इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा, केन पेनाल्टीमा चुके

कतारमा जारी विश्वकप फुटबलमा फ्रान्स इंग्ल्यान्डलाई हराउँदै लगातार अन्तिम चारमा पुगेकाे छ।

तस्वीर : फिफा

काठमाडौँ– साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

शनिबार मध्यराति इंग्ल्यान्डलाई २–१ गोल अन्तरले हराउँदै फ्रान्स अन्तिम चारमा पुगेको हो। फ्रान्स सन् १९८२ र १९८६ पछि पहिलोपटक लगातार दुई संस्करणको अन्तिम चारमा पुगेको हो।

दुवै टोलीले आक्रामक शुरूआत गरेपनि १७औँ मिनेटमा एन्टोनी ग्रिजम्यानको पासमा फ्रान्सका मिडफिल्डर ओरेलियन चुआमेनीले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए। उनले बक्स बाहिरबाट गोल गरेका थिए। इंग्ल्यान्डले ५४औँ मिनेटमा गोल गर्ने अवसर पाएको थियो। चुआमेनीले बुकायो साकालाई बक्सभित्र फाउल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए।

त्यसमा कप्तान ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डलाई खेलमा फर्काए। केनले इंग्ल्यान्डका पूर्वफरवार्ड वायन रूनीको कीर्तिमान बराबरी गरेका छन्। इंग्ल्यान्डका लागि केनको यो ५३औँ गोल हो। रूनीले १२० खेलमा इंग्ल्यान्डका लागि ५३ गोल गरेका थिए। योसँगै केनको यो ८०औँ खेल थियो।

७८औँ मिनेटमा एन्टोनी ग्रिजम्यानको उत्कृष्ट पासमा ओलिभर जिरूडले हेडरमार्फत् गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए। जिरूड ३६ वर्षभन्दा माथिका दोस्रो खेलाडी हुन्, जसले एउटै विश्वकपमा चार गोल गरेका छन्। यसअघि रोजर मिलाले सन् १९९० मा क्यामरूनका लागि यो कीर्तिमान बनाएका थिए। त्यसबेला उनको उमेर ३८ थियो। ग्रिजम्यान विश्वकपको एउटै खेलमा फ्रान्सका लागि दुई असिस्ट गर्ने चौथो खेलाडी हुन्।

यसअघि जीन टिगाना, डोमिनिक रोचेटियाउ र करिम बेन्जेमाले एकै खेलमा दुई गोलका लागि मौका सिर्जना गर्दिएका थिए। ८१औँ मिनेटमा फ्रान्सका डिफेन्डर थिओ हर्नान्डेजले मेसन माउन्टलाई फाउल गरेका थिए। जसका कारण  इंग्ल्यान्डलाई पेनाल्टी दिइएको थियो। केन पुनः पेनाल्टी स्ट्रोक लिन आएका थिए। तर यसपटक गोल गर्न सकेनन्।

अब सेमिफाइनलमा फ्रान्सले मोरक्कोको सामना गर्नेछ। क्वार्टरफाइनलमा मोरक्कोले पोर्चुगललाई १–० ले हराएको थियो।  फ्रान्स अब इतिहास रच्नबाट दुई कदम मात्र टाढा छ। यदि फ्रान्सेली टोली उपाधि रक्षा गर्न सफल भयो भने पछिल्ला ६० वर्षमा लगातार दुई विश्वकप जित्ने पहिलो टोली बन्नेछ। पछिल्लो पटक यो कीर्तिमान ब्राजिलले बनाएको थियो।

उसले सन् १९५८ र १९६२ मा लगातार दुई विश्वकप जितेको थियो। त्यसयता कुनै पनि टोलीले लगातार दुई विश्वकप जित्न सकेको छैन।