सरकारले आठ महिनादेखि विदेशी मदिरा आयातमा प्रतिबन्ध लगाए पनि गैरकानूनी आयातका कारण बजारमा सजिलै उपलब्ध भइरहेको व्यवसायी र सरकारी अधिकारी नै बताउँछन्।
काठमाडौँ– व्यवसायको सिलसिलमा भारतको कलकत्ताका व्यापारी मोहन कुमार (नाम परिवर्तन) हरेक महिना नेपाल आइरहन्छन्। उनी कलकत्तास्थित एक व्यापारिक प्रतिष्ठानका कार्यकारी निर्देशक हुन्। विदेशी मदिराका पारखी उनी नेपाल आउँदा प्रायः प्रख्यात कम्पनी जोनी वाकरका उत्पादन रुचाउँछन्।
नेपालमा आठ महिनादेखि विदेशी मदिरा आयातमा प्रतिबन्ध छ। तर, यो प्रतिबन्धले आफूलाई कुनै फरक नपरेको मोहन बताउँछन्। “म बस्ने होटलमा मैले खोजेको मदिरा सजिलै उपलब्ध छ। बाहिर किन्नु परे भाटभटेनी जाने गरेको छु। त्यहाँ पनि सजिलै पाउँछु।”
राजपत्रमा आठ महिनाअघि प्रकाशित वाणिज्य तथा आपूर्ति मन्त्रालयको सूचनाले विदेशी मदिरा आयातमा प्रतिबन्ध लागेको हो। गत वैशाख १३ गते प्रकाशित सूचनाले विदेशी मदिरासहित विभिन्न विलासी बस्तुको आयातमा असार मसान्तसम्म प्रतिबन्ध लगाएको थियो। त्यो प्रतिबन्धलाई मंसिर मसान्तसम्म लम्ब्याइएको छ।
गएको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अन्य बस्तुसहित मदिरा प्रतिबन्ध मंसिर २९ पछि खुलाउने निर्णय गरेको छ। तर, सरकारले प्रतिबन्ध लगाएको मदिरा बजारमा भने छ्यापछ्याप्ती पाइन्छ। एक सुरक्षा अधिकारी भन्छन्, “खाद्यान्न भारतले मात्र रोक्दा पनि यहाँ हाहाकार हुन्छ। मदिरा चाहिँ आठ महिनादेखि आयात रोकिँदासमेत बजारमा मजाले पाइन्छ। आश्चर्यजनक छ। कुबेरको भण्डारजस्तै मदिरा सकिँदै नसकिने रहेछ।”
यसरी बजारमा बेचिने विदेशी मदिरामा आन्तरिक राजस्व विभागको अन्तःशुक्ल स्टिकर पनि टाँसिएको हुन्छ। ठूला डिपार्टमेन्टल स्टोरीदेखि अन्य पसलमा पनि विदेशी मदिरा पाइन्छ। अन्तःशुल्क टाँसिएकै कारण ती मदिरा बेच्नेमाथि थप अनुसन्धान नहुँदा कारबाही नभएको ती अधिकारीले बताए।
नेपाल उद्योग वाणिज्य महासंघलेले मंसिर १३ मा जारी गरेको विज्ञप्तिमा तस्करीमार्फत विभिन्न वस्तुको आयात नरोकिएको जनाएको थियो। “आयात रोकिँदा अटोमोबाइलबाहेक अन्य सामान भन्सार छलेर आएरहेको छ” महासंघका अध्यक्ष शेखर गोल्छाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। अर्थतन्त्रमा सबभन्दा ठूलो हिस्सा अगोट्ने निजी क्षेत्रको प्रमुख संगठनको विज्ञप्तिले उच्च भन्सार दर भएका बस्तुको गैरकानुनी आयात हुने गरेको संकेत गर्ने एक व्यापारी बताउँछन्।
राष्ट्र बैंकमा विदेशी मुद्राको सञ्चिति घटेपछि वाणिज्य तथा आपूर्ति मन्त्रालयले मदिरा, हिरा, कुरकुरे, केक, तास, ३२ इन्च माथिका रंगीन टेलिभिजन, जिप, कार, तथा भ्यान, २५० सिसि माथीका मोटरसाइकल र सबै प्रकारका खेलौनामा आयातमा प्रतिबन्ध लगायएको थियो। अन्य सामग्री बजारमा बिस्तारै अभाव हुँदै जाँदा विदेशी मदिरामा भने कुनै फरक नपरेको व्यवसायी बुद्धिप्रसाद पन्त बताउँछन्।
आर्थिक वर्ष २०७८/७९ सकिन करिब चार महिना बाँकी हुँदा मदिरा आयात प्रतिबन्धित भएको हो। उक्त आर्थिक वर्षको शुरूको आठ महिनामा विभिन्न प्रकारका गरी ५१ लाख ७४ हजार २०१ लिटर मदिरा विदेशबाट आयात भएको भन्सार विभागको तथ्यांक छ। यसमा व्हिस्की, बियर, जिन, भोड्का, रम, ब्रान्डी, वाइनलगायत छन्। यो अवधिमा २ अर्ब ७० करोड २९ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको मदिरा आयात हुँदा ४ अर्ब ४ करोड ३० लाख ६४ हजार रुपैयाँ राजस्व उठेको छ।
आर्थिक वर्ष २०७७/७८ को शुरूको आठ महिनापछि मदिराको आयात बढेको देखिन्छ। उक्त आर्थिक वर्षको शुरूको आठ महिनामा १ अर्ब ७८ करोड १२ लाख ७३ हजार रुपैयाँ बराबरको ४५ लाख ६९ हजार २६३ लिटर विभिन्न प्रकारका मदिरा भित्रिएको थियो। त्यसपछिका आठ महिना, अर्थात् गत वैशाखमा प्रतिबन्ध लाग्नु अघिसम्म १३ प्रतिशतले विदेशी मदिराको आयात वृद्धि भएको थियो।
यति धेरै माग हुने विदेशी मदिरा आठ महिनासम्म आयात प्रतिबन्धित हुँदा पनि बजारमा पाइनुले गैरकानुनी आयात भएको देखिने ती सुरक्षा अधिकारी बताउँछन्। “कसरी र कसले आपूर्ति गरिरहेको छ भन्ने राजस्व अनुसन्धान विभागले नै जाँच गर्नुपर्छ”, ती अधिकारीले भने।
मदिराको चोरीपैठारीमा कति रकम अघोषित रूपमा विदेशियो भन्ने लेखाजोखा छैन। “तस्करीको माध्यमले हुने कारोबारको रकम बैंकिङ प्रणालीभन्दा बाहिर हुने हुँदा अनौपचारिक अर्थतन्त्रमा जान्छ”, उद्योग वाणिज्य महासंघका सदस्य सुबोध गुप्ता भन्छन्, “कुनै पनि बस्तुको अवैध कारोवार औपचारिक अर्थतन्त्रको लागि घातक हुन्छ, सरकारले आफ्नो नीतिहरूलाई वैध कारोबार नियमनमा लक्षित गरेर मात्र पुग्दैन, अवैध कारोबार रोक्नेतिर पनि उतिकै ध्यान दिनुपर्छ।”
अन्तःशुल्क स्टिकर कसरी पुग्छ व्यापारीसम्म?
विदेशी वा स्वदेशी मदिराको बिक्री वितरण गर्दा बिर्कोमा आन्तरिक राजस्व विभागबाट जारी हुने अन्तःशुल्क स्टिकर अनिवार्य हुन्छ। बजारमा हाल उपलब्ध मदिरामा पनि त्यस्ता स्टिकर हुन्छन्। प्रतिबन्ध रहेकै समयमा आन्तरिक राजस्व विभागबाट विदेशी मदिरामा टाँस्ने तीन लाख, ९९ हजार थान स्टिकर जारी भएको छ। त्यस्तै वाइन श्रेणीका मदिरामा टाँस्ने ५ लाख ४६ हजार थान स्टिकर जारी भएको छ। विभागका अनुसार मातहतका कार्यालयहरूले माग अनुसारको अन्तःशुल्क स्टिकर लैजाने र त्यहाँबाट फर्म र उद्योगहरूलाई प्रदान गर्ने गर्छन्।
प्रतिबन्ध लाग्नुभन्दा अगाडि आयात भइसकेका र लिलाममा सकार भएका मदिरामा टाँस्न यसबीचमा स्टिकरहरू लगिएको आन्तरिक राजस्व कार्यालयहरूलाई उदृत गर्र्दै विभागका एक अधिकृतले बताए। सामान्य अवस्थामा वर्षेनी करिब २० लाख स्टिकर ‘लिकर’को लागि र करिब ४० लाख स्टिकर ‘वाइन’को लागि जारी हुने गरेको छ। भन्सार राजस्व र अन्तःशुल्क तिरेर बिक्री हुने मदिरा आयातमा भएको प्रतिबन्ध यसका अवैध कारोबारीहरूको लागि सुनौलो अवसर भएको एक व्यवसायीले बताए।
आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले वित्तीय तरलताको अभाव, कोरोनाकालपछिको विश्वव्यापी मन्दी, डलरको मूल्यमा निरन्तर वृद्धि र रसिया–युक्रेन युद्धजस्ता समस्याले अर्थतन्त्रमा कैयौँ नाकारात्मक असर परेको र कतिपय बस्तुको कारोबार विचलनमा परेको बताए। यसको असरले स्वाभाविक रुपमा राजस्व असुली पनि प्रभावित भएको उनको भनाइ छ।
पछिल्लो समयमा सुरक्षा निकायहरूको ध्यान निर्वाचन सफल बनाउनेतिर केन्द्रित हुँदा खुला सिमानाको लाभ उठाउँदै चोरीपैठारी र चोरीनिकासी बढेको हुन सक्ने आकलन गरिएको मैनाली बताउँछन्। पछिल्लो समय आर्थिक क्षेत्रमा देखिएका विचलनहरूलाई दुरुस्त पार्न सबै निकायले अहिले ध्यान केन्द्रित गरेकोले यस आर्थिक वर्षको अन्त्यसम्ममा धेरै कुरा लयमा फर्किने उनको दाबी छ।
काठमाडौँमा अवैध विदेशी मदिराको गोदाम
काठमाडौँमा गत वर्ष नक्कली विदेशी मदिराको गोदाम नै फेला परेको थियो। प्रहरीले २०७८ माघ माघ १४ गते काठमाडौँको सीतापाइलामा यस्तो गोदाम फेला पारेको थियो।
गोदाम फेला पार्नुभन्दा केही दिनअगाडि मादकपदार्थको रूपमा बिक्रीवितरण र सेवन गरेको आरोपमा २० हजार फाइलभन्दा बढी ‘ट्रामाडोल’ औषधिसहित प्रहरीले चारजनालाई पक्राउ गरेको थियो। त्यसैको अनुसन्धान गर्दै जाँदा पक्राउ परेकाले दिएको थप जानकारीका आधारमा प्रहरी सीतापाइलास्थित अवैध विदेशी मदिराको गोदामसम्म पुगेको थियो।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले विशेष अपरेसनपछि विदेशी ब्रान्डका ३०० भन्दा धेरै कार्टुन मदिरा बरामद गरेको थियो। त्यहाँबाट तत्कालीन बजार मूल्यअनुसार डेढ करोड रुपैयाँभन्दा बढी मूल्यको मदिरा बरामद भएको प्रहरीले जनाएको थियो।
ब्ल्याक लेबल, रेड लेबल, अब्सलुट भोड्का र चिभास ब्रान्डका मदिरा बरामद भएका थिए। प्रहरी मुचुल्काअनुसार कुनै पनि ब्रान्डको रक्सीमा अन्तःशुल्कको स्टिकर टाँसिएको थिएन। ती मदिरा भन्सार छलेर ल्याइएको प्रहरीको ठहर थियो।
दरबारमार्गमा ‘बिइङ ह्युमेन क्लोथिङ’को शोरुम संचालन गर्ने सन्तोषचन्द्र बख्रेलले अन्य व्यक्तिहरूसँग मिलेर अवैध मदिरा कारोबार गर्ने गरेको पाइएको प्रहरीले बताएको थियो। “उक्त मुद्दा भन्सार छलीसम्बन्धी भएकोले थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि पुल्चोकस्थित राजस्व अनुसन्धान विभागमा पठाइएको थियो”, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले भने, “राजस्व अनुसन्धान विभाग हुँदै मुद्दा अदालत पुगेको छ।”
अपराध अनुसन्धान कार्यालयका अनुसार अनुसन्धनको क्रममा बख्रेलसँगै पक्राउ परेका कागेश्वरी मनोहरा–६ का शैलेश पन्त, पर्सा सुवर्णपुरका रविन पाख्रिन र सर्लाही बरहथवा–९ का नारायणप्रसाद घिमिरेलाई राजस्व अनुसन्धान विभाग पठाइएको थियो। विभागले बख्रेललाई एक करोड ६५ लाख रुपैयाँ धरौटीमा छाडेको थियो। उनीसँगै पक्राउ परेका रविन एक करोड ३८ लाख, शैलेश र नारायण जनही ६ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
