चापाकल छन्, पानी आउँदैन। महानगरले ट्यांकरबाट बाँड्छ, छिनाझपटी हुन्छ। डिप बोरिङबाट निकालिएको पानी पहुँचवालाले मात्र पाएको स्थानीय गुनासो गर्छन्। पानीको हाहाकार भइरहेको वीरगन्जमा के छ समाधान?
वीरगन्ज– वीरगन्ज महानगरपालिका–११ श्रीपुरकी सुनिता श्रेष्ठ रित्तो बाल्टी लिएर असार २३ गते राति ११ बजेसम्म भौत्तारिइन्। मुस्किलले एक ठाउँमा एक बाल्टी पानी भेटिन्। “१२ बजे बल्ल खाना पकाउन शुरू भयो। कति बजे खायौँ, कति बजे सुत्यौँ होला?” भोलिपल्ट वडा कार्यालय घेराउ गर्न पुगेको समूहमा भेटिएकी उनले भनिन्, “बिहान उठेपछि फेरि त्यही समस्या, कसरी बाँच्ने, कसरी काममा जाने?”
वीरगन्जका प्रायः घरका चापाकलमा पानी आउन छाडेको छ। पानीको हाकाकार भएपछि पछिल्लो दुई सातादेखि स्थानीयको दैनिकी नै बिथोलिएको छ। पानीकै कारण छिमेकी र टोल–टोलबीच द्वन्द्व हुन थालेको छ।
आफ्नो छिमेकीले पहुँचको आधारमा बोरिङबाट पानी पाएको र आफूहरूलाई नदिइएको सुनिताको आरोप छ। श्रीपुरकै धोबीटोलका मनउवर हुसैनले पनि अर्को टोलमा पाइप पुगेको तर आफूहरूलाई नदिइएपछि वडा कार्यालय घेर्न गएको बताए।
“हाम्रो ३०–४० घरधुरीको टोलमा पानी छैन। पानी संकट जति बढ्दै छ, त्यति राजनीति पनि घुसिरहेको छ,” हुसैनले भने, “यो आपतमा मानिसहरू आ–आफ्नो परिवार जोगाउन लागिपरेका छन्, जनप्रतिनिधिले पानी दिन सकेनन्।”

संकटको बेला पानी वितरणमा भेदभाव गरेको भन्दै स्थानीयले जनप्रतिनिधिप्रति आक्रोश पोख्न थालेका छन्। ट्याक्टरबाट वितरण हुने र ‘डिप बोरिङ’ गरी पाइपलाइनबाट पठाइने पानीमा विभेद गरेको उनीहरूको गुनासो छ।
गत बिहीबार भएको सर्वपक्षीय छलफलमा वीरगन्ज महानगर प्रमुख राजेशमान सिंहले समस्याग्रस्त ठाउँहरूमा ट्यांकरमार्फत दैनिक करिब डेढ लाख लिटर पानी वितरण भइरहेको जानकारी दिए। बिहान ५ बजेदेखि राति ८ बजेसम्म ट्यांकरमार्फत पानी बाँडिरहेको उनको भनाइ छ।
चापाकलमा पानी आउन छाडेपछि खानेपानीको धारा जडान माग गर्नेको संख्या पनि बढिरहेको खानेपानी संस्थान, वीरगन्जका कार्यालय प्रमुख नीरन महर्जन बताउँछन्। यसअघि भने, चापाकलमै भर परेका स्थानीय धारा जडान गर्ने माग गरेर बिरलै मात्र संस्थानको कार्यालय पुग्थे।
संस्थानबाट अहिले आठ हजार १०० घरधुरीलाई दैनिक ६० लाख लिटर पानी आपूर्ति भइरहेको छ। संस्थानसँग कुल २० हजार घरधुरीलाई पानी वितरण गर्ने क्षमता छ।
२०७८ सालको जनगणनाअनुसार करिब दुई लाख ७२ हजार जनसंख्या रहेको वीरगन्ज महानगरमा घरपरिसरभित्रै चापाकल राखी मोटर लगाएर पानी तान्ने चलन छ। अहिले सुक्खायाममा चापाकलबाट पानी आउनै छाडेको महानगरका इन्जिनयरहरू बताउँछन्।

प्रदेशसभा सदस्य श्याम पटेलले असार २६ गते प्रदेशसभामा बोल्दै वीरगन्जमा खानेपानीको गम्भीर संकट भएको बताए। प्रदेश सरकारले राहतका लागि कुनै पहल नगरेको उनको आरोप थियो।
मधेश प्रदेश मन्त्रिपरिषद्को असार २६ गते नै बसेको बैठकले प्रदेशलाई सुक्खाग्रस्त घोषणा गरेको छ। मधेश प्रदेशका आठै जिल्लामा पानीको समस्या भएको समाचारहरू सञ्चारमाध्यमहरूमा आइरहेका छन्।
सांसद रामकृष्ण यादवले असार २९ गतेको प्रतिनिधिसभा बैठकमा तराई मधेशमा चापाकल र इनार सुक्दै जाँदा खानेपानीको चरम संकट भएको बताए। प्रत्येक दिन जनप्रतिनिधिलाई खानेपानीको संकटबारे फोन आएको र तीन तहकै सरकार यो समस्या समाधानप्रति गम्भीर नभएको उनको भनाइ छ। “तराई मधेशलाई सुक्खा क्षेत्र घोषणा गरेर राहतको प्याकेज घोषणा गर्न सरकारलाई म आग्रह गर्छु,” उनले भने।
खानेपानीमन्त्री प्रदीप यादवले वीरगन्जका विभिन्न टोल पुगेर आफूले समस्या बुझेको उकालोसँग बताए। स्थानीय तहसँग सहकार्य गरेर समस्याको तत्कालीन समाधान गर्ने र दीर्घकालीन सामाधानका लागि योजना निर्माण भइरहेको उनको भनाइ छ।
यसरी बढ्यो पानीको हाहाकार
इन्जिनियर राकेश साहले २०७८ सालमा गरेको ‘वीरगन्जमा रहेका ६ नम्बर चापाकलको सोस्ने सीमा र दोहनः एक अध्ययन’ शोधको अवधारणामा केही वर्षपछि वीरगन्जका चापाकल सुक्ने उल्लेख गरेका छन्। उनले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट स्नातकोत्तरका लागि शोधपत्रको अवधारणा पेश गरेका थिए।
साहले २०८१ जेठमा शोधपत्र बुझाउँदासम्म चापाकल सुकेर पानीको संकट शुरू भइसकेको छ। केही वर्षअगाडि आंशिक रूपमा देखा परेको समस्या यो वर्ष उत्कर्षतिर लागेको साह बताउँछन्। यहाँका करिब ९५ प्रतिशत चापाकल सुकेको पाइएको वीरगन्ज महानगर खानेपानी शाखामा कार्यरत इन्जिनियर साहको भनाइ छ।
उनका अनुसार वीरगन्जका ३२ वडामध्ये २५ भन्दा बढीमा पानीको संकट छ। महानगरले ६ वटा ट्यांकरबाट पानी बाँड्छ। ठाउँठाउँमा डिप बोरिङको काम पनि भइरहेको उनले जानकारी दिए।
हाल २०० देखि २५० फिट गहिराइमा गाडिएका चापाकल सुकेको साह बताउँछन्। भूमिगत पानीको जलस्तर वर्षाको बेला बढ्ने र सुक्खामा घटेर तल जाने हुन्छ। “जति फिट गहिरोमा पाइप गाडे पनि पानीको माथितिर जाने एउटा जल दबाबस्तर हुन्छ। अर्थात् पानी जमिनमुनि २० देखि ३० फिट गहिराइसम्म आउँछ,” उनी भन्छन्, “पानी ३० फिटभन्दा मुनि गयो भने चापाकलमा आउन छोड्छ।”
पानीको दबाबस्तर मौसमअनुसार तलमाथि हुन्छ। “पहिला जल दबाबस्तर २० देखि २६/२७ फिटसम्म तलमाथि भइरहन्थ्यो। दुईतीन वर्षयता ३० फिटभन्दा तल नै छ। यस्तो हुँदा समग्र एरियाको चापाकल एकै पटक सुक्ने हुन्छन्,” उनी भन्छन्।

पाइपलाइनबाट गरिने वितरणले पानीको संकट केही हदसम्म समाधान हुनसक्ने साह बताउँछन्। तर जलवायु परिवर्तनका कारण हुने पानीको संकटसँग जुध्न गाह्रो भएको उनको भनाइ छ।
वर्षका धेरै दिन सुक्खा हुने र थोरै दिन मात्र पानी पर्ने चक्र जलवायु परिवर्तनको प्रभाव हो। “असार सिद्धिन थाल्यो, पानी परेको छैन। थोरै थोरै परेको भए पनि रसाएर भित्र जान्थ्यो। वर्षा नहुँदा सुक्खा हुने नै भयो,” उनी भन्छन्।
वीरगन्जसँग सीमा जोडिएको भारतीय क्षेत्रमा पनि खानेपानीको हाहाकार छ। पूर्वी चम्पारणका पत्रकार मुनेश रामले रक्सौल नगर निगम क्षेत्रमा चापाकलहरू सुकिसकेको बताए।
‘वीरगन्जमा सडक, ढल र अरू पक्की संरचनाले गर्दा जमिनभित्र वर्षाको पानी पुग्न नसकेसँगै छिमेकी रक्सौलमा पनि समस्या देखिएको’ भारत विहारको लोक स्वास्थ्य अभियनकरण विभागले बताएको उनले जानकारी दिए। उक्त विभागले गरेको अध्ययनमा पुर्वी चम्पारणको ग्रामीण भेगमा १८ देखि २० फिट रहेको जल दबाबस्तर रक्सौलमा २८ फिट पुगेको देखिएको छ।
भूमिगत जलको अत्याधिक दोहन
भूमिगत जलस्रोत जमिनमा तल दबिरहेको बेला पुनर्भरण नहुँदा चापाकल र इनार सुक्न थालेका हुन्। चापाकल हातैले चलाएर पानी निकाल्दा कुनै समस्या थिएन। बस्ती विस्तार हुँदै जाँदा ‘मोटर पम्प’ लगाएर पानी तान्न थालियो।
भवन, पुल, सडक र ढलजस्ता भौतिक पूर्वाधार निर्माणमा भूमिगत पानीकै प्रयोग हुन्छ। उद्योगहरूले उपभोग गर्ने ठूलो परमाणको पानीको स्रोत पनि भूमिगत नै हो। भूमिगत स्रोतको क्षमताभन्दा अधिक दोहन हुँदा पानी दब्दै गएको इन्जिनियर आकाश तिवारी बताउँछन्।
शहरीकरण बढेसँगै घरमा मोटर पम्प लगाएर तान्न थालिएको र औद्योगीकरणले भूमिगत पानीको दोहनमा भूमिका खेलेको तिवारीको भनाइ छ। उद्योगहरूले चलाउने बोइलर मेसिनले एकै पटकमा धेरै पानी नियमित रूपमा तान्दा पानीको सतह क्रमशः तल जान्छ।

जल प्रणालीका विज्ञ इन्जिनियर पद्यसुन्दर जोशी घरेलु प्रयोजनमा चाहिने पानीका लागि चापाकलमा मोटर लगाएर तान्नु आमप्रचलन भएको बताउँछन्। तर उपभोगको अनुपातमा पानी पुनर्भरण नहुँदा समस्या हुन थालेको छ।
त्यस्तै, औद्योगिक प्रयोजनमा गरिने भूमिगत पानीको अधिक उपभोगले पनि समस्या निम्तिएको छ। तर एउटै कारणले मात्र पानीको अभाव सिर्जना नभएको जोशी बताउँछन्। जलवायु परिवर्तनले वर्षाचक्र विथोलिनु, पर्याप्त वर्षा नहुँदा पुनर्भरण नहुनु, चुरे क्षेत्रमा वन पैदावार तथा ढुंगा, बालुवा अत्यधिक झिकिनु जस्ता कारण भूमिगत पानीको स्रोत सुक्दै गएको उनको भनाइ छ।
“तराइमा भूमिगत जलको दुइटा स्रोत छन्– एउटा वर्षाबाट ग्राउन्ड वाटर रिचार्ज हुने, अर्को माथिल्लो भेग (उत्तर) को चुरे क्षेत्र,” जोशी भन्छन्, “केही वर्षदेखि कि अतिवृष्टि (थोरै समयमा धेरै वर्षा), कि अनावृष्टि (वर्षा नै नहुने) समस्या जलवायु परिवर्तनको एउटा मुख्य प्रभावको रूपमा देखिएको छ।”

पहिला वर्षाको समय सिमसिम पानी धेरै दिनसम्म पर्दा जमिनले सोस्ने गर्थ्यो। अहिले एकै चोटी धेरै पानी पर्दा भेल बन्छ र जमिनले सोस्न सक्दैन। त्यस्तै, चुरेको पानी सञ्चित गर्ने प्रणाली पनि बिथोलिएको छ। “चुरे बिगार्ने काम ज्यादै भयो, पूर्वराष्ट्रपति डा. रामवरण यादवले चुरे संरक्षण गर्नुपर्यो भनिराखेको कुरा त्यही हो,” जोशी भन्छन्।
शहरी क्षेत्रमा पानीलाई सकेसम्म ढलमै बगाउने गरिएको छ। पुनर्भरण गर्ने वीरगन्जका कतिपय पोखरी मासिँदा पनि समस्या निम्तिएको जोशी बताउँछन्। “आकाशबाट परेको पानी ढलमै पठाउनुपर्छ भन्ने जरुरी छैन,” उनी भन्छन्, “कुवाहरू बनाएर ग्राउन्ड वाटर रिचार्ज गर्ने कुरा वीरगन्ज महानगरले एउटा अभियानको रूपमा नै अगाडि बढाए हुन्थ्यो। पुराना पोखरीहरूलाई पुनर्जीवित गर्न सकिन्छ, जसले धेरै सहयोग गर्छ।”
पानी झिक्न इनार खनेजस्तै, उस्तै संरचना बनाएर पानी जमिनमा छिराउन जरुरी भएको जोशी बताउँछन्। वर्षाको पानी नै जमिनमुनिको पानीको प्रमुख स्रोत भएकाले त्यसलाई जमिनमुनि जान बाधा हुने कार्य रोक्नुपर्ने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
