नेपालमा आँखा उपचार करिब पाँच दशकअघि वीर अस्पतालबाट शुरू भएको हो। हाल देशभर फैलिएका ‘डेडिकेटेड’ अस्पतालमा आँखाको शल्यक्रिया गर्ने नेपालीभन्दा विदेशी धेरै छन्। आँखा उपचारमा लामो फड्को कसरी सम्भव भयो?
काठमाडौँ– भारतको उत्तरप्रदेश प्रान्तको राजधानी लखनउस्थित जानकीपुरममा जुन १२ (जेठ २९) मा भेटिएका नारायणकुमार पालित (८०) को दाहिने आँखा सेतो छ। तर देब्रे आँखाको भरमा उनी अखबार पढिरहेका थिए।
उत्तरप्रदेशकै देवरिया जिल्लाको बैतालपुर घर भएका उनले त्यहीँको एउटा अस्पतालमा मोतियाविन्दुको अप्रेसन गराउँदा दाहिने आँखा बिग्रेको थियो। पछि नेपाल पुगेर अप्रेसन गराएको देब्रे आँखा दुरुस्त भएको पालितले सुनाएका थिए।
“करिब १० वर्ष पहिला देवरियामा अप्रेसन गराएको आँखा बिग्रिएर सेतो भयो, केही पनि देखिँदैन। अर्को आँखाले पनि साथ दिन छाडेपछि धन्न नेपाल गएँ,” उनले भनेका थिए, “अर्को आँखाको ज्योति फर्किएको चारपाँच वर्ष भयो। अहिले त देब्रेकै भरमा बिनाचस्मा पनि अखबर पढ्न सक्छु।”
नेपाल गएर फेरि उपचार गर्दा बिग्रेको आँखामा पनि ज्योति फर्किने आशामा छन् पालित। त्यसैले यही वर्ष नेपाल आउने योजना सुनाए। “हाम्रोतिर (भारतमा) सीतापुरको आँखा अस्पताल नामी हो, कुनै जामानामा त्यहाँ नेपालका मानिस पनि उपचारका लागि आउँथे। २५–३० वर्षदेखि यताका मानिस नेपाल जान्छन्,” उनले भने, “यताबाट भैरहवा आँखा अस्पताल जान्छन्, मेरा आफन्तहरू वीरगन्जमा भएकाले म त्यता गएँ।”
त्यस्तै, विहारको पूर्वीचम्पारण जिल्लास्थित ममरखा गाउँका गोपाल दुवे आँखाको उपचार गराउन गत वैशाख २१ गते वीरगन्ज आए। परवानीपुरस्थित आरएम केडिया आँखा अस्पतालमा मोतियाविन्दुको अप्रेसनपछि त्यही दिन फर्किए। उनको आँखा ठिक भइसकेको उनका भिनाजु सान्तनु कुमारले टेलिफोनमा बताए।
करिब १० हजार भारु खर्च गर्दा उपचार सकिएको सान्तनुले बताए। उनले भने, “नेपालमा आँखाको उपचार भरपर्दो र सुलभ छ। विहारका मानिस मात्र आँखा जँचाउन नेपाल जाने होइन, मेरा साला गोपालसँगै अप्रेसन गराएका एक जना झारखण्डको धनवाद जिल्लाबाट आएका थिए।”
भारतमा आँखा अस्पतालहरू नभएका भने होइनन्। तर निजी अस्पतालको खर्च धेरै हुन्छ। उत्तर भारतभन्दा टाढा पनि पर्छन्। कम खर्च लाग्ने र राम्रा अस्पतालमा पालो पाउन मुस्किल छ। भारतको सरकारी कर्मचारी रहेका सान्तनु भन्छन्, “नेपाल पुग्न टाढा छैन, खर्च धेरै पनि लाग्दैन। सबभन्दा महत्त्वपूर्ण कुरा, भरोसा गर्न सकिन्छ।”
देशबाहिरका मानिसहरूको समेत भरोसा हासिल गरेको आँखा उपचारको यात्रा पाँच दशकको हो। केही वर्षदेखि तराइका सीमावर्ती जिल्लाका आँखा अस्पतालहरू भारतीयहरूको गन्तव्य बनेका छन्। पूर्वीनेपालका आँखा अस्पतालमा त बंगलादेश र भुटानका नागरिक पनि उपचारका लागि आउँछन्।
वीरदेखि ‘डेडिकेटेड’ अस्पतालसम्म
सन् १९७० को दशकमा वीर अस्पतालमा आँखाका बिरामीलाई १६ शय्या छुट्याइएको थियो। आँखाकै बेग्लै अस्पताल भने थिएनन्। दुई जना आँखा विशेषज्ञले हरेक हप्ता तीन घण्टाको दरले शल्यक्रिया गर्ने समय पाउने ‘आँखाका मणि प्रा.डा. रामप्रसाद पोखरेल’ पुस्तकमा प्राडा रामचन्द्र पोखरेलले लेखेका छन्।
ती शय्यामा प्रायः प्यानोप्थाल्माइटिस (आँखा पाकेर पिपले भरिने रोग) लागेका बिरामी हुन्थे। मोतीबिन्दुको अपरेसन गराउन चाहनेले एक वर्षभन्दा बढी कुर्नुपर्थ्यो। पैसा हुनेहरूले भारतमा गएर शल्यक्रिया गराउने र अन्य धेरैले मोतिविन्दुका कारण आँखाको ज्योति गुमाउनुपर्ने अवस्था थियो। वर्षमा तीन–चार वटा आँखा शिविर हुँदा करिब ८०० जनाले उपचार पाउने पनि प्राडा पोखरेलले उल्लेख गरेका छन्।

२०३० सालमा (१९७४ अप्रिल) काठमाडौँको त्रिपुरेश्वरमा नेपाल आँखा अस्पताल स्थापना भयो। नेपाल आँखा अस्पताल व्यवस्थापन समिति नामको गैरसरकारी संस्थाले अस्पताल स्थापना गरेको थियो। बेलायतमा अध्ययनपछि उताको जागिर त्यागेर स्वदेश आएका नेत्र चिकित्सक प्राडा रामप्रसाद पोखरेल अस्पतालको कार्यकारी निर्देशक भए।
स्थापनाकालमा व्यवस्थापन समिति सचिवसमेत रहेका प्राडा पोखरेलले उक्त अस्पताल खोल्न निकै संघर्ष गर्नुपरेको आफ्नो पुस्तक ‘तमसोमा ज्योतिर्गमय’मा लेखेका छन्। स्वास्थ्य सेवा विभागको सहमतिमा अस्पताललाई ‘प्रमुख जिल्ला अधिकारी कार्यालय, काठमाडौँ’मा दर्ता गरेको पनि उनले उल्लेख गरेका छन्। शुरूआतमा यो अस्पतालमा ६ शय्या थिए।
अस्पताल स्थापनाको पाँच वर्षपछि २०३५ चैत १३ गते नेपाल नेत्रज्योति संघको स्थापना भयो। स्थापनाको पाँच वर्षमा काठमाडौँबाहिर नौ वटा आँखा अस्पताल सञ्चालनमा ल्याएको थियो। अहिले संघमार्फत देशभर सञ्चालित २८ आँखा अस्पताल, ४५ जिल्ला शाखा (अस्पताल) र २२४ आँखा उपचार केन्द्रले नेपाललाई आँखाको उपचारमा आत्मनिर्भर मात्र बनाएका छैनन्, ‘मेडिकल टुरिजम’को अवधारणा साकार गरिरहेका छन्।
यसैबीच, नेपाल आँखा कार्यक्रम नामको गैरसरकारी संस्थाअन्तर्गत २०५१ सालमा काठमाडौँमा तिलगंगा आँखा अस्पतालल स्थापना भयो। यसले आँखा उपचारको लागि विशिष्ठ सेवासँगै उत्पादन गर्ने लेन्स (कृत्रिम आँखाको नानी)ले आँखाको प्रभावकारी उपचारको आधार दिएको छ।
उपलब्धिको यात्रा
आँखा उपचारको पाँच दशकको यात्रामा नेपालले उल्लेखनीय फड्को मारेको भेटिन्छ। विश्व स्वास्थ्य संगठनले सन् १९७९/८० मा गरेको अध्ययनमा नेपालमा दृष्टिविहीनता दर ०.८४ प्रतिशत थियो। ‘नेपालमा दृष्टिविहीनताको महामारी विज्ञान’ नामको उक्त अध्ययनमा मोतियाविन्दुलाई अन्धोपनको प्रमुख कारण पहिचान गरिएको थियो।
अध्ययनले ८० प्रतिशतभन्दा बढी अन्धोपन रोक्न सकिने खालको भएको मानेको थियो। यस राष्ट्रव्यापी सर्वेक्षणमार्फत देशमा दृष्टिविहीनताको दर र यसका कारणहरू पत्ता लगाउन सकिने तथ्यांक संकलन र विश्लेषण गरिएको थियो।
यो सर्वेक्षण चलिरहँदा नेत्रज्योति संघको स्थापना भइसकेको थियो। पछि यही अध्ययन नेपालमा आँखाको उपचारसम्बन्धी रणनीति निर्माणका लागि मार्गदर्शक बन्यो।
सन् २०११ मा संघले नै गरेको अध्ययनले नेपालमा दृष्टिविहिनताको दर ०.८४ बाट घटेर ०.३५ प्रतिशतमा झरेको देखायो। आँखा सम्बन्धी काम गर्ने संस्था सेवा फाउन्डेसनले प्रकाशित गरेको नेपाल फ्याक्ट सिट प्रतिवेदनअनुसार अहिले नेपालमा दृष्टिविहीनता दर ०.३२ मा झरिसकेको छ।

नेत्रज्योति संघका सञ्चार प्रबन्धक श्रीकृष्ण भट्टराई चार दशक अघिसम्म नेपालमा आँखाको उपचार पनि हुन्छ भन्ने चेतना जाने बुझेका मानिसमा समेत नभएको बताउँछन्। ग्रामीण क्षेत्रका मानिसमा त आँखाको उपचार र त्यसबारे जानकारी कल्पनाबाहिर थियो। उनी भन्छन्, “मानिसहरू उपचारको अभावमा दृष्टिविहीन जीवन बिताउन बाध्य थिए। समाजमा दृष्टिविहीनतालाई अघिल्लो जन्मको कर्मको फलको रूपमा पनि अर्थ्याउने चलन थियो।”
भट्टराई आँखाको उपचारले फड्को मार्ने अवस्था आउनुको श्रेय प्राडा रामप्रसाद पोखरेल र उति बेला नेपाल नेत्रज्योति संघ खोल्ने समाजसेवीहरूलाई दिनुपर्ने बताउँछन्। संघ स्थापना हुँदा पञ्चायतकाल थियो र राजदरबारलाई विश्वासमा लिनुपर्थ्यो। दरबारको पनि सहयोगी भूमिका भएको प्राडा पोखरेलले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्।
संघको केन्द्रीय कार्यालय रहेको नेत्रज्योति भवनको उद्घाटन तत्कालीन बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी शाहले गरेकी थिइन्। विभिन्न दाताहरूको सहयोगमा बनेको संघलाई नेपाल सरकार, भारत सरकार र विभिन्न दातृ निकायहरूले पनि सहयोग गरेपछि सञ्जाल र सेवा दुवै विस्तार भएको भट्टराई बताउँछन्।
गैरनेपालीको संख्या अधिक
सन् २०२४ मा नेत्रज्योति संघआबद्ध अस्पतालहरूबाट दुई लाख ५९ हजार ८९० वटा आँखा अप्रेसन भए। यसमध्ये ६२.६५ प्रतिशत भारतीय थिए। विराटनगर आँखा अस्पतालकी सञ्चार अधिकृत रस्मिता भट्टराई ओपीडीमा नेपाली बढी भए पनि अप्रेसन गराउने बिरामी नेपालबाहिरकै धेरै हुने बताउँछिन्।
सन् २०१९ देखि २०२४ सम्म पाँच वर्षमा संघबाट सञ्चालित आँखा अस्पतालहरूमा आँखाका १३ लाख ९२ हजार ५१५ अप्रेसन भए। यसमा ६१.३९ प्रतिशत गैरनेपाली थिए।
सिराहाको लहान र मोरङको विराटनगरका आँखा अस्पतालमा भारतीय मात्र होइन, केही संख्यामा भए पनि बंगलादेश र भुटानबाट पनि बिरामी आउने भट्टराई बताउँछिन्। तर संघले नेपाली र गैरनेपाली भनेर मात्र तथ्यांक राख्ने गरेको उनको भनाइ छ।

कैलालीस्थित गेटा आँखा अस्पतालका ‘आउटरिच’ अधिकृत राजेन्द्र भट्ट ओपीडी सेवाग्राहीमा नेपाली ७० प्रतिशत र अप्रेसन गर्ने चाहिँ भारतीय ७० प्रतिशत हुने बताउँछन्। नेत्रज्योति संघको तथ्यांकले राष्ट्रियस्तरमा पनि उस्तै आँकडा देखाउँछ। सन् २०१९ देखि २०२४ सम्म संघका अस्पतालमा ओपीडीमा जँचाउने एक करोड ४३ लाख ५९ हजार मध्ये भारतीय ४३ लाख आठ हजार छन्।
भारतीय सेवाग्राही ओपीडीमा ‘फलोअप’ गर्न आउन नरुचाउँदा संख्या कम देखिएको हो। तर आँखा उपचार शिविरमा पनि नेपालीसँगै भारतीयले पनि लाभ लिन्छन्।
यी अस्पतालबाट सेवा लिनेमा करिब ९० प्रतिशत मोतियाविन्दुका बिरामी हुन्छन्। त्यसबाहेक जलविन्दु, पर्दा (रेटिना)को रोग, कोर्निया (नानी) प्रत्यारोपण, बालबालिकाको मोतियाविन्दु र आँखाको डेढोपनसम्बन्धी शल्यक्रिया गर्न पनि आउँछन्। त्यस्तै, अकुलोप्लास्टिक (आँखाको ढिक्कासम्बन्धी रोग), अकुलोप्रोस्थेसिस (कृत्रिम आँखा राख्ने), आँखाको ट्युमर उपचार, चस्माका ठाउँमा कन्ट्याक्ट लेन्स राख्नेजस्ता सेवा लिन पनि बिरामी आउने गेटा आँखा अस्पतालका डा. सुरेशराज पन्त बताउँछन्।
गेटा आँखा अस्पतालका शाखा सुदूरपश्चिममा २९ वटा छन्। यी अस्पतालमा गुणस्तरीय सेवा भएकै कारण भारतबाट बिरामी आउने डा. पन्तको दाबी छ। उनी भन्छन्, “एक पटक बिग्रेपछि त कोही आउँदैनन् नी! मुख्य कुरा हो गुडविल। सस्तो छ, नेपाली र गैरनेपालीलाई फरक गरिँदैन। यिनै कारण भारतीय बिरामी आकर्षित भएका हुन्।”
आँखाको लेन्स धेरैजसो नेपालमै उत्पादन हुने डा. पन्तले जानकारी दिए। ती लेन्स काठमाडौँको तिलगंगा अस्पतालले उत्पादन गर्छ। तर आवश्यकताअनुसार विदेशबाट ल्याइएका लेन्स पनि प्रयोग हुने उनी बताउँछन्।
लेन्सबाट फैलिँदै तिलगंगा अस्पताल
नेपालमा आँखा उपचारलाई विश्वस्तरीय बनाउने संस्था तिलगंगा आँखा अस्पताललाई मानिन्छ। भारतीय बिरामी आउनुको एउटा कारण यहाँ उत्पादित लेन्सको प्रयोग पनि हो।
म्यागासेसे पुरस्कारसमेत पाएका डा. सन्दुक रुइत तिलगंगा आँखा अस्पतालका निर्देशक हुन्। उनले सरल र कम लागतमा मोतिबिन्दुको उपचार पद्धति ‘रुइतेक्टोमी’ स्थापना पनि गरेका छन्। सन् १९९० मा सरकारी अस्पताल छाडेर यो अस्पताल शुरू गर्दा उनलाई अन्य सहकर्मी सात जना डाक्टरले साथ दिएका थिए।
अस्पताल खोल्न अस्ट्रेलियास्थित फ्रेड हलोज फाउन्डेसनले सहयोग गरेको थियो। नेपालमा भने साहित्यकार जगदीश घिमिरे, कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यलगायतले साथ दिएका थिए। तत्कालीन राजा वीरेन्द्र र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट १९९४ जुन ७ मा अस्पतालको उद्घाटन भएको थियो।
तिलगंगा अस्पतालका प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारी बर्सेनि चारदेखि साढे चार लाखसम्म इन्ट्राकुलर लेन्स उत्पादन हुने बताउँछन्। तीमध्ये डेढदेखि दुई लाख लेन्स नेपालमै खपत हुन्छ। “करिब ४० प्रतिशत स्वदेशमा र बाँकी विदेशमा खपत हुन्छ,” उनी भन्छन्, “पाकिस्तान, चीन, कम्बोडिया, बैंकक, इन्डोनेसिया, अफ्रिका, मेक्सिकोजस्ता देशहरूमा लेन्स जान्छ।”
तिलगंगा आँखा अस्पतालको सेवा काठमाडौँको पिंगलास्थानसहित चार ठाउँबाट लिन सकिन्छ। हेटौँडा, भक्तपुर र बाराको निजगढमा पनि तिलगंगाका अस्पताल छन्। यस अस्पतालले दुर्गम पहाडी र हिमाली क्षेत्रमा २६ सामुदायिक आँखा केन्द्र सञ्चालन गरेको छ। यो अस्पतालको प्राविधिक सहयोग र स्थानीय तहहरूको सहकार्यमा ५५ वटा ग्रामीण आँखा केन्द्र पनि सञ्चालित छन्।
स्थापनाकालदेखि अहिलेसम्म अस्पतालले करिब एक करोड जनाको आँखा उपचार गरेको अधिकारी बताउँछन्। सन् २०२३ को अन्तसम्म आँखाको पाँच लाख ५७ हजार २८४ वटा अप्रेसन गरेको अस्पतालको अभिलेख छ। अहिले यो संख्या करिब ६ लाख पुगिसकेको उनले बताए। त्यस्तै, अस्पतालले करिब १५ हजार आँखा प्रत्यारोपण गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
