राजनीति सङ्लो बनाउने एउटा मौका

प्रणालीलाई दोष मात्र दिएर त्यसले समाधान कसरी दिन्छ? विवेकले काम गरे सुखद परिणाम खोज्न सकिने सम्भावना रहन्छ। तर दम्भ र अहंकार बोकेर हिँडे, फेरि पनि आउने दुष्परिणाम नै हो।

हामीकहाँ निराशाका कारक एउटा वा दुईवटा मात्रै होइन, अनन्त थिए र छन्। मुलुकमा सुशासन छैन, बेथिति व्याप्त छ। नेतागणमा जे–जसरी हुन्छ, शासनसत्तामा बसिरहने र कुर्ची टिकाउनेबाहेक अरू उपाय देखिएन। जसरी पनि धेरै कमाउनेहरू आफू कानूनी दायरामा पर्नै नपर्ने मनस्थितिमा हिँडिरहेका हुन्थे। अरूलाई कानून लागोस्, आफूलाई नलागोस् भनेर दुई वर्गको समाज निर्माण गर्न खोज्नेहरू यहाँ देखिएकै हुन्।

यिनै कारणले गर्दा एकपछि अर्को बेथिति जन्मिए। ती बेथितिले जन्मिएको उदासीनता मेचीदेखि महाकालीसम्म छ। असन्तोष र आक्रोश व्याप्त छ। मुलुकको शासन व्यवस्थाका हरेक मामला राजनीतिमा गएर ठोक्किने रहेछ। त्यो राजनीति जहाँ गएर ठोक्किन्छ, त्यहाँ आशा र भरोसा राख्ने ठाउँ हुनुपर्थ्यो। त्यसो हुन सकेन। त्यो ठाउँ निराशा र असन्तोषको केन्द्र जन्माउने थलो बनिदियो।

आज जे परिणाम देखियो, यो रहँदै, थिग्रिँदै र थपिँदै गएको असन्तोषको परिणाम हो। अहिलेको बेथिति आउने दिनमा पनि कायमै रहे असन्तोषका अरू नतिजा अगाडि आउनेछन्। रोकेर रोकिनेवाला छैन। यसका निम्ति गर्नुपर्ने एउटै कुरा भनेको सुशासन हो, भ्रष्टाचाररहित समाजको थालनी हो।

अबका दिनमा ‘म मुलुकमा सुशासन गर्छु’ भनेर भाषण र ओठेबोलीले मात्रै केही हुनेवाला छैन। कर्मबाट सुशासन देखिनुपर्छ। कर्म गर्ने बेलामा हिजोको जस्तो तेरो र मेरो भनेर काम गर्ने, अनि परिणाम भने सुखद खोज्ने तौरतरिकाले अब चल्दैन। 

यहाँ असन्तुष्टिको कारक भनेर न्यायिक नियुक्तिदेखि न्यायालयसम्मको कुरा उठ्ने गरेको छ। तर त्यो कसको प्रभाव र राजनीतिमा भइरहेको छ भन्ने हो। यसमा न्यायलयभित्रैको विषयभन्दा बढी बाहिरको ‘रुट–कज’ महत्त्वपूर्ण छ, त्यो भनेको राजनीति हो। म अदालती विषय र न्यायिक निरूपण एकदमै सही छन् भन्न चाहन्नँ, भन्न मिल्दैन पनि। 

कतिपय न्यायिक निरूपण र पुनरावेदन प्रहरीले गर्ने कि सरकारी वकिलले भन्ने विषय पनि स्पष्ट छैन। सरकारी संयन्त्रले गरेको बिगार, फट्याइँमा सिंगै न्यायालयलाई दोषी देख्न मिल्दैन। आखिरमा सरकारी संयन्त्र कस्तो छ त? दबाब, प्रभाव र हस्तक्षेपले ग्रसित छ। यसो भन्दैमा अदालत पुगेपछि सबै कुरा सत्यम्–शिवम्–सुन्दरम् भैजान्छ भन्ने होइन। त्यहाँ पनि करेक्सनका अनेक कुरा छँदैछन्।

यथार्थतः परिवर्तन भनेको न राजनीतिक मात्रै हो, न त आन्दोलन मात्रै। हामीकहाँ परिवर्तन आयो, तर विवेक चाहिँ भर्न सकेन। विवेकको ठाउँमा दम्भ र अहंकार मात्रै भयो। प्रणालीलाई दोष मात्र दिएर त्यसले समाधान कसरी दिन्छ? विवेकले काम गरे सुखद परिणाम खोज्न सकिने सम्भावना रहन्छ। तर दम्भ र अहंकार बोकेर हिँडे, फेरि पनि आउने दुष्परिणाम नै हो। 

एउटा तीतो यथार्थ के छ भने, मादक पदार्थले मातेको चालकलाई हामीले गाडी हाँक्ने जिम्मा दियौँ भने त्यो कहाँ जान्छ? जाने त त्रिशूलीमै हो। यस्तो चालक यता वा उता बसेको होला, सरकारमा वा विपक्षमा होला, अदालत वा प्रशासनमा होला। जता बसे पनि जँड्याहा चालकले गाडी पुर्‍याउने खोलामै हो, ठोक्काउने भीरमै हो। हामीले यस्ता मातेका चालकलाई गाडीको ‘स्टेयरिङ’ समात्न दिनै हुँदैनथ्यो। खोजीखोजी यस्तै चालक बनायौँ, राम्रोभन्दा हाम्रोको ध्याउन्नमा रह्यौँ।

‘जनताका छोराछोरी मर्छन्, मलाई के हुन्छ’ भनेरसम्म सोच्ने चालकलाई गाडीको स्टेयरिङ थमायौँ। २००७ सालपछिकै परिवर्तनहरू सम्झने हो भने, प्रणालीगत र राजनीतिक रूपमा धेरै उथलपुथल भए। तर जुनजुन समयमा जेजे समस्या देखिए, त्यसबेलाको शासकीय कमजोरी र विवेकको खडेरी तथा स्वार्थको वर्चस्वका कारण कहिल्यै सम्बोधन भएन। दुर्भाग्यहरू क्रमशः निम्तिँदै गए, थपिँदै गए। 

जबसम्म कार्यशैली र प्रणालीगत सुधार गरिँदैन, यसको कुनै अन्त्य देखिँदैन। सिद्धान्त र आदर्शले मात्रै केही हातलागी हुनेवाला छैन। अहिलेको राजनीतिक नेतृत्वका कारण (सबै तहमा आलोपालोमा रहेका नेतृत्व) यो स्थिति आएको हो, यिनले नेतृत्व सम्हाल्न सकेनन्।

अबको निकास भनेको राजनीतिक रूपमै सङ्लो भएर जानु हो। राजनीतिकर्मीहरू दम्भ र अहंकारबाट बाहिर निस्कनुपर्छ। तर समस्या के भइदियो भने हाम्रा राजनेताहरू आफूलाई बुद्धिको अन्तिम ठेकेदार भन्ठान्छन्। आफू र आफ्नो साम्राज्य मात्रै सर्वेसर्वा भनिरहन्छन्। राजनीति त सेवा हुनुपर्थ्यो, व्यापार भइदियो। यो स्थितिबाट सङ्लिएर नगएसम्म हामी यथास्थितिमै रहन्छौँ। 

अब राजनीतिलाई सङ्लो बहाउने मौका आएको छ। राजनीति र राजनेताले यो समयको महत्त्वलाई बुझ्न सके परिणाम टाढा छैन, उपलब्धिमूलक र आशाले भरिएको छ।

(पूर्वन्यायाधीश खतिवडासँग कुराकानीमा आधारित।)