शास्त्रोक्त अष्ट भैरव बाहेक काठमाडौँमा आकाश भैरव, पचली भैरव छन् र अरू पनि केही ‘लोक भैरव’हरू भएको बुझिन्छ। यस्तोमा हाम्रा भैरवदाइलाई ‘सञ्चार भैरव’ भने के होला?
भैरव दाइलाई उहाँ जेलमै छँदा चिनेको हुँ तर देख्न चाहिँ जेलबाट छुटेपछि मात्र देखेको हुँ। त्यो मैले पत्रकारिता थालेको अर्को-अर्को वर्ष, २०४३-४४ सालतिरको कुरा हो।
राजधानी साप्ताहिकमा ‘एशियाली मापदण्ड मन्त्रिमण्डलको ठगी खाने भाँडो’ शीर्षक लेख प्रकाशित भएपछि उहाँलाई जेल हालिएको थियो। त्यसबेला पञ्चायतको प्रतिकार गरेर जेल पर्ने सबै हाम्रालागि हिरो हुन्थे। त्यसबेलासम्म पनि म ‘हिरो’ मा प्रायः धीरोदात्त नायकको व्यक्तित्व खोज्दो रहेछु (शायद अरू पनि त्यसै गर्थे होलान्)। देख्नु अघि मेरो मनले भैरव रिसालको व्यक्तित्वको एउटा चित्र बनाएको थियो, अलि युवा (उहाँ त्यसबेला साठीको हुन हुन लाग्नुभएको रहेछ, मैले पैँतालिस-पचासतिरको ठानेको थिएँ), रात्रातो वर्णको, डाली, ठूल्ठूला आँखा भएको, एकबाते, दह्रोगरी र ठूलो स्वरमा आफ्ना अडानहरू… यस्तै यस्तै। तर भैरव रिसाल फरक हुनुहुँदो रहेछ, दैहिक र स्वभावगत दुवै हिसाबले मेरो कल्पनाभन्दा धेरै फरक।
शायद यो छविको निर्माण मैले काठमाडौँ गएपछि मात्र मूर्तिमा देखेका देवता र केएम मुन्सीका किताबमा पढेको भैरवको अवधारणाबाट कतै प्रभावित थियो र त्यसमा थपिएको थियो, पञ्चायतको विरोध गर्ने क्रममा राजालाई नै पेच हानेर माफी नमाग्ने तर जेल जाने हिरोको आँटिलोपन। तर पहिलो पटक भेट्दा मलाई भैरवदाइ आफूले कल्पेकोभन्दा निकै फरक र बडो ‘अभैरव’ लाग्नु भएको थियो।
व्यक्तिको नाम र उसको रूपाकृतिको कुनै सम्बन्ध हुँदैन भन्ने थाहा छ, तर यी हरफ त्यो मान्छेले लेखिरहेको छ, जसले कुनै मान्छेलाई नदेखी उसको छविको कल्पना गरेको थियो। मलाई मेरो कल्पनाको भैरव रिसाल र मैले भेटेका भैरवदाइको छविलाई समायोजन गर्न केही समय लागेको थियो। समाजका हिरोहरू भरतमुनिले कोरेको नायकत्वको घेरामा बाँधिएका हुँदैनन् भन्ने मेरो बुझाइको सूत्रपात सम्भवतः त्यहीँबाट भएको हो।
भगवान् शिवको रौद्र र भयानक रूपलाई प्रतिनिधित्व गर्ने देवता भैरव मुस्काउन जान्दैनन् तर हाम्रा भैरवदाइले नमुस्काउन जान्नु भएन। जेलबाट छुटेपछि उहाँको पनि अड्डा नेपाल वातावरण पत्रकार समूह (नेवापस) मा नै भयो। गैरसरकारी संस्थाका रूपमा दर्ता हुन नपाएपछि हामी उद्योगमा दर्ता भएर काम गर्दै थियौँ। सङ्घ संस्था र सञ्चारजगतप्रति पञ्चायतको आक्रामकता बढ्दो थियो (त्यसबेला हामीलाई के थाहा सत्ताको बढ्दो आक्रामकता नै त्यसको घट्दो आयुको भविष्यवाणी हो भन्ने कुरा!)। हामी ठिटाहरू बेला बेलामा आक्रोशित भइरहन्थ्यौँ। त्यस्तोमा लेखे बापत नै १० महिना जेल बसेर भर्खरै मुक्त भएका भैरवदाइ धेरै नबोलिकन हामीलाई आश्वस्त गराइरहनुहुन्थ्यो, आँट दिनुहुन्थ्यो।
भैरवदाइलाई सम्झिँदा नेवापसको वातावरणलाई बिर्सिनै मिल्दैन। त्यस संस्थाको विधानमा नलेखिएको भए तापनि त्यसमा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर मात्र एकजुट थियौँ। त्यसबेला अभिव्यक्ति स्वतन्त्रताका पक्षधर भन्नाले पञ्चायत विरोधी नै बुझिने परिस्थिति थियो र पञ्चायत विरोधीलाई बुझाउने साझा चेतना थियो बहुदलीयताको पक्षधरता। कतिसम्म भने त्यस संस्थाको स्थापनामा संलग्न केही अग्रज पत्रकारहरू त्यो संस्था ‘प्रतिपक्षीहरूका कब्जामा’ गएपछि संस्था नै छाडेर हिँडेबाट पनि त्यसबेलाको नेवापसको प्रकृति स्पष्ट हुन्छ। बाह्रतिर फर्केका वामपन्थी वा अँखौटा लगाएका घोडा जस्ता प्रजातन्त्रवादी भए पनि जो जति नेवापसमा थियौँ, हामी एक थियौँ र हाम्रा अगाडि हुनुहुन्थ्यो भैरव रिसाल जस्ता केही दाइहरू।
चाँडै आयो २०४६ साल। त्यो वर्षसितै ‘... प्राणभन्दा प्यारो छ’को नारा घन्काउँदा घन्काउँदै पञ्चायतको प्राणपखेरु उड्यो। अनि नयाँ संविधान बन्ने भयो। नयाँ-पुराना सबै पुस्ताका ‘लाइक माइन्डेड’ मान्छेहरू नयाँ राजनीतिक संरचनालाई प्रभावित गर्ने घोषित उद्देश्यका साथ काममा लाग्यौँ। त्यसमा प्रमुख थिए, मौलिक हक अन्तर्गतको छापाखाना तथा पत्रपत्रिका सम्बन्धी हक र वातावरणका विषय। छापाखाना तथा पत्रपत्रिका सम्बन्धी हकका बारेमा ‘लबी’ गर्नेमा अग्रज पत्रकारहरूको आडमा सबैजसो पत्रकारहरूको संयुक्त बल लागेको थियो, तर वातावरण सम्बन्धी विषय आफैँमा नयाँ भएकाले भैरव रिसाल, आदित्यमान श्रेष्ठ, कृष्णप्रसाद सिग्देल र हेमबहादुर विष्टजस्ता अग्रज पत्रकारहरूको जनसम्पर्क सबभन्दा धेरै काममा आयो।
भैरवदाइको ‘ए फलाना जी!’ भनेर सिधै फोन गर्ने क्षमताकै कारण, संविधान सुझाव आयोगका प्रमुख आयुक्त र विश्वनाथ उपाध्याय र सचिव सूर्यनाथ उपाध्यायहरूसितको सिधा सम्पर्कका कारण २०४७ सालको संविधानमा, राज्यका निर्देशक नीति र सिद्धान्तहरू (भाग ४) अन्तर्गत राज्यका नीतिहरू २६ को ४ मा वातावरण संरक्षणको विषयले प्रवेश पायो। यो भैरव दाइलाई मात्र जस दिन गरिएको प्रयत्न होइन, तर नेपालमा वातावरणसम्बन्धी चेतना फैलाउने काम शुरु भएको पाँच वर्ष पुग्दा नपुग्दा त्यो विषयलाई संविधानमा प्रवेश गराउने साझा प्रयत्नमा उहाँको भूमिकाको स्मरण भने पक्कै हो:
४) जनसाधारणमा वातवरणीय स्वच्छताको चेतना बढाई भौतिक विकास सम्बन्धी क्रियाकलापहरूद्वारा वातावरणमा पर्न जाने प्रतिकूल असरहरू पर्न नदिन एवं वातावरणको संरक्षण गर्न राज्यले प्राथमिकता दिनेछ र दुर्लभ वन्यजन्तु, वन र वनस्पतिको विशेष संरक्षण गर्ने व्यवस्था गर्नेछ।
त्यस बेलाको नेवापस एउटा ठूलो मध्यमवर्गीय परिवार जस्तो थियो। घर भएपछि बल र सामर्थ्य त हुने नै भयो, हाम्रो घरमा घरभित्र हुने होची अर्घेली, घोचपेच, मिलाप-विलाप आदिको पनि अभाव थिएन। हामी मिलेर काम गर्न जति दक्ष थियौँ, नमिल्नेहरूलाई एक्लाएर भगाउन उति नै च्याम्पियन थियौँ। त्यस्तो अवस्थामा भैरवदाइ बडो ‘असंलग्न’ वा ‘गुट निरपेक्ष’ रहिदिन सक्नुहुन्थ्यो, अप्रिय कुरा सुनेको नसुन्यै गरिदिन सक्नुहुन्थ्यो। भैरव दाइले कसैको अनुपस्थितिमा उसको कुरा गरेको मैले कहिल्यै पनि सुनिँन, भन्नुपर्ने कुरा रमाइलोगरी भन्ने सीपका कारण उहाँ अप्रिय कुरा बोले बापत आइपर्ने अवगालबाट सधैँ जोगिनुभयो।
बिस्तारै धेरै कुरा फेरिए। नेवापसलाई गरिखाने ठाउँ नबनाउने संकल्प गरेर म बाहिरफेर अक्षरको बनिबुतो गर्न थालेँ। भैरवदाइ सके जानेका कुरामा सक्रिय रहिरहनु भयो। ‘उहिले बाजेका पालामा’ (रेडियो कार्यक्रम) उहाँले नेपाली समाजका लागि छाड्नुभएको सम्भवतः सबभन्दा मूल्यवान् कच्चापदार्थ हो।
अहिले निधनालेख लेख्ने बेलामा मात्र होइन, कोभिडका बेला जूम मिटिङ गरेर देशभरका प्रियजनले उहाँको जन्मदिन मनाउँदादेखि भैरवदाइका बारेमा मैले सोचिरहने कुरा हो, उहाँको लोकप्रियताको कारण के होला? पत्रकारितामै उहाँजत्तिकै आदरणीय पात्र अरू पनि हुनुहुन्छ, तर लोकप्रियतामा भैरवदाइ सबैभन्दा अगाडि हुनुहुन्छ। मैले फेला पारेको मुख्य कारण हो, उहाँको उत्साह, अविश्रान्ति र सबैप्रतिको समान स्नेह। उहाँको उत्साहकै कारण हिमाल खबरपत्रिका (भोगेको, देखेको, सुनेको) र अन्य प्रकाशनहरूले उहाँसित अनवरतरूपमा, कतिपय अवस्थामा खँदिलोपन र कसिलोपनको अपेक्षा समेत नराखी लेख मागिरहेका हुन् र छापिरहेका हुन्। त्यो लेख्दा भैरव दाइका अक्षर जसले पायो त्यसले नबुझ्ने भइसकेका थिए र उहाँका लेख टाइप गरेर पठाइदिने जिम्मा लिनु भएको थियो, आफैँ पनि वयोज्येष्ठ भइसक्नु भएको सुशीला भाउजूले। आफ्नो अविश्रान्तिबाट उहाँलाई कर्मफल प्राप्त भइरह्यो र नेपाली वाङ्मयलाई मेटिएर जानसक्ने घटनाक्रमहरूको अभिलेख। भैरवदाइले रिपोर्टर हुँदा समाजका लागि जति महत्वका काम गर्नुभयो, सम्भवतः त्यसभन्दा बढी त्यसबेलाका कुराको संस्मरण लेखेर गर्नुभयो।
काठमाडौँ भैरवको भूमि हो। तन्त्रशास्त्र र पुराणहरूले मानेका आठ भैरव र चौँसट्ठी उपभैरव बाहेक काठमाडौँले पनि केही भैरवहरू जन्माएको छ र तिनीहरूको अभिभावकत्वमा आफूलाई सुरक्षित ठानेको छ। रुद्र, चण्ड, क्रोध, उन्मत्त, भीषण, संहार आदि नाम गरिएका शास्त्रोक्त अष्ट भैरव बाहेक काठमाडौँमा आकाश भैरव, पचली भैरव छन् र अरू पनि केही ‘लोक भैरव’ हरू भएको बुझिन्छ। यस्तोमा हाम्रा भैरवदाइलाई ‘सञ्चार भैरव’ भने के होला?
देवत्वकरण गर्न खोजेको पटक्कै होइन, उहाँको चरित्रलाई सुहाउने एउटा नाम र छवि मात्र मनमा आएको हो। हातमा कलम र ओठमा मुस्कान सहितका सरल, असल, अक्रोधी, अविश्रान्त भैरव दाइलाई मैले ‘सञ्चार भैरव’ भनिदिएँ। परेको सहूँला बुझाऊँला।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
