वारि रवीन्द्र मिश्र, पारि कपिल मिश्र

चप्पल र मन्डी ओढेर आएका भारतीय राजदूतलाई भेटेकोमा गिरिजाप्रसादप्रति उग्र असन्तुष्ट रवीन्द्र यतिबेला योगी आदित्यनाथको भरमा 'राजा बन्छु' भनेर हिँडेका ज्ञानेन्द्रको पछि लागेका छन्। 

काठमाडौँका रवीन्द्र मिश्र र दिल्लीका कपिल मिश्रको थर मात्रै मिल्ने हैन, धेरैथोक मिल्छ। दुईचोटि दिल्ली विधानसभा चुनाव जितेका अनि अहिले दोस्रोचोटि दिल्ली सरकारको मन्त्री बनेका कपिलको राजनीतिक यात्रा ‘जिगज्याग’ छ। प्रतिस्पर्धा गरेका दुवै चुनाव हारेका रवीन्द्रको पनि राजनीतिक यात्रा उस्तैगरी जिगज्याग छ।

‘युथ फर जस्टिस’ नामको संस्था बनाई अभियन्ताका रूपमा करिअर शुरू गरेका कपिल दिल्लीमा विविध सामाजिक–आर्थिक मुद्दा उठाई सडक प्रदर्शन गर्थे। जेसिका लाल हत्या, किसानको आत्महत्या, यमुना अतिक्रमण आदिमा उनले सडक प्रदर्शनको अगुवाइ गरेका थिए। मनमोहन सिंह नेतृत्वमा कांग्रेससमेतको सरकारको दोस्रो कार्यकाल (यूपीए–२)मा चर्चामा रहेका भ्रष्टाचारहरूको विरोधमा उनी सक्रिय रहे। 

अन्ना हजारे नेतृत्वको भ्रष्टाचारविरोधी आन्दोलन ‘इन्डिया अगेन्स्ट करप्सन’को सहउत्पादनका रूपमा अरविन्द केजरीवाल नेतृत्वमा आम आदमी पार्टी (आप) जन्मिएपछि उनी अभियन्ताबाट नेतामा रूपान्तरित भए। सन् २०१३ मा आप गठन भएपछि पार्टी प्रवेश गर्नेहरूको पहिलो खेपमै उनी थिए।

पत्रकारितामा सक्रिय रहँदै ‘हेल्प नेपाल’ गठन गरी परोपकारी काममा सक्रिय रवीन्द्रले भ्रष्टाचारविरोधी अभियन्ताको चोला पनि धारण गरे। ‘खान पुगोस्, दिन पुगोस्’को ट्याग लाइनमा परोपकारी काम गरेका उनले भ्रष्टाचारविरोधी अभियन्ताको काम गर्दा ‘भ्रष्टाचारीलाई कीरा परोस्’ नारा लगाएका थिए। शरीरभित्र सलबलाइरहेको राजनीतिको कीराले दुवै मिश्रलाई अभियन्ताको चोला धारण गराएको थियो। राजनीतिमा सजिलो हुन्छ भनेरै दुवैले पहिले अभियन्ताका रूपमा पहिचान बनाउन खोजेको देखिन्छ।

कपिलले दिल्ली विधानसभाको करावलनगर सिट सन् २०१५ मा चारचोटिका विधायक मोहनसिंह विष्टलाई ठूलो मतान्तरले पराजित गरी जितेका थिए। केजरीवाल मन्त्रिपरिषद्‍मा जलस्रोतमन्त्री रहेका मिश्रलाई मन्त्रिपरिषद्कै सदस्य सत्येन्द्र जैनलाई भ्रष्टाचारको आरोप लगाएपछि पदमुक्त गरिएको थियो। मिश्रले केजरीवाल र जैनले दुई करोड घूस लिएको उजुरी ‘एन्टी करप्सन ब्युरो’मा गरे पनि प्रमाण जुटाउन सकेनन्।

दिल्लीमा आपको शानदार जितले हौसिएका रवीन्द्रले साझा पार्टी गठन गरी २०७४ सालको स्थानीय चुनावमा काठमाडौँ महानगरसहित केही शहरी पालिकामा प्रमुख–उपप्रमुखमा प्रतिस्पर्धा गर्दा सम्मानजनक मत मात्रै हासिल भयो, चुनाव जित्न सकेनन्। सम्मानजनक मतले उत्साही रवीन्द्रले साझालाई विवेकशील नेपाली दलसँग एकीकरण गरेर विवेकशील साझा पार्टी बनाई त्यही वर्ष भएको आमचुनावमा उतारे। तर स्थानीय चुनावको उपलब्धिधरि दोहोर्‍याउन सकेनन्। काठमाडौँ–१ को चुनावमा चाहिँ रवीन्द्र ८१८ को झिनो मतान्तरले कांग्रेसका ‘हेभीवेट’ प्रकाशमान सिंहसँग पराजित भएका थिए।

आपको विधायक रहँदै कपिल सन् २०१९ को लोकसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा)को प्रचारमा सक्रिय रहे। विधानसभाबाट अयोग्य घोषित गरिएपछि औपचारिक रूपमै भाजपा प्रवेश गरे। सन् २०२० को दिल्ली विधानसभा चुनावमा भाजपा उम्मेदवार रहेका उनी अब भाजपाको पनि उग्र हिन्दूत्ववादी भएर निस्किन्छन्। उनी मुस्लिम समुदायप्रति लक्षित गरी ‘देशके गद्दारोंको गोली मारो सालों को’ नारा लगाउन थाल्छन्। ‘यो चुनाव भारत बनाम पाकिस्तानबीचको हो’ भनेपछि उनलाई चुनाव आयोगले केही दिन चुनाव प्रचारमै रोक लगाएको थियो। दोस्रोचोटि आपको पक्षमा आएको सुनामीमा भाजपा उम्मेदवार कपिल पनि डुब्छन्। तर उग्र हिन्दूत्ववादीको पहिचान बनाउँदै सन् २०२३ भाजपा दिल्ली इकाईको उपसभापति बन्न पुग्छन्।

कपिलले जस्तै रवीन्द्रले पनि पहिले त पार्टीमै ल्याङल्याङ गर्छन्। वैकल्पिक राजनीतिको रट लगाउँदै राजनीतिमा ‘फ्रिस्टाइल डाइभ’ हानेका उनी ‘ब्याक स्ट्रोक’ चल्न बेर लगाउँदैनन्। पहिला साझा अनि विवेकशील–साझाबाट अपेक्षित भोट हासिल गर्न नसकेपछि उनमा मनुज चौधरीको भूत सवार हुन थाल्छ (वैकल्पिक राजनीतिको चोला धारण गर्नुअघि उनले ‘नेपाल’ पत्रिकामा मनुज चौधरीको नाममा राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा पैरवी गरेका थिए।) विवेकशील नेपालीबाट आएका उज्ज्वल थापासहितको समूहसँग मतभेद शुरू हुन्छ। २०७४ साउन ११ मा एकीकरण भई बनेको विवेकशील साझा १७ महिनामै फुट्छ। असहमतिका बुँदा समेटिएको प्रतिवेदन थापाले पार्टीपंक्तिमा पठाएलगत्तै रवीन्द्रले केन्द्रीय सदस्यहरू थपेर पार्टी कब्जा गर्न खोजेपछि तत्कालै थापाहरू बाहिरिन्छन्।

उज्ज्वल बाहिरिएपछि विवेकशील साझालाई नै बलियो पार्ने प्रयत्नमा अपेक्षित उपलब्धि हासिल नहुँदा रवीन्द्र गुलाट्टी मारेर राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भए। कपिलले आपको दामन थामे पनि उनमा उत्तर दिल्लीको मेयर भइसकेकी भाजपा पृष्ठभूमिकी आमा अन्नपूर्ण मिश्रकै विचारधारा हाबी रहेको आपबाट असन्तुष्ट हुनासाथ सवार उग्र हिन्दूत्वले देखाउँछ। वैकल्पिक राजनीतिको रट लगाए पनि रवीन्द्रमा २०४६ सालमा राजाको सक्रिय शासन सकिनासाथ गुप्तवासको घोषणा गर्ने पिता (प्रख्यात कलाकार मनुजबाबु मिश्र)कै राजावादी विचारधारा प्रभावी थियो भन्ने घटनाक्रमहरूले पुष्टि गरिहाले। 

‘गणतन्त्रप्रति तपाईंको प्रतिबद्धतामा धेरैलाई शंका छ, के भन्नु हुन्छ?’ भन्ने प्रश्नमा रवीन्द्रले भनेका थिए "संविधानले बनाएको संरचना बदल्ने वा उल्टाउने कुनै मनसाय छैन। यही संरचना भित्रबाटै यो देशलाई विकास र समृद्धिको बाटोमा अघि बढाउन सकिन्छ।" यस्तै राजसंस्थाप्रति नरमपनाबारे सोध्दा उनी भन्छन्, "मेरो बाजेले घिउ खाएका थिए, हात सुँघ भन्ने संस्थाको म कहिल्यै समर्थक होइन।" (नेपाल पत्रिका)

"जीवनमा जे गरे पनि इमानदारीसाथ गर्नु, पद ठूलो कुरा होइन, यो देशमा पद पाउन कत्ति पनि गाह्रो छैन," राजनीतिसँगै राजकाज किताबमा प्रकाशित एउटा लेखमा रवीन्द्र बुवा मनुजबाबुलाई उद्धृत गर्दै लेख्छन्, "पदले मागेको दायित्व कति जिम्मेवारीसाथ वहन गरिन्छ त्यो ठूलो कुरा हो।" यहाँ उनले इमानदारीलाई पैसाको लेनदेन मात्रै बुझेको भान हुन्छ। नत्र उनको विचार, आस्थामा आएको विचलनले नै इमानदारीलाई गिज्याउँछ। अझ वैकल्पिक राजनीति भनेर उनलाई पछ्याएका तर राजा अनि राजनीतिमा धर्मको खिलाफमा रहेकाहरूउपर उनले बेइमानी नै गरेका हुन्। ‘म कुनै काम गर्दै गर्दिनँ, गरेपछि त्यसलाई फत्ते नगरी छाडदिनँ’ भनेर उद्घोष गरेका उनी वैकल्पिक राजनीतिलाई बीच बाटोमै बिसाएर अन्यत्र बुर्कुसी मारे।

यसैले त भ्रष्टाचारीलाई कीरा परोस् भन्दै हिँडेका रवीन्द्रलाई कटाक्ष गरी उतिबेलै हरिसप्रसाद भट्टले ‘धर्मको राजनीति गर्नेलाई पाप लागोस्’ भनेर नयाँ पत्रिकामा लेखै लेखेका थिए। चप्पल र मन्डी ओढेर आएका भारतीय राजदूतलाई भेटेकामा गिरिजाप्रसादप्रति उग्रअसन्तुष्ट रवीन्द्र यतिबेला योगी आदित्यनाथको भरमा 'राजा बन्छु' भनेर हिँडेका ज्ञानेन्द्रको पछि लागेका छन्। 

"हाम्रो स्पष्ट धारणा थियो, अहिलेकै व्यवस्थामै कुशलतापूर्वक जिम्मेवारी वहन गर्न सक्ने जनउत्तरदायी दल र नेतृत्व तयार गर्नु नै देशको अवस्था परिवर्तन गर्ने सबैभन्दा सही मार्ग र प्रभावकारी बाटो हो," रवीन्द्रप्रति असहमति जनाउँदै मिलन पाण्डेले उतिबेलै लेखेका थिए, "दुर्भाग्यवश, बीच बाटोमै आएर रवीन्द्र मिश्रलगायत केही साथीहरूले ‘मार्ग परिवर्तन’ भनेर राजसंस्थाको वकालत गर्न थाल्नुभयो, गणतन्त्रलाई आयातित भन्न थाल्नुभयो, संघीयता खारेज गरौँ भन्न थाल्नुभयो र धर्मको नाममा राजनीति गर्ने प्रयास थाल्नुभयो।" मिलनले थप लेखेका थिए, "गोर्खा जान हिँडेको मानिस गोर्खा टाढा भयो गोदावरी जान्छु वा गोदावरी पनि टाढा भयो मार्ग परिवर्तन गर्छु र गौशाला जान्छु भन्न मिल्दैन।"

कपिलले भाजपाको दामन थामे मात्र होइन, त्यहाँभित्र बजरंग दलका कार्यकर्ताझैँ सुनिए। बिरयानीप्रति नै उनको नफरत देखियो, मुस्लिमप्रति कुरै नगरौँ। पाँच वर्षअघि (सन् २०२०) दिल्लीमा भएको हिन्दू–मुस्लिम दंगा गराउन उकासेको आरोप उनीमाथि लागिरह्यो। तर केन्द्र सरकारअन्तर्गत रहने दिल्ली प्रहरीले उनलाई कारबाहीमा चासो देखाउने सम्भावनै थिएन। हालै न्यायालयले नै उनीविरुद्ध जाहेरी (एफआईआर) दर्ता गरी अनुसन्धान गर्न पुलिसलाई आदेश दिएपछि चाहिँ कपिलउपर संकटको बादल मडारिएको भान हुन्छ। उनले चाँदबाग र जाफराबादमा सडक अवरोध गरी आन्दोलन गरिरहेका बहुसंख्यक मुस्लिमहरूलाई हटाई सडक खाली नगराए कसैको पनि सुनिँदैन भनेको भिडियो भाइरल भएपछि दंगा भड्किएको मानिएको छ।

यता रवीन्द्रचाहिँ चैत १५ गते राजा पुनर्स्थापनाको माग गरी राप्रपाले तीनकुनेमा गरेको प्रदर्शनलाई हिंसात्मक बनाउन उकासेको आरोपमा प्रहरी हिरासतमा छन्। दुई जनाको ज्यानसमेत गएको उक्त हिंसात्मक घटनामा आगजनी र लुटपाटसमेत भएको थियो। हिन्दूराष्ट्रको अजेन्डामा पुगे पनि रवीन्द्र कपिलजस्तै अरूप्रति नफरती त सुनिएका छैनन्। तीनकुने घटनामा पनि टियर ग्यासले झारेका आँसु बगाउँदै भिडलाई उकासेको जस्तो देखिए पनि उनलाई थुनामा राख्न प्रयोग गरिएको राज्यविरुद्धको कसुर र संगठित अपराध स्थापित गर्न सजिलो हुनेछैन।

(उकालोमा प्रकाशित विचार सामग्री लेखकका निजी हुन्।)