सडक मर्मत वा पूर्वाधार निर्माणका लागि खनिएका खाडलमा परी विगत पाँच वर्षमा २२ जनाको ज्यान गएको छ। सरकारले कडाइ नगर्दा अझै पनि विभिन्न प्रयोजनमा खनिएका खाडल नपुरी छाडिन्छ।
काठमाडौँ— जेठ पहिलो साता धनुषाको कमला नगरपालिका–२ सराबे टोलमा सडक निर्माण गर्दा बनेको खाडलमा जमेको पानीमा डुबेर दुई बालकको ज्यान गयो। स्थानीय रामबाबु साहका छोरा रितिक (७) र श्यामबाबुका छोरा रितिश (५) को मृत्यु भयो। रामबाबु र श्यामबाबु दाजुभाइ हुन्।
वडाध्यक्ष थकु यादवका अनुसार वडाकै बजेटमा कृषि सडक निर्माण हुँदै थियो। सडक स्थानीय खोला नजिक हुँदै लगिएको थियो। सडकका लागि आवश्यक माटो खोला नजिकैको खाली जग्गाबाट निकालिएको थियो।
माटो निकाल्दा करिब ४ मिटर गहिरो खाडल बनेको थियो। वर्षाका कारण पानी जमेको त्यही खाडलमा तैरिरहेको अवस्थामा दुवै बालकको शव भेटिएको थियो। वडाध्यक्ष यादवले यसको दोष उल्टै अभिभावकमाथि थोपरे।
अविभावकले बालबच्चामाथि हेलचेक्र्याइँ गर्दा दुर्घटना भएको यादव बताउँछन्। “वर्षाैंदेखि यस्तो घटना भएको थिएन। हामीले सबैलाई सचेत गराउँदै आएका थियौँ,” उनी भन्छन्, “बालबच्चाको रेखदेख गर्ने जिम्मेवारी अविभावकको हो। राम्रो रेखदेख नगर्दाको परिणाम हो यो।”
गएको चैतमा कल्भर्ट बनाउन खनेको खाडलमा परेर मोटरसाइकल दुर्घटना हुँदा महोत्तरीको सोनमा गाँउपालिका–६ मगरथानाका किसुनदेव यादव (५५)को मुत्यु भयो। वडा नंं. ७ का अध्यक्ष इन्द्रजित यादवका अनुसार राति १० बजेतिर मगरथानाबाट कतरवा टोलतर्फ जाने क्रममा बीच बाटोमै रहेको खाडलमा किसुनदेव मोटरसाइकलसहित खसेका थिए।
करिब ७ फिट गहिरो खाडलमा खसेका किसुनदेवको घटनास्थलमै मृत्यु भएको थियो। त्यस क्षेत्रमा कल्भर्ट निर्माणका लागि घटना हुनुभन्दा दुई साताअघि मात्र सडकमा खाडल खनिएको थियो। तर बारबेर गरिएको थिएन।
खाडल खनेपछि सवारीसाधन डाइभर्सन गरिएको थियो। किसुनदेवले मोटरसाइकल सिधै खाडलतर्फ लगेका थिए। डाइभर्सनतिर नगई खाडल खनेको सडकतिरै जाँदा दुर्घटना भएको वडाध्यक्ष यादवले बताए।
सडकमा खनिएको खाडलबारे बुझ्न खोज्दा वडा नं. ६ का अध्यक्ष श्याम राय यादव सम्पर्कमा आएनन्। वडासचिव रामजियान यादवले घटनाबारे आफूलाई थाहा नभएको बताए। “यो घटनाबारे मलाई जानकारी छैन, सुनेको मात्रै हुँ, क्षतिपूर्तिको निवेदन पनि परेको छैन,” उनले भने।
झापाको मेचिनगर नगरपालिका–३ का धनराज भण्डारी २०८१ जेठ १५ गते छारोलाई लिएर नजिकैको निन्दा खोलामा पौडी खेल्न गए। नदीजन्य सामग्री उत्खनन गर्दा त्यहाँ करिब ६ मिटरको खाडल बनेको थियो। वडाध्यक्ष हर्कबहादुर बस्नेतका अनुसार बच्चा डुब्ने अवस्था आएपछि बचाउन जाँदा धनराज आफै डुबे।
खोला त्यति गहिरो नभए पनि खाडल नपुरी छाडिँदा उनको ज्यान गयो। “बच्चा नुहाउन खोज्दा चिप्लिएर खाडलमा परेपछि धनराज निकाल्न गएका थिए। छोरालाई निकाले पनि आफू निस्किन सकेनन्,” वडाध्यक्ष बस्नेत भन्छन्।
ठेकेदारहरूले मापदण्डभन्दा धेरै खनेर त्यस ठाउँमा खाडल नपुरी छाडेको बस्नेतको भनाइ छ। ठेकेदारको लापरबाहीकै कारण मृत्यु भएको उनले दाबी गरे। नगरको कार्यपालिका बैठकले ठेकेदारलाई जरिबाना गराउनुका साथै उत्खनन गर्न नदिने निर्णय गरेको उनले जानकारी दिए।
घटनापछि खाडल पुरिएको छ। भण्डारीको परिवारलाई क्षतिपूर्ति ५ लाख रूपैयाँ दिने निर्णय पनि कार्यपालिकाले गरेको बस्नेत बताउँछन्।
२०८० असोजमा धनुषाको विगही खोलाको खाडलमा डुबेर बटेश्वर गाउपालिका–१ का धीरजकुमार महतो (११) को ज्यान गयो। स्कुलबाट फर्किएर साथीहरूसँग खेल्न निस्किएका उनी नुहाउन खोज्दा खाडलमा डुबेका थिए।
वडाध्यक्ष अशोककुमार महतोका अनुसार त्यस खोलामा लुकिछिपी माटो उत्खनन हुने गरेको थियो। खोला सानै भए पनि माटो उत्खनन गर्दा परेको खाडलमा पानी जमेको थियो। “ऊसँगै गएका बच्चा छेउछाउ नै नुहाए, ऊ भने बीचतिर गएछ। खाडल नभएको भए केही हुने थिएन,” उनी भन्छन्।
महतोका अनुसार लुकीछिपी माटो उत्खनन हुँदा बनाइने खाडलका कारण यसअघि पनि दुर्घटना हुने गरेका थिए। तर कसैको मृत्यु भएको थिएन।
नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो पाँच वर्षयता विभिन्न खाडलमा परेर ४७ जनाको ज्यान गएको छ। आर्थिक वर्ष २०७६/७७ देखि गत बैशाख मसान्तसम्ममा ५९ जना घाइते भएका छन्।
सडक मर्मत वा निर्माणका लागि खनिएका खाडल सबैभन्दा घातक भएका छन्। पाँच वर्षमा यस्ता खाडलमा परेर २२ जनाको मृत्यु र १३ जना घाइते भएका छन्। पक्की/कच्ची सडकमा बनाइएको खाडलमा पानी जम्दा थप जोखिमपूर्ण बनेका छन्।
सडक मर्मत तथा पूर्वाधार निर्माण गर्दा र निर्माण सामग्री उत्खनन गर्दा बनेका खाडल बढी जोखिमपूर्ण बनेका छन्। पक्की सडक बिग्रिएर र प्राकृतिक रूपमा बनेका खाडलले पनि दुर्घटना गराइरहेका छन्।
यस्तो दुर्घटनाबाट बच्न नेपाल प्रहरीका प्रवक्ता रमेश थापा स्थानीय सरकारसँगै नागरिक पनि सचेत हुनुपर्ने बताउँछन्। विशेषगरि वर्षाको समयमा पूर्वाधार निर्माण गर्दा ध्यान दिनुपर्ने उनको भनाइ छ।
स्थानीय सरकारले अनुगमन तथा निरीक्षण गरी खाडल पुर्ने वा पुर्न लगाउने, जनचेतना फैलाउने गर्नुपर्ने थापा बताउँछन्। “पूर्वाधार बनाएपछि निर्माण कम्पनीले आफ्नो सबै जिम्मेवारी पूरा गर्नुपर्छ। खाडल बनेमा पुर्ने जिम्मा मेरो होइन भन्न पाइँदैन,” उनी भन्छन्, “यस्ता कुरामा स्थानीय सरकार एकदम सचेत रहनुपर्छ। नागरिकहरू पनि जिम्मेवार हुनुपर्छ।”
स्थानीयस्तरमा प्रहरीले निरीक्षण पनि गर्ने गरेको थापा बताउँछन्। सडकमा खाडल भएर जाखिम बढे स्थानीय सरकार वा प्रहरीलाई खबर गर्नुपर्ने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
