समानुपातिक सांसद छान्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभामा पार्टीका तर्फबाट समानुपातिक प्रणालीबाट निर्वाचित हुने सांसदहरूका विषयमा टुंगो लगाउन कार्यसम्पदान समितिको बैठक बोलाएको छ।

काठमाडौँ– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। निर्वाचनको मतपरिणाम सार्वजनिक भएपछि पहिलोपटक कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको हो। 

शनिबार दिउँसो १ बजे केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बैठक बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। प्रतिनिधिसभा र प्रदेशसभामा पार्टीका तर्फबाट समानुपातिक प्रणालीबाट निर्वाचित हुने सांसदहरूका विषयमा टुंगो लगाउन बैठक बोलाइएको हो। 

बैठकमा चुनावको समीक्षा, आगामी सरकार गठन लगायतका विषयमा छलफल हुने बताइएको छ। प्रतिनिधिसभातर्फ प्रत्यक्षमा ५७ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ ३२ सिट पाएको छ। समानुपातिकतर्फ कांग्रेसले २९ जना महिला र ३ जना पुरुष पठाउनुपर्ने छ।