परालभित्र लुकेर बस्दा सास फेर्न गार्हो भइरहेको थियो। बाहिर अलि सुनसान भएपछि फुत्त निस्किएँ। बत्तीको उज्यालो सबैतिर नभएकाले अलि सहज भयो।
कहाँसम्म कुनकुन जात/समुदाय/लिंगका मान्छेले जान, खान वा छुन मिल्ने/नमिल्नेबारे नेपाली-भारतीय समाजको जात व्यवस्थाले पहिल्यै सीमा र परिधि तोकेको छ। ती सीमा तोड्न कोही कसैले हिम्मत जुटाइहाल्यो भने त्यस्ता व्यक्तिलाई कुटपिटमात्रै होइन, मार्नैसमेत तयार भइहाल्छन् 'उच्चजातीय' समुदाय। चार दलितसहित ६ युवाको ज्यान लिने रुकुम हत्याकाण्ड त्यसमध्येकै स्मरणीय घटना हो। जातीय विभेदसँग जोडिएको हिंसाले अशक्त प्रौढदेखि कलिला बालबालिकासमेत ख्याल गर्दैन।
मनुस्मृतिको श्लोक १/९६ मा भनिएको छ, “सजीव र निर्जीव प्राणीहरूमा सजीव प्राणीहरू श्रेष्ठ हुन्छन्, सजीव प्राणीहरूमा बुद्धिजीवी प्राणी श्रेष्ठ हुन्छन्, बुद्धिजीवी प्राणीमा मनुष्य श्रेष्ठ र मनुष्यहरूमा ब्राह्मण श्रेष्ठ हुन्छ।" हामीले आज पनि श्रद्धाका साथ 'शास्त्र' भन्दै महिमामण्डन गर्ने पुस्तकहरूमै यस्ता श्रेणीहरू तय गरिएका थिए/छन्। त्यो जमानामा जजसले यस्ता पुस्तक लेखे, तिनले आफूलाई उँचो त देखाउने नै भए।
एकैछिन मनुस्मृतिको सो सन्देशलाई मानिदिने नै हो भने पनि यही खास समुदायले विश्व समुदायलाई के योगदान गर्यो? समग्र मानव जातिलाई के दियो? कुनकुन वैज्ञानिक आविष्कार गर्यो? के कस्ता महामारीबाट बच्न औषधि र भ्याक्सिनको आविष्कार गर्यो? स्मरण रहोस्, यो टिप्पणी कुनै व्यक्ति वा समुदायलाई लाञ्छित गर्न नभई लेखक स्वयं पीडाबाट आहत भएका कारण गरिएको हो।
दुःखको कुरा, त्यसरी उच्च भन्दै महिमामण्डन गरिएको खास जातिकै कारण तल्लो जाति भनिनेहरू धारा, स्कुल, बाटो, खेत, कुलो, गाउँशहर, पाटीपौवा, मन्दिर जहाँसुकै विभेद र हेपाइमा पर्छन्। अनेकन् आन्दोलन र समय चेतनाका कारण विभेद पहिलेभन्दा केही कम पक्कै भएको छ, तर उत्पीडनकारी-जब्बर मनोविज्ञान अहिले पनि खास खास अवसरमा प्रकट हुने गरेकै छन्।
लेखमा आफ्नै जीवनका प्रतिनिधिमूलक दुई घटना उल्लेख गर्छु। सास न बास बनाएर अँधेरी रातमा उच्च जातका मान्छेले एउटा बालकलाई लखेटेको घटना यहाँ उल्लेख गर्न चाहन्छु।
घटना २०६२ सालतिरको हो। म त्यस्तै ११-१२ वर्षको उमेर थियो मेरो। रातिको ९-१० बजेको थियो। मेरै गाउँ (कैलालीको घोडाघोडी) का सुवेदी थरीका एक व्यक्तिको घरमा रुद्रीपूजा हुँदैछ भन्ने सुनेँ। उत्तिखेरसम्म तीज, दशैँ र तिहारको भैलोमात्र देखेको मलाई रुद्रीपूजा के होला भन्ने उत्सुकता जाग्यो। रुद्रीकथा नहेरी र नसुनी नहुने हुटहुटी मनमा चल्यो। ठुली आमाको छोरा (दाइ) मानबहादुरलाई सो कुरा बताएँ। घरमा सबै जना सुतेका थिए। त्यही मौका छोपी दाइ र म रुद्रीकथा लाग्ने ठाउँतिर लम्कियौँ। गाउँ एउटै भए पनि पूजा लाग्ने घर हाम्रो घरबाट झन्डै आधा घण्टाको दुरीमा पर्थ्यो।
नयाँ कुरा देख्ने र सुन्ने बाल्य रहर, जोस र फुरुङ्ङ मन लिएर कथावाचन भइरहेको स्थानमा हामी पुग्यौं। मान्छेहरूको ठूलो घुइँचो थियो। अँध्यारोमा हत्तपत्त कसैलाई चिन्न गार्है पर्थ्यो। बाटोदेखि घरसम्म चहलपहल उस्तै थियो। त्यस भिडभाडमा एक छिन हामी कुहिरोमा हराएको कागझैं भयौँ।
केटाकेटी उमेरमा भीडमा हल्ला गर्न र झुम्न पाउँदा सबैलाई रमाइलै लाग्छ। मेरो उमेर समूहका केटाकेटी त्यहाँ होहल्ला गर्दै रमाइरहेका थिए। उल्लासमय त्यस भीडमा हामी पनि रमाउँदै मिसिन पुग्यौं। असिनपसिन हुनेगरी खुबै उफ्रियौँ र दगुर्यौं। एक छिनमा कसैले प्रसाद खाने समय भएको सूचना ल्यायो। घर भित्रदेखि बाहिरसम्म क्रमशः भीडमाझ प्रसाद बाँडिदै आयो। कोही भने आफैँभित्र गएर प्रसाद लिइरहेका थिए। दाइ मानबहादुरलाई बाहिर छोडेर म पनि प्रसाद लिन घरभित्रै जान्छु भन्दै अरूझैँ गएँ। होम लागिरहेको ठाउँमै त प्रसाद दिने होला भन्दै अरूको पछि लागेँ। घरको सिँढी चढेर माथि पुगेँ, जहाँ होम चलिरहेको थियो।
बत्तीको चमकमा त्यहाँ प्रशस्त टिकाधारी पण्डितहरू देखिए। पूजामण्डपको चारैतिर धूप, बत्ती र दियो बलिरहेका थिए। मलाई रमाइलो लाग्यो। साँझ खान मन नलागेर घरमा खाना खाएको पनि थिइनँ। त्यहाँसम्म पुग्दा भने भोक लागेको थियो। केही छिनमा प्रसाद मिल्ला भनेर म नजिकै उभिँदै ब्राह्मणले कथा वाचन गरिरहेको सुनिरहेँ।
छेउमै रहेकी गाउँकी एक जना काकीले भने मलाई ट्वाल्ल परेर हेरिरहेकी थिइन्। तिनले किन त्यसरी हेरेको होला भन्नेचाहिँ मलाई शुरूदेखि नै लागिरहेको थियो। मलाई कतै देखेजस्तो लागेको तर ठम्याउन गार्हो भएकाले त्यसरी हेरिरहेकी रहेछिन्। मचाहिँ बाम्हणले वाचन गरेका अरू केही नबुझे पनि त्यही 'स्वाहास्वाहा' सुन्दै रमाइरहेको थिएँ।
एकै छिनमा छेउकी काकीले ठूलो स्वरले भनिहालिन्, “यो त पशुपतिको छोरो होइन?” पूजा मण्डप र आसपास बसेका सबैले मतिर क्वार्क्वार्ती हेरे। तिनीहरूको ध्यान रुद्रीकथामा भन्दापनि मैतिर तानियो। तिनीहरूको निधारमा मुजा पर्यो। त्यस मण्डपमा मबाहेक सबै एउटै समुदायका थिए। एकै छिन उनीहरूले मेरो परीक्षण गर्न चाहे र सोधपुछ थाले, "तँ दमाईको छोरो होइन?" मैले हो भन्ने संकेत गरेँ।
त्यसअघि पूजाआजा हुने ठाउँबाट कुकुर बिराला धपाइएको त देखेको थिएँ, तर मान्छेसमेत लखेटिन्छ भन्ने मलाई थाहा थिएन। म त्यहाँ पुग्नु ठूलो अपराध रहेको तिनले ठहर गरे र "तँ तल्लो जातको भएर पूजा मण्डपमा कसरी आइस्?" भन्दै कुट्नका लागि काका उमेरका दुईचार जना मेरैतिर सोझिए। धत्तेरिका! के फसाद आइलाग्यो। मेरो दिमागले एकै छिन काम गरेन तर तत्क्षण ज्यान जोगाउन कतै भाग्नुपर्छ भनेर म म सिँढीबाट हाम फालेँ।
बाघले मृग खेदेको शैलीमा उनीहरू मेरा पछि लागे। कथा सुन्न छोडेर एउटा समूह हातमा लट्ठी र ढुंगामुढा बोकेर मेरो पछाडि लाग्यो। अरू केही रमिते भए। मैले तिनीहरूबाट बच्ने उपाय केही देखिनँ। मसँग टाढा भाग्ने अवस्था पनि थिएन। त्यो घरको छेउमा परालको एउटा टौवा (माच) थियो। त्यसैमा घुस्रिएर बिस्तारै श्वास फेर्न थालेँ। धन्न, तिनले मलाई देखेनन्। कता भाग्यो त्यो भन्दै म घर जाने बाटोसम्म पुगेर खोजे। परालको टौवाभित्रबाट मैले भने तिनका गाली सुनिरहेँ, "...भेटाएपछि त्यसको प्राण रहँदैन। दमाईको छोरो भएर पूजाको मण्डपमा आउने? त्यसको हड्डी नभाँची।"
परालभित्र बस्दै गर्दा सास फेर्न गार्हो भइरहेको थियो। केही समय सकस सहेरै बसेँ र केही बेरमा बाहिर अलि सुनसान भएपछि फुत्त निस्किएँ। बत्तीको उज्यालो सबैतिर नभएकाले अलि सहज पनि भयो। दाइ मानबहादुर कता पुगेका होलान् भन्ने चिन्ता लाग्यो, जबकि उनी पनि मलाई खोजिरहेका रहेछन्। मलाई लखेटेको र खोजेको देखेर झाडीमा लुकेर बसिरहेको रहेछन्।
म त्यहाँबाट बत्तिएर अलि पर पुगेँ र दाइलाई बोलाएँ। अनि उनी मतिर आए। हामी दुवै एक छिन निशब्द भयौँ। बाँचियोझैं लाग्यो। पछि घर फर्कने क्रममा 'जात' नामको सामाजिक रोगकै कारण हामी पीडित भएका हौँ भन्ने कुरा दाइले मलाई बुझाउन खोजे।
…
सुदूर, बिकट र अशिक्षित गाउँमा त्यस्तो घटना हुनु सामान्य होला, तर अध्ययनका लागि देशको राजधानी काठमाडौँ आएपछि समेत हामीले जातीय विभेदको अर्को घटना भोग्यौँ। २०७६ सालमा, काठमाडौँको तारकेश्वर-१० मा कोठा सरेकै भोलिपल्ट हाम्रो थर थाहा पाउनेबित्तिकै घरबेटीले तुरुन्त घरबाट निस्कन ताकेता गरे। केही समयपछि हामीलाई निकाली पनि छोडे। हामीले सो विभेदलाई लिएर कानुनी प्रक्रिया सुरु गर्दा मुद्दालाई कमजोर पार्न हरसम्भव प्रयत्न गरे।
त्यसपछि लाग्यो, यो जातको विष जतासुकै व्याप्त रहेछ। सबैतिरबाट दपेटिएपछि लाग्यो, अब सहेर र चुप लागेर बसिन्नँ। घरबेटीले कोठाबाट निकालेका बेला मेरो स्नातक दोस्रो वर्षको परीक्षा चलिरहेको थियो। त्यही तनावले सबै परिक्षासेमत दिन पाइएन। साथमा भाइबहिनी र दिदी हुनुहुन्थ्यो। घरबेटीका धम्कीले हामी त झेल्थ्यौँ, तर कलिला उमेरका भाइबहिनी आत्तिन्थे। तनावकै कारण भाइले एक वर्ष त पढाइ नै छोड्यो। मलाई लाग्यो, उसको बाल-किशोर मस्तिष्कमा कति चोट पर्यो होला? शहरमा त यो हाल छ भने गाउँको हालत के होला?
केही पहिले सामाजिक संजालमा एउटा चार/पाँच वर्षको बालकको भिडियो 'सर्कुलेट' भएको थियो। सो बालक 'हामी त सानो जातका हौँ नि!' भन्दै थिए। सानै उमेरमा यस्तो हीनभाव सिर्जना गराउने यो कस्तो व्यवस्था? कालान्तरमा यसको मनोवैज्ञानिक र सामाजिक असर के पर्ला? कसरी त्यो बच्चा हुर्केर आफूमा साहस, आँट र हौसला भर्न सक्ला? कोही कतै देखिनेबित्तिकै 'त्यसको जात कुन होला?' भनेर सोच्ने यस्तो पतित मनोविज्ञान भत्काउन हामीले के गर्नुपर्ला?
खासगरी जनयुद्धका बेला बालबालिकालाई हिंसाबाट जोगाउने उद्देश्यले 'बालबालिका शान्ति क्षेत्र हुन्' भन्दै अभियान नै थालिएको थियो र सो अभियान अझै जारी रहेको सम्बन्धितहरूले बताउने गरेका छन्। तर हजारौँ वर्षयता दक्षिण एशियाका बालबालिकामाथिको जातको विषाक्त हिंसा जारी छ। कोपिलाजस्ता बालबालिकालाई सानै उमेरमा जातीय विभेदको विष पिउन अझै बाध्य पारिने गरेको छ। यो उनीहरूमाथिको गम्भीर अपराध हो। जातीय विभेदको कलंक जरैदेखि समाप्त पारेर बालबालिकालाई मात्र नभएर सिंगै देश र समाजलाई रोगी र कलंकित हुनबाट बचाउनु आवश्यक देखिन्छ। यसमा पीडक र पीडित पक्ष दुवैको हित छ।
(यी लेखकका निजी विचार हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
