अर्जेन्टिना भर्सेस नेदरल्यान्ड्स : मेस्सीको गति र ग्याक्पोको लयबीच प्रतिस्पर्धा

विश्वकप फुटबलको इतिहासमा अर्जेन्टिना र नेदरल्यान्ड्स अहिलेसम्म पाँचपटक खेलेका छन्। यी भेटमा दुवै टोलीले दुई/दुई खेल जित्दा एक खेल बराबरीमा टुङ्गिएको छ।

तस्वीर : द सन

लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनी फुटबल टोली कतार विश्वकप २०२२ जित्नबाट तीन खेल टाढा छ। तर, सेमिफाइनल र फाइनल खेल्नुअघि अर्जेन्टिनामाथि चिरपरिचित टोली नेदरल्यान्ड्सलाई पन्छाउने चुनौती छ।

लुसेल स्टेडियममा यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार शुक्रबार राति १२:४५ बजे शुरू हुनेछ। यी टोलीलाई दक्षिण अमेरिका र युरोपको 'पावर हाउस' मानिने हुँदा पनि क्वार्टरफाइनल अन्तर्गतको दोस्रो खेल रोमाञ्चक हुने आकलन छ।

अन्तर्राष्ट्रिय फुटबल मञ्चमा दुवै टोली हालसम्म नौ पटक आमुन्नेसामुन्ने भएका छन्। जसमा नेदरल्यान्ड्सले चार खेल जितेको छ भने अर्जेन्टिनाले तीन। बाँकी दुई खेल बराबरीमा टुङ्गिएको छ।

विश्वकपमा अर्जेन्टिना र नेदरल्यान्ड्स अहिलेसम्म पाँचपटक खेलेका छन्। यी भेटमा दुवै टोलीले दुई/दुई खेल जित्दा एक खेल बराबरीमा टुङ्गिएको छ। अन्तिमपटक सन् २०१४ मा ब्राजिलमा आयोजित विश्वकपमा खेलेका थिए।

सेमिफाइनलमा भएको उक्त भेटमा दुवै टोलीले निर्धारित र अतिरिक्त समयसम्म गोलरहित बराबरी खेलेका थिए। पेनाल्टी शुटआउटमार्फत छिनोफानो गरिएको खेलमा अर्जेन्टिनाले ४-२ गोल अन्तरले जित्दा नेदरल्यान्ड्स तेस्रो स्थानमा खुम्चियो।

तर, त्यसभन्दा अगाडि यी दुई टोलीको भेट रोमाञ्चक बनेको थियो। सन् १९९८ मा फ्रान्समा आयोजित विश्वकपको क्वार्टरफाइनलको ९०औँ मिनेटमा डेनिस बर्गक्याम्पले सनसनीपूर्ण गोल गर्दै नेदरल्यान्ड्सलाई विजयी बनाएका थिए।

दुवै टोली १०/१० खेलाडीमा समेटिएको खेलको १२औँ मिनेटमा फरवार्ड प्याट्रिक क्युइल्भर्टले गोल गरेर नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए। त्यसको पाँच मिनेटमै अर्जेन्टिनाका फरवार्ड क्याउडियो लोपेजले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। तर, खेलको ७६औँ मिनेटमा फुल ब्याक अर्थुर नुमनले रातो कार्ड पाएपछि नेदरल्यान्ड्स १० खेलाडीमा समेटिएको थियो।

त्यसको १२ मिनेटपछि नै विंगर एरियल ओर्टेगाले रातो कार्ड पाउँदा अर्जेन्टिना पनि १० खेलाडीमै समेटिन पुग्यो। खेलको अन्तिम समयतिर डेनिसले गोल गर्दै नेदरल्यान्ड्सलाई जिताएका थिए।

सन् १९७८ को विश्वकप फाइनलमा भने नेदरल्यान्ड्सलाई ३-१ गोल अन्तरले हराउँदै अर्जेन्टिना पहिलो पटक विश्वविजेता बनेको थियो। निर्धारित समयमा दुवै टोलीबाट १-१ गोल भएपछि अतिरिक्त समयको १०५औँ मिनेटमा अर्जेन्टिनाका फरवार्ड मारियो केम्पेसले व्यक्तिगत दोस्रो गोल गरे। त्यसको १० मिनेटपछि नै डेनियल बर्टोनीले गोल गर्दै अर्जेन्टिनालाई ३-१ गोल अन्तरको सानदार जित दिलाए।

आठ वर्षअघि ब्राजिल विश्वकप खेलेका खेलाडीहरू अहिले पनि दुवै टिमबाट कतारमा खेलिरहेका छन्। अनुभवी लेफ्ट ब्याक डेली ब्लाइन्ड अझै पनि नेदरल्यान्ड्सको राष्ट्रिय टोलीबाट खेलिरहेका छन्। यता, मुख्य प्रशिक्षक लुइस भान गाल पनि टोलीसँगै छन्। यता, मेस्सी अझै पनि कप्तानको भूमिकामा अर्जेन्टिनाबाट खेलिरहेका छन्।

“करिअरको अन्त्यतिर पुगे पनि उनीसँग खेल जिताउने क्षमता छ,” खेलकुद वैज्ञानिक साइमन ब्रन्डिसले सीएनएन स्पोर्टसँग भने, “उनीसँग पाउलो डिबालाको जस्तो तीव्र गतिमा दौडने क्षमता छैन। तर, उनी एक प्रतिभाशाली व्यक्तित्व हुन् र उनले खेलहरू जिताउँछन्।”

यसअघिका विश्वकपमा जस्तो अहिले पनि मेस्सी उत्कृष्ट लयमा छन्। समूह चरणको खेलअन्तर्गत मेक्सिकोविरुद्ध उत्कृष्ट खेल खेल्दै एक गोल गरेका मेस्सीले अस्ट्रेलियाविरुद्धको खेलमा पनि निराशा बनाएनन्। उनले चार खेलमा तीन गोल र एक असिस्ट गरे। यसबाहेक मेस्सीले गोलका लागि ११ वटा मौका सिर्जना गरे।

मेस्सी मैदानमा कतिको डटेर खेल्छन् भन्ने कुरा उनले खेल दौडिन सक्ने क्षमताले नै प्रस्ट पार्छ। ३५ वर्षीय मेस्सी अस्ट्रेलियाविरुद्धको प्रि-क्वार्टरफाइनल खेलमा साढे चार किलोमिटरभन्दा बढी दौडिएका थिए। फुटबलको सर्वोच्च निकाय फिफाका अनुसार अरू खेलाडीको तुलनामा मेस्सी करिब आधा किलोमिटर बढी दौडिएका हुन्।

“विपक्षीले फुत्काएको बल भेटे भने मेस्सीको गति कति बढ्छ त्यसैले देखाउँछ”, उनी भन्छन्, “मेस्सीको दौडिन सक्ने क्षमताले अर्जेन्टिनाको अग्रपंक्ति पनि बलियो बनाएको छ।”

जारी कतार विश्वकप २०२२ को समूह चरणको खेलमा दुवै टोलीले केही आश्चर्यजनक हार बेहोरे। अर्जेन्टिनाले एशियाली राष्ट्र साउदी अरबसँग २-१ को हार बेहोर्‍यो भने नेदरल्यान्ड्सले इक्वेडरसँग बराबरी खेल्यो। यद्यपि, यी दुई टोली शुक्रबार मैदानमा आमुन्नेसामुन्ने हुँदा यी नतिजालाई भुलेर सन् २०१४ पछि पहिलो पटक अन्तिम चारमा पुग्ने लक्ष्यमा हुने छन्।

जारी विश्वकपमा तीन गोल गरिसकेका कोडी गाक्पो र प्रि-क्वार्टरफाइनलअन्तर्गत अमेरिकाविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्दै एक गोल गरेका मेम्फिस डिपेको साथ पाएको नेदरल्यान्ड्स अग्रपंक्तिमा ढुक्क छ। यी दुईको जुगलबन्दी राम्रो भए नेदरल्यान्ड्सले २४ वर्षअघिको विश्वकपको नतिजालाई नदोहोर्‍याउला भन्न सकिन्न।

यता, अर्जेन्टिनाको टोली मेस्सी मात्र निर्भर छैन। मिडफिल्डर एन्जो फर्नान्डेज र फरवार्ड जुलियन अल्भारेजले जारी विश्वकपमा प्रभावशाली खेल प्रदर्शन गरेका छन्। र, गोलकिपर एमिलियानो मार्टिनेजले पनि केही महत्त्वपूर्ण बचाउ गरेका छन्, विशेष गरी अस्ट्रेलियाविरुद्धको खेलमा।

त्यसैले अर्जेन्टिना नेदरल्यान्ड्सको थ्री-एट-द-ब्याक डिफेन्स तोड्दै गोल बर्साउने रणनीतिमा हुने छ। “मेस्सीले विपक्षी टोलीलाई समस्यामा पार्न सक्छन्। जारी विश्वकपमा पनि उनी आफ्नो प्रदर्शनबाट खुसी छन्। उनी हाम्रा लागि पनि महत्त्वपूर्ण छन्”, मिडफिल्डर एलेक्सिस म्याक एलिस्टरले बिहीबार पत्रकारहरूसँग भने।

यद्यपि, नेदरल्यान्ड्सका कप्तान भर्जिल भान डाइक मेस्सीले कस्तो खेल्छन् भन्नेमा आफूलाई चिन्ता नरहेको बताउँछन्। आफ्नो खेल अर्जेन्टिनाको टोलीसँग भएको कारण आफ्ना सबै विभागमा ध्यान दिने उनको भनाइ छ।

“यो खेल मेस्सीविरुद्ध नेदरल्यान्ड्सको होइन, नेदरल्यान्ड्सविरुद्ध अर्जेन्टिनाको हो। उत्कृष्ट खेलाडीहरूको साथ पाएको अर्जेन्टिना पक्कै उत्कृष्ट टोली हो”, उनी भन्छन्, “त्यसैले हामीले खेलका सबै विभागहरूमा राम्रो प्रदर्शन गर्नुपर्ने छ।”

यो खेलको विजेताले सेमिफाइनलमा अर्को क्वार्टरफाइनलमा खेल्न लागेका ब्राजिल र क्रोएसियाबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछन्।