पहुँचयुक्त प्रविधिको आगमनसँगै दृष्टिविहीन व्यक्तिहरू पनि स्क्रिन रिडरयुक्त मोबाइल र कम्प्युटराइज प्रणालीमा निर्भर हुन थालेका छन्, जसका कारण ब्रेल सिक्ने र प्रयोग गर्नेको संख्या घट्दै गएको छ।
नमस्ते, म स्लेट।
आज म यहाँलाई मेरो जीवनको रोचक कथा सुनाउन आएकी। म एक सरल यन्त्र हुँ। मलाई स्लेट भनिन्छ। मेरी एक बहिनी पनि छे। उसको नाम स्टाइलस हो। हामी जुम्ल्याहा हौँ। हाम्रो जन्म १८२४ जनवरी ४ मा फ्रान्समा भएको थियो। हाम्रा बा लुई ब्रेल हुनुहुन्छ। उहाँको जन्म १८०९ जनवरी ४ मा भएको थियो। उहाँ त १८५२ डिसेम्बर ६ मा नै बिती जानुभयो, तर उहाँले आविष्कार गरेका हामी दुई सञ्जीवनी आज पर्यन्त बाँचिरहेका छौँ। बचाइरहेका छौँ सारा आँखा नदेख्ने व्यक्तिहरूको सपनालाई।
बाले १५ वर्षको उमेरमा नै घरमा एउटा अनौठो प्रविधि भित्र्याउनुभयो, ब्रेल लिपी। जसका निम्ति उहाँले हाम्रो महत्त्व महसुस गर्नुभयो र जन्म दिनुभयो मलाई र बहिनीलाई। हजुरबुवाको जुत्ता कारखानामा सियो खेल्दै गर्दा सोही सियो उछिट्टिएर हाम्रा बाको आँखामा लागेको थियो अरे। त्यसपछि हाम्रा बा तीन वर्षकै उमेरमा दृष्टि गुमाउनुभयो। आफूले आँखा नदेखेपछि लेखपढ गर्न निकै समस्याको सामना गर्नुपरेकै कारण बाले दिनरात खटेर ब्रेल लिपिको आविष्कार गर्नुभएको थियो र त्यस आविष्कारलाई थप सार्थक तुल्याउन म र बहिनीको जन्म भयो।
सर्वप्रथम म तपाईंलाई ब्रेल लिपिको साधारण परिचय दिन्छु। ब्रेल लिपि एक अंकमा आधारित लिपि हो, जसमा ६ बिन्दुको भिन्नाभिन्नै संयोजनमार्फत विभिन्न अक्षर, संख्या र चिह्न लेखपढ गर्न सकिन्छ। यसमा तीन दायाँ र तीन बायाँ गरी ६ वटा मात्रै थोप्ला हुन्छन्। अर्थात् वर्ण/अक्षर निर्माणका लागि एक समूहमा बढीमा ६ वटा मात्रै थोप्लाको आवश्यकता पर्छ। ब्रेल लिपिको आविष्कारले दृष्टिसम्बन्धी अपांगता भएका व्यक्तिको अध्ययन कार्यलाई थप स्वतन्त्र, फराकिलो र दिगो बनाएको छ भने ऊनीहरूको शैक्षिक र सामाजिक जीवनमा महत्त्वपूर्ण सुधार ल्याएको छ।
हुन त हामीलाई सन् १९९२ मा इलोनोइ विद्यालयका सुपरिटेन्डेन्ट फ्रान्क हलले जन्म दिएको पनि भनिन्छ। हो, हामी मान्छौँ कि हाम्रो स्वरूपलाई परिष्कृत गरी हलले सहज र सरल स्लेट र स्टाइलस मात्र नभई एक किसिमको ब्रेल टाइप राइटरसमेत बनाएका हुन्, तर हामी लुइ ब्रेललाई नै हाम्रा पिता मान्दछौँ। किनभने, सैनिकले गोप्य रूपमा सञ्चार गर्न सक्ने गरी विकास गरिएको १२ थोप्ले प्रविधि (कुट लिपि) लाई परिष्कृत गरी दिगो, सहज र सरल लिपिको विकास गर्नु चानचुने काम थिएन।
म स्लेट ब्रेल लिपिमा लेख्नका निम्ति दुई पाताबाट बनाइएकी ६ थोप्ले यन्त्र हुँ। स्लेटमा लेख्दा दायाँबाट बायाँ लेख्दै जानुपर्छ भने पढ्दाचाहिँ बायाँदेखि दायाँ नै पढ्न सकिन्छ। किनभने कुनै पनि स्लेटमा बाक्लो कागज राखेर जब तपाईं कलमरूपी मेरी बहिनी स्टाइलसलाई दायाँदेखि बायाँ बान्की मिलाएर सही तरिकाले खोप्दै जानुहुन्छ, कागजको अर्कोपट्टि कोदाका दानाजस्ता थोप्ला पर्छन्। अनि लेखिन्छ आवश्यकताअनुरूप नेपालीका १ अ र १, ३ क, अङ्ग्रेजीका १ ए र १, २ बी अनि गणितका अंक र चिह्नसमेत। ब्रेलमा स्लेटका ६ थोप्लाहरूलाई दायाँतर्फ १, २, ३ र बायाँतर्फ ४, ५, ६ ले नामकरण गरिएको छ।
लहरका हिसाबले म विभिन्न स्वरूपमा उपलब्ध छु। ४, ९, २७ आदि। चार लाइनको स्लेटको एक लाइनमा ३७ वटा कोठा (सेल)हरू हुन्छन् भने ९ र २७ लाइनका स्लेटमा ३० वटा सेल हुन्छन्। सेल भनेको माथि उल्लेख गरिएजस्तो दायाँतर्फ १, २, ३ र बायाँतर्फ ४, ५, ६ थोप्ला भएको पूर्वनिर्धारित कोठा हो, जहाँ एक वर्ण लेख्न सकिन्छ।
ओहो आफ्नै मात्र बखान गाएँ क्यार! मेरी बहिनीको टाउको हातले समाउन सहज हुने गरी विभिन्न आकारमा डिजाइन गरिएको हुन्छ भने पुच्छर जहिले पनि मसिनो र तिखो हुन्छ। स्टाइलसलाई पनि ठिक तरिकाले समाएर स्लेटमा सही नम्बर खोपियो भने मात्र ब्रेल अक्षर बन्छन्। नत्र त तपाईंले छापा अक्षरमा केरमेट गरेझैँ हुन्छ। स्टाइलस समाउँदा जहिले पनि सहजता अनुसारको हात (दायाँ वा बायाँ) को चोर औँलाले यसको टाउकोमा कुप्री पारेर राख्नुपर्छ। बूढी औँलालाई स्टाइलसको पेट (पुच्छरभन्दा माथिको भाग) मा बेरेर राख्नुपर्छ भने बाँकी तीन औँलाहरूले अर्को पट्टिबाट आड दिनुपर्छ। ब्रेल लेख्दा जहिले पनि एउटा हातले स्टाइलस समाउनुपर्छ भने अर्को हातको चोरी औँलाले स्लेटको प्रत्येक प्वालमा छामेर सहायता दिँदै जानुपर्छ।
हामीलाई बचाउन बाले निकै सङ्घर्ष गर्नुभएको थियो। त्यस बखत बालाई समर्थन गर्ने भन्दा खुट्टा तान्नेहरू धेरै थिए। एक पटक बा बिरामी भएर आराम गर्न घर जाँदा त हामीलाई बिदाइ नै गरिसकेका थिए विद्यालय सञ्चालकले। तर बा फर्केपछि हाम्रो अस्तित्वका लागि अन्तिम साससम्म पनि लडि नै रहनुभयो।
यो पनि: म पढ्छु, मै लेख्छु
आँखा नदेख्ने व्यक्तिहरूलाई विद्यालय शिक्षा आरम्भ हुँदाका बखतदेखि ब्रेल नसिकी धरै छैन। ब्रेल सिक्नका निम्ति सबैभन्दा पुरानो, सहज र मितव्ययी प्रविधि हौँ हामी। आज हाम्रो प्रयोग गरी ब्रेल सिकेर संसारका थुप्रै आँखा नदेख्ने मानिसहरू आफ्नो खुट्टामा उभिन सक्षम छन्। कखरादेखि विद्यावारिधिसम्मको शिक्षा हासिल गरी आफ्नो मात्र नभई परिवार, समाज, देश र हाम्रो नाम समेत संसारमा चिनाएका छन्। धन्य हुन् हाम्रा बाआमा। तर पछिल्ला दिनमा म र मेरी बहिनी अलि निराश छौँ। धेरैजसो आँखा नदेख्ने मानिसले हामीलाई छाडेर नयाँ प्रविधिमा घुलमिल भएका छन्।
एउटा कुरा सत्य हो। ब्रेलमा धेरै कुराहरू लेख्नका निम्ति तपाईं म र मेरी बहिनीको प्रयोग गर्नुहुन्छ भने फतक्क हात गल्छ। र, त हामीले हेर्दाहेर्दै ब्रेल टाइप राइटर भित्रियो। अझ प्रविधिले फड्को मार्यो र आज कम्प्युटरमा नै ब्रेल इम्बोसर जडान गरी छिनभरमै ठेलीका ठेली ब्रेल पुस्तक छाप्न सकिन्छ। यसमा हामीलाई किञ्चित दुःख छैन। किनभने हाम्रा बाको महान् कार्यका निम्ति हामी प्रधान होइनौँ। जबसम्म ब्रेल लिपिको विकास र विस्तार भइरहने छ, तबसम्म हाम्रो अस्तित्व लोप हुने छैन भन्ने कुरामा हामी विश्वस्त छौँ।
आजभोलि मानिसहरूले हामीलाई बिर्सन थालेका छन् भन्ने सुन्दा र अनुभूत गर्दा निकै दुख लाग्छ। विभिन्न पहुँचयुक्त प्रविधिमा अभ्यस्त भइरहँदा उनीहरू हामीलाई बिर्सिइरहेका छन्। १ अ जान्दैनन् अनि १-३ क भन्दैनन्। मानिस गतिशील प्राणी हो। समय र परिस्थितिअनुसार परिवर्तन हुनु प्रकृतिको नियम हो, तर आफ्नो धरातल नै बिर्सिएर आकाशमा उड्नु त ठिक भएन!
यद्यपि, खुशी लाग्ने ठाउँचाहिँ के हो भने, कतिपय यस्ता आँखा नदेख्ने साथीहरू छन्, जसले हामीलाई आज पनि उत्तिकै स्नेह गर्छन् जति कखरा सिक्दा गर्थे। समयअनुसार चल्नै पर्ने हुँदा हामीलाई स्पर्श गर्न पाउँदैनन्, ब्रेल लिपिमा छापिएको किताब पढ्न पाउँदैनन्, किनकि प्रविधिमा अभ्यस्त हुनुबाहेक उनीहरूसँग अर्को उपाय छैन। तर म स्वयं पनि दंग पर्छु कि आजभोलि लिफ्टका बटन, सरकारी कार्यालयका सार्वजनिक बडापत्र र अन्य महत्त्वपूर्ण जानकारी पनि ब्रेलमा लेखिएका भेटिन्छन्, जसबाट पहुँचयुक्त र समावेशी समाज निर्माणका निम्ति ब्रेलको महत्त्व कति रहेछ भन्ने कुरा प्रस्ट हुन्छ। अनि, कम्प्युटराइज प्रविधिमा समेत रिफ्रेसेबल ब्रेल डिस्प्लेयरजस्तो अत्याधुनिक प्रविधि भित्रिइरहँदा ऊ जमानामा पनि हाम्रा बाले देखेको दूरदर्शी सपना र त्यसलाई साकार पार्न गरेको अहोरात्रको मेहेनेतलाई सलाम गर्न मन लाग्छ।
ब्रेल लिपिका आफ्नै अवसर र चुनौती छन्। ब्रेल लिपि दृष्टिविहीन व्यक्तिका लागि साक्षरताको मूल आधार हो। यसले उनीहरूको शैक्षिक भविष्यलाई सुनिश्चित मात्र गरेको छैन, स्वावलम्बी र सम्मानजनक जीवनयापन गर्नका निम्ति पनि कोसेढुंगा साबित भएको छ। यी अवसरका बाबजुद ब्रेल लिपि चुनौतीरहित पक्कै छैन। ब्रेल लिपि केही खर्चिलो प्रणाली हो। धेरै ठाउँमा अझै पनि ब्रेल सामग्रीको अभाव छ।
पहुँचयुक्त प्रविधिको आगमनसँगै दृष्टिविहीन व्यक्ति पनि स्क्रिन रिडरयुक्त मोबाइल र कम्प्युटराइज प्रणालीमा निर्भर हुन थालेका छन्, जसका कारण ब्रेल सिक्ने र प्रयोग गर्नेको संख्या घट्दै गएको छ। त्यस्तै, ब्रेल किताब ठूला र भारी हुने भएकाले यसको भण्डारण र स्थानान्तरण पनि झन्झटिलो र खर्चिलो हुन्छ। त्यसै गरी, तालिम प्राप्त शिक्षकको अभावका कारणले पनि यो लिपिको विस्तारमा चुनौती रहेको छ।
ब्रेल लिपिले आँखा नदेख्ने बालबालिकालाई वर्ण, अक्षर र शब्दको आधारभूत ज्ञान दिन्छ। नेपालमा बझाङतिरका शिक्षक जंगबहादुर बोगटीले ब्रेल लिपि भित्राएका हुन्। अहिले त नेपालको संविधानमा नै पनि आँखा नदेख्ने व्यक्तिहरूले ब्रेल लिपिमा पढ्न पाउने ग्यारेन्टी छ। तर यसको विकास र विस्तारका निम्ति हरेकले पहल गर्नुपर्ने जरुरी छ।
तपाईंले ब्रेल जोगाउनुभयो भने भावी सन्ततिले पनि यसको संरक्षण र संवर्द्धन गर्न सिक्छन्। सबै कुरा सुनेकै भरमा पढ्दा शुद्धाशुद्धि र समग्र हिज्जे थाहा पाउन, केही कुरा सस्वर वाचन गर्न अनि पढ्ने बानीको विकास गर्न पनि यसले अहं भूमिका खेल्छ। यही नै हाम्रा बा लुइ ब्रेलप्रतिको सच्चा कदर हुने छ। लौ त, यतिन्जेल मलाई पढिदिनुभयो। हृदयदेखि धन्यवाद। मनन पनि गर्नुहुने छ भन्ने अपेक्षा गर्दै आजलाई मैजारो गर्छु।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
रोजिना पोख्रेल
