अनेकौँ छिद्रमा हुने भ्रष्टाचार नाप्नु धेरै चुनौतीपूर्ण हुन्छ। नैतिकता मापन गर्न त त्योभन्दा झनै गाह्रो हुन्छ। त्यसमाथि नैतिकताको परिभाषा संस्कृतिअनुसार फरक पर्छ।
विकसित देश र नेपाल दुवैमा बसोबासको अनुभव भएका उमेरले परिपक्व जो कोहीलाई लाग्न सक्छ: विकसित देशको तुलनामा नेपालमा नैतिकताको खडेरी त छैन? विद्यालय अथवा विश्वविद्यालयमा परीक्षाको बेला कतिपय नेपाली विद्यार्थी रातो बाँदरको हुल बालीमा पसेझैँ चिट चोर्न उद्धत देखिन्छन्। कतिपय विकसित भनिने देशमा यो टन्टा हुँदैन। विद्यार्थीलाई किताबै दिएर पठाउँदा पनि न विद्यार्थीले किताबको हुबहु सार्छ, न शिक्षकलाई विद्यार्थीले किताबबाट उत्तर चोर्यो भन्ने चिन्ता हुन्छ।
नेपालको सन्दर्भमा त्यस्तो परीक्षाको कल्पना गर्न सकिन्न। मन्दिर जाँदा होस् या बिजुलीको पैसा तिर्न जाँदा, कतिपयको ध्यान कसरी पालो मिच्ने भन्नेमै हुन्छ। सार्वजनिक ठाउँमा समेत लाजै नमानी नेपालीहरू फोहर फाल्छन्। उता जापानी खेल दर्शकहरू भने मैदानमा भएको खेलपछि अरूको फोहर समेत सफा गरेर फर्कन्छन्।
नेपालीहरू आर्थिक रूपमा विपन्न भएकोले 'अनैतिक' भएका हुन् या 'अनैतिक' भएकाले विपन्न भएका हुन्? प्रश्नझैं जवाफ पनि उत्तिकै गाह्रो छ। ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनमा पनि गरिब राष्ट्रहरूमा घुसखोरी बढी हुने देखिन्छ। गरिबी र घुसखोरीजस्ता नैतिकताका विचलन एकसाथ पाइनु नौलो होइन। घुसखोरीले बजार असन्तुलन, असमानता र अविकास निम्त्याउने विभिन्न अनुसन्धानले देखाएका छन्। अविकास र अभावले मानिसलाई विवश बनाएर अनैतिकतातर्फ धकेल्न सक्छ। अविकास र नैतिकताको विचलन एकसाथ पाइनुका कारण यी दुईको आर्थिक-सामाजिक प्रणालीसँगको अन्तरसम्बन्ध हुनसक्छ। जब आर्थिक-सामाजिक प्रणाली कमजोर हुन्छन्, तब अविकास र नैतिक विचलन जन्मन्छन्।
नेपालमा हुने नैतिक विचलनको कारक सामाजिक परिवेश पनि हुन सक्छ। कतिपय पश्चिमा समाजको तुलनामा नेपालमा अझै पनि संयुक्त परिवारको अस्तित्व ज्यादा छ, समाज व्यक्तिवादीभन्दा सामाजिक छ। यिनै कारणले परिवार पोस्न अनैतिक क्रियाकलाप गर्ने नेपालीको प्रवृत्ति हुन सक्छ। त्यसैले पनि हुनसक्छ, हाम्रोमा 'अलिकति जाँचमा चोरी गर्नु', 'थोरै घुस खानु'लाई सामान्य मानिन्छ। एक प्रकारले सबैले थाहा पाएको र स्विकारेका अनैतिक कर्म हुन् यी। तर सबैले यी क्रियाकलाप गरे समाज चल्न नसक्ने भएकोले कान्टको परिभाषामा यी अनैतिक कार्य हुन्। नियम बनाउँदा यी कार्यलाई प्रतिबन्धित गरिएको हुन्छ, तर सामान्यीकरण भएकोले हाम्रो समाजमा यी क्रियाकलाप व्याप्त छन्।
पत्रपत्रिकामा छापिने नैतिक अपचलनका घटनाको प्रकृति नेपाल र अरू विकसित राष्ट्रमा फरक छन्। नेपालमा व्यक्ति र संस्थाले घुस खाएको/ख्वाएको घटना चर्चामा आउँछ। लाउडा विमान प्रकरणदेखि शीतल निवास काण्डसम्म अनि सुडान काण्डदेखि सय किलो सुन काण्डसम्म यस्तै घटना हुन्। विकसित भनिने देशमा अनियमितताका घटना ढिलोचाँढो पटाक्षेप हुने विश्वास जनमानसमा बढी हुन्छ। त्यहाँ भ्रष्टाचार नहुने होइन, तर कुनै दिन प्रमाणित हुने डरले त्यस्ता कृत्य कम हुन्छन्। नेपालमा भने धेरैमध्ये केहीमात्र आर्थिक भ्रष्टाचारका घटना सार्वजनिक हुने जनविश्वास छ। भन्नुको अर्थ नेपाली समाज सरकार र यसका अनुगमनकारी संयन्त्रहरूमा भरोसा राख्दैन।
नैतिक विचलनका घटना कसरी रोकथाम गर्न सकिन्छ? नैतिकता भन्ने विषय दर्शनको एक महत्त्वपूर्ण अंश हो। शताब्दीयौं अघिदेखि मानिसले के गर्नु ठिक र के गर्नु बेठिक भन्नेबारे बहस हुँदै आएको छ। त्यसले दिने नतिजाका हिसाबले कतिपय गतिविधि सही या गलत छुट्याइन्छ भने कतिपय गतिविधिकै प्रकृतिअनुसार ठिक-गलत छुट्याइन्छ। केही नैतिकताका नियम नियम-कानुनले निर्दिष्ट गरेका हुन्छन्। जस्तै: घुस दिनु र लिनुलाई कानूनले प्रतिबन्ध गरेको छ। घुसको घटनामा जेल सजाय हुन्छ। कतिपय नैतिकताका विचलनमा कानूनले प्रतिबन्ध लगाएको हुँदैन। जस्तो, फोहरले डुङडुङ्ती गन्हाउने भएर सार्वजनिक ठाउँमा हिँड्नु या बाआमासँग राम्रो व्यवहार र शिष्टाचार नगर्नु गलत आचरण हो, तर त्यसमा सहजै कानून आकर्षित हुँदैन।
आधुनिक समयमा विभिन्न पेसा विकसित भएका छन्। परम्परागत दर्शनको पढाइमा विकास हुँदै पेसागत नैतिकताको आजकल पढाई हुन्छ। डाक्टर पढ्नेले चिकित्सा नैतिकताको अध्ययन गर्छन्। कम्प्युटरमा काम गर्नेले कम्प्युटरको नैतिकताको अध्ययन गर्छन्। त्यस्तै, वित्तीय क्षेत्रमा काम गर्नेले वित्तीय नैतिकता पढ्छन्। बिउच्याम्प र चिल्ड्रेसका अनुसार चिकित्सा क्षेत्रको नैतिकताका चार सैद्धान्तिक स्तम्भ छन्: कल्याणकारीता, 'हानी विहीनता', न्याय र स्वतन्त्रता।
कल्याणकारिताको सिद्धान्तअनुसार सकेसम्म चिकित्सकले बिरामीको कल्याण गर्नुपर्छ। 'हानी विहीनता'को सिद्धान्तअनुरूप कसैको हानी गर्नुहुन्न। कहिलेकाहीँ सिद्धान्तहरू बाझिन्छन्। जस्तै, बच्चा जन्माउने बेला कहिलेकाहीँ बच्चा र आमामध्ये एकलाई मात्र जोगाउन सकिन्छ। एउटाको कल्याण गर्दा नचाहँदा नचाहँदै अर्काको हानी हुन जान्छ। यस्तो द्विविधाको अवस्थामा कसैले एउटा पक्ष लिन्छन्, कसैले अर्को पक्ष। न्यायको सिद्धान्तले भने कसको हित गर्नु उचित या बढी आवश्यक भन्नेबारे विभिन्न कोणबाट नियाल्छ। अन्तिममा स्वतन्त्रताको सिद्धान्तअनुसार डाक्टरले आफै बुज्रुक भएर निर्णय लिन मिल्दैन। बिरामी सचेत भएको अवस्थामा सबै जानकारी बिरामीलाई दिएर बिरामीबारे निर्णय गराउनुपर्छ। इच्छा मरण, स्टेमसेल अनुसन्धान, जनावरमा वैज्ञानिक परीक्षण, भ्रूणहत्याजस्ता विषय नैतिकताअन्तर्गत द्विविधा हुने विषयमा पर्छन्, जसबारे प्रशस्त बहस चल्ने गरेको छ।
वित्तीय नैतिकताअन्तर्गत वित्तीय व्यवस्थामा काम गर्दा आउने द्विविधा र तिनको समाधानका उपाय पढिन्छ। व्यावसायिकता, ग्राहक प्रतिको दायित्व, रोजगारदाता प्रतिको दायित्व र स्वार्थको द्वन्द्वजस्ता विषयमा अध्ययन गरिन्छ। कुनै पनि पेसागत नैतिकताको अध्ययन गर्दा निर्णय गर्न गाह्रो हुने परिस्थितिको विश्लेषण गरिन्छ। केस अध्ययनको व्यापक प्रयोग हुन्छ। 'म असल मान्छे हुँ, असल काम गर्नेछु, नैतिकता विषयमा त सजिलै पास हुन्छु' भन्नलाई सजिलो हुन्छ, तर नैतिकताको कसीमा उत्रन सजिलो हुँदैन। एक व्यक्तिले विशेष परिस्थितिमा कसैलाई उपहार दियो। त्यो लिन मिल्छ कि मिल्दैन भन्नेबारे प्रशस्त बहस हुन्छ। कतिपय परिवेश प्रस्ट सेतो अथवा कालो हुँदैनन्।
के पेसागत नैतिकताको अध्ययनले नागरिकलाई साँच्चिकै नैतिकतावान् बनाउँछ? द्वन्द्वात्मक परिस्थितिको विश्लेषणले खास परिस्थितिमा सही निर्णय लिन सिकाउँछ? नेपालमा हुने धेरैजसो अनैतिक कार्य स्पष्ट अनैतिक अथवा गैरकानूनी खालका हुने गरेका छन्। सही कुरा पहिल्याउन अनुसन्धान आवश्यक पर्छ। कमसेकम नियमकानून र नैतिकताको अध्ययनले 'जे गरे पनि हुन्छ' भन्ने भावलाई दुरुत्साहित गर्न सक्छ।
अर्को कुरा, नैतिक तथा कानूनको पालना गराउन कडाभन्दा कडा नियम बनाउन सकिन्छ। पृथ्वीनारायण शाहले २५० वर्ष अगाडि नै 'घुस लिन्या र दिन्या दुवै राष्ट्रका शत्रु हुन्' भनेका थिए भनेर हामी पढ्न पाउँछौँ। अहिले पनि भ्रष्टाचारविरुद्ध नेपालले कडा कानून अख्तियार गरेको छ। सानोभन्दा सानो भ्रष्टाचारमा पनि कारबाही हुन्छ। भ्रष्टाचार नियन्त्रणकै लागि अधिकारसम्पन्न अख्तियार अनुसन्धान आयोग छ। तर भ्रष्टाचार अझै व्याप्त छ। सोही आयोगका अधिकारीसमेत बेलाबेला भ्रष्टाचारका विवादमा मुछिन्छन्। यी सबैको सार के हो भने नियम कडा बनाउँदैमा कार्यान्वयन हुन्छ भन्ने हुँदैन। त्यसका लागि सबल आर्थिक सामाजिक प्रणाली आवश्यक पर्दो रहेछ।
उत्कृष्ट आर्थिक-सामाजिक प्रणाली कसरी विकास गर्न सकिन्छ? नीति नियम बनाउन र नैतिक शिक्षाको पढाई सञ्चालन गर्नुभन्दा देशको प्रणाली विकास गर्न गाह्रो हुन्छ। यसका लागि सही अर्थमा शिक्षित जनशक्ति आवश्यक हुन्छ। सही शिक्षामा संख्या र गुणस्तरको गणना हुन्छ। नेपालमा सीमित युवा छन्। गुणस्तरीय शिक्षासँगै नैतिकताको पढाई भए नैतिक नागरिक निर्माणमा सहयोग पुग्न सक्छ।
सही नैतिक आचरणका लागि बाल्यकालदेखि नै त्यसको अभ्यास जरुरी हुन्छ। यस्तो विचार, जसमा नैतिकवान् बन्न कडा अभ्यास जरुरत पर्छ, त्यसलाई 'भर्चु एथिक्स' (सत्कर्मपूर्ण आचरण) भन्छन्। यस विचारधाराले नैतिकतालाई व्यक्तित्वको रूपमा हेर्छ। जसरी उत्कृष्ट बाँसुरीवादक हुन बाँसुरी वादनको लामो अभ्यास चाहिन्छ, त्यस्तै नैतिकवान् बन्न सही बानीबेहोराको अभ्यास गर्नुपर्छ। सामूहिक रूपमा सही बानीबेहोराको अभ्यास गरेमा समाजको नैतिक चरित्र उच्च रहन्छ।
नैतिकता प्रवर्द्धनका लागि बानीबेहोरा परिवर्तन गर्ने उपायसमेत अपनाउन सकिन्छ। जस्तै: सार्वजनिक ठाउँमा जथाभाबी फोहर फाल्ने अनैतिक व्यवहार रोक्न त्यस्ता ठाउँमा देखिनेगरी डस्टबीनको व्यवस्था गर्न सकिन्छ। फोहोर भएका ठाउँमा कर्मचारी लगाएर फोहोर सफा गराउन सकिन्छ। पहिले थोरै फोहोर भएको या नभएको ठाउँमा मानिसले फोहोर फाल्दैनन् भन्ने तथ्य विभिन्न अध्ययनले प्रमाणित गरेको छ।
हरेक वर्ष ट्रान्सपरेन्सी इन्टरनेसनलले कति आर्थिक भ्रष्टाचार भइरहेको छ भन्नेबारे विश्वका विभिन्न देशहरूको 'र्यांकिङ' प्रस्तुत गर्छ। तर त्यसले अंकमा कति भ्रष्टाचार भएको छ भनेर देखाउँदैन। किनकि अनेकौँ छिद्रमा हुने भ्रष्टाचार नाप्न धेरै चुनौतीपूर्ण हुन्छ। नैतिकता मापन गर्न त त्योभन्दा झनै गाह्रो हुन्छ। त्यसमाथि 'नैतिकता'को परिभाषा संस्कृतिअनुसार फरक पर्छ। छोराछोरीले आफ्ना बाआमा आमालाई संरक्षण र रेखदेख गरेको आधारमा नेपालीको 'नैतिकताको इन्डेक्स' माथि होला, तर हाम्रो समाजमा यो स्वाभाविक नैतिक दायित्व हो। अन्य नैतिकताका कसीमा हामी धेरै ठाउँमा चिप्लिने अवस्थामा छौँ।
कसैले अधिकांश समाजलाई मान्य हुने खालको 'नैतिकता मापनको मापदण्ड'को आविष्कार/परिभाषा गरेर सर्वत्र फैलाए सबैलाई लाभै हुँदो हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
