खेतीपातीले आर्थिक उपार्जन हुनुका साथै शारीरिक कसरत, वरपरको सौन्दर्य बढ्न गई हावापानी र जमिनको गुणस्तरमा पनि सुधार आउँछ। मानिसलाई मात्र नभई अन्य जीवजन्तुलाई पनि फाइदा पुग्छ।
आजकल नेपालमा गाँजा ‘भाइरल’ छ। सञ्चारमाध्यममा गाँजा विज्ञहरूको बिगबिगी छ। फेसबुक, टिकटक, एक्स, रिलजस्ता संजालमा कुरा गरी साध्य छैन। कसैले हेम्प, क्यानाबीस वा गाँजाको लुगा भन्दै प्रचार गरेका छन्। कसैले वेद-उपनिषदमा उल्लेख भएको अलौकिक बुटी भनेका छन्। कसैले हाम्रो देशको आर्थिक पाटो छलाङ मार्न योगदान पुर्याउने अद्भुत बिरुवा भनेका छन् त कसैले एड्स-क्यान्सरजस्तो घातक रोग निको पार्ने ‘अमृत’ भनेका छन् गाँजलाई। कुरा सुन्दा यस्तो लाग्छ नेपालमा उम्रने गाँजा सामान्य बोट होइन। यो त रामायणको कथामा हनुमानले लक्ष्मणको जीवन बचाउन द्रोणागिरी पर्वत उचालेर आकाश हुँदै लैजाँदा झुक्किएर नेपालमा खसेको ‘सञ्जीवनी बुटी’ हो।
विगतमा उकालोमा गाँजाबारे तीन लेखहरू ‘देश गाँजा गणतन्त्र नबनोस्’, ‘देशलाई ‘नार्को स्टेट’ होइन, ‘हेम्प स्टेट’ बनाऊँ’ र ‘नीति अनुसन्धान प्रतिष्ठानको प्रतिवेदन चिरफार’ लेखेको छु। ती लेखमा मैले गाँजाको विविध पक्षबारे प्रकाश पार्ने प्रयास गरेको थिएँ। यो लेखमा भने फेरि पनि एक पटक ‘के गाँजा निर्विकल्प वनस्पति हो? यसको विकल्पमा अरू कुनै वनस्पतिको खेती गरी आयआर्जन गर्न सकिन्छ कि सकिँदैन?’ भन्ने कुराको हेक्का राख्दै गाँजाको विकल्पमा के कस्ता वनस्पतिको खेती गर्न सकिन्छ भन्नेबारे लेखेको छु।
नारायणप्रसाद मानन्धरले आफ्नो किताब ‘प्लान्ट्स एन्ड पिपुल अफ नेपाल’ मा गाँजाको रस मान्छे र जनावरमा लाग्ने पखाला र आउँमा प्रयोग हुने गरेको उल्लेख गरेका छन्। यसका अतिरिक्त उनले पातको लेप काटिएको र घाउ भएको ठाउँमा लगाउनुका साथै पातको धुलो रुघाखोकी, चिसो लागेको र जुका परेकोमा पनि प्रयोग गरिने कुरा उल्लेख गरेका छन्। पात-फल भाङका रूपमा र चोपको चरेसको रूपमा मानिसले धुमपान गर्ने अनि सम्पूर्ण बोट राई जातिले पूजामा प्रयोग गर्ने गर्छन्। धार्मिक पक्षसँग जोडिएको गाँजा लड्डु र विभिन्न खाद्य परिकारमा मिसाएर खाइनुका साथै गाँजाबाट उत्पादन हुने रेसाबाट धागो, थैलो र खस्रा लुगा बनाउन उत्तिकै प्रयोग गरिन्छ ।
यद्यपि गाँजामा विभिन्न उपचारात्मक गुण हुने हुनाले यसबाट उत्पादित वस्तु एड्स, क्यान्सर, जलविन्दु, स्वतः प्रतिरक्षात्मक रोग, मेरुदण्डको चोट, अनिद्रा, मिर्गी रोग, दीर्घकालीन दुखाइजस्ता धेरै घातक रोगमा लाखौं मान्छेले धुमपान गरेर, चपाएर वा चियाको रूपमा प्रयोग गर्ने गरेका छन्। यति धेरै रोगमा प्रयोग हुने गाँजा साँच्चै ‘सञ्जीवनी बुटी’ हो त?
सरल भाषामा भन्ने हो भने होइन। गाँजा नेपालमा उम्रने ५ हजार ३ सय ४५ प्रजातिका सपुष्पक वनस्पतिमध्ये एक बिरुवा र नेपालभित्र पाइने २ हजार ३ सय ३१ प्रजातिका औषधिजन्य वनस्पतिजस्तै अर्को कुनै एक बिरुवा हो। अहिलेको अवस्थामा विविध कारणले गाँजा राष्ट्रिय-अन्तर्राष्ट्रिय जगतमा अवैधानिक छ। गाँजालाई हामीले केही रूपमा प्रयोग नै नगरी यसको विकल्पमा अन्य बोटबिरुवाको खेतीपाती गरेर मनग्य आम्दानी गर्न सक्छौं।
नेपालको विविधता
हाम्रो देश नेपाल अनौठो र 'अलौकिक' छ। यहाँ विविध भौगोलिक अवस्था, उचाइ र कटिबन्ध क्षेत्र छन्। क्षेत्रफलको आधारमा यो देश सानो छ। यसले एसिया महादेशको ०.३ प्रतिशत र विश्वको ०.०३ प्रतिशत क्षेत्रफल ओगटेको छ। यद्यपि, जैविक विविधतामा नेपाल धनी छ र विश्वमा ४९ औं स्थानमा रहेर विश्वको १.३ प्रतिशत जैविक विविधताको प्रतिनिधित्व गर्छ। पुष्पक प्रजातिको आधारमा मूल्यांकन गर्ने हो भने नेपाल विश्वमा २७ औं स्थानमा र एसियामा १० औं स्थानमा पर्छ।
पूर्व-पश्चिम दिशामा हेर्ने हो भने नेपाललाई तीन क्षेत्रमा विभाजन गर्न सकिन्छ (चित्र नं १)। ती क्षेत्रहरू कोशी (८६ डिग्री ३० मिनेट पूर्व), गण्डकी (८३ डिग्री पूर्वी देशान्तरदेखि ८६ डिग्री ३० मिनेट पूर्वी देशान्तरसम्म) र कर्णाली (८३ डिग्री पूर्वी देशान्तरदेखि पश्चिम) हुन्। दक्षिण-उत्तर दिशामा हेर्ने हो भने नेपाललाई करिब छ कटिबन्ध क्षेत्रमा विभाजन गर्न सकिन्छ (चित्र नं १)। ती कटिबन्ध क्षेत्र उष्ण (१००० मिटरभन्दा मुनि), उपोष्ण (१००१-२००० मिटर), समशीतोष्ण (२००१-३००० मिटर), उपलेकाली (३००१-४००० मिटर), लेकाली (४००१-५००० मिटर) र हिमाच्छादित (५००१ मिटरभन्दा माथि) हुन्। यहाँ प्रत्येक एक हजार मिटर उचाइ बढ्दै जाँदा ६.५ डिग्री सेल्सियसले तापक्रम घट्दै जान्छ। वर्षाको मात्रा पनि उत्तर-दक्षिण र पूर्व-पश्चिम दिशाहरूमा भिन्न हुन्छ। वर्षाको उत्पत्ति पूर्वमा बंगालको खाडीबाट सुरु हुने भएकाले पूर्वी नेपालको हावापानीमा अधिक मात्रामा आर्द्रता हुन्छ र पश्चिमतिर बढ्दै जाने हो भने हावापानी सुक्खा हुँदै जान्छ।
संसारमा मुख्यतः चार ऋतु छन् भने नेपालमा ६ ऋतु छन्। ती ऋतु वसन्त ऋतु (चैत-वैशाख), गृष्म ऋतु (जेठ-असार), वर्षा ऋतु (श्रावण-भदौ), शरद ऋतु (असोज-कार्तिक), हेमन्त ऋतु (मंसिर-पुस) र शिशिर ऋतु (माघ-फाल्गुन) हुन्।
पछिल्लो समय सन् २०१९ मा दीपेश प्याकुरेल र उनका साथीहरूले अनुसन्धान गरी लेखेको ‘ट्रेड एन्ड कन्जर्भेसन अफ नेप्लीज मेडीसिनल प्लान्ट्स, फंगी एन्ड लाइकेन’ नामक लेखमा नेपालमा जम्मा ३ सय प्रजातिका वनस्पतिको व्यापार हुने गरेको उल्लेख छ। तीमध्ये २६७ प्रजाति स्वदेशी (नेटीभ) र ३३ वनस्पतिका प्रजाति विदेशी (नननेटीभ) हुन्। स्वदेशी वनस्पतिमध्ये २३४ प्रजाति जंगली क्षेत्रबाट संकलन गरिएका, ३१ प्रजाति जंगली क्षेत्रबाट र खेती गरेर संकलन गरिएका र केवल २ प्रजाति मात्र खेती गरिएका हुन्। यसैगरी, विदेशीमध्ये २५ किसिमका खेती गरिएका र ८ प्रजाति अन्य देशबाट ल्याएको भए तापनि नेपालका विभिन्न ठाउँमा स्थापित भई हुर्केका प्रकृतिकृत (न्याचुरलेज्ड) वनस्पति हुन्।
व्यापार गरिने वनस्पतिमध्ये लगभग ३९ प्रतिशत औपचारिक रूपमा संरक्षणमात्र होइन, संकलन र व्यापारमा प्रतिबन्धसमेत लगाइएका वनस्पति हुन् र यिनको व्यापार गर्दा सम्बन्धित निकायबाट निश्चित दरको रोयल्टी तिरेर अनुमति लिनुपर्छ।
उष्ण कटिबन्ध क्षेत्रमा खेती गर्न सकिने वनस्पति
उष्ण कटिबन्ध क्षेत्रमा व्यावसायिक रूपमा खेती गर्न सकिने सबैभन्दा मूल्यवान् वनस्पति रक्तचन्दन हो। वैज्ञानिक भाषामा यसलाई टेरोकार्पस सान्टालिनस भनिन्छ। यो वनस्पति विशेषगरी सामुन्द्रिक सतहदेखि १ हजार मिटरभन्दा कम उचाइमा दक्षिण भारतको दक्षिणी पूर्वी घाट पर्वत श्रृंखला क्षेत्रमा पाइन्छ। जम्माजम्मी आठ मिटरसम्म अग्लो हुने रक्तचन्दन परम्परागत रूपमा ज्वरोमा, सुन्निएको ठाउँमा, जुकाविरुद्ध, तागत दिने औषधिका रूपमा, अत्यधिक रक्तस्रावमा, आउँ परेकोमा, कामोत्तेजना बढाउन र मधुमेहजस्ता रोगमा प्रयोग गरिन्छ। यो बिरुवा रोपेको पाँचदेखि १५/२० वर्षभित्र लाभ लिन सकिन्छ। यसको अन्तर्राष्ट्रिय रूपमा माग र मूल्य चर्को छ। यद्यपि, नेपालमा एक हजार ४०० देखि दुई हजार ८०० मिटर उचाइसम्म पाइने रक्तचन्दन भनिने डेफ्नेफाइलम हिमालयन्स र भारतमा एक हजार २०० मिटरभन्दा कम उचाइमा पाइने पुनः रक्तचन्दन नै भनिने एडेनेनथेरा पाभोनिना रुख भने नक्कली रक्तचन्दन हुन् भन्ने कुराको हेक्का राख्नु पर्छ।
धार्मिक काममा व्यापक प्रयोग हुने र परम्परागत रूपमा टाउको दुख्ने, पेट दुख्ने, छालाको रोग, पिसाब र यौनांगसँग सम्बन्धित रोगमा प्रयोग गरिने श्रीखण्ड (स्यान्टालम अल्बम) खेती गर्न सकिने अर्को महत्त्वपूर्ण रुख हो। सामुन्द्रिक सतहदेखि ७ सय मिटरभन्दा कम उचाइमा हुने यो रुख रोपेको १० वर्षदेखि संकलन गर्न सकिन्छ।
यसैगरी खेती गर्न सकिने अर्को बिरुवा अगरउड (एक्विलरिया मालक्केंसिस) हो। अगरउडले दुखाइ कम गर्ने, बान्ता रोक्ने, दम, छाला, जन्डिस, बिफर, उदासीनता, तनाव, स्नायु प्रणालीको विकार, कलेजो, मुटु, मृगौलाको रोग, बाथ, पक्षाघातजस्ता धेरै रोगमा प्रयोग गरिन्छ। विशेषतः सुगन्धित तेल निकाल्न, धूप र अत्तर बनाउन प्रयोग गरिने अगरउड सामुन्द्रिक सतहदेखि ७-८ सय मिटरभन्दा कम उचाइमा उम्रन्छ। यो रुखलाई कृत्रिम रूपमा ढुसीले संक्रमण गराएपछि ६-१० वर्षसम्म संकलन गर्न योग्य हुन्छ।
अन्य देशबाट बिउ ल्याएर खेती गर्न सकिने बिरुवा रोजमेरी (साल्भिया रोस्मारिनस) र दमिनी फूल (म्याट्रिकरिया क्यामोमिला) हुन्। रोजमेरी टाउको दुख्ने, पेट दुख्ने, बाथ, हिस्टेरिया, डिप्रेसन, पेटसम्बन्धी रोग र खानामा मसलाको रूपमा व्यापक प्रयोग गरिन्छ। यो उमारेको एक वर्षमा प्रयोग गर्न सकिन्छ। दमिनी फूलचाहिँ पाचनको गडबडी, अनिद्रा, डिप्रेसन, छालाको रोग, बाथ, ढाड दुख्नेजस्ता धेरै रोगमा प्रयोग गरिन्छ भने रोपेको वर्ष दिनमा संकलन गरी प्रयोग गर्न सकिने र यसको बजारमा व्यापक माग छ।
अन्य आशालाग्दा वनस्पतिमा कडीपत्ता, कालो मुस्ली, खयर र टटेलो हुन्। सानो रुख वा झाडीको रूपमा उम्रने कडीपत्ता (मुराया कोइनिगी) एक सय ५० देखि १५ सयको उचाइमा उम्रने वनस्पति हो। यो धेरै भिटामिनयुक्त हुन्छ। पेट र जिउको दुखाइ कम गर्ने र यसमा क्यान्सर निको पार्ने गुण हुन्छ। कालो मुस्ली (कर्कुलिगो आर्कियोइड्स) १ सय देखि १७ सयको मित्रको उचाइमा पाइन्छ र नपुंसकता, कमजोर हड्डी, बाथ र पखालामा अत्यधिक रूपमा प्रयोग हुन्छ। ८० मिटरदेखि १७ सय मिटरको उचाइमा पाइने खयर (सेनेगालिया क्याटाचु वा आकसिया क्याटाचु) परम्परागत रूपमा आउँ, पखाला, नाक र घाँटीको रोग, आन्द्राको रोग, रक्तस्राव, अपच, हड्डीको रोग, क्यान्सर, छाला रोग र घाउमा प्रयोग हुन्छ। ३ सयदेखि १४ सय मिटरसम्मको उचाइमा उम्रने टटेलो (ओरोजाइलम इन्डिकम) खाना, धार्मिक र परम्परागत रूपमा व्यापक प्रयोग गरिन्छ। रुख र जराका बोक्रा, पात, फलफूल जन्डिस, मुटुको समस्या, ग्यास्ट्रिक अल्सर, झाडापखाला, आउँ, क्यान्सर, श्वासप्रश्वास सम्बन्धी रोगमा प्रयोग गरिन्छन्।
उष्ण कटिबन्ध क्षेत्रमा खेती गर्न सकिने थप वनस्पति गुर्जो (वैज्ञानिक नाम: टिनोस्पोरा कर्डीफोलिया, फैलावट: १००-५०० मिटर), तुलसी (ओसिमम् टेनुईफ्लोरम, ४००-९०० मिटर), नीम (एजाडिरेक्टा इन्डीका, ६००-९००मिटर), बर्रो (तेर्मिनालिया बेलारिका, १००-११०० मिटर), बेल (एजाइल मर्मोलोस, १००-११०० मिटर ), रातीगेडी (एबुरस प्रिक्याटोरीअस, १००-१२०० मिटर), रुदिलो (पोगोस्टेमन बेन्गलेंसिस, ६०-१४५० मिटर), लेमन ग्रास (सिम्बोपोगोन फ्लेक्जुओसस्, ४००-११०० मिटर), विजयसाल (टरोकारपस मार्सुपीअम, १००-५०० मिटर), सर्पगन्धा (राउलफिया सर्पेन्टीना, १००-११५० मिटर), सित्तलचिनी (मोरिंगा ओलिफेरा, १००-२००० मिटर) र हर्रो (टरमिनेलिया चेबुला, १००-१५०० मिटर) हुन्। औषधिका हिसाबले सुन्निएकोमा, रगतको विकार, मुत्रविकार, बाथ, ज्वरो, कलेजो र मृगौलाको रोग, मधुमेह, पेटको रोग, घाउ, क्यान्सर र अन्य संक्रमणविरुद्ध प्रयोग हुने यी वनस्पतिको व्यापारिक महत्त्व पनि उत्तिकै छ।
उपोष्ण कटिबन्ध क्षेत्रमा खेती गर्न वनस्पति प्रजाति
उपोष्ण कटिबन्ध क्षेत्रमा खेती गरेर सबैभन्दा फाइदा लिन सकिने महत्त्वपूर्ण बिरुवा बोधिचित्त (जिजिपस जियंगचेंसिस) हो। १२ सयदेखि २ हजार मिटरसम्मको उचाइमा खेती गर्न सकिने यो रुखको पात गाईबस्तुलाई खुवाइन्छ भने बीउको माला बौद्ध धर्मावलम्बीहरूले 'भगवान् बुद्धलाई प्रसन्न गर्न' र ‘आध्यात्मिक शान्तिको लागि पूजा गर्न’ प्रयोग गरिन्छ। एउटै मालाको मूल्य केही हजारदेखि लाखौँसम्म पर्छ।
अरू खेती गर्न सकिने वनस्पतिमा तेजपात, पुदिना, टिमुर, गिट्ठा, भ्याकुर, तरुल र चिराइतो हुन्। तेजपात (सिन्यामोमन) सँग सम्बन्धित ८ प्रजातिमध्ये सबैभन्दा ज्यादा प्रयोग हुने तेजपात (सिन्यामोमन तमला, ४५०-२००० मिटर), सिन्कौली (सिन्यामोमन गल्यान्डुलिफेरुम, २१००-२६०० मिटर) र मालागिरी वा सुगन्ध कोकिला (सिन्यामोमन ग्लाउसेन्स, २०००-२५०० मिटर) को काठबाट फर्निचर, हलो–जुवा बनाउनुका साथै तेलबाट अत्तर र सुगन्धित साबुन बनाइन्छ। परम्परागत रूपमा यी विभिन्न प्रजातिहरू विशेषतः छाती र पाठेघरको क्यान्सर, शरीर सुन्निएको भाग, रुघाखोकी, जुका परेको र दाँत दुखेमा प्रयोग गरिन्छन्।
पुदिना (मेन्था) का तीन प्रजातिमध्ये सबैभन्दा फराकिलो परिधि (१८०-२००० मिटर) मा फैलिएको मेंथा स्पिकाटा हो भने अरू प्रजातिहरू मेंथा पाइपेरिटा (१०००-२००० मिटर) र मेंथा आरभेन्सिस् (१२००-२००० मिटर) हुन्। यी विभिन्न प्रजाति चिसो, खोकी, दम, ज्वरो, मोटोपना, जन्डिस र पाचन सम्बन्धी समस्यामा प्रयोग गरिनुका साथै अचार र चियाको रूपमा व्यापक प्रयोग गरिन्छन्।
नेपालमा टिमुर (ज्यान्थोजाईलम) का सात प्रजाति छन् र सबैभन्दा धेरै प्रयोग हुने प्रजाति ज्यान्थोजाईलम आरम्याटम (७७०-३१०० मिटर) हो। टिमुर घाउ चोटपटक, दुखेको, सुन्निएको, बाउँडिने, दाँतको दुखाइ, पेट दुखेकोमा, रुघाखोकी र पिसाबसम्बन्धी समस्यामा प्रयोग हुन्छ। लेक लाग्नबाट जोगिन र मसलाको रूपमा टिमुरलाई उत्तिकै प्रयोग गरिन्छ।
नेपालमा गिट्ठा,भ्याकुर र तरुलका (डाइस्कोरिया) १३ प्रजाति छन्। यी प्रजाति रुघाखोकी, चिसो, पेट दुखाइ, कुष्ठरोग, जलन, ढुसी संक्रमण, आउँ, छाला रोग, बाथ रोग, जोर्नी दुखाइ जस्ता रोगमा प्रयोग गरिन्छन् र कुनै प्रजाति जन्म दर नियन्त्रणको लागि पनि प्रयोग गरिन्छ। गिट्ठा, भ्याकुर र तरुलका प्रजाति १ सय देखि ३९ सय मिटरसम्म पाइन्छन् र खानामा पनि उत्तिकै लोकप्रिय छन्।
यस्तै, अर्को बहुउपयोगी वनस्पति चिराइतो (स्वरसिया) का नेपालमा ३० भन्दा धेरै प्रजाति छन्। १२ सय मिटरदेखि ४५ सय मिटरसम्म पाइने र तीतो स्वाद भएका यी प्रजाति रुघाखोकी, चिसो लागेको, ज्वरो, बान्ता, जन्डिस, पाचन गडबडी, मुटु रोग, मधुमेह, औलो, बिच्छीको टोकाइ, छाला रोग, रगतको गडबडी, महिलाको मासिक गडबडीजस्ता विभिन्न रोगमा प्रयोग गरिन्छन्। ठाउँ विशेषअनुसार अनुकूल प्रजाति चयन गरेर खेती गर्न सकिने बहुउपयोगी र आम्दानीमूलक चिराइतोको खेती केही ठाउँमा भएका छन् र यसलाई नेपालका अन्य भागमा विस्तार गर्न जरुरी छ।
उपोष्ण कटिबन्ध क्षेत्र र केही माथिल्लो उचाइमा खेती गर्न सकिने अन्य वनस्पतिका प्रजातिहरू अमला (फाइलेन्थस् एम्ब्लिका, १००-१४०० मिटर), इन्द्रजउ वा वन खिर्रो (होलार्निया पुबिसेन्स, ६०-१९९० मिटर), काउलो (म्यकिलस ओडोराटीसिमा, ३००-२२०० मिटर), गुर्जो (टिनोस्पोरा साइनेन्सिस, २००-१५४०), चिउरी (दिप्लोनेमा ब्युटिरासिया, १७०-१५०० मिटर), जामुन (सिजाइजीअम क्युमिनी, १००-१८७०), ठूलो ओखती (एस्टेल्बी राइभुल्यारिस, १४००-३६०० मिटर), बकाइनो (मेलिया एजाडिरेक्, ७००-२७०० मिटर), खोटे सल्लो (पाइनस रोक्सबर्गी, १००-२१०० मिटर), लप्सी (केरोपोन्डियास अक्जील्यारिस, ८५०-१५२० मिटर) र असुरो (जस्टिसिया एडातोडा, १३०-१९०० मीटर) पनि हुन्। यी प्रजाति औषधिको रूपमा प्रयोग गरिन्छन्। चिउरीको तेल घिउ र सल्लोको खोटो निकालेर मनग्य आम्दानी पनि गर्न सकिन्छ।
समशीतोष्णदेखि तल्लो उपलेकाली कटिबन्ध क्षेत्रमा खेती गर्न सकिने वनस्पति
नेपालमा प्रशस्त मात्रामा पाइने तर केवल सीमित रूपमा उपयोग गरिएका धेरै वनस्पति प्रजातिमध्ये ऐँसेलु प्रजाति पनि हुन्। नेपालमा जम्मा ३३ किसिमका ऐँसेलुका प्रजाति छन्। उपोष्णदेखि समशीतोष्ण कटिबन्ध क्षेत्रमा पाइने विभिन्न प्रजातिको मुख्यतः फल खाने गरिन्छ। ऐँसेलुको फल, पात र बोक्रामा औषधीय गुण हुन्छ र ती मुख दुख्ने, घाँटीको क्यान्सर, घाउ, पखालाको लागि र टोनिकका रूपमा प्रयोग गरिन्छन्। ऐँसेलुको झाडी राम्रो हुनाले पहिरो नियन्त्रण गर्न उपयोगमा आउँछ र हामीले व्यावसायिक रूपमा खेती गर्न सके फलबाट विभिन्न पेयपदार्थ बनाउन सक्छौं। चुत्रो (बरबेरिस) का ३३ प्रजाति छन् र यिनको पनि ऐँसेलुजस्तै फराकिलो फैलावट छ। चुत्रोको व्यावसायिक खेती गर्न सके बोटबाट विभिन्न औषधि अनि डाँठ र जराबाट पहेँलो रङ्गको पनि उत्पादन गर्न सक्छौं।
ढटेलो (प्रिन्सिपल युटिलिस) मुख्यतः पश्चिम नेपालको ११ सय देखि ३४ सय मिटरको उचाइसम्म पाइने एक किसिमको झाडी हो। पात, बीउ, जरा र फल हाडजोर्नीको रोग, पखाला, पेट दुखाइ, टन्सिल, पत्थरी,मांसपेशी दुखाइ, खोकी, चिसो लागेको, जलेको, काटेको घाउमा, उच्च रक्तचाप र छालाको रोगविरुद्ध प्रयोग गरिन्छ भने यसको बिउबाट निकालिएको तेल स्वास्थ्यका लागि अत्यन्त लाभदायक हुन्छ।
नेपालमा तितेपाती (आर्टिमिसिया) को २१ भन्दा धेरै प्रजाति छन्। त्यति स्याहार गर्नु नपर्ने यसका विभिन्न प्रजाति ठाउँ र उचाइ अनुकूल व्यावसायिक रूपमा खेती गरी मनग्य आय-आर्जन गर्न सकिन्छ।
यो क्षेत्रमा हामीले विशेषतः विभिन्न किसिमका रुख उमारेर फाइदा लिन सक्छौं। तालीस पत्र (एबिज सपेक्टाबिलिस, १५२०-४४०० मिटर), देवदार (सिड्रस दियोदारा, १८००-३००० मिटर), सल्लाको सिम्ता (सुगा ड्युमोसा, १८००-३६०० मिटर), रानी सल्लो (पाइनस वालिचियाना, १५००-४३०० मिटर), ओखर (जुग्लान्स रेजिया, १२००-३००० मिटर), खुर्पानी (प्रुनस अर्मेनिका, २९००-३५०० मिटर) र लौठ सल्ला (ट्याक्सस कन्ट्रोटा, १७००-३५०० मिटर र ट्याक्सस वालिचियाना, १७००-३५०० मिटर) जस्ता रुख रोपेर काठ र अन्य भागबाट पनि धेरै फाइदा लिन सक्छौं।
लेकाली कटिबन्ध क्षेत्रहरूमा खेती गर्न सकिने वनस्पति
निकै चिसो र कम मानव बस्ती हुने यो क्षेत्रमा रहेका वनस्पतिका विभिन्न प्रजातिबाट फाइदा लिन सकिन्छ। यहाँ पाइने साना वनस्पतिमा प्रशस्त औषधीय गुण पाइन्छन्। तिनीहरूको उचित संरक्षण गरी चक्रीय प्रणालीमा संकलन गर्नु उपयुक्त हुन्छ। यहाँ पाइने धुपी र सुनपातिजस्ता सुगन्धित झारको पात संकलन गरी धूप बनाउन सकिएमा ठूलो मात्रामा आर्थिक लाभ लिन सकिन्छ। फाइदा लिन सकिने अरू वनस्पति विष (एकोनीटमक) का ३४ प्रजाति (१५००-५४०० मिटर), कालो सतुवा (ट्रिलीअम गोभानियाना, २७००-४३०० मिटर), अतिस (डेल्फिनियम) का २५ प्रजाति (२०००-६००० मिटर) र सिस्नुका ३ प्रजाति (६००-११०० मिटर) बाट पनि लाभ लिन सकिन्छ।
स्मरणीय छ, हिमाच्छादित कटिबन्ध क्षेत्रमा अत्यन्त कम वनस्पति हुने तर भइहाले औषधीय गुणका हिसाबले महत्त्वपूर्ण हुने गर्छन्।
उपसंहार
माथि उल्लेखित केही वनस्पतिका प्रजाति विभिन्न कानुनले व्यापार गर्न बन्देज लगाएका छन् तर पनि कानुनी प्रक्रिया पूरा गरी खेती सुरु गर्नुभन्दा अगाडि नै सम्बन्धित निकायबाट अनुमति लिएमा पछि सहजै बिक्री गर्न पाइन्छ। कुनै पनि वनस्पतिको वैज्ञानिक नामले संसारभर सहजै पहिचान गरिने हुनाले माथि उल्लेखित सबै वनस्पतिको कोष्ठभित्र वैज्ञानिक नाम दिइएको हो। ठाउँ, भाषा र जाति विशेषअनुसार एउटै वनस्पतिको स्थानीय नाम एकभन्दा धेरै हुने भएकाले जो कोहीले पनि खेती गर्नुपूर्व सम्बन्धित वनस्पतिविद् र कृषि क्षेत्रका विशेषज्ञसँग उचित परामर्श र सल्लाह लिन जरुरी हुन्छ। नाम सुनेको भरमा कुनै वनस्पति खेती गर्दा भविष्यमा दाउराबाहेक व्यापारिक प्रयोजनमा नआउन सक्छ। नामको विविधताबारे जानकारी लिन केशव श्रेष्ठको ‘डिक्सनरी अफ नेपालीज प्लान्ट नेम्स’ र नारायणप्रसाद मानन्धरको ‘प्लान्ट्स एन्ड पिपुल अफ नेपाल’जस्ता किताब हेर्न पनि जरुरी हुन्छ। यसैगरी यदि कुनै पनि बिरुवाको प्रयोगबारे पत्ता लगाउनुपरे पुनः नारायण प्रसाद मानन्धरको किताब हेर्न उपयुक्त हुन्छ।
हुन त एउटाले जे बिरुवाको खेती गर्यो सबैले त्यसैको खेती गर्ने हाम्रो देशमा बजारको समस्या नहोला भन्न सकिन्न। तर पनि संयुक्त संकलन, भण्डारण र बिचौलियाविना किसानले आफैँ व्यापार व्यवस्थापन गर्न सके उपयुक्त आर्थिक लाभ लिन सकिन्छ। केही पनि काम गर्दा दीर्घकालीन रूपमा आर्थिक लाभ हुन्छ र आफूले गर्ने कुनै पनि कामबाट ‘दिन दुई गुणा रात चौगुना’का हिसाबले आयआर्जन हुन्छ भन्नु हुन्न र तत्कालै केही समस्या परे निराश पनि हुनुहुँदैन। खेतीपातीले आर्थिक उपार्जन हुनुका साथै शारीरिक कसरत हुने, वरपरको सौन्दर्य बढ्न गई हावापानी र जमिनको गुणस्तरमा पनि सुधार आउँछ। खेतीपातीले मानिसलाई मात्र नभई अन्य जीवजन्तुलाई पनि फाइदा पुग्छ।
गाँजाले हामीलाई सीमित रूपमा फाइदा त दिन्छ, तर समग्र रूपमा कसरी प्रकृतिको सुन्दरता बढाउँछ, कसरी माटोको गुण परिवर्तन गर्छ, विद्यमान जलस्रोतलाई असर गर्छ र वरपर रहेका स्थानीय पारिस्थिकीमा यसको के भूमिका हुन्छ भनेर फराकिलो मूल्यांकन गर्न जरुरी छ। हचुवाको भरमा केही व्यक्ति विशेषले ‘गाँजा अमृत हो, सञ्जीवनी बुटी हो, अद्भुत हो’ भन्दैमा यसलाई वैधानिक गर्नुहुन्न। तत्कालै गरिहाले प्रशस्त समस्या आइलाग्न सक्छन्। उचित अनुगमन प्रणालीको स्थापना र कानून परिमार्जनविना अनि अन्तर्राष्ट्रिय परिस्थितिलाई मूल्यांकन नगरी केही व्यक्ति, व्यापारी र नेताको व्यक्तिगत स्वार्थमा परी गाँजालाई कदापि वैधानिक गर्नुहुन्न।
देशका मुख्य र प्रभावशाली सञ्चारमाध्यमले गाँजाको अनावश्यक महिमा निरुत्साहित गर्नुपर्छ। अतिरञ्जित दुष्प्रचारलाई निरुत्साहित गर्नुपर्छ। आम मानिसले पनि पढ्नुपर्छ, सचेत हुनुपर्छ र गाँजाको फाइदा-बेफाइदाबारे लेखाजोखा गर्नु पर्छ। ‘कागले कान लग्यो’ भनेको सुन्दैमा कागको पछि हामी दौडियौँ भने दुःख सिवाय केही पाउन्नौँ। त्यसैले हामीले ‘गाँजाको महिमा’ त्यागेर, गाँजाको विकल्पमा अरू धेरै वनस्पतिको पनि खेती गर्न सकिन्छ र गाँजाको प्रशस्त विकल्प छन् भन्ने कुराको हेक्का राख्नु पर्छ।
(रोकाया चेक रिपब्लिकस्थित इन्स्टिच्युट अफ बोटनी तथा ग्लोबल चेन्ज रिसर्च इन्स्टिच्युटको चेक एकेडेमी अफ साइन्सेजमा कार्यरत छन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
