पुटिनले आणविक अस्त्रसम्बन्धी आफ्नो यसअघिको टिप्पणी ‘द्वन्द्व बढाउने कारक नभई प्रतिरोधको कारक’ भएको दाबी गर्दै पश्चिमाहरूको आलोचनालाई अस्वीकार गरे।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आफ्नो ‘विशेष सैन्य अभियान’मा अपेक्षा गरिएभन्दा बढी समय लागेको स्वीकार गरेका छन्। उनले नयाँ भू-भाग कब्जा गर्न सफल भएको र आफ्नो देशको आणविक हतियारले द्वन्द्व बढ्नबाट रोकेको पनि बताए। “निःसन्देह, यो एक लामो प्रक्रिया हुन सक्छ,” पुटिनले भने।
रूसले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण शुरू गरेको थियो। यो नौ महिनाभन्दा लामो युद्धले लाखौँलाई आफ्नो घरबाट विस्थापित गरेको छ र दशौँ हजार घाइते भएका छन् भने कैयौँले ज्यान गुमाएका छन्।
उनले आफूसँग सेना पठाउनुको विकल्प नभएको दाबी गर्दै वर्षौंदेखि पश्चिमा मुलुकले रूसको सुरक्षा मागलाई ‘अनुहारमा थुक्ने मात्र’ जवाफ दिएको बताए।
रूसमा आफ्नो मानवअधिकार परिषद्का सदस्यहरूसँगको टेलिभिजन बैठकमा बोल्दै पुटिनले भूमि अधिग्रहणलाई ‘रूसका लागि महत्त्वपूर्ण परिणाम’को रूपमा वर्णन गरे र भने, “अजोभको सागर रूसको आन्तरिक समुद्र बनेको छ।”
आफूले प्रशंसा गर्ने एक जना रुसी नेतालाई बारम्बार उल्लेख गर्ने एउटा ऐतिहासिक प्रसंगमा उनले भने, “पिटर द ग्रेटले पानीको त्यो स्रोतमा पहुँच प्राप्त गर्न लडेका थिए।”
तीव्र युक्रेनी प्रतिरोधका कारण किभमाथि नियन्त्रण लिन असफल भए पनि रूसले आक्रमणको शुरुआतमा दक्षिणी युक्रेनको व्यापक भू-भाग कब्जा गर्यो र लगभग तीन महिनाको घेराबन्दीपछि मे महिनामा मारिउपोलको अजोभ बन्दरगाह कब्जा गर्यो। गत सेप्टेम्बरमा पुटिनले युक्रेनका दक्षिणमा खेरसन र जापोरिजझिया र पूर्वमा डोनेट्स्क र लुहान्स्क गरी चारवटा क्षेत्रलाई रूसी भू-भागमा गाभिएको औपचारिक घोषणा गर्यो।
यसपहिले सन् २०१४ मा युक्रेनको क्रिमियन प्रायद्वीपलाई पनि रूसी सेनाको नियन्त्रणमा लिई यी भू-भाग आफ्नो भएको घोषणा गरेको थियो।
पुटिनले आणविक अस्त्रसम्बन्धी आफ्नो यसअघिको टिप्पणी ‘द्वन्द्व बढाउने कारक नभई प्रतिरोधको कारक’ भएको दाबी गर्दै पश्चिमाहरूको आलोचनालाई अस्वीकार गरे।
“हामी पागल भएका छैनौँ। आणविक हतियार के हो भन्नेबारे हामी पूर्ण जानकार छौँ,” पुटिनले भने, “हामीसँग ती हतियार छन् र ती अन्य कुनै पनि आणविक शक्तिको तुलनामा धेरै उन्नत र अत्याधुनिक छन्।”
टेलिभिजनमा प्रशारित टिप्पणीमा रूसी नेताले आपूर्ति, घाइते सैनिकहरूको उपचारमा समस्या रहेको स्वीकार गरेका छन्। उक्त अवसरमा पुटिनले युक्रेनमा सेनालाई बलियो बनाउन सेप्टेम्बरमा आदेश दिएका तीन लाख जगेडा सैनिक बलको परिचालनको बारेमा छलफल गरेका थिए।
पुटिनका अनुसार हालसम्म करिब एक लाख ५० हजार मात्र लडाकु युक्रेनी क्षेत्रमा खटाइएका छन् भने बाँकीलाई सेनाले तालिम दिइराखेको छ। क्रेमलिनले अर्को परिचालनको तयारी गरिरहेको हुनसक्ने अनुमानबारे पुटिनले भने, “रूस र रूसी रक्षा मन्त्रालयले त्यसो गर्न आवश्यक ठानेको छैन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
