यो वर्ष वैशाखदेखि बेलाबेला बिजुली जाने समस्या दोहोरिइरहेको छ। बत्ती जाँदा सामाजिक सञ्जालमा प्राधिकरण नेतृत्वविरुद्ध आक्रोश देखिन्छ। किन बत्ती गइरहेको छ? अघिल्ला वर्ष पनि यो मौसममा बत्ती जान्थ्यो?
काठमाडौँ– काठमाडौँसहित देशका धेरै ठाउँमा जेठ १ गते एकैपटक बिजुली निभ्यो। एक घण्टाभन्दा बढी समय बिजुली नआएपछि सामाजिक सञ्जालमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका विरुद्धमा पोस्टहरू आए। कतिपयले एमाले र प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरेर पनि सामाजिक सञ्जालमा लेखे।
त्यसको भोलिपल्ट पनि बत्ती आउनेजाने भइरह्यो। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उसैगरी आक्रोश पोखिरहे। धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताको आशंका चाहिँ सरकारले तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि लोडसेडिङ शुरू भएको भन्ने छ।
मन्त्रिपरिषद् बैठकले गत चैत ११ गते घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो। शाक्य यसअघि प्रधानमन्त्री केपी शर्मा ओली नै प्रधानमन्त्री हुँदा २०७७ कात्तिक २४ गते प्राधिकरणको निमित्त कार्यकारी निर्देशक नियुक्त भएका थिए। तर उनको कार्यकाल छोटो रह्यो। उनलाई हटाएर पुनः घिसिङ नै कार्यकारी निर्देशक भएका थिए।
यसपटक घिसिङलाई हटाएर शाक्यलाई नै प्राधिकरणको नेतृत्वमा ल्याएपछि अघोषित लोडसेडिङ गरिएको भन्दै सामाजिक सञ्जालमा मिमहरू पनि बनेका छन्। कतिपयले गत स्थानीय निर्वाचनमा एमालेको नारा ‘सात सूर्य सात छाप’लाई व्यंग्य गर्दै ‘सात सूर्य सात छाप, बत्ती गयो झ्याप् झ्याप्’ लेखेका छन्।
यो वर्ष वैशाखदेखि नै बेलाबेला बत्ती जाने समस्या दोहोरिइरहेको छ। प्राधिकरणले भने लोडसेडिङ नभएर प्राविधिक समस्याका कारण बत्ती गएको दाबी गरिरहेको छ। जेठ १ गते भारतबाट आउने बिजुलीको प्रणाली बिग्रिँदा बत्ती गएको प्राधिकरणले जनाएको छ। जेठ २ गते भने धनुषाको ढल्केबरमा हुरीले रूख ढाल्दा प्रसारण लाइनमा परेपछि बिजुली काटिएको जनाएको छ।
दुई दिन लगातार बत्ती गएपछि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जेठ ३ मा पत्रकार सम्मेलन नै गरेर यसबारे प्रष्टीकरण दिए। उनले लगातार दुई दिन आएको विद्युत् प्रणालीको समस्या प्राविधिक रहेको र लोडसेडिङको विषय नै नभएको दाबी गरे। कार्यकारी निर्देशक शाक्यले विगतमा पनि मौसमका कारण चैतदेखि जेठसम्म यस्ता समस्या आउने गरेको बताए।
तर लोडसेडिङविरुद्धको आन्दोलनको अगुवा रहेका राजाराम तण्डुकार यस वर्षजस्तो अघिल्ला वर्ष समस्या नभएको दाबी गर्छन्। “म विदेश गएको थिइनँ, यहीँ काठमाडौँमै छु। केही वर्षयता यस्तो भएकै थिएन। कुलमानको पालामा पनि ननिभेको होइन, तर कहिलेकाहीँ (बत्ती) जान्थ्यो,” उनले भने।
सात दिनमा कहिले एकातिर र कहिले अर्कातिर गरेर लोडसेडिङ गर्न थालेको देखिएको तण्डुकारको दाबी छ। काठमाडौँ र मधेशमा आलोपालो बत्ती गइरहेको उनी बताउँछन्। “मलाई त शंका छ, एकएक ठाउँमा गरेर हप्ताभर पालैपालो बत्ती निभाउन लागेका छन्,” उनी भन्छन्, “मैले भनेको छु, जेनरेटर, इन्भर्टर र ब्याट्री सकेसम्म किन्दै नकिन्नू।”
निवर्तमान कार्यकारी निर्देशक घिसिङलाई लोडसेडिङ अन्त्य गरेको जस दिइने गरिन्छ। २०७३ सालमा घिसिङ पहिलोपटक प्राधिकरणको नेतृत्वमा पुगेका थिए। त्यस वर्षको तिहारमा लक्ष्मीपूजाको दिन लोडसेडिङ नभएपछि कुलमानको चर्चा शुरू भएको थियो। त्यसपछि विभिन्न उद्योगमा लोडसेडिङ यथावत् भए पनि सर्वसाधारणका लागि लोडसेडिङ हटाउन थालिएको थियो।
त्यसपछि दोस्रो पटक प्राधिकरणको नेतृत्वमा पुगेका उनलाई सरकारले बर्खास्त गरेपछि प्रमुख प्रतिपक्षी दल माओवादीले संसद्मै विरोध जनाएको थियो। काठमाडौँ, पोखरालगायत ठाउँमा घिसिङको पक्षमा प्रदर्शन भयो। अहिले बेलाबेला बत्ती काटिँदा सामाजिक सञ्जालमा घिसिङलाई पदबाट हटाएको असन्तुष्टि पोखिने गरेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले पत्रकार सम्मेलनमा ‘प्राविधिक समस्याले विद्युत् आपूर्तिमा गडबडी हुँदा लोडसेडिङ भएको हल्ला नफिजाउन’ आग्रह गरे। प्राधिकरणले गएको वैशाख १४ गते पनि विज्ञप्ति निकालेर लोडसेडिङ नभएको जनाएको थियो।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको पक्षमा जेठ ४ मा लामो फेसबुक स्टेटस लेखेका छन्। उनले शाक्यको तारिफ गर्दै ‘काबिल’ र ‘इमानदार’ भनेका छन्। प्राधिकरणको नेतृत्व फेरिएपछि ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाइएको पनि उनले उल्लेख गरेका छन्।
“सजग रहनुहोला, बलेको बत्तीमुनि बसेर पोस्ट लेख्दै ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाइँदै छ। बिजुली कसरी आयो थाहा नपाई, बिजुली ल्याइदिने देवता खडा गर्ने समाज हो यो। देवत्वकरणको पर्दाभित्र कस्तो यथार्थ लुकेको छ भन्ने कुरा सामाजिक सञ्जालमा न्यारेटिभ निर्माणमा खटाइएका व्यवसायीलाई थाहा छ, तर उनीहरू समाजमा त्यस विपरीत गहिरो भ्रम छरिरहेका छन्,” रिमालले लेखेका छन्, समाजलाई कामको प्रतिफल दिने होइन, न्यारेटिभको अँध्यारो छायाँमुनि राखेर आफ्नो दुनो सोझ्याउने गिरोह सक्रिय छ।”

नेपाल उद्योग वाणिज्य महासंघ कार्यकारणी समितिका एक सदस्य विगतमा बेलाबेला बत्ती जाने भए पनि यो वर्षजस्तो नभएको बताउँछन्। यो वर्ष लोडसेडिङ सम्झाउने गरी बत्ती जाँदा प्राधिकरणका कार्यकारी निर्देशकले पत्रकार सम्मेलन नै गरेर स्पष्टीकरण दिनुपरेको र प्रधानमन्त्रीको सल्लाहकार बचाउमा उत्रिनु परेको उनको भनाइ छ।
ती सदस्यका अनुसार सरकारले शुरूमा उद्योगहरूको विद्युत् कटौती गरेर सर्वसाधारणलाई समस्यामुक्त गर्न खोजेको थियो। तर त्यसले मात्र नपुगेपछि बत्ती जानेआउने हुन थालेको हो। “अघिल्ला वर्षमा पनि अहिलेजस्तै विद्युतमा समस्या आउँथ्यो, यो वर्ष अलि धेरै भयो,” उनी भन्छन्, “सर्वसधारणको घरधुरीको बिजुली कटौती हुन थालेपछि धेरै चर्चा भयो।”
बिजुलीको अनियमित प्रसारणले सबभन्दा बढी मार उद्योगहरूमा परेको उनी बताउँछन्। निवर्तमान कार्यकारी निर्देशक घिसिङको पालामा उद्योगलाई मात्र पर्ने मार अहिले सर्वसाधारणतिर पनि सरेको उनले बताए। “यसको लागि मौसम पनि जिम्मेवार हो, तर मुख्य कारण विद्युत् आपूर्ति गर्न आवश्यक प्रसारण लाइनलगायत पूर्वाधार प्राधिकरणसँग छैन। भारतबाट बिजुली ल्याउन पनि पूर्वाधारकै समस्या देख्छु,” उनी भन्छन्।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम उद्योगहरूमा अहिले १० घण्टाको हाराहारीमा लोडसेडिङ भइरहेको बताउँछन्। बिजुली आउँदा पनि भोल्टेज नपुग्ने समस्या भएको उनको भनाइ छ।
बत्ती आउँदा पनि ट्रिपिङको (झ्यापझ्याप बत्ती जाने) समस्या दिनभरमा १५ पटकसम्म हुने गौतम बताउँछन्। “विद्युत् नपुगेरै होला, योपालि समस्या धेरै भयो,” उनी भन्छन्, “अगाडिका वर्ष पनि यो सिजन बिजुली जान्थ्यो, तर योपालि जस्तो थिएन।”
प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकार भने अहिले प्राविधिक समस्या मात्र भएको र लोडसेडिङ नभएको बताउँछन्। यो हुरी चल्ने समय भएको हुँदा कतिपय ठाउँको प्रसारण लाइनमा क्षति पुगेर बिजुली काटिने गरेको उनको भनाइ छ। “अहिले अधिकतम क्षमतामा बिजुली दिइरहेका छौँ, मागअनुसार हाम्रो प्रसारणलाइनको क्षमता बढाउन अलिक ढिला भयो, बनाउन त बनाइरहेका छौँ,” उनी भन्छन्।
तामाकोशीबाट काठमाडौँसम्म आउने ३३ केभीए र १२० केभीए लाइनमा चारपाँच वटा टावर बनाउन नसक्दा समस्या भएको प्रवक्ता शिल्पकारको भनाइ छ। भारतसँग जोडिने प्रसारण लाइनमा पनि समस्या भएको उनले बताए। “पूर्वाधारमा समस्या हुँदा पनि अहिलेको परिस्थिति आएको हो,” उनी भन्छन्, “यसरी बुझौँ न, गाडीचाहिँ हामीले ठूलो बनायौँ तर बाटो साँघुरो नै रह्यो।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
