पर्सामा रहेको श्री काशी श्यामराज राजेश्वरी गुठीको पाँच बिघा आठ कठ्ठा जग्गाको नक्कली लालपुर्जा भेटिएको छ। उक्त लालपुर्जा पर्सागढी नगरपालिका–४ का शेख मन्जारुल मियाँको नाममा छ।
वीरगन्ज– पर्साको पर्सागढी नगरपालिका–४ स्थित श्री काशी श्यामराज राजेश्वरी गुठीको १८० बिघा जग्गा छ। त्यसमध्ये पाँच बिघा आठ कठ्ठा व्यक्तिको नाममा नक्कली लालपुर्जा बनाइएको पाइएको छ। अहिले पनि यो जग्गा गुठीकै भोगचलनमा छ।
कित्ता नं. ६२ को जग्गाको नक्कली लालपुर्जा भेटिएको हो। फोटोकपी गरिएको अवस्थामा भेटिएको उक्त लालपुर्जा पर्सागढी–४ का शेख मन्जारुल मियाँको नाममा छ।
मालपोतको श्रेस्तामा भने उक्त जग्गा मियाँको नाममा दर्ता छैन। मालपोत रसिद काट्ने प्रयोजनले गुठी संस्थानको वीरगन्जस्थित कार्यालयमा व्यक्तिको नामको लालपुर्जाको फोटोकपी पेस गरिएको थियो। गुठी जग्गाको मालपोत गुठी संस्थानमै तिरेर रसिद लिनुपर्छ।
गत असार १६ गते रसिद काट्न एक व्यक्ति संस्थानको कार्यालय पुगेका बेला शंका लागेर त्यहाँका कर्मचारीले खोजबिन थालेका थिए। ती व्यक्ति पुनः नआएपछि परिचय खुल्न नसकेको गुठी संस्थानका कर्मचारी बताउँछन्।
प्रमुख मालपोत अधिकृत अशोककुमार भट्टराईले यस विषयमा अनुसन्धान थालेको जानकारी दिए। प्रारम्भिक रूपमा जग्गा धनीपुर्जामा किर्ते गरेर पाँच बिघा आठ कठ्ठा रहेको कित्ताको फर्जी विवरण चढाइएको देखिएको भट्टराई बताउँछन्। उनी भन्छन्, “मालपोत कार्यालयमा भएको उक्त पुर्जाको मोठ हेर्दा सँगैका अरू तीन कित्ताको विवरण मिल्छ, त्यस कित्ताको उल्लेख छैन। भनेपछि यो किर्ते नै हो।”
मोठको उक्त पन्नामा रातो मसीले ‘शंकास्पद’ लेखिएको छ। साविक बिरुवागुठी गाविस–२ स्थित उक्त जग्गाको जग्गाधनी नै फेरिएको फेला परेपछि जिल्ला प्रशासन कार्यालय पर्सालाई जानकारी गराएको गुठी संस्थान कार्यालय वीरगन्जका प्रमुख चुडामणि घिमिरे बताउँछन्।
गुठीको जग्गाको लगत पनि मालपोत कार्यालयमै हुन्छ। गत असार १६ गते संस्थानले जिल्ला प्रसाशन कार्यालयलाई पत्र पठाएपछि छानबिनका लागि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले मालपोत कार्यालयलाई निर्देशन दिएका थिए।
लालपुर्जाको फोटोकपीमा अरू तीन वटा कित्ताको विवरण अधिकृतको हस्ताक्षरबाट प्रमाणित गरिएको छ, ती विवरण अभिलेखसँग पनि मिलेको छ। तर त्यसमुनि उस्तै अक्षर मिलाएर कित्ता नं. ६२ को बेहोरा थपिएको देखिएको प्रमुख मालपोत अधिकृत भट्टराई बताउँछन्।
लालपुर्जाको फोटोकपीमा जग्गाधनी भनेर शेख मन्जारुल मियाँको एकल नाम छ। मोठ किताबको पन्नामा भने तीन जनाको नाममा संयुक्त स्वामित्वमा तीन वटा कित्ताको विवरण छ। मोठ किताबको पन्नामा पहिलेदेखि ‘शंकास्पद’ भनेर जनाउ गरिएकोले थप अनुसन्धान गर्नैपर्ने देखिएको भट्टराईको भनाइ छ।
अभिलेखले के भन्छ?
गुठी संस्थान शाखा कार्यालयको अभिलेखअनुसार उक्त जग्गाको लालपुर्जा २०४७ माघ २८ गते श्री काशी श्यामराज राजेश्वर गुठीको नाममा बनेको थियो। २०२२ सालको नापीको फिल्डबुकमा जग्गाधनीको महलमा ‘महल खाली’ उल्लेख छ।
अहिले लालपुर्जाको फोटोकपी फेला परेको र कसरी आयो भन्ने छानबिन चलिरहेको संस्थानका शाखा कार्यालय प्रमुख चुडामणि घिमिरे बताउँछन्। कर्मचारीले भुलचुकबस तिरो लिएर रसिद दिएको भए परिबन्दमा पर्ने स्थिति आएको, तर व्यक्तिको नामको लालपुर्जा देखेपछि तिरो नलिएको उनको भनाइ छ।
किर्ते लालपुर्जाको भरमा मालपोत तिरेको रसिद हासिल गरेर, पछि त्यसैका आधारमा जग्गा हत्याउने योजना बुनिएको हुनसक्ने घिमिरेको आशंका छ। “किर्ते गरेर गुठीको जग्गा व्यक्तिको नामबाट तिरो रसिद लिनखोज्नु गम्भीर विषय हो,” उनी भन्छन्, “रसिदका आधारमा जग्गा नै हत्याउने योजना हुनसक्छ। पुर्जामा उल्लेखित व्यक्तिका छोरा नै वडाध्यक्ष भएकाले वडाको सिफारिस लिन समस्या नै थिएन।”
गुठी संस्थानको कार्यालयमा पेश हुन आएको लालपुर्जामा उल्लेखित जग्गाधनी शेख मन्जारुल मियाँका छोरा शेष खुर्सेद मियाँ पर्सागढी–४ का वडाध्यक्ष हुन्। संस्थानका शाखा कार्यालय प्रमुख घिमिरेद्वारा पठाइएको पत्रमा गुठी तैनाथी जग्गा कुनै व्यक्ति विशेषले हत्याउने अधिकार नरहेको उल्लेख छ। साथै, गुठीको सम्पत्तिमा जालझेल गर्नेलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरिएको छ।
पर्सागढी–४ का पूर्ववडाध्यक्ष समसुद्दिन शाह देवान उक्त जग्गा राणाकालदेखि गुठीको सम्पत्ति भएको आफूहरूले थाहा पाएको बताउँछन्। “गुठीको जग्गा हो, स्थानीय बासिन्दाले खेतीपाती गरेर बाली खाँदैआएका छन्। त्यहाँभित्र कसैको नम्बरी जग्गा छैन,” उनी भन्छन्, “नक्कली धनीपुर्जा नै बनाउनु सार्वजनिक सम्पत्ति हडप्ने प्रयास हो।”
वडाध्यक्ष शेष खुर्सेद मियाँले आफ्नो बुबा मोबाइलसमेत नबोक्ने सोझो व्यक्ति भएकाले अरू कसैले नाम दुरुपयोग गरेको हुनसक्ने बताए। “त्यो जग्गाको पुर्जा बनाइएको छैन, कहीँ, कतै, केही पनि छैन। मेरो बुबासँग पहाडतिरका मानिसको संगत भएको थियो धेरै पहिला। उसैले कागजमा गडबड गरेको थाहा पाइएको थियो,” उनले भने।
पहाडका भनिएका मानिस कहाँका र को हुन् भन्ने वडाध्यक्ष मियाँले खुलाउन चाहेनन्। ती व्यक्तिलाई बोलाएर आफूहरूले पहिला नै सोधपुछ गरेको र २०७२ सालको भूकम्पमा ती व्यक्तिको मृत्यु भइसकेको उनको दाबी छ। “अहिले कसरी र कहाँबाट कुरा निस्कियो थाहा भएन,” उनी भन्छन्।
के हो गुठी?
त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाका अनुसार गुठी शब्द संस्कृतको गोष्ठीबाट आएको हो। धार्मिक, सामाजिक र सांस्कृतिक उद्देश्य पूरा गर्न वा निरन्तरता दिन गुठीहरू बनाइएको हो।
“मठ मन्दिरको मर्मत संभार, पूजाआजा होस् वा समाजिक संस्थाहरूको निरन्तरता, खासगरी बालीबाट हुने आम्दानीबाट त्यसको आर्थिक स्रोतलाई सुनिश्चित गरिएको प्राचीन व्यवस्था हो यो,” उनी भन्छन्, “आजको आधुनिक मान्यताका ट्रष्टसँग मिल्दोजुल्दो छ।”
चाबहिलको चैत्यमा रहेको १५ सय वर्षभन्दा पुरानो शिलालेखमा गुठीको उल्लेख भएकाले यसको ऐतिहासिकतालाई बुझ्न सकिने माथेमा बताउँछन्। समाजमा सामूहिक रूपमा गर्ने क्रियाकलापलाई निरन्तरता दिन गुठीहरू बनाइन्थ्यो। परेवालाई दाना खुवाउन पनि गुठी बनेको भेटिने उनको भनाइ छ।
माथेमाका अनुसार गुठी नेपालको मौलिक सम्पदा पनि हो। गुठीको उद्देश्य पूर्तिका लागि चाहिने धनराशि जग्गामार्फत आर्जन हुन्थ्यो। त्यसैले त्यसको संरक्षण महत्त्वपूर्ण भएको र त्यो समाजबाटै हुने उनी बताउँछन्।
वीरगन्जको काशी श्यामराज राजेश्वरी गुठीको स्थापना काशी (बनारस)मा नेपालको तर्फबाट लोककल्याणको काममा गरिने खर्चको जोहो गर्न स्थापित प्राचीन गुठी हो। गुठी संस्थान कार्यालय वीरगन्जका अनुसार अहिले पनि यो जग्गाको आम्दानी काशीको नेपाली मन्दिर सञ्चालनका लागि जान्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
