साप्ताहिक ब्रिफिङः पूर्वप्रधानमन्त्री नेपाललाई भ्रष्टाचार मुद्दा, मनसुनमा २० लाख मानिस प्रभावित हुने
यो साता उकालोमा कानून मिचेर कैदीलाई सजाय माफी, छुटेर फेरि अपराध, ट्रम्पको त्रास रुकुमसम्मै, सर्वोच्चले खोलिदियो अग्नि सापकोटामाथि अर्जुन लामा हत्याको अनुसन्धान गर्ने बाटोसहितका खबर चर्चामा रहे।
केही समय रोकिएको उकालो साप्ताहिक ब्रिफिङ फेरि शुरू गरेका छौँ। साप्ताहिक ब्रिफिङमा यो साता चर्चामा रहेका खबरहरूलाई समेटेका छौँ।
ब्रिफिङको शुरूआत गरौँ, पतञ्जलि प्रकरण र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दाबाट। पतञ्जलिको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बिहीबार मुद्दा दायर गरेको छ। अख्तियार नेपालसहित ९३ जनालाई विपक्षी बनाएको छ।
पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी, नेपाललाई काभ्रेपलान्चोकको साँगामा कम्पनी सञ्चालनका लागि हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्री गर्न दिएर सरकारी सार्वजनिक सम्पत्ति हिनामिना, हानि–नोक्सानी गरी भ्रष्टाचार गरेको अख्तियारको निष्कर्ष छ। अख्तियारले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार बिगो, बिगोबमोजिम जरिबानाका साथै कैद सजायसमेत मागदाबी लिएको छ।
भारतको हरिद्वारमा मुख्यालय रहेको बाबा रामदेवको पतञ्जलि योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माण गर्ने भन्दै २०६४ पुस २० मा पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी, नेपाल स्थापना गरेको थियो। तत्कालीन प्रधानमन्त्री माधव नेपाल नेतृत्वको सरकारका पालामा हदबन्दी छुटमा जग्गा किन्नेदेखि हदबन्दी छुटमा पाएको जग्गा नेपाल नेतृत्वकै सरकारबाट निर्णय गराएर बिक्रीसमेत गरिएको थियो।
यसअघि ललितानिवासको जग्गा हिनामिना प्रकरणमा मुद्दा चलाउँदा मन्त्रिपरिषद्को निर्णय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने तर्क दिँदै पूर्वप्रधानमन्त्रीद्वय नेपाल र बाबुराम भट्टराईविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थिएन। उक्त प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पनि उनीहरूलाई प्रतिवादी बनाएको थिएन।
अख्तियारको निर्णयलगत्तै ललितानिवास जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई पनि प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने मागदाबीसहित सर्वोच्च अदालतमा रिट दायर भएको थियो। उक्त रिट निवेदन सर्वोच्च अदालतमा विचाराधीन छ। ललितानिवासमा बयान मात्र लिएको अख्तियारले पतञ्जलि जग्गा प्रकरणमा माधव नेपालविरुद्ध किन चलायो भ्रष्टाचार मुद्दा? यसबारे उकालोकर्मी बीपी अनमोलले विस्तृत रिपोर्ट तयार पारेका छन्, पढ्नुहोस् : ललितानिवासमा बयान मात्र लिएको अख्तियारले पतञ्जलि जग्गा प्रकरणमा माधव नेपालविरुद्ध किन चलायो भ्रष्टाचार मुद्दा?
यस साताका प्रमुख हेडलाइन:
देश-समाज
बालकृष्ण खाँड र टोपबहादुर रायमाझीसहित शरणार्थी प्रकरणका अभियोगी अमेरिकाको ‘वाच लिस्ट’मा
नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका मुख्य राजनीतिक पात्र र तिनका परिवारसमेतको अमेरिकी भिसा तथा आवागमन प्रक्रिया ‘वाच लिस्ट’मा परेको छ।
सर्वोच्चले खोलिदियो अग्नि सापकोटामाथि अर्जुन लामा हत्याको अनुसन्धान गर्ने बाटो
सापकोटाविरुद्ध परेको १३ वर्ष पुरानो रिटमा संवैधानिक इजलासले बुधबार सुनुवाइ गर्दै ज्यान मुद्दामा अनुसन्धान अघि बढाउन सरकारका नाममा उत्प्रेषण आदेश जारी गरेको हो।
कानून मिचेर कैदीलाई सजाय माफी, छुटेर फेरि अपराध
जघन्य अपराधमा संलग्नलाई राजनीतिक आस्था वा ‘पैसाको चलखेल’का आधारमा कानून विपरीत बाँकी सजाय छुट र माफी मिनाहा दिने गरिएको छ। यसरी छुटेका कतिपय फेरि अपराध गरेर जेलमै पुग्छन्।
स्थलगत– तल्लो बाटोको पीडाः ट्रम्पको त्रास रुकुमसम्मै
ट्रम्पले आप्रवासीप्रति कठोर नीति लिँदा त्यसको त्रास नेपालसम्मै फैलिएको छ। करोडसम्म खर्चिएर तल्लो बाटो अमेरिका पुगेकाका परिवार आफ्ना मान्छे ‘डिपोर्ट’ भए ऋणको पासोमा परिने चिन्तामा छन्।
मनसुनमा २० लाख मानिस प्रभावित हुने आकलन, के छ तयारी?
विगत १० वर्षमा मनसुनजन्य विपद्का कारण २ हजार ३१७ जनाको ज्यान गयो, ४१९ जना बेपत्ता छन्। गत वर्ष मात्र बाढी र पहिरोमा परी ४९५ जनाको ज्यान गयो, ६६ जना बेपत्ता छन्।
बीपी राजमार्गले उठाएको सिन्धुली फेरि थलिँदै
सिन्धुलीको विकासमा बीपी राजमार्गको ठूलो भूमिका छ। यही राजमार्गका कारण खुर्कोट र मुलकोटजस्ता गाउँ साना शहरमा परिणत भए। तर बाढीपहिरोले सडक क्षतिग्रस्त हुँदा व्यवसायी र किसान चिन्तित छन्।
बिनासीप वैदेशिक रोजगारीमा, के गर्छन् सीप सिकाउने दर्जनौँ निकाय?
सीप सिकाउने सरकारी–गैरसरकारी दर्जनौँ निकाय हुँदा पनि नेपाली बिनासीप वैदेशिक रोजगारीमा पुगिरहेका छन्। यसरी जाने श्रमिक खतरा, कठिन र फोहोर (थ्री–डी) काम गर्न बाध्य हुन्छन्।
विचार-टिप्पणी
झोलेः पारिको सक्कल बमोजिम नक्कल
मोदी ‘चायवाला’ र ‘चौकीदार’ भएपछि आफूलाई ‘देवदूत’ र ‘देवावतार’का रूपमा ब्रान्डिङ गराउन अघि सरेका थिए। ओलीचाहिँ ‘राजनेता’ र ‘बा’को ब्रान्डिङपछि ‘झोले’मा झरेका छन्।
पाँच दिनले फरक पारेको पहलगाम यात्रा
कश्मीर कत्तिको सुरक्षित छ भनेर प्रश्न गर्दा उनले भने, “काश्मीरबारे मिडियाले अफवाह फैलाउँछ। तर कश्मीर सुरक्षित छ। हामी पर्यटकलाई धेरे सम्मान गर्छौं, उनीहरू हाम्रा भगवान् र अन्नदाता हुन्।”
भारत-पाक युद्धमा चिनियाँ संलग्नताले दक्षिण एशियामा पार्ने प्रभाव
चीनको सक्रिय सहयोगले पाकिस्तानलाई रणनीतिक लाभ भएको छ। जसको कारण अहिले आएर सम्पूर्ण दक्षिण एशियाको शक्ति सन्तुलन बिथोलिएको छ।
पृथ्वी तात्दै गर्दा खै तातेका हामी?
तापक्रम वृद्धिले गर्दा हिमनदी तीव्र गतिमा पग्लिरहेका छन् र समुद्री सतह उल्लेखनीय रूपमा वृद्धि भएको छ। विश्वमा हामीले हिमनदीबाट प्रतिवर्ष औसत २७३ अर्ब टन बरफ गुमाइरहेका छौँ।
अर्थ बजार
कर नबढेपछि बजेटअघि ह्वात्तै भित्रिएका ईभीको बजार के हुन्छ?
आगामी आर्थिक वर्षको बजेटमा कर बढ्ने आकलन गरी व्यवसायीले ईभीको आयात ह्वात्तै बढाए, तर कर यथावत रह्यो। अब उपभोक्तालाई साउनअघि नै गाडी किन्ने हतारो नहुँदा व्यापारी भने चाँडो बेच्ने दबाबमा हुनेछन्।
आँप सिजनअगावै बजारमा, खाँदा स्वास्थ्यलाई लाभ कि हानि?
आँप यसपालि चैतदेखि नै बजारमा छ्यापछ्याप्ती पाइन थालेको छ। सिजनभन्दा निकै अगाडि कसरी बजारमा आउँछन्, यी आँप मानव स्वास्थ्यका लागि कति सुरक्षित छन्?
खेल
नेपाली क्रिकेट टिम अहिले आईसीसी क्रिकेट विश्वकप लिग–२ खेलिरहेको छ। स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले चारमध्ये २ खेल जितेको छ। पहिलो खेलमा स्कटल्यान्डलाई १ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको थियो।
नेपाल १४ खेलबाट १० अंक ल्याउँदै तालिकाको सातौँ स्थानमा छ। शीर्ष चारमा पर्ने टोलीले आगामी ओडिआई विश्वकपको क्वालिफायरमा स्थान बनाउने छन्।
करण केसीः ओडीआईका ‘गेम चेन्जर’
सात वर्षअघि नेपाललाई ओडीआई मान्यतासम्म पुर्याउने क्यानडाविरुद्धको खेलकै झल्को दिने गरी स्कटल्यान्डविरुद्ध ब्याट र बलबाट सनसनीपूर्ण प्रदर्शन गरेका करणले १३ पटक तीन वा त्योभन्दा धेरै विकेट लिएका छन्।
भलिबल खेल्न रोल्पादेखि काठमाडौँ, राष्ट्रिय टोलीको ढोका ढक्ढक्याउँदै सलिना
सलिनाले काठमाडौँको नाम त सुनेकी थिइन्, तर देख्न पाएकी थिइनन्। काठमाडौँ कस्तो होला भन्ने सधैँ उनको दिमागमा घुमिरहन्थ्यो। अनि १४ वर्षकी सलिनाले भलिबल सिक्न काठमाडौँ जाने सपना बनाइन्।
जीवनशैली
बजारका ‘अर्गानिक’ खाद्यवस्तुः विश्वासमा छन् उपभोक्ता
काठमाडौँका पसलमा हुम्ला, जुम्ला, बझाङलगायत जिल्लाका अर्गानिक दाल, चामल, जौ, कोदो, फापर भन्दै बेचिन्छ। के बिक्रीका लागि राखिएका सबै खाद्य सामग्री अर्गानिक हुन्? उपभोक्ताले कसरी चिन्ने?
विश्व
न्युजिल्यान्डको संसदमा हाका नाच्ने ३ माओरी सांसद निलम्बित
माओरी पार्टीका यी सांसदहरूले गत नोभेम्बरमा आदिवासी अधिकार समाप्त गर्ने भनिएको विधेयकको विरोधमा संसदमै हाका प्रदर्शन गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
