धिमा गगन र द्रुत रवि!

रविले जतिसुकै प्रयास गरे पनि उनी जोडिएका गैरकानूनी गतिविधिको मुद्दा अदालतमा ढिलोचाँडो चल्ने निश्चित छ। गगनलाई गाली र सत्तालाई सराप्दैमा उनले पक्कै उन्मुक्ति पाउँदैनन्।

भनिन्छ, धीमा गतिमा प्राप्त सफलताले अक्सर चरित्र निर्माण गर्छ भने द्रुत सफलताले अहंकार जन्माउँछ। चरित्र निर्माणले सुकर्मतिर डोर्‍याउँदा, अहंकारले अपराधकर्मीतिर धकेल्छ। सांसारिक बुझाइको दृष्टिबाट यसमा हाम्रो समाज पनि अनजान छैन। हामी नेपालीले यो अवस्था मज्जैले अनुभूत गर्न पाएका छौँ। यस्तो बुझाइलाई अनुमोदन गर्ने प्रशस्त मुहार र मण्डली हाम्रो राजनीतिमा प्रस्ट देखिँदै आएका छन्, जसले व्यक्तिको चरित्र निर्माण र अहंकार उद्भवका आयामहरूबारे वर्णन गरिरहेको छ।

यो आलेख समकालीन राजनीतिका दुई यस्ता अनुहारमा केन्द्रित छ, जसका वरपर राजनीति रुमल्लिएको छ। देशको राजनीतिको निर्णायक तहमा वर्चस्वशाली पकड नभएर के भयो, यिनकै सेरोफेरोमा राजनीति हेलिएको छ। समग्र राजनीतिक चर्चा गगन थपा र रवि लामिछानेको इर्द–गिर्दमा केन्द्रित छभन्दा फरक पर्दैन। गगन र रवि अब फगत दुई राजनीतिक पात्रमात्र रहेनन्, दुई फरक प्रवृत्तिको स्वरूपसमेत ग्रहण गरिरहेका छन्। र, त्यो प्रवृत्तिलाई समाजमा सिंचित पनि गरिरहेका छन्। फरक यत्ति हो कि, कुनै सिँचाइले सामाजिक–राजनीतिक वातावरण बनाएको छ, कुनैले बिथोलेको छ!

अपराधशास्त्रले प्रकृति र प्रवृत्तिमा आधारित भएर अपराध/अपराधीलाई वर्गीकरण गरेको पाइन्छ। जसमध्ये जन्मजात अपराधी एक प्रकार हुन्। यो वर्गका अपराधीमा जन्मजात नै केही आपराधिक विशेषता अन्तर्निहित हुन्छन्, या भनौं, यिनीहरूमा वंशाणुगत रूपमै आपराधिक मानसिकताका हुन्छन्। जन्मजात अपराधीहरूलाई कठोर सजाय दिएरमात्रै सुधार्न सकिने मान्यता रहन्छ। यद्यपि, अपराधशास्त्रको यो परम्परागत मान्यता सम्भवतः अहिले कहीँ कतै कानुनी रूपमा कार्यान्वयनमा छैन। त्यस्तो मान्यता आधुनिक, सभ्य समाज सुहाउँदो पनि छैन। 

व्यक्तिका अपराधलाई वंशाणुगत रूपमा जोड्ने मान्यता समयानकुल नभएरै क्रमशः हराउँदै गयो पनि। तैपनि व्यक्ति नभए पनि संस्था-संगठनचाहिँ जन्मजातै अपराधकर्ममा आधारित हुनपुग्छन् भन्नेचाहिँ देखियो।  यसको जल्दोबल्दो उदाहरण हो, गोर्खा मिडिया नेटवर्क। यसको बिउ पुँजी अपराध कर्मबाट प्राप्त देखियो। यसको जन्म (गठन) नै अपराध (ठगी)बाट आर्जित अर्थबाट भयो।

गोर्खा मिडियाकै श्रेणीमा दरिएको छ, दुई वर्षअघि जन्मिएको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’(रास्वपा) पनि। त्यही अपराधकर्मका प्रमुख हिस्सेदार रविको नेतृत्वमा सो पार्टी जन्मियो। र, त्यहाँका ‘गुलाम’हरूले आत्मसमर्पण गर्दै/मतियार बन्दै संस्था/संगठन जन्मँदै अपराधी हुन सक्छन् भन्ने मान्यतालाई पुट दिए। अपराधशास्त्रका विद्यार्थीका लागि अध्ययन–अनुसन्धानको विषय हुन सक्छ यो।

रवि अर्थात् रास्वपा, अनि उनीसँग जोडिएका विषयले लामै समयदेखि राजनीतिक बजार पिटेको छ। गोर्खा मिडिया नेटवर्क त आफ्नो अपराधको भारीले थिचिएर उठ्नै नसक्नेगरी ढलिसक्यो। त्यसका ‘त्रिमूर्ति’मध्ये एक जीबी (गितेन्द्रबावु राई) फरार छन्,  छवि (जोशी) प्रहरी हिरासतमा। रवि भने कसैगरी खुट्टा टेक्ने प्रयासमा लडखडाइरहेका छन्।

विषयान्तर, छलछाम गरेर हुन्छ वा घुर्क्याएर अथवा अनुनय गरेर हुन्छ, जोगिनका लागि हरतरहका हतकण्डा अपनाउन पछि परेका छैनन्। कहिले थरथरी काँप्दै भनिरहेका छन्–म डराएको छैन। कहिले बिन्ती भावमा भनिरहेका छन्– जे भयो भयो, सबै मिलेर अब राम्रो गरौं। कहिले भीड बटुलेर धम्क्याइरहेका छन्– मलाई पक्रिस् भने पख्लास्! कहिले पिलपिले पारामा भनिरहेछन्– मलाई मात्र खेद्ने, अरूलाई देख्दै नदेख्ने?

झन्डै डिसमिस पारिसकेको सहकारी प्रकरणलाई जोडतोडले उठाउँदै गगनले रविलाई ‘सहकारी ठग’का रूपमा स्थापित गरिदिए। त्यसकै तुष रविले कतिसम्म पालेका छन् भन्ने उनका हरेक भाषण र अभिव्यक्तिमा गगनलक्षित टिप्पणी हुने गरेका छन्। उनले र उनका अनुयायीहरूले बुझेका छन् कि गगनलाई नराम्रो देखाउन सक्दा रवि राम्रो देखिइन्छन्। उनीहरूले केचाहिँ हेक्का राखेका छैनन् भने अरूमाथि हिलो छ्याप्दैमा आफ्नो अनुहारको मैलो हट्दैन।

राजनीतिक परिवर्तनका संवेदनशील घडीमा गगन महत्त्वपूर्ण मार्गदर्शक बनेका छन्। गुजुल्टिएका कैयौँ अप्ठ्यारा मुद्दालाई ऐनमैकामा निप्टारा लगाउन जोखिम उठाएका छन्। राजनीतिक समाधान र आर्थिक समुन्नतिका उपायमा नयाँ दृष्टि पस्केका छन्। तर्क र तथ्यमा आधारित राजनीति गर्न नयाँ पुस्तालाई अभिप्रेरित गरेका छन्। असुहाउँदा भइसकेका पुराना पुस्ताका नेताको बहिर्गमनका लागि बेतोड बोलिरहेका छन्।

सारमा गगनले आफूलाई कांग्रेसभित्र मात्र खुम्च्याएर राखेका छैनन्, फराकिलो दायरामा विस्तारित गरेका छन्। कसैले गगनलाई कांग्रेसभित्र आधिपत्य जमाउन नसकेको एउटा पदाधिकारीका रूपमा मात्र बुझेर उनी र उनको दललाई प्रहार गरेकै भरमा अगाडि बढ्न सक्छु भन्ने सोचेको छ भने त्यो गलत हो, राजनीतिमा थप गलत संस्कारको अभ्यास पनि हो।

बेतुकको प्रोपागाण्डा गरेर र जोसुकै कांग्रेसीको अपराधमा अनायासै घँचेढेर गगनलाई बलिको बोका बनाउन सकिहालिन्छ कि भन्नेहरूले के हेक्का राख्नुपर्छ भने गगन पार्टीभित्रका कैयौँ आक्रमणको सामना गर्दै निरन्तर लडिरहेका छन्। भलै उनले जितिसकेका छैनन्, आशाको उज्यालो किरण त देखाएकै छन्। आफ्नैको प्रहारहरूबाट नटुटेको गगनले परायाको प्रहार निस्तेज पार्न पक्कै जानेका होलान्। 

गगनमाथि भइरहेका प्रहारहरू हेर्दा कुनै समय चीनका इमानदार र कुशल राजनीतिज्ञ तथा कूटनीतिज्ञ (माओअन्तर्गतका पहिलो प्रिमियर अर्थात् प्रधानमन्त्री) झोउ एनलाइलाई तत्कालीन ‘ग्याङ अफ फोर’ (माओपत्नी जियाङ छिङले नेतृत्व गरेको) ले निशाना बनाउँदाको क्षणहरूको झल्को मिल्छ। चीनका प्रिमियर र चिनियाँ कम्युनिस्ट पार्टीका एक प्रमुख व्यक्तित्व रहेका झोउलाई सिद्धान्तनिष्ठ र सक्षम नेताका रूपमा लिइन्थ्यो, जो आफ्नो करिअरभरि अध्यक्ष माओका नीतिहरूलाई व्यावहारिक शासनसँग सन्तुलनमा राख्न प्रयत्नरत रहे। 

जब ग्याङ अफ फोरजस्ता युवा, कट्टर राजनीतिज्ञहरूले शक्ति प्राप्त गर्न थाले, तब झोउलाई चीनको आर्थिक समस्या र असफलताहरूका लागि दोष थोपरियो। आफ्नो भ्रष्टाचार र विनाशकारी नीतिहरूबाट जनताको ध्यान हटाउन झोउलाई ग्याङ अफ फोरले ‘बलीको बोका’ बनाए। झोउको प्रतिष्ठा कमजोर बनाउन र उनलाई क्रान्तिको लक्ष्यमा बाधकको रूपमा चित्रित गर्न खोजे। १९७६ मा झोउको निधनपछि समेत ग्याङ अफ फोरले उनको विरासतमाथिको आक्रमणलाई तेज बनाए। तर, अन्ततः जनभावना झोउकै पक्षमा रह्यो । र, उनी एउटा इमानदार र सक्षम व्यक्तिको प्रतीक बन्न पुगे। 

यहाँको ग्याङ अफ फोर अर्थात् ‘ब्लु ग्याङ’ले पनि यही सिको गरिरहेको देखिन्छ।

गगनको नेतृत्वदायी भूमिकापछि सहकारी ठगको ट्याग लागेका रविले अब कानूनी प्रक्रियाहरूमा सघाउनेबाहेक विकल्प छैन। कानूनको किचलोमा दपेटिने निश्चित भएपछि रवि उल्टो गगनप्रति लक्षित गर्दै ‘‘कसैको राजनीति जोगाइदिन म बलिको बोको बनिदिनुपर्ने?’’ भन्दै बोल्न थालेका छन्। तर रवि र रास्वपाका हर्कत हेर्दा उल्टो देखिन्छ। 

झुट, ठगी र गैरजिम्मेवार हरकतले सच्चा, इमानदार र जिम्मेवार व्यक्ति कदापि डगमगाउँदैन भन्ने गगनले अहिलेसम्म प्रमाणित गर्दै आएका छन्। गगनमा पनि केही कमजोरी अवश्य पक्कै होलान्, कमजोरी नै नभएका उनी ‘भगवान्’ होइनन्। तर पटक–पटक गैरकानूनी गतिविधिमा जोडिएका रविको ‘अपराध’को दाँजोमा गगनका कमजोरी नगण्य छन्, तुलनायोग्य नै छैनन्। अधिकांश त अफवाह नै छन्। जुन अफवाह र सामान्य कमजोरीलाई पहाड बनाउँदै गगनको व्यक्तित्व मैल्याउने प्रयास रवि नेतृत्वको ‘ब्लु ग्याङ’ले गरिरहेको छ।

अन्त्यमा,

रविले जतिसुकै प्रयास गरे पनि उनी जोडिएका गैह्रकानूनी गतिविधिको मुद्दा अदालतमा ढिलोचाँडो चल्ने निश्चित छ। गगनलाई गाली र सत्तालाई सराप्दैमा उनले उन्मुक्ति पक्कै पाउँदैनन्।

नागरिकता र पासपोर्टजस्ता गम्भीर मुद्दामा उम्किए झैँ ‘सहकारी ठगी’ मा अर्को नजिर बनाउने रविको प्रयास तीव्र छ। तर यो मुद्दा अदालत प्रवेश गर्‍यो  भने यसअघि नागरिकता र पासपोर्टको मुद्दामा झैँ न्यायालय दयालु देखिएला? र,राहत इन्दौरीका तल उल्लिखित कवितांशलाई सत्य साबित गर्नेगरी ‘फैसला’ तेहेरिएला र ?

जो जुर्म करते हैं इतने बुरे नहीँ होते,

सजा नादेके अदालत बिगाड देती है।

प्रवृत्ति र प्रकृतिका आधारमा हेर्दा अपराधशास्त्रअनुसार रवि आकस्मिक वा परिस्थितिजन्य अपराधीको वर्गमा पक्कै पर्दैनन्। किनभने उनले गरेका भनिएका अपराध परिस्थितिजन्यभन्दा पनि नियोजित छन्। अभियोगहरू पुस्ट्याइँका आधार बन्दै गयो, सत्ताले सौदाबाजी गरेन र न्यायालय निष्पक्ष भयो भने अभ्यस्त, पेशेवर र सफेदपोस यी तीनै वर्गका अपराधी ठहरिन सक्छन्,रवि।

अहिले धेरैको चासो न्यायालयमा यो मुद्दाले कसरी प्रवेश पाउँछ र कसरी निप्टारा लाग्छ भन्नेमा केन्द्रित छ। अनि कतै न्यायालयका न्यायमूर्तिको ‘चित्तमा अर्कै लाग्छ’ कि भन्ने चिन्ता–चासो पनि उत्तिकै छ। फेरि पनि न्यायमूर्तिहरूको चित्तमा अर्कैथोक लागेछ भने रविका हकमा मिर्जा गालिबको यो शेर त कसो नलाग्ला र?

गुनाह करके कहाँ जाओगे गालिब

ये जमीं ये आसमाँ सब उसीका है।

(नेपाली कांग्रेसका युवा नेता झाका यी विचार निजी हुन्।)