अहिले नेपालको तुलनामा भारतमा सुन सस्तो छ। त्यसकारण भारतमा सुन किनेर नेपालतर्फ तस्करी गर्ने गिरोहलाई चाहिने भारतीय रुपैयाँको माग उच्च हुँदा सीमाक्षेत्रमा नेपाली मुद्राको भाउ खस्किएको हो।
काठमाडौँ– नेपाल र भारतबीच कायम मुद्राको विनिमयदर १६० रुपैयाँ नेपाली बराबर १०० भारतीय रुपैयाँ (भारु) हो। तर गत वर्ष नेपाली रुपैयाँ १५५ तिरेर १०० भारु साट्न पाइएको थियो। किनभने त्यसबेला नेपाली रुपैयाँको माग उच्च थियो। तर अहिले त्यो परिस्थिति उल्टिएको छ।
एक वर्षअघि नेपाली मुद्राको कालोबजारीका कारण नेपाल–भारत सीमामा पहिलो पटक भारतीय मुद्राको तुलनामा नेपाली रुपैयाँ बलियो देखिँदा नेपाली मुद्रा साट्न औपचारिक सटहीदर भन्दा ११ रुपैयाँसम्म बढी भारु खर्च गर्नुपर्थ्यो। त्यसअघि भने अनौपचारिक कारोबारमा १०० भारतीय रुपैयाँ किन्न तोकिएको विनिमय दरभन्दा ६ रुपैयाँ बढी अर्थात् नेपाली रुपैयाँ १६६ सम्म तिर्नुपर्ने अवस्था थियो। त्यस्तो परिस्थिति आचानक उल्टिएर गत वर्ष सीमा क्षेत्रमा नेपाली रुपैयाँ बलियो हुँदा सर्वसाधारणदेखि नेपाल राष्ट्र बैंकका अधिकारीहरूसम्म चकित थिए।
अहिले भने सीमावर्ती क्षेत्रमा फेरि भारतीय मुद्राको कालोबजारी हुन थालेको छ। यसबाट नेपाली रुपैयाँ कमजोर देखिएको मुद्रा सटही गरिरहेका व्यवसायी एवं सीमाक्षेत्रका जानकारहरूले बताएका छन्। भारतीय बजार रक्सौलका पत्रकार दीपक अग्निरथका अनुसार एक वर्षअघि उच्च भएको नेपाली रुपैयाँको मागमा कमी आउँदा अहिले १०० भारतीय रुपैयाँको लागि कम्तीमा १६३ नेपाली रुपैयाँ तिनुपर्ने भएको छ। अनौपचारिक सटही बजारमा बुधबार १०० भारुको खरिद दर १६३ रुपैयाँ ५० पैसा पुगेको पत्रकार अग्निरथले फोनमा बताए।
भारतबाट नेपालतर्फ सुनको तस्करी हुन थालेपछि सीमा क्षेत्रमा सुन किन्न भारतीय रुपैयाँको माग बढेको सीमा क्षेत्रका व्यवसायीहरू बताउँछन्। उनीहरूको भनाइ पुष्टि हुने गरी हेटौँडा–१५, मकवानपुरमा पर्ने पूर्वपश्चिम राजमार्गको रातोमाटेबाट प्रहरीले गत शनिबार भारतबाट ल्याइएको आठ किलोभन्दा बढी सुनसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ। उनीहरू दुवै भारतीय नागरिक हुन्।
पक्राउ पर्नेमा भारतको महाराष्ट्र राज्यस्थित पुजारवाडीका २५ वर्षीय अभिषेक अजिनाथ कुटी र महाराष्ट्रकै सांगली जिल्लाका २७ वर्षीय राहुल भिट्टिहाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उनीहरूको साथबाट करिब ११ करोड ४३ लाख ५७ हजार रुपैयाँ मूल्य बराबरको आठ वटा बिस्कुट आकारको आठ किलो २४३ ग्राम ९७० मिलिग्राम सुन बरामद भएको प्रहरीको भनाइ छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको छ।

यस घटनाको अनुसन्धान भइरहेको राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले बताए। “शनिबार बिहान ३ बजे पथलैयाबाट हेटौँडातर्फ जाँदै गरेको स्कुटरमा सवार दुई जनाको साथबाट सुन बरामद भएपछि हामीले आरोपीहरूलाई हिरासतमा राखेर सुनलाई राष्ट्र बैंकको टक्सार विभागमा पठाएका छौँ,” उनले भने, “अनुसन्धान जारी छ। उनीहरू भारतबाट सुन बोकेर आएको प्रारम्भिक सोधपुछबाट खुलेको छ। भारतबाट नेपालतिर सुन तस्करी भएर आउने घटना नौलो हो। अरू कुरा खुल्न बाँकी छ।”
पक्राउ परेकाहरू भरिया या कारोबारी के हुन् र उनीहरूले दुई हजार किलोमिटर टाढाको महाराष्ट्रबाटै सुन ल्याएका हुन् कि सीमावर्ती बिहारबाट ल्याएका हुन् भन्नेबारे अनुसन्धान गर्न बाँकी रहेको प्रमुख अनुसन्धान अधिकृत शर्माले बताए। यसअघि यही असोज १५ गते रातोमाटे चेकपोस्टबाट नै वीरगन्जबाट हेटौँडातर्फ जाँदै गरेको विद्युतीय माइक्रोबसका यात्रु पूर्वी चम्पारण, फुलबरियाका भारतीय नागरिक सुजित सर्राफको साथबाट करिब ४९० ग्राम सुन बरामद भएको थियो।
जनमैत्री एवं स्वछ सीमा सम्बन्धको पक्षमा काम गर्दै आएको भारतको राष्ट्रि«य स्तरको संस्था सीमा जागरण मञ्चका बिहार प्रदेश अध्यक्ष महेश अग्रवालले मुद्राको सटहीदरमा उतारचढाव ल्याउने मुख्य कारण सुन तस्करी नै भएको बताए। “अहिले भारतबाट नेपालतिर सुन तस्करी भइरहेकाले त्यसको असर नेपाल भारतबीचको मुद्रा सटही दरमा परेको हो,” उनले उकालोसँगको टेलिफोन सम्पर्कमा भने, “अहिले नेपालको तुलनामा भारतमा सुन सस्तो छ। सस्तोतिरबाट मँहगोतिर तस्करी हुनु सीमावर्ती क्षेत्रमा लुकेको विषय पनि होइन।”
भारतबाट नेपालतर्फ सुनको तस्करी भइरहेको सूचना पाएसँगै प्रहरी कार्यालयहरूले निगरानी बढाएको नेपाल प्रहरीको बागमती प्रदेश कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए। यसै क्रममा मकवानपुर प्रहरीले शनिबार सवारी जाँचको क्रममा आठ किलोभन्दा बढी सुन फेला पारेको उनले जानकारी दिए। नियमित निगरानीसँगै आकस्मिक जाँच र सुराकी परिचालन गरेर भारतबाट हुनसक्ने सुन तस्करी नियन्त्रणमा लिन प्रहरी परिचालित गरिएको प्रहरी उपरीक्षक रेग्मी बताउँछन्।
यसअघि पनि सीमावर्ती क्षेत्रमा भारतीय मुद्रा नेपाली रुपैयाँभन्दा कमजोर देखिने अवस्था सुन तस्करीकै कारणले आएको थियो। नेपाल र भारतबीच कायम मुद्राको विनिमय दरमा व्यापक असर पार्न एकैसाथ धेरै संयोगहरू मिलेको हुनुपर्ने र तीमध्ये सुनको कारोबार मुख्य हुने वीरगन्जका एक व्यवसायी बताउँछन्।
भारतमा संघीय सरकारको पछिल्लो वार्षिक बजेटले सुन र चाँदीको भन्सार महसुल १५ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा झारेको छ। यसले गर्दा त्यहाँ सुनको भाउ नेपालमा भन्दा सस्तो भएको छ। मंगलबार २४ क्यारेट सुनको भाउ नेपाली बजारमा प्रतितोला एक लाख ३३ हजार ६७९ रुपैयाँ छ। उता भारतमा त्यति नै सुनको मूल्य ७५ हजार ७३० भारतीय रुपैयाँ छ। यो भनेको नेपाली रुपैयाँ एक लाख २१ हजार १६८ हो।
अर्थात् भारतमा भन्दा नेपालमा सुनको भाउ प्रतितोला १२ हजार ५११ रुपैयाँ महँगो छ। एक किलोमा सुन ८८.२ तोला हुन्छ। यसप्रकार एक किलो सुनमा नेपाली र भारतीय बजारको मूल्य अन्तर ११ लाख ३७० रुपैयाँ छ। यसले गर्दा नै सुनको अवैध कारोबार भएपछि त्यसको किनबेचको लागि भारतीय मुद्राको माग सीमा क्षेत्रमा बढेको हो।
भारतले सुनको भन्सारदर घटाउनुअघि गत वर्ष नेपालबाट भारततर्फ ठूलो परिमाणमा सुन निर्यात भइरहेको थियो। २०८० साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निस्किएको एउटा ट्याक्सीबाट स्कुटरको ब्रेक शुमा लुकाएर ल्याइएको ठूलो परिमाणको सुन प्रहरीले बरामद गरेको थियो। ब्रेक शुसहित सुनको तौल १५५ किलो थियो भने त्यसलाई गाल्दा ६० किलो ७१६ ग्राम सुन निस्किएको थियो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उक्त सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउने रायसहितको प्रतिवेदन तयार पारेको थियो। २०८० भदौ २७ गते अनुसन्धान प्रतिवेदनबारे जानकारी गराउँदै सीआईबीका तत्कालीन प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले अलग–अलग गिरोहले विभिन्न सात वटा कम्पनीबाट ३६२ किलोभन्दा बढी सुन तस्करी गरेको खुलासा गरेकी थिइन्।
नेपालमा तेस्रो मुलुकबाट अवैधरूपमा भित्रिने सुनको बजार भारत नै थियो। यसअघि सन् २०२३ को जुलाईमा भारत सरकारले सुनको आयात शुल्क १०.७५ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्यायो। सुनमा १२.५ प्रतिशत भन्सार शुल्क र २.५ प्रतिशत कृषि पूर्वाधार विकास उपकर (एआईडीसी) थपिएपछि सुन आयात गर्दा पर्ने वास्तविक महसुल १५ प्रतिशत पुगेको थियो।
भारतमा सुन आयातलाई रोकथाम गर्न भन्सार शुल्कलाई औजारको रूपमा प्रयोग गरिएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका थिए। यसरी भारतमा सुनमा लगाइने भन्सारदर उच्च हुँदा नेपाल भएर विदेशी सुन भारत जाने गरेको थियो। तर अहिले भारत सरकारले भन्सार महसुल ६ प्रतिशतमा झारेपछि नेपालमा सुुन महँगो भएको कारण अवस्था उल्टिएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
