ड्युटीका लागि रेड जोन जाँदा ३० जना थिए, फर्किंदा सुमनले गाडीमा १२ सैनिक मात्रै गने। त्यसमध्ये पनि एक नेपाली र कमान्डर मात्रै सद्दे थिए। कतिका हात, कतिका खुट्टा र आधा शरीर नै बमले उडाइदिएको थियो।
काठमाडौँ— कपिलवस्तुका सुमन मगर २०२३ जुलाई १५ तारिख युक्रेनी शहर बखमुतमा युद्ध लडिरहेका थिए। उक्त शहर रसियन सेनाले कब्जामा लिएको थियो। युद्ध क्षेत्रलाई रेड, एल्लो र ग्रिन जोनमा बाँडिएको थियो।
रेड जोनमा एकदमै खतरा हुन्थ्यो। बमको वर्षा भइरहन्थ्यो। एल्लो जोनमा पनि बम खसिरहन्थे, तर रेड जोनको भन्दा कम। सुमन त्यो दिन रेड जोनमा थिए।
रातिको समय। बम कहाँबाट खस्छ पत्तै हुँदैन थियो। ड्रोनको निगरानी निरन्तर हुन्थ्यो। ड्रोनले देख्नासाथ बम खसिहाल्थ्यो। त्यसैले एक अर्कासँग बोल्न पाइँदैन थियो। टर्च बाल्न पाइँदैन थियो। उनीहरू समूहमा पनि हिँड्दैन थिए।
छहारी, रूखका बुट्यानमा लुक्दै हिड्नु पर्थ्यो। नजिकै बम झर्दा सुमनको सातोपुत्लो उड्थ्यो। घरी त अब बाँचिदैन जस्तो लाग्थ्यो।
रातको १२ बजेको थियो। रसियन सेनामा भर्ती भएका अर्का नेपाली काभ्रेका प्रकाश तामाङ पनि सँगै थिए। सुमनको अघिअघि प्रकाश र पछिपछि उनीहरूका कमान्डर थिए। आकाशमा घुमिरहेको एउटा ड्रोनले सुमनभन्दा अगाडि हिँडेको समूहलाई देखिहाल्यो। त्यही बेला बम झर्यो। राति भएकाले बमले कसैलाई नभेटेको सुमनले अड्कल काटे।
बम झर्न रोकिएजस्तो लागेपछि उनीहरू फेरि अगाडि बढे। तर फेरि बम झर्यो। प्रकाश अगाडि बढिसकेका थिए, कमान्डर पछाडि नै थिए। सुमन एक्लै बीचमा परे। दोस्रो पटक खसेको बमले उनलाई लाग्यो। भुईंमा ढले। एकछिन केही थाहा पाएनन्। अगाडि पछाडिका साथीलाई बोलाउन पनि सकेनन्।
केही बेरपछि होसमा आउँदा आफू जिउँदै रहेको विश्वास आफैलाई नभएको सुमन बताउँछन्। उनलाई आफ्नो बायाँ हात नचलेजस्तो लाग्यो। दायाँ हातले पाखुरा छामे ठीकै थियो।
तर नाडीमुनिको भाग चलेको थिएन। बमले भेटेछ। सहिनसक्नु दुखाइ भयो। तर चिच्याउन मिल्दैन थियो, नत्र अर्को बमको निशानामा पर्नुपर्थ्यो। निकै बेर पीडा सहेर ढलिरहे।
गत बैशाख २० गते बानेश्वरको चिया पसलमा सुमनले त्यस दिनको घटना सुनाउँदा गर्दा केही बेर रोकिए, अनि सुस्तरी बोले, “त्यस दिन म मरेँ भन्ने लागेको थियो, तर बाँचेर फर्किएँ।”
सुमन सधैँका लगि नेपाल फर्किएका थिएनन्। तीन महिनाको बसाइपछि उनी फेरि रसिया फर्किसकेका छन्।
पढ्न पुगेका थिए रसिया
कपिलवस्तुको बाणगंगा नगरपालिका—२ का ३० वर्षीय सुमन रसिया जानुअघि त्यहीँ कृषि फार्म चलाउँथे। कम्प्युटर एप्लिकेसनमा स्नातक गरेका उनी कृषि कर्मसँगै नजिकैको स्कुलमा पनि पढाउँथे।
परिवारमा बुबाआमा, श्रीमती र छोरा गरी पाँच जना थिए। फार्ममा विभिन्न प्रजातिका कुखुरा, बट्टाइ पालेका थिए। फार्मको काम बाबुछोरा मिलेर गर्थे। धेरै कमाइ नभए पनि घरखर्च सहजै धानिन्थ्यो।
तर उनलाई त्यतिमा सीमित हुन मन भएन। “यहाँ आज कमाएको पैसा आजै सकिन्थ्यो,” उनी भन्छन्, “मलाई भविष्यको चिन्ताले सधैँ सताउँथ्यो। ठूलो केही रोग लागे उपचार कसरी गर्ने चिन्ता हुन्थ्यो। छोरो ठूलो भएपछि पढाउने खर्चको चिन्ता हुन्थ्यो। नेपालमा यो सबै जोहो गर्न सम्भव थिएन।”
उनकी साली विदेश जान खोजिरहेकी थिइन्। रसिया जाने प्रक्रिया बुझिदिन सुमनलाई नै भनिन्। उनले सबैकुरा बुझिदिए, तर साली नजाने भइन्। कन्सलटेन्सी धाउँदा धाउँदै उनी आफैलाई विदेश जाउँ लाग्यो। “यहाँभन्दा दुईचार पैसा धेरै कमाउन सकिन्छ जस्तो लागेपछि जाने रहर गरेँ,” उनी भन्छन्।
उनले विद्यार्थी भिसामा गएर स्नाकोत्तर पढ्ने योजना बनाए। रसिया जान भाषा सिक्नुपर्ने वा अंग्रेजी भाषा जाँच (आईएलटीएस, टोफल आदि) दिनुपर्ने झन्झट थिएन। एउटा कन्सल्टेन्सीमार्फत उनी २०७९ असार पहिलो साता रसियातर्फ उडे।
नेपालबाट एक्लै गएका उनले मस्कोमा १२ जना नेपाली भेट्टाए। शुरूमा कन्सल्टेन्सीले सबै व्यवस्थापन गरिदिएको थियो। भाषाका लागि कलेज पढ्न जान्थे। बस्न होस्टल थियो। केही समयपछि मात्रै उनको नियमित कक्षा शुरू भयो। एक महिना बित्न थालेपछि उनलाई छटपटी शुरू भयो। किनकि, कलेज र होस्टल शुल्क तिर्नु थियो। रसिया जाँदा पनि ८ लाख रुपैयाँ ऋण लागेको थियो।
उनी काम खोज्न थाले। भाषामा अभ्यस्त नभइसकेको कारण काम पाउन कठिन भयो। धेरैपछि उनले एउटा ‘वेर हाउस’मा काम पाए। त्यो पनि एउटा एजेन्टलाई पैसा दिएर।
वेर हाउसमा सामानहरू प्याकेजिङ गर्नुपर्थ्यो। केही हप्ता काम गरेपछि पनि उनले तलब पाएनन्। कुरा गर्न जाँदा भाषा बुझिँदैन थियो, साहु भेटिँदैन थियो। काम लगाइदिने एजेन्टलाई सम्पर्क गर्न खोजे, ऊ बेपत्ता थियो।
पैसा देला भन्ने आशाले काम भने छाडेनन्। एक महिनापछि पैसा त दियो, तर भनेको भन्दा आधा मात्रै पाए। सुमनले पछि थाहा पाए— काम लगाइदिने एजेन्टले आधा पैसा खाइदिएछ। “काम लगाइदिने एजेन्टहरू रसियन, नेपाली र भारतीय हुन्थे। सबैले नयाँलाई ठग्थे। म पनि धेरै पटक ठगिएँ,” उनी भन्छन्।
त्यसपछि उनी ‘इन्डियन किचेन’मा काम गर्न गए। त्यहाँ पनि साहुसँग सिधै सम्पर्क थिएन। फेरि भनेअनुसारको ज्याला पाएनन्। त्यो काम पनि छाडे। “धेरै कम्पनीमा काम गरियो, तर सबै श्रमदान मात्रै भयो। न मजाले काम गर्न पाइयो, न पारिश्रमिक भनेजस्तो,” उनले भने।
बन्दुक चलाउन सिकाएर ‘फ्रन्टलाइन’मा
खान, बस्न, होस्टेल फि बुझाउनै गाह्रो भएपछि सुमनको तनाव बढ्दै गइरहेको थियो। त्यही बेला सडकका भित्तामा रसियन आर्मीका लागि विज्ञापन खुलेको देखे। “साला! जति दुःख भए पनि एक पटक आर्मीमा जान पाए त आनन्द होला भन्ने लागेको थियो। भित्र गएपछि खान, बस्न, होस्टल फिको तनाव हुँदैन, पैसा पनि टन्न कमाइन्छ भन्ने थियो,” उनी भन्छन्।
भर्ती हुने प्रक्रियाबारे बुझ्दै जाँदा एक जना नेपाली नै भेटिए। उनले सुमनलाई शुरूमा त सकेसम्म सेनामा नजान सुझाव दिए। सुमनले जिद्दी छाडेनन्। त्यसपछि उनैको सहयोगमा भर्ती भए। तर भर्ती भएको कुरा घरमा सुनाएनन्।
भर्ती भएको केही समयपछि मात्रै उनले घरमा भन्ने आँट गरे। तर खुरुक्क देश फर्किन भन्दै बुबा रिसाए। “बरु फर्किन टिकटको पैसा यतैबाट पठाइदिन्छौँ भन्नुभएको थियो। पढ्न गएको भनेर ढाँटिस् भन्दै मसँग बुबा रिसाउनुभयो। मैले युद्धमा जानु पर्दैन भनेर फेरि ढाटेँ,” उनी भन्छन्।
स्वास्थ्य परीक्षणमा सफल भएपछि उनी प्रारम्भिक छनोटमा परे। भर्ती भएका सबैलाई आर्मी स्कुलमा राखिएको थियो। त्यहाँ करिब ३० जना नेपाली थिए। त्यहाँ सबैलाई आधारभूत शारीरिक तालिम दिए पनि बन्दुक चलाउन सिकाइएन।
आधारभूत तालिमपछि सबैको करार सम्झौैता गरियो। शुरूको सम्झौता एक वर्षको थियो। त्यहाँबाट सबैलाई विभिन्न शहरमा पुर्याइयो। सुमनलाई रसियाले कब्जा गरेको युक्रेनको जंगलमा लगियो। लुहान्स्क भन्ने ठाउँमा हप्ता दिन जति बन्दुक पड्काउने लगायत तालिम दिइयो। त्यसपछि युद्ध लड्नुपर्ने भयो।
सुमनलाई २०२३ जुन पहिलो हप्ता युक्रेनको बक्मुद शहर लग्यो। त्यहाँ पुग्दा बल्ल थाहा पाए, उनीहरूलाई युद्धक्षेत्रको अग्रिम मोर्चामा लगिएको रहेछ। “फ्रन्टलाइनमा पुगेपछि थाहा भयो, त्यहाँबाट मान्छे फर्किने नफर्किने टुंगो नहुने रहेछ,” उनी भन्छन्।
बक्मुद शहरमा ठूल्ठूला बिल्डिङ थिए, तर धेरै ध्वस्त भइसकेका। शहर वरपर जंगल थियो। त्यो क्षेत्र युद्धको रेड जोन थियो, जहाँ आर्मी राति मात्रै हिँड्थे। दिउँसो लुक्नका लागि जमिनमा खाल्डो बनाइएका थिए। बाहिर हिँड्नुपर्दा कमान्डरलाई सोध्नुपर्थ्यो। उनी धेरै पटक रेड जोनमा बमबाट बालबाल बँचेका थिए।
अनि काटियो देब्रे हात
त्यो दिन तेस्रो पटक उनी रेड जोनमा गएका थिए, उनलाई बमले लागिहाल्यो। धेरै बोल्दा फेरि बम आक्रमण हुन्थ्यो। साथीलाई नबोलाउँदा त्यहीँ ज्यान जान्थ्यो। केही बेरपछि उनले हिम्मत जुटाएर अगाडि पुगिसकेका साथी प्रकाशलाई गुहारे। तर प्रकाश तत्कालै फर्किएर आउन सकेनन्। मधुरो स्वरमा भने, “पर्खिनु दाइ, बम झर्न छाडोस्। नआत्तिनू।”
केही बेरपछि बम झर्न रोकियो। ड्रोनको निगरानी हट्यो। त्यसपछि प्रकाश र कमान्डर दौडिएर सुमन भए ठाउँमा पुगे। प्रकाशले सुमनलाई देख्दा उनको देब्रे नाडीमुनि छाला मात्रै थियो।
बानेश्वरमा सुमनसँगै भेटिएका प्रकाशले भने, “त्यस दिन दाइलाई बमले लागेको थाहा पाएपछि आत्तिएको थिएँ। बम रोकिएपछि पुग्दा धन्न थोरै मात्रै भेटेको रहेछ, अनि ढुक्क भएँ।”
उनले सुमनलाई बोकेर अलि परसम्म लगे। कमान्डर र प्रकाश मिलेर सुमनको पाखुराको माथिल्लो भागमा डोरीले कसिदिए। त्यसपछि सहायता दिँदै उनलाई लिएर अगाडि बढे। रूखका बुट्यान र छहारीमा ड्रोेनको निगरानी छल्दै हिँड्दा पनि सुमनको डर हटेको थिएन। केहीबेर पछि जंगलमा पुगे।
जंगलको छेउमा गाडी हुन्थ्यो। त्यही गाडी चढेर एल्लो जोनतिर लागे। उनीहरू ड्युटीका लागि रेड जोन जाँदा ३० जना थिए, फर्किंदा सुमनले गाडीमा १२ जना मात्रै गने। त्यसमध्ये पनि प्रकाश र कमान्डर मात्रै सद्दे थिए। कतिका हात, कतिका खुट्टा र कतिका आधा शरीर नै बमले उडाइदिएको थियो।
एल्लो जोनमा गाडीबाट उत्रिँदा सुमनको हात लत्रिएको थियो। हातको नाडीमुनि छाला र हड्डी मात्रै देखिन्थ्यो। “त्यसपछि मलाई कमान्डरले ठूलो हस्पिटल पठाइदिए,” उनले भने।
अस्पतालमा डाक्टरले सोधे, “तपाईंको चलाउने हात कुन हो?”
उनको मनमा चिसो पस्यो। हातले काम गर्दैन कि भन्ने लाग्यो। उनले उत्तर दिए— “दायाँ।”
डाक्टरले बायाँ हात नाडीमुनि काट्नुपर्ने बताए। “रड हालेर बचाउन त सकिन्छ, तर पछि क्यान्सर भयो भने माथिबाटै फ्याँक्नुपर्ने हुन्छ। बरु अहिले यत्ति काटौँ,” डाक्टरले भने।
उनलाई अपरेसन थिएटरमा लगियो। बाहिर निकाल्दा बायाँ हातको तल्लो भाग थिएन। त्यस बेला उनको दुःख सुनाउन कोही थिएन। प्रकाश फेरि रेड जोनमा फर्किसकेका थिए। घरमा भन्ने हिम्मत थिएन।
अपरेसनपछि उनलाई मस्कोमै ल्याइयो। त्यहाँ पनि रेखदेखका लागि अस्पतालमै राखिएको थियो। मस्कोमा आएको एक हप्तापछि घरमा श्रीमतीलाई घटनाबारे सुनाए। बुवाआमालाई भने सुनाउन सकेनन्। “अस्पतालमा भएको बेला म ग्रिन जोनमा छु भनेर ढाँट्ने गर्थें,” उनले भने, “घरमा सुनाउँदा उहाँहरूले अझै चिन्ता लिनुहुन्छ भन्ने लागेर सुनाउन सकिनँ।”
युद्धमा हात गुमेपछि सबै सेवा सुविधा दिने प्रतिबद्धता रसियाको सैन्य नेतृत्वले उनीसँग गरेको थियो। सम्झौता सकिए पनि अस्पताल रहुन्जेल उनले सेनाको सेवासुविधा पाइरहे। उनलाई गुमेको हातको क्षतिपूर्तिस्वरूप केही रकम पनि दियो।
अब उनी सेनाका लागि फिट छैनन्। उनको खर्च सेनाले बेहोर्दैन। तर रसियन सरकारले स्थायी बसोबास अनुमति (पीआर) दिएको छ। उनलाई त्यहीँको नागरिकसरह पेन्सन सुविधा पनि दिने भएको छ।
करिब ६ महिनाको अस्पताल बसाइपछि सुमन आर्मी हेडक्वाटरबाट बाहिर निस्केर साथीसँग बसे। गत माघमा नेपाल आए। एयरपोर्टमा उनलाई लिन श्रीमती र बहिनी गएका थिए। देख्नेबित्तिकै उनका आँखा रसाए। घर पुगेर बुबाआमा र छोरा सबैसँग अंगालो मारे। साथीभाइ भेटेर न्यानो माया साटासाट गरे। युद्धबाट फर्किएर यसरी सबैसँग भेट होला भन्ने उनलाई लागेको थिएन।
घर पुगेपछि उनी कृषि फार्म र खेती हेर्न पुगे। अहिले पनि कृषकका समस्या ज्युँका त्युँ थिए। साथीभाइको दैनिकी पनि उस्तै। हात गुमाएर फर्किएका उनले आम्दानीका लागि गर्नुपर्ने संघर्ष झनै ठूलो थियो।
त्यसपछि सुमनले घरमा आफू फेरि रसिया फर्किने बताए। “तर परिवारमा सबैले गाली गरे। जानुपर्दैन सबै सेवासुविधा छाडिदे भने। उहाँहरूले युद्धमा जानुपर्ने ठान्नुभएछ,” उनी भन्छन्, “मैले पाउने सेवासुविधा लिन बाँकी छ भनेपछि बल्ल जानदिने भए। तर वारमा नजान कसम खुवाएका छन्,” उनले सुनाए।
उनलाई पनि शुरूमा रसिया बसिन्छ भन्ने थिएन। केही पैसा कमाएर फर्किने सोच थियो। तर युद्धमा उनको हात गुमेपछि मन पनि बदलियो। “जुन देशका लागि मैले आफ्नो एउटा अंग गुमाएँ, त्यहाँको सेवासुविधा उपभोग गर्नुपर्छ भन्ने लाग्यो,” सुमनले बानेश्वरको चिया अड्डामा बसेर सुनाए।
बानेश्वरमा उकालोकर्मीसँग भेट गरेको भोलिपल्टै उनी रसिया उडे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
