वर्षा, नदी र जमिन: कहाँ चुक्यौँ हामी?

नदी किनारमा तटबन्ध लगाउन सरकारले निकाय खोल्यो, बजेट ल्यायो। तर नदी खुम्च्याउनु हुन्छ कि हुँदैन, नदीको दुईतिर पर्खाल बनाउनु हुन्छ कि हुँदैन? सवाल यो हो।

यसपालि दशैँअघिको बाढीपहिरोमा धेरै धनजनको क्षति भयो। यस्ता घटनामा उद्धार, प्रभावितको रेखदेख र राहत पहिलो प्राथमिकता हो। राज्यको मुख्य दायित्व हुन्छ यस्ता घटनामा। पुनर्स्थापना लगायतका विषय त्यसपछिको प्राथमिकतामा पर्ने भए। तर कहाँबाट र कसरी यो सिर्जित भयो भन्ने प्रश्न बाँकी नै रहन्छ। अहिले मात्र यस्तो भएको हो कि, यसका कुनै सिलसिला छन् कि छैनन्, यसको ऐतिहासिक सन्दर्भ के छ, विगतमा कुन ठाउँमा के भएको थियो?

पानी जीवनको आधारभूत आवश्यकता हो। नेपाल मात्र होइन विश्वभर पानी अब आर्थिक र सामाजिक विकासको एउटा माध्यम बन्न पुगेको छ। नदी किनार (पानी) आसपासमा सभ्यता विकसित र स्थापित भए। मानव सभ्यताको विकास क्रममा पानीलाई खानेपानी, सिँचाइ, बिजुली उत्पादन या औद्योगिक व्यवसायलाई मुनाफायुक्त पार्ने साधनका रूपमा हेरियो। पर्यावरण र जनजीविकामा यसको भूमिका ओझेलमा पारियो। अझ पूर्वीय समाजमा पुग्दा पानीमा आस्था र धर्म पनि जोडिन्छ।

के पनि बुझ्न आवश्यक छ भने, नदी सधैँ कञ्चन र निलो देखिने गरी कलकल बगिराख्ने मात्र त हुँदैन। बाढी पनि आउँछ। पृथ्वीको निर्माण नै उथलपुथलबाट भयो, त्यसैले यो उसको चरित्र नै हो। हावाहुरी, बाढी र विषम वर्षाजस्ता कुरा यहाँ भइरहन्छन्। हाम्रो भाषालाई नै नियाल्ने हो भने वर्षाका अनेक प्रकारमा खण्डवृष्टि, अतिवृष्टि र अनावृष्टि भनिएको छ। त्यसको मतलब पहिले पनि पृथ्वीमा हाँडीघोप्टे पानी, हात्तीसुँढे पानी र मुसलधारे पानी पर्ने रहेछ।  

काठमाडौँको नदी सेरोफेरो
आफ्नै जीवन अनुभव भनौँ। सन् ५० को दशकमा जन्मेको म सानो छँदा बागमती नदी कस्तो थियो भन्नेबाट शुरू गरौँ। काठमाडौँको बाहुन परिवारमा जन्मेको हुनाले पशुपतिनाथ र गुह्येश्वरी दर्शन गर्न गइन्थ्यो। त्यहाँ पुगेर पहिले बागमतीमा जलसेचन र त्यसपछि दर्शन गर्न जाने चलन थियो। त्यति बेला बागमती कञ्चन थियो। बागमती कति कञ्चन थियो भने भन्नेबारे थुप्रै साहित्यकारले लेख्नुभएको पनि छ। 

पछि इन्जिनियर भई स्नातकोत्तर गर्न विदेश गएर फर्किएपछि इन्जिनियरिङ इन्स्टिच्युटमा पढाउन थालेँ। त्यतिखेर स्कुटरमा ओहोरदोहोर गर्दा बागमतीको पानीको स्तर अलि खस्किसकेको देख्न थालेँ। सन् १९८१ (२०३८ साल) मा सिभिल इन्जिनियरिङको शिक्षा नेपालमा शुरू भयो। अनि त्यही बेला पढाउने काममा लागेको थिएँ।

भर्खरै स्नातकोत्तर गरेर आएपछि आफ्नो विषयबारे अलिअलि जानेको थिएँ तर के–के न जान्याजस्तो लाग्थ्यो आफूलाई। किताबी ज्ञान थाहा भएको तर व्यवहारिक ज्ञान नभएको। नेपालका नदीका बारेमा भूगोल पढ्दाखेरीको सामान्य जानकारीबाहेक त्यति थाहा पनि थिएन। 

सुन्दरीजलबाट चोभारसम्म नदीमा कति माटो र बालुवा बग्छ, यसको चरित्र के हो भन्नेबारे आफ्ना विद्यार्थीलाई अध्ययन गर्न लगाएको थिएँ। अहिले फर्केर हेर्दा केटाकेटीको जस्तो परिकल्पनामा आधारित थियो सो अध्ययनजस्तो लाग्छ। बागमतीमा कति बालुवा भरिन्छ र त्यसलाई कतिचाहिँ सन्तुलित रूपमा दोहन गर्न सकिन्छ भनेर जान्न उक्त अध्ययन गर्न लगाएको थिएँ। वर्षमा यति मात्र बालुवा झिक्न सकिन्छ, त्योभन्दा बढी हुँदैन भन्न सक्ने आधार तय गर्ने उद्देश्य थियो। हामीले अध्ययन सिद्ध्यायौँ। 

सो अध्ययन सकिने बेलासम्म एकदम कञ्चन त नभनौँ तर बागमती ठीकै थियो। पानी सङ्लै थियो। यता टेकुतिर आइपुग्दासम्म आगोमा जलेका कुराहरू मिसिएको भेटिन्थ्यो। तर नदी त्यति विचलित भइसकेको थिएन। बागमती मात्र होइन विष्णुमती, रुद्रमती (धोबीखोला), इच्छुमती (टुकुचा), मनोहरा, कर्मनाशा, नख्खु, बल्खु र सामाखुसी, बाचाखुसीजस्ता सानासाना नदीको अवस्था खासै भिन्न थिएन। 

काठमाडौँको भौगोलिक बनोट कचौराजस्तो छ। पानी चारैतिरबाट बग्दै गएर चोभार पुग्छ। तल्लो भेगमा पुगेपछि बल्खु र चोभारको गल्छीनजिकै नख्खु जोडिन्छ। सबै पानी सोहोरिएर चोभारको गल्छी भएर निस्किन्छ। 

उतिखेर पनि दशैँको अगाडिकै समय थियो, हामीले दिनभरको अध्ययन सिद्ध्याएर गोकर्णको पुलमा आइपुगेका थियौँ। विद्यार्थीले भोलि फेरि काम शुरू गर्न नदीकै किनारमा एउटा चिनो राख्न भने। ‘किनारमा हुँदैन, नदी हो, के ठेगान? पानीसानी परिदियो भने समस्या हुन्छ’ भनेँ। मनमा के आयो, अलि बल गरेरै माथि पुलनजिक राख्न लगाएँ। त्यो राति वितण्डैको पानी पर्‍यो। 

अर्को दिन बिहान कति पानी बग्यो, कति सेडमेन्ट (माटो र गेग्र्यान) बग्यो, त्यो नाप्न उत्साहित थिएँ। पुरेत घाटमा नाप्न खोज्दा ११ हजार पीपीएम थियो। त्यो बेलाको धेरै पानी नख्खुको सिरानमा परेको थियो। नख्खु र बागमतीको दोभान क्षेत्र हेर्दै विकराल थियो।  

पछि बालुवा झिक्दाझिक्दै, ढल मिसाउँदा मिसाउँदै र सँगसँगै शहरीकरण बढ्दाबढ्दै बागमतीको स्तर खस्किँदै गयो। काठमाडौँको घरघरबाट निस्किएको फोहोर बिनाप्रशोधन नदीहरूमा फालियो। बसाइँ बिस्तार हुन थाल्यो, डोल (नदी आसपासको गहिरो क्षेत्र)  क्षेत्रमा पनि बिस्तारै बस्ती बस्दै गए।

त्रिभुवन विमानस्थलबाट सिनामंगलको बाटो भएर यता पश्चिमतिर बढ्दा हेरौँ, बागमतीसम्म ओरालो छ। बागमती कटेपछि फेरि उकालो आउँछ। पुरानो बानेश्वर कटेपछि फेरि ओरालो आउँछ धोबीखोलासम्म। त्यो कटेर डिल्लीबजारतिर जाँदा उकालो छ। त्यसपछि फेरि ओरालो र टुकुचाको पुल। त्यहाँदेखि अगाडि बढ्दा बिस्तारै उकालो हुँदै जान्छ र टुँडिखेल आउँछ। लामो समभागपछि फेरि आउँछ विष्णुमती। 

यसरी होचो र अग्लो स्थानको क्रम देखिन्छ। हाम्रा परम्परागत बस्तीहरू तिनै अग्ला ठाउँ–भागमा थिए। डोल क्षेत्रहरू भने खाली थिए। बाढी फैलिने ठाउँमा बस्ती थिएन। सायद परम्परागत ज्ञान नै थियो त्यो, कहाँ बस्ने र नबस्ने भन्नेबारे। तर बिस्तारै त्यो ज्ञान हामीमाझ रहेन।

तिलगंगातिर सन् १९५० मा खिचिएका तस्वीरमा बागमतीको किनारमा दुवैतिर धानखेत फैलिएको देखिन्छ। अब त्यो भूधरातल र पानी तथा समाजबीच प्राकृतिक रूपमा अगाडि बढेको सम्बन्ध परिवर्तन भए। कसले परिवर्तन गर्ने, कसले रोक लगाउने, त्यतापट्टि सरकारी नीतिहरू बनेनन्, नियमन भएनन्। नदी क्षेत्र अतिक्रमण हुने क्रम चल्यो। त्यो क्रम चल्दाचल्दै अहिले त काठमाडौँका प्रायः सबै नदीको दुवैपट्टि हामीले पर्खालै बनाएका छौँ। त्यसलाई ‘रोड करिडोर’ नाम दिइएको छ। 

रोड बनाइएपछि आवतजावत सजिलो त भएको छ। त्यसपछि गएर सौन्दर्यीकरण योजना भनेका छौँ। काठमाडौँबाहिर पनि यो प्रचलन देखिन थालेको छ। नदीको प्राकृतिक प्रणाली बिग्रने क्रम बढ्दै गयो। अहिले देखिएको त्यही हो। र नदीसँग गर्ने व्यवहारमा अतिक्रमणमा हामीले ‘पुनर्विचार गर्नुपर्छ’ भन्ने यसको सन्देश हो। 

विकासको हाम्रो तरिका र पानी विज्ञान
नदीलाई दुवैतिर पक्की तटबन्ध लगाएर घेराबन्दी गर्ने क्रम कहाँबाट शुरू भयो? यसलाई अलि इतिहासतिर फर्केर हेर्नुपर्ने हुन्छ। पानी व्यवस्थापनको जुन आधुनिक ज्ञान हामी भन्छौँ, त्यो कहाँबाट शुरू भयो? त्यसको ऐतिहासिक, राजनीतिक र सामाजिक सन्दर्भ के थियो? कसरी, कहाँबाट र कसद्वारा ल्याइयो? त्यो सन्दर्भ बुझ्न आवश्यक हुन्छ। 

यो कुरा खोतलखातल नपारीकन अहिलेको चुनौतीको समाधान पाउँदैनौँ। नैतिकतामा आधारित भएर हामीले पानीसँग जोडिएको विकासको बाटो खोज्नुपर्छ। 'पानी विकास'का हाम्रा जे मान्यता र विधि छन्, त्यसका धेरै कमीकमजोरी अहिले नै प्रस्ट भइसके। त्यसमा परिवर्तन गर्नुपर्छ। त्यसमा सामाजिक ऐक्यबद्धता हुनुपर्छ। राज्यको भूमिका त जहिल्यै प्रमुख भइहाल्यो।

नदी किनारमा तटबन्ध लगाउन सरकारले निकाय खोल्यो, बजेट ल्यायो, बाहिरबाट ऋण पनि लियो होला। तर नदीलाई खुम्च्याउनु हुन्छ कि हुँदैन? नदीको दुईतिर पर्खाल बनाउनु हुन्छ कि हुँदैन? सवाल यो हो।

नदी के हो त? आकाशबाट जमिनमा परेको पानीलाई समेट्ने प्रणाली हो। समुद्र, वर्षा र जमिनबीचको एउटा कडी हो। हामीले जलविज्ञानमा पढेको कुरा यो हो। र, यो अनवरत चलिरहेको आयाम हो। नदी नागबेली भएर बग्छ। आफू नजिकको क्षेत्रसँग जुध्नु उसको चरित्र हो। उसको एउटा शैली र लय छ। त्यो लयभित्र बाढी पनि छ। बस्तीसँग बाढी जुध्दा त्यसले विनाश ल्याउँछ। नदीको शाश्वत र प्राकृतिक शैली हो बाढी।

हाम्रो ठाउँमा मनसुन शुरू भएपछि बाढी आउँछ। क्रमशः नदी, डोल क्षेत्र, खेत र बारी पहाडी ठाउँको बनावट हो। माथितिर नदीको सिरानमा कम पानी हुन्छ। र, बग्दै जाँदा सोहोरिँदै धेरै पानी हुन्छ। नहरमा भने माथि सिरानमा पानी बढी बग्छ। र, तल खेतमा पुग्दा पानी कम भएको हुन्छ। किनकि हामी तल पानी प्रयोग गर्दै जान्छौँ। नदीमा भने त्यस्तो हुँदैन। तलतल हुँदै नदीमा पानीको मात्रा बढ्दै जान्छ। 

पर्खाल लगाएको नदीले त्यो आफ्नो डोल क्षेत्रसित अन्तर्घुलन हुने र मिल्ने मौका पाएन। त्यहीभित्र खुम्चिएर बगेर जानुपर्‍यो। त्यो ठीक हो कि होइन? दुनियाँका विभिन्न शहरमा पहिले त्यस्तो संरचना बनाइएका र अहिले आएर त्यसलाई भत्काएर नदीलाई प्राकृतिक रूपमा आसपासको भूक्षेत्रसित मिल्न दिने व्यवस्था गरिएका थुप्रै उदाहरण छन्। भविष्यमा पनि नेपालमा कुनै बेला त्यो बहस आउला। अहिले भने त्यो बहस शुरू भएको देखिँदैन। 

त्यस्तै, पुल बाढीले बगाएर बाटा बन्द भएका घटना धेरै छन्। नदीको जलस्तर कहिले पिँधमा हुन्छ त कहिले माथिसम्म पनि आइपुग्न सक्छ। जबकि हाम्रोमा, खर्च कटौती गर्न पुलको ‘स्पान’ (छत) सानो बनाइदिने गरिएको छ। तर नदीलाई बग्नका लागि त प्रशस्त बाटो आवश्यक पर्छ। 

नेपालको हकमा नदीमा बाढी मात्र बढेर आउने होइन, त्यसमा गेग्र्यान, ढुंगामुढा र काठ पनि बगेर आउँछ। कतिपय ठाउँमा काठ अड्केर/थुप्रेर पानीको बहाव छेक्छ। विसं. २०५० को बाढीमा कतिपय ठाउँमा रूखहरू आएर बाढीको बाटो रोकिदियो, त्यसले पुल भाँचियो। त्यसो हुँदा पुलको डिजाइन गर्दा नै ५० या १०० वर्षमा एकपल्ट आउने बाढीको समेत सम्भावना अध्ययन गरिनुपर्छ। 

यसो भनेर ५० या १०० वर्षमा मात्र एकपल्ट बाढी आउँछ भनेको होइन। ५० मध्ये ४९ पल्ट पनि आउन सक्छ भन्न खोजिएको हो। कति शक्तिशाली बाढीका लागि पुलको डिजाइन गर्ने भन्ने कुरा हो यो। त्यस्तै, नदीले आफैँ प्राकृतिक रूपमा उत्खनन पनि गर्छ। यस कारणले पुलको जग कति तल लानेलगायत हिसाब जरुरी हुन्छ। 

म २०४१ मा मलेखु पुल बगेको सम्झन्छु। त्यति बेला यस्तै बाढी आएर त्यहाँको पुल बगायो। दोस्रोपल्ट पनि त्यही ठाउँमा पुल बनाइयो। दोस्रो पल्ट बनाइएको पुल २०५० सालमा फेरि बाढीले लग्यो। त्यसपछि मात्र बाटो फेरेर अर्को पुल बनाइयो। 

हाम्रो पुलको डिजाइन र निर्माण कसरी गरिएको छ? नदीको बाढी पहिलेको तुलनामा अहिले के भएको छ? यो सबै हेर्न जरुरी छ। कहीँ न कहीँ इन्जिनियरिङको अभ्यास गर्ने हाम्रा तौरतरिका पुरातन छन्। त्यसलाई परिवर्तन गर्न सकेका छैनौँ। 

त्यस्तै, पानीलाई नजरअन्दाज गरेर हामीले शहर बनाउन दियौँ र घरजग्गाको कारोबार गर्न दियौँ। पहाडमा बाटोको कुरा गर्ने हो भने अझ बिजोग छ। विकासका लागि पूर्वाधार चाहिन्छ, त्यसमा विवाद भएन। तर संरचना कसरी बनाउने? त्यसमा वातावरणीय, पानी र जनधनको सुरक्षाका उपायको प्रबन्ध कसरी गर्ने? त्यो महत्त्वपूर्ण हो। 

समथर र पहाडी क्षेत्रमा बनाइने बाटो फरक हुन्छ। किनकि हाम्रो धेरैजसो भूभागमा पहिरो त जान्छ नै। प्राकृतिक रूपमै जटिल भूभाग हो हाम्रो। कुनै ठाउँमा बाटोलगायत संरचना बनाउँदा उक्त भूभागबारे संवेदनशील हुनैपर्छ। 

म झ्याप्लेखोलाको उदाहरण भन्छु। २०५० को वर्षा याममा त्यहाँ पहिरो गएको थियो। मलाई याद भएसम्म आठनौ जना मान्छे त्यहाँ बितेका थिए। अहिले त्यही ठाउँमा दुई वटा बस र एउटा माइक्रो बस पुरियो। धेरै मानिस बिते। हामी चुकेका रहेछौँ भन्ने देखियो नि!