विद्यमान निराशा ठूलो समस्या होइन। निराशा पोखिरहने तर त्यसलाई चिर्न केही नगर्ने नागरिक निष्क्रियता बरु ठूलो समस्या हो।
देशमा निराशा व्याप्त छ भनेर कसैले अब भनिरहन परेन। घरपरिवार, चोक चौतारा, चिया वा कफी पसल, मिडिया र सामाजिक सञ्जाल जताततै निराशा छ्यापछ्याप्ती छ। देशमा मात्रै होइन, जहाँजहाँ नेपाली पुगेका छन्, त्यहीँ निराशा छ। पार्क, चोक, बैठक, भेला, सोमरस सम्मेलन, फेसबुक, टिकटक वा एक्स जताततै यो निराशा व्याप्त छ।
यसले धेरैलाई पिरोलेको छ। सदनदेखि सडक र सोसल मिडियामा यो पिर पोखिएको छ। नेतादेखि अभिनेता र व्यापारीदेखि सर्वसाधारणसम्म यो निराशाको हल खोज्न आतुर छन्। तर समाधान मिलेको छैन।
हरेक संकटलाई मौका बनाउनुपर्छ भन्ने दर्शनबाट प्रेरित मैले भने यही निराशामा आशाका किरण देखेको छु। किनकि मलाई यो देश नबन्नुको प्रमुख कारण नेपालीहरूको घोर आशावाद हो भन्ने लाग्छ।
आशावादका अनेक काइदा छन्। बाटो बनेन? काम गर्दैछन्, बन्ला नि।
पुल बनेन? अर्को बर्खासम्म बन्ला नि।
तलब बढेन? यो वर्ष महँगी नि ठिकै छ, चलाउँला। अर्को वर्ष हाकिमलाई पक्कै भन्छु।
एक पुस्ता नै गरिबीमा पर्यो। अब छोराछोरीको पुस्ताले गरिबीबाट निकाल्लान् नि।
शासक निकम्मा परे? अर्को चुनावमा फेरिहाल्छौँ नि।
अनि अर्को चुनाव? अझै एक चोटि तिनैलाई भोट दिऊँ न, यस पटक केही गरिहाल्छन् कि।
यस्तै यस्तै आशावादले नै देश विकास र जबाफदेही शासनव्यवस्था स्थापनाको हलो अड्केको अड्क्यै छ।
तपाईं पत्याउनुहुन्न भने निराश मानिसले संसार कसरी परिवर्तन गर्छन् भन्ने म हजारौँ उदाहरण दिन सक्छु। यी पहराबाट निस्केको उत्पादनले प्रजाहरूको पेट भर्न सक्दिनँ भनेर निराश भएका पृथ्वीनारायण शाहले नुवाकोटको फाँट हुँदै काठमाडौँ सम्मको अन्न भण्डार कब्जा गरे। विश्वमै हेर्ने हो भने युरोपको ठिही र सीमित उत्पादनबाट निराश भास्को डि गामा र क्रिस्टोफर कोलम्बसहरूले अनिश्चित र जोखिमपूर्ण यात्रामा निस्केर पनि सारा विश्वको एकीकरण गरे।
पहाडका खोरियामा नङ्ग्रा फहराएर परिवारको पेट पाल्न सकिन्न भनेर निराश भएका हाम्रा पुर्खाहरूले पूर्वदेखि पश्चिमसम्म भित्री मधेस फडानी गरेर बस्न योग्य बनाए, परिवारको पेट भरे। कालान्तरमा पहाडतिरका मान्छेको पनि पेट भर्ने उत्पादन गर्न थाले।
देशमा रोजगारी मिल्दैन भनेर निराश भएका युवाहरू लाम लागेर विदेश धाए। अहिले तिनले नै पठाएको विप्रेषणले देशको अर्थतन्त्र टिकेको छ।
रोजगारीको जिम्मा राज्यले लिन सक्दैन भनेर निराश भएका मानिसहरूले आफै उद्यम व्यवसाय शुरू गरे। यिनै युवा र उद्योगी व्यवसायीहरूको योगदानबाटै आजका शासकहरूले देश बन्दै गरेको उपदेश दिन पाइरहेका छन्।
यो देश बन्दैन भनेर अस्ट्रेलिया, युरोप वा अमेरिकातिर भास्सिएका युवाहरूले पनि तत्तत् देशहरू बनाउँदै नै छन्।
अर्कोतिर अति आशावादले ल्याएको खतीबारे पनि सयौँ उदाहरण दिन सकिन्छ। यो ‘वीर नेपाली’वादले हामीलाई यति पिरोलिरहेको छ कि दुस्मनले आणविक बम ल्याएर पड्काउन थाल्यो भने पनि हामी खुकुरीको भरमा त्यो युद्ध जित्नेछौं भन्ने भ्रममा छौं। त्यसैले संसार मंगलग्रहतिर लाग्दै गर्दा हामीचाहिँ महावीर पुनले खोलेको राष्ट्रिय आविष्कार केन्द्र साँच्चै आविष्कार केन्द्र हो कि वर्कसप हो भन्दै बहस गर्दैछौं।
अनि, पुष्पक विमान हाम्रै पुर्खाले बनाएका थिए। तिनै पुर्खाको कोड हेरेर राइट दाजुभाइले अहिलेका विमानको आविष्कार गरेको भनेर गफ दिने कुनै उडन्तेको कुरामा विश्वास गर्दछौं। सारा आधुनिक रोग व्याधिहरूको उपचार र निरोध हाम्रा ऋषिमुनिहरूले परापूर्व कालमा नै गरिसकेका थिए भन्दै छद्म विज्ञानमा पनि विश्वास गरिरहेका हुन्छौं।
जीवनको ७० र ८० को दशकमा पुग्न थालेका तीन नेताले आफ्नो र यो देशकै मुहार फेर्छन् भन्नेमा कम्तीमा तत् तत् पार्टीका कार्यकर्ताहरूले विश्वास गर्छन्। योचाहिँ ताजा भयानक आशावाद भयो।
तीमध्ये एउटा पार्टीकाले त पूर्वराष्ट्रपति पुनः पार्टी जीवनमा फर्केर मुलुक, पार्टी र आफ्नो भविष्य समेत सुनिश्चित गर्ने आशा गरेका छन्। एउटा नायक आकाश वा अमेरिकाबाट टप्किन्छ र देशको मुहार फेर्छ भन्ने आशामै छन् बाँकी जनता पनि।
यहीँनेर म नेपालीहरूको दुःखको मुहान देख्छु। डाक्टरले लेखेर दिएको प्रेस्किप्सिनझैं बिहान, दिउँसो र साँझ सोसल मिडियामा भयानक निराशा ओकल्यो। दिनदिनै । गाली गर्यो नेताहरूलाई। तर, आफ्नो आँखाअगाडि के भइरहेको छ? आफूले चुनेर पठाएका जनप्रतिनिधिले के गरेका छन्? त्यसबारे कुनै चासो र चिन्ता छैन। काम नगरे गरेन भनेर गाली गर्यो, कुनै काम गर्यो भने पनि भ्रष्टाचार गर्यो वा कमिसन खायो भनेर गाली गर्यो।
यसरी निर्वाचित जनप्रतिनिधिलाई उसको कार्यकालभर उत्तरदायी बनाउने दायित्वबाट नागरिक बेदखल भएपछि जनप्रतिनिधिलाई पनि हाइसन्चो छ। जसरी पनि गाली खाइन्छ, आफ्नै दुनो सोझ्याऊँ। जुन कुरा त संघीयदेखि प्रदेशका बजेटसम्म छताछुल्ल भई नै हाल्यो। अझै पालिकासम्मको बजेट विश्लेषण गर्ने हो भने आफ्ना नाता, आसेपासे र कार्यकर्ता पोस्न, परिवारको नाम र श्रीवृद्धि गर्न तथा पार्टीका नेताका नाममा कार्यकर्ता पोस्न कति बजेट खन्याएका होलान्।
तसर्थ, मलाई लाग्छ कि विद्यमान निराशा ठूलो समस्या होइन। निराशा पोखिरहने तर त्यसलाई चिर्न केही नगर्ने नागरिक निष्क्रियता बरु ठूलो समस्या हो। निराशा भजाइराख्ने तर निराश मानिसहरूको ऊर्जालाई अर्थपूर्ण कर्मतिर लगाउन नसक्नु ठूलो समस्या हो। यो निराशालाई निर्वाचित सरकारहरूबाट जबाफदेहिता खोज्नतर्फ लगाउन सक्ने हो भने पो बरु समाधान निस्किन्छ कि? निराश जनताहरूले अर्थपूर्ण मञ्चमार्फत र सम्बन्धित अधिकारीहरूसमक्ष आफ्नो निराशा व्यक्त गर्न थाले भने बरु हाम्रा शासक र संरचना जनता र आफ्ना बाचाप्रति उत्तरदायी हुँदा हुन्।
कसैगरी पनि उनीहरू उत्तरदायी नभए आगामी चुनावमा जनताले विकल्प खोज्दा हुन्। ८४ को चुनावको लागि उछलकुद गरिरहेका नयाँ र उदाउँदै गरेका दल तथा ‘स्वतन्त्र आकांक्षीहरू’ ले पनि जारी निराशालाई त्यतातिर निर्देशित गर्न सके देश (र, राजनीति) सप्रिने बाटोमा लाग्दो हो। अन्यथा, अहिलेका ‘मुलधारे’ दललाई बगाउने तागत देखाइरहेको सामूहिक निराशाले नयाँ र आकांक्षी दलहरूलाई झन् निमेषभरमै बगाउन बेर गर्ने छैन।
यो लेखलाई एउटा व्यक्तिगत प्रसंगबाट बिट मार्छु। यहाँ निराशाको महिमा मण्डन गरे पनि आफ्नो जीवनमा भने म घोर आशावादी छु। म पनि नेपाल संसारको सबैभन्दा सुन्दर मात्रै होइन, समृद्ध देश हो भन्नेमा विश्वास गर्छु। सुन्दर, शान्त, विशाल ! यही देशले कुनै दिन मलाई पनि समृद्ध बनाउनेछ, मेरा सन्ततिको भविष्य र मेरो बुढेसकालको सहारा सुनिश्चित गर्नेछ भनेर ढुक्क बसेको छु।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
