इरानी महिलाहरूले निजत्वको अधिकारका लागि थालेको आन्दोलन त्यहाँको इस्लामिक गणतन्त्र सत्ताका लागि चुनौती बनेको छ। आन्दोलन व्यापक हुँदै जाँदा पुरुषहरू पनि त्यसमा सशक्तरूपले सहभागी हुन थालेका छन्।
इस्लामिक गणतान्त्रिक मुलुक इरानमा न्याय र स्वतन्त्रताको मागसहितकाे महिला आन्दोलनले नयाँ आयाम ल्याएको छ। इरानमा महिलाहरू सरकारविरुद्ध सडकमा उत्रिएको बिरलै घटनामध्ये यो एक हो।
सन् १९७८–७९ को इस्लामिक क्रान्तिका बेला राजनीतिक व्यवस्था परिवर्तनका लागि महिला पुरुष सडकमा उत्रिएका थिए। यस क्रान्तिले इरानी जीवनका हरेक पक्षमा व्यापक परिवर्तन ल्यायो तर महिला अधिकार खुम्चिँदै गए र महिलाका अधिकार संकुचित गर्दै थुप्रै कानून निर्माण भए। जसमा अनिवार्य बुर्का र हिजाबसम्बन्धी कानून पनि थियो। राजनीतिमा प्रभावशाली रहेका महिलाको संख्या निरन्तर घट्दै जानथाल्यो।
यसै कारण पनि विभेद र हिंसा सहेका इरानी महिलाले आफ्ना अधिकारबारे खुलस्त भएर बोलेको यो पहिलो बृहत् आन्दोलन हो। इस्लामिक क्रान्तिजस्तै यसपटक इरानी महिलाको आन्दोलन कठिन र महत्त्वपूर्ण मोडमा रहेको द टाइमले उल्लेख गरेको छ। तर त्यतिबेलाको इस्लामिक आन्दोलन र अहिलेको महिला आन्दोलनबीच आकाश-पातालको भिन्नता छ।
पल्हवी राजवंशीय राजा मोहम्मेद रेजा शाहको बहिर्गमन र आधुनिकताको विरोधमा शुरू भएको इस्लामिक क्रान्तिले इरानमा राजनीतिक व्यवस्था नै परिवर्तन भयो। राजतन्त्रको अन्त्य गरी धार्मिक नेताहरू सत्तामा पुगे र इस्लामिक गणतन्त्रको घोषणा भयो। नयाँ व्यवस्थामा कट्टर धार्मिक कानूनले महिलामाथि अङ्कुश लगाउन थालियो।
इरानमा अहिले महिला स्वतन्त्रताको पक्षमा आन्दोलन भइरहेको हो। महिलाहरूले अटेर गर्दै कट्टर कानून नमान्ने, प्रहरीको आँखा छली मन लागेको पहिरन लगाउनेजस्ता कार्य गर्दै आएका थिए। नेतृत्वविरुद्ध बेलाबेला आक्रोश पोखिने गरेको भए पनि ‘नैतिकता प्रहरी’को हिरासतमा अमिनीको मृत्यु भएपछि इरानी महिलाको सुषुप्त विद्रोहलाई सडकमा छताछुल्ल पारिदियो।
बृहत् महिला आन्दोलनको शुरूआत
सन् २०२२ को बृहत् महिला आन्दोलनमा विद्रोहको झिल्को बनिन् महसा अमिनी। इरानको कुर्दिस क्षेत्रकी २२ वर्षीय अमिनीलाई हिजाब (मुस्लिम महिलाले कपाल छोप्न लगाउने एक प्रकारको लुगा) राम्रोसँग नलगाएको भन्दै कथित नैतिक प्रहरीले पक्राउ गरेको थियो।
तर पक्राउ परेको तीन दिनपछि सेप्टेम्बर १६ मा उनको प्रहरी हिरासतमै मृत्यु भयो। एक्कासि कोमामा गएकी अमिनीको उपचारका क्रममा मृत्यु भएको तेहरान प्रहरीको भनाइ छ। तर अमिनीको परिवार र प्रदर्शनकारीले प्रहरीको कुटपिटबाट उनको मृत्यु भएको बताउँदै आएको छ। तेहरानका प्रहरी प्रमुख होसेन रहिमी भन्छन्, “प्रहरीले उनलाई हात पनि लगाएको थिएन। उनलाई कुटपिट गरी घाइते पारियो भन्ने कुरा गलत हो।”
इरानी महिला देशभित्रै असुरक्षित भएको र महसाजस्तै सबै इरानी महिलाको हाल हुने भन्दै प्रहरीको ज्यादती र महिलामाथि अनावश्यक निगरानीको अन्त्य हुनुपर्ने भन्दै महिलाहरू सडकमा उत्रिए। पहिरनमाथिको बन्देज र महिलामाथि हुने अनावश्यक निगरानी र विभेदले आजित भएका इरानी महिलालाई अमिनीको मृत्युले सडकमा निस्किन बाध्य बनायो।
स्वतन्त्रताको पक्षधर सबै इरानी महिलाले अमिनीमा आफ्नो प्रतीक देख्न थालेको र बृहत् आन्दोलनमा उत्रिनुपरेको एक प्रदर्शनकारीले डिडब्ल्युलाई बताइन्। “यसपटक हामी सबै एक भएका छौँ। हामीले यो शासन व्यवस्था अन्त्य गर्न चाहन्छौँ। हामीले इस्लामिक गणतन्त्रको अन्त्य गर्न चाहन्छौँ। यो ४३ वर्षपछि इरान र इस्लामिक गणतन्त्रात्मक इरानबीचको लडाइँ हो”, एक प्रदर्शनकारीले बताइन्।
महिला अधिकार, न्याय र स्वतन्त्रताको मागसहित सडक उत्रिएका महिलाहरूलाई साथ दिँदै अधिकांश पुरुष पनि आन्दोलनमा उत्रिएका छन्। इरानी नेतृत्वविरुद्ध विभिन्न मुलुकमा प्रदर्शन भएका छन्। इस्लामिक कट्टर नीति नियममा बाँधिएका महिला हिजाब खोल्ने, जलाउने, कपाल काट्ने सरकारविरुद्ध नाराबाजीमा उत्रिने कुराले व्यापकता पाएको छ। ‘महिलाको शरीरमा उसकै हक हुन्छ’, ‘हिजाब हाम्रो संस्कार होइन’, ‘महिलामाथिको दमन अत्याचार बन्द गर’, ‘निरंकुशतालाई मृत्युदण्ड दे’, लगायत नाराबाजी गर्दै मानवअधिकारको पक्षमा उभिन नेतृत्वलाई दबाब दिँदै आएका छन्।
इस्लामिक कट्टर कानून, सभ्यता र आदर्शमा चलेको इरानी समाजमा विभेदविरुद्ध यति ठूलो कदम चालिएको इरानी इतिहासमा सम्भवतः पहिलोपटक हो। इरानमा यस्ता दृश्य एक दशक अघिसम्म पनि अकल्पनीय मानिन्थे। तर आधुनिक समाजमा महिलामाथिको भेदभावको अन्त्य हुनुपर्ने मागसहितको महिला आन्दोलनमा पुरुषहरूको साथले आन्दोलन थप सशक्त बनेको छ।
इस्लामिक क्रान्तिपछि इरानमा रातारात परिवर्तन भएजस्तै महिला आन्दोलनबाट पनि यही परिणाम अपेक्षा गरिएको थियो थियो। तर, महिलाप्रति अनुदार इरानको मुस्लिम धार्मिक नेतृत्वले परिवर्तन र महिला स्वतन्त्रतालाई सहजै आत्मसाथ गर्ने कुरा अझै पनि जटिल देखिन्छ। आन्दोलनलाई सम्बोधन गर्नुको साटो इरानी नेतृत्वले विदेशीको इशारामा आन्दोलन भएको आरोप लगायो।
इरानी अधिकारकर्मी मनसुरी शोजाही भन्छिन्, “कथित नैतिक प्रहरी र हिजाब कानूनका कारण इरानी महिला निकै पीडित छन्। महिलालाई कुटपिट मात्रै गरिएको छैन। उनीहरूलाई जागिरबाट निकालिएको छ।”
प्रदर्शनलाई दबाउन सरकारले इन्टरनेट बन्द गर्ने, प्रहरी र सेना परिचालन गरी प्रदर्शनकारीमाथि गोली चलाउने र हिंसा भड्काउने कामलाई तीव्रता दिइरहेको छ। यसले प्रदर्शन थप उग्र बनाएको छ। आन्दोलनमा अहिलेसम्म ४५१ जनाले ज्यान गुमाएको र १५ हजारभन्दा बढी प्रदर्शनकारी पक्राउ परेको द इरान पोस्टले उल्लेख गरेको छ। सरकारले प्रदर्शनकारी माथि मुद्दा चलाउने, जेल चलान गर्ने र मृत्युदण्ड दिनेसम्मका दमन गरिरहेको छ।
सरकार विरोधी आन्दोलनमा सहभागी भएको भन्दै बिहीबार मात्रै एक जना पुरुषलाई मृत्युदण्ड दिइएको बीबीसीले उल्लेख गरेको छ। यसअघि ११ जनालाई इरानी धार्मिक अदालतले मृत्युदण्डको सजाय सुनाइसकेको छ। तर पनि सरकार विरोधी प्रदर्शन र अन्यायविरुद्धका आवाज निस्किन छाडेका छैनन्। यसले गर्दा इरानी नेतृत्वमाथि दबाब सिर्जना भएको छ भने अन्तर्राष्ट्रिय जगत्को ध्यानाकर्षण भएको छ। सयौँको ज्यान गइसक्दा पनि आन्दोलन झनै सशक्त बन्ने दिशातिर गएको छ।
यसबीचमा सरकारले कथित ‘नैतिक प्रहरी’ खारेज गरिसकेको छ तर महिलाका माग सम्बोधन गर्नेमा स्पष्ट पारेको छैन।
महिला नेतृत्वको इरानी आन्दोलनमा पुरुषको साथ
महिला आन्दोलनमा पुरुषको दरिलो साथ नभएको भए इरानी महिलाको अधिकारको लडाइँ सशक्त हुने थिएन। महिलालाई खुलेर साथ दिने पुरुषहरूकै कारण पनि आन्दोलनले सरकारी नेतृत्वलाई सोच्न बाध्य पारेको छ। कतिपयले यसलाई केबल महिलाको आन्दोलन मात्र नभएर इरानमा आधुनिक समाजको आग्रहसहितको आन्दोलन पनि भनेका छन्।
हिजाब खोलेर नाराबाजी गर्दै हिँडेका, कपाल काटेका, हिजाब जलाउने महिलालाई पुरुषले काँधमा काँध मिलाएर दिएको साथले इरानमा नयाँ संकेत गरेको छ। महिलामाथिको विभेद अन्त्यका लागि पुरुषले व्यापक समर्थन गरेको, महिला पुरुषले एकै स्वरमा नारा लगाएका भिडियो सामाजिक सञ्जालमा छरप्रष्ट छन्।
के चाहन्छन् इरानी जनता?
इरानी जनता कट्टर धार्मिक व्यवस्था चाहँदैनन् र लचिलो राजनीति व्यवस्था चाहन्छन् भन्ने कुरा बारम्बार उनीहरूले दोहोर्याउने नाराहरूबाट स्पष्ट हुन्छ। ‘महिला जीवन र स्वतन्त्रता’ भन्ने उनीहरूको प्रमुख नारा हो।
महिलाको पहिरनमाथि बन्देज लगाइनुहुँदैन भन्ने नै उनीहरूको प्रमुख माग हो। साथै, आन्दोलनमा पुरुषहरूको साथले महिलाको आत्मविश्वासलाई बढाएको र आन्दोलन थप सशक्त बनेको हो। महिला आन्दोलनमा पुरुषको ऐक्यबद्धताले महिलाका पीडा र विभेदविरुद्ध उनीहरू स्वतःस्फूर्त रूपमा सडकमा आएका हुन्।
तर इरानको आन्दोलन विदेशी शक्तिको इसारामा उदाएको इरानका सर्वोच्च धार्मिक नेता अयोतोल्लाह अलि खामेनीको भनाइ छ। अमेरिका र यहुदीको गिरोह मिलेर इरानमा अव्यवस्था र अस्थिरता निम्त्याएको खामेनीले बताएका छन्। उनी भन्छन्, “इरान हरेक पक्षमा सम्पन्न र शक्तिशाली बनिरहेको महशुस गर्छन् उनीहरू र यो उनीहरूका लागि सह्य छैन। त्यसैले हाम्रो देशभित्र गिरोह खडा गरेर सताइरहेका छन्। पछिल्ला दिनमा अरूभन्दा बढी त हाम्रा सुरक्षा बल बसिजी बढी पीडित हुनुपरेको छ।”
खामेनीले भनेजस्तै केही इरानी जनता पनि यसै मान्छन्। केही जनताले आन्दोलनलाई असहयोग पनि गरेका छन्। उनीहरू तत्कालीन व्यवस्थाका पक्षधर हुन् भने उनीहरू इस्लामिक कानूनको दायराभित्र बाँच्न चाहन्छन्।
सरकार विरोधी आन्दोलन चलिरहेका बेला प्रतिवाद गर्न भन्दै सरकारी पक्षधरको आन्दोलन पनि सडकमा देखिएको छ। उनीहरूले धार्मिक नेता र कानूनको प्रशंसा गर्दै जारी आन्दोलनको विपक्षमा नाराबाजी गरेका थिए। उनीहरूले विदेशीहरूले शासन गर्न खोजेको आरोप लगाउँदै नाराबाजी गरेका हुन्।
-एजेन्सीको सहयोगमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
