ति बिस्तारै उनको पकडबाट गुम्दै जानु पनि हो। विगतमा पौडेलनिकट रहेका तेजेन्द्र केसी, भूमिश्वर ढकाल, लीला गिरी लगायतका नेता अहिले पार्टीभित्र उनका खास प्रतिस्पर्धी मानिने महासचिव शंकर पोखरेलको कित्तामा पुगेका छन्। रुपन्देही एमालेका नेताहरू पौडेलले आफ्ना लागि आफै चुनौती निम्त्याएको बताउँछन्।
यसको सुरुआत २०७४ को स्थानीय तह निर्वाचन भएको उनीहरूको बुझाइ छ। २०७४ को निर्वाचनमा बुटवल उपमहानगरपालिकाको मेयरमा पौडेलले गोपाल रानालाई अघि सारेका थिए। त्यहीँबाट स्थिति बिग्रँदै गएको रुपन्देहीका एमाले कार्यकर्ताहरु बताउँछन्।
पौडेलले त्यसबेला मेयरमा रानालाई अघि सारे पनि एमालेका तत्कालीन जिल्ला अध्यक्ष शिवराज सुवेदीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर मेयरको टिकट हात पारेका थिए। सुवेदी नै मेयरमा निर्वाचित पनि भए। तर, सुवेदीको कार्यकालभर उनलाई असफल बनाउन एमालेको एउटा पंक्ति लागेको, त्यो पंक्ति पौडेलनिकट रानाकै समूह भएको बुझाई रुपन्देहीको एमालेपंक्तिमा व्याप्त छ। त्यहीकारण नै यसपालि बुटवलको मेयरमा पराजय बेहोर्नुपरेको एमालेभित्रको बुझाई छ। “विष्णु पौडेलले अब मैले जे गरेपनि हुन्छ, मेरो कुरा सबैले मान्नुपर्छ भन्ने हिसाबले जसरी एउटा पक्षलाई बोक्नुभो, त्यसैले उहाँलाई अप्ठेरो बनाएको हो”, एमाले रुपन्देहीका एक सचिवालय सदस्यले भने, “उहाँ सबै कार्यकर्ताको नेता बन्न सक्नुपर्थ्यो।”
यसपालिको स्थानीय तह निर्वाचनमा एमालेका बुटवल उपमहानगरका मेयर र वडाध्यक्षका उम्मेदवारहरूले पाएको अनपेक्षित मत–परिणामपछि झस्केका पौडेलले त्यसयता धेरैजसो समय आफ्नै निर्वाचन क्षेत्रमा बिताएका छन्। तर, त्यसले खासै तरंग ल्याउन सकेन।
तिनाउ–दानव करिडोर र मोतीपुर औद्योगिक क्षेत्र निर्माणका क्रममा त्यहाँ बसोबास गरिरहेकालाई व्यवस्थापन नगरी हतारमा काम अघि बढाउनु पनि उनका लागि थप प्रतिकुलता बन्यो। सुकम्बासी मतदाताको मतबाट चुनाव जित्दै आएका पौडेललाई यसपालि विपक्षीहरूले सुकम्बासी विरोधीको ‘बिल्ला’ लगाएर प्रचार गर्दा थप अप्ठेरो सिर्जना भयो।
पौडेलमाथि यसपालि एमालेकै कार्यकर्तादेखि मतदाताबाट अर्को प्रश्न तेर्सिएको थियो– कहिलेसम्म विष्णु पौडेल मात्रै उम्मेदवार? बुटवलका पत्रकार/लेखक ऋषि आजाद मतदाताले नयाँ र युवा पुस्ता खोजिरहेको बताउँदै भन्छन्, “रुपन्देहीको विकासका लागि विष्णु पौडेल बराबर अरू कोही छैन। तर, मतदाताले नयाँ चाहियो, सधैँ एउटै नेतामात्र किन भनिरहेका छन्।”
तर, यी सबै प्रतिकूलतालाई पौडेलले एकै धक्कामा अनुकूलतामा परिणत गरिदिएका छन्। त्यो धक्का हो, गठबन्धनबाट रुपन्देही–२ मा भएको भागवण्डा र त्यसपछि गठबन्धनका उम्मेदवारकै उम्मेदवारी रद्द हुनु। पौडेलको रणनीति र पौडेल–खाँण सम्बन्धबारे जानकारहरू भन्छन्– “पौडेलले चौतर्फी प्रतिकूलताबीच पनि मास्टरस्ट्रोक प्रहार गरे।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
