सुरेशसँग एभिन्युजमा करिब ८ वर्ष निरन्तर रिपोर्टिङ गरेको अनुभव थियो। उनले २०७९ सालमा हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार पाएका थिए। तर यसपालि जोखिमबाटै उम्कन सकेनन्।
काठमाडौँ– सोमबार साँझ ८ बजे काठमाडौँ महानगरपालिका–१३ चागलको गल्ली सुनसान भइसकेको थियो। त्यही गल्लीमै रहेको एउटा घरमा बत्ती बलेकै थियो, तर चकमन्न। पहिले कहिल्यै नदेखिएको सन्नाटा। त्यहाँ एक जनाबाहेक परिवारका सबै सदस्य थिए, कोही केही बोलिरहेका थिएनन्।
परिवारका महत्त्वपूर्ण सदस्य, सधैँ आत्मविश्वाससाथ क्यामरा बोकेर रिपोर्टिङका लागि दौडिने सुरेश रजक त्यहाँ थिएनन्। केहीबेरको मौनतापछि सुरेशका जेठा दाजु रमेश बोल्न थाले, तर उनको स्वर भारी भइरहेको थियो। “सत्यको खोजी गर्दै हिँड्थ्यो सुरेश, तर आज आफै सधैँका लागि हरायो,” उनले भने।
रुँदारुँदा सुरेशकी पत्नीका आँखा सुन्निएका थिए, ओठ थर्थर काँपिरहेका थिए। उनले आफूलाई सम्हाल्न नसक्ने हुन् कि भन्ने डरले परिवारले सुरेश घाइते भएको र अस्पतालमा उपचार भइरहेको बताएका थिए। तर आगोले जलेको अवस्थामा सुरेशको शव शुक्रबार नै भेटिएको खबर जब २६ घण्टापछि सुनाउने आँट गरियो, उनका आँखामा अन्धकार छायो। शरीर काँप्न थाल्यो। मुखबाट कुनै आवाज निस्केन। आँखाबाट आँसु बगिरहे।
माइला दाजु दिनेशको मनभित्रको रित्तोपन अझै गहिरो थियो। परिवारका अन्य सदस्यहरू शब्दविहीन थिए। उनीहरूका लागि सान्त्वनाका शब्द पनि बेकम्मा लागिरहेका थिए। कोठाको एक छेउमा उभिएका सुरेशका साथीहरू मोबाइलको स्क्रिनमा टोलाइरहेका थिए।
सुरेशको त्यो बाचा
शुक्रबार बिहान सवा ६ बजे सुरेशले श्रीमतीलाई हतारिँदै भनेका थिए, “आज पहिले आन्दोलनको कभर गर्न जान्छु, अनि जात्राको भिडियो खिचेर चाँडै फर्कन्छु।”
त्यस साँझ उनले परिवारलाई ‘पाहा चःह्रे’ भोज खुवाउने योजना बनाएका थिए। नेवार समुदायको यो परम्परागत भोज परिवारको माया बाँड्ने बहाना हो।
घरको तल्लो तलामा ओछ्यानमै रहेका दाजु दिनेशले सोधे, “यति सबेरै किन हिँडेको?”
झ्यालबाटै सुरेशले जवाफ दिए, “आज अलि छिट्टै अफिस जानु छ, काम सकेर बेलुका छिट्टै आउँछु। तँ पनि छिट्टै आउनू, रमाइलो गर्नुपर्छ।”
त्यसपछि उनी हिँडे— आफ्नो क्यामरा बोकेर। त्यस दिन तीनकुनेमा हुने राजतन्त्र समर्थकको प्रदर्शनको भिडियो खिच्ने जिम्मेवारी उनको थियो। तर बेलुका चाँडै घर फर्कने उनको बाचा अधुरै रह्यो। त्यो साँझ घरमा रमाइलो भोज हुनुपर्ने थियो, तर सन्नाटा मात्र बाँकी रह्यो। सुरेश कहिल्यै नफर्किने गरी गए।
फुटेज पठाए, आफू फर्किएनन्
एभिन्युज टेलिभिजनका सहकर्मी अनिल रायमाझीसँग सुरेश चैत १५ गते करिब ११ बजे तीनकुने पुगेका थिए। त्यहाँ प्रदर्शनकारी भेला हुँदै थिए। नाताले सुरेशका मामासमेत पर्ने एभिन्युजमै कार्यरत पत्रकार राजेश रजक र पारस श्रेष्ठ पनि त्यही ठाउँमा रिपोर्टिङमा खटिएका थिए। अनिल भन्छन्, “शुरूमा माहौल शान्त थियो। हामी लाइभ गरिरहेका थियौँ, फुटेज खिचिरहेका थियौँ। हामीलाई लाग्यो कि यो एउटा सामान्य प्रदर्शन हो।”
तर अचानक स्थिति बदलियो। एकछिन सुस्ताउन चियापसलमा पसेका उनीहरूले सुने— प्रहरी र राजावादीबीच झडप शुरू भयो। “सडकछेउको घरको छतबाट तल टियर ग्यास प्रहार भइरहेको छ र प्रदर्शनकारीले सडकबाटै घरमा ढुंगा प्रहार गर्दै छन् भन्ने हल्ला चलेपछि सुरेश र म त्यता कुद्यौँ। माथिबाट कसैले टियर ग्यास फालेको त हामीले देखेनौँ, तर प्रदर्शनकारी माथिबाट टियर फालेको भन्दै आक्रोशित थिए,” अनिल भन्छन्, “टियर ग्यासका कारण हामीलाई पनि अति नै असहज भइरहेको थियो। हामीले थाहा पाएका थियौँ कि प्रदर्शन नियन्त्रणबाहिर जान थालेको छ, तर हामी फुटेज खिच्न रोकिएनौँ।”
त्यही बेला प्रदर्शनकारीको आक्रोशित समूह बानेश्वरतर्फ अघि बढ्न थाल्यो। बानेश्वरतर्फ प्रदर्शनकारीलाई बढ्न नदिन सुरक्षाकर्मी सडकमा बार बनेर उभिएका थिए। सुरेशले अनिलको हातमा क्यामरा राख्दै भने, “तिमी यतै बस, म त्यो भिडबाट लाइभ गरेर आउँछु।”
सुरेश बानेश्वरतर्फ अघि बढिरहेको आक्रोशित भिडबारे लाइभ गरेर फर्किँदासम्म पनि तीनकुनेको प्रदर्शन अझ उग्र बन्दै थियो। प्रदर्शनकारीले घरमा ढुंगा हान्दा सिसाका झ्याल फुटिसकेका थिए। सुरेशले ती सबै दृश्य क्यामरामा कैद गरे।
प्रदर्शनकारी घरको च्यानल गेटबाट भित्र पस्न थाले। “प्रदर्शनकारी घरमा छिरेपछि, सुरेश दाइ क्यामरामा जोडिएको बुम निकालेर अचानक भित्र पस्नुभयो,” अनिल भन्छन्, “मलाई तिमी पनि सँगसँगै आऊ पनि भन्नुभएन। तिमी बाहिरै बस, पनि भन्नुभएन। म एकछिन अलमलमा परेँ। पछि त मलाई डर लाग्यो, भित्र छिर्न सकिनँ।”
झ्याल फुटेको घरको तेस्रो तलाको कोठाबाट प्रदर्शनकारीले धमाधम सामान बाहिर फालेको र बाहिरबाट पनि घरतर्फ ढुंगा बर्साएको सुरेशले आफ्नो क्यामरामा कैद गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ। भिडियोमा उनले ‘दाइदाइ भाइबर चल्यो’ भन्दै क्यामरा समातेर यता र उता गरेको देखिन्छ। सिसा फुटेको झ्यालबाट सुरेशले बाहिरको दृश्य कैद गर्दै गरेको देखेपछि अनिलले राहतको सास फेरेका थिए।
त्यसको केहीबेरमा, प्रदर्शनकारी र केही पत्रकार घरबाहिर निस्केको अनिलले देखेका थिए। तर सुरेश निस्किएनन्। अनिलले अर्को एउटा भिडियो फेला पारेका छन्, जसमा च्यानल गेटमा ताल्चा मारेको देखेपछि सुरेश र अरू केही मानिस झ्यालबाट भित्र कोठामा छिरेको देखिन्छ। “शायद सुरेश दाइलाई झ्यालबाटै निस्कन सक्छु भन्ने विश्वास थियो होला, त्यसैले उहाँ ताल्चा लागेको कोठामा झ्यालबाट भित्र छिर्नुभयो,” उनी भन्छन्।
करिब सवा २ बजेको थियो। कोठाबाट बाहिर फालिएका कागजातमा प्रदर्शनकारीले आगो लगाए। आगो तत्कालै घरको पहिलो तलामा पुग्यो। त्यसपछि अनिलको मन चिसो भयो। उनले बारम्बार सुरेशलाई फोन गरे, तर उठेन।
त्यही बेला सुरेशले आफैले खिचेका फुटेज र तस्वीर कार्यालयमा पठाउँदै गरेको अनिलले थाहा पाए। सोही ठाउँमा सुरेशले आफ्नो मोबाइल हेरिरहेको र कसैले पत्रकार रहेछ भन्दै उनलाई जुम गरिगरी खिचेको भिडियो पनि भेटिएको छ। उक्त भिडियोमा ‘यहाँ त ताल्चा मारिएको छ’ भन्ने आवाज सुनिन्छ।
घरको पहिलो तलाबाट आगो झनै फैलिरहेको थियो, साढे २ बज्दा पनि सुरेश झरेनन्। “मेरो पत्रकार साथीलाई उद्धार गर्न मैले प्रहरी टोलीलाई अनुरोध गरेँ, तर प्रहरीले वास्ता गरेन,” अनिल भन्छन्, “करिब ३ बजेसम्म सुरेश दाइको फोन लागिरहेको थियो, उठेको थिएन।”
भाइ जल्दै थिए, दाइले थाहै पाएनन्
सडकमा प्रदर्शनकारी र प्रहरीबीच दोहोरो झडप चलिरहेकै थियो। टियर ग्यासको पिरो धुवाँ बेलाबेला आउँथ्यो। घरमा सल्काइएको आगो झन् दन्किँदै थियो। त्यही दृश्य खिच्न सुरेशका दाइ तथा लोकपथका संवाददाता दिनेश पनि आइपुगे। उनलाई थाहा थिएन, जलिरहेको त्यो घरभित्र आफ्नै भाइ फसेका छन्। उनी आफ्नै परिवारको अकल्पनीय क्षति क्यामरामा कैद गरिरहेका थिए, तर पत्तो पाएका थिएनन्।
सुरेशलाई बचाउन हारगुहार गरिरहेका अनिल दिनेशसँगै ठोक्किन आइपुगे। “सुरेश दाइ त्यही घरमा हुनुहुन्थ्यो। कता जानु भयो, थाहै भएन,” अनिलको आवाज दिनेशको कानमा पुग्यो।
भिडियो खिच्दै गरेका दिनेशका हात एकाएक लुला भए। स्वर अवरुद्ध भयो। आँखा जलिरहेको घरमा टाँसिए। मनमा अनेक प्रश्न दौडिए। त्यसैबेला काठमाडौँ महानगरको दमकल आइपुग्यो। तर प्रदर्शनकारीको ढुंगामुढाले दमकल पछाडि हट्यो। दमकलका कर्मचारी ज्यान जोगाउन फर्किए। सीमित प्रहरीले दमकललाई सुरक्षा दिन सकेनन्, प्रदर्शनकारीसँग भिडन्त जारी थियो।
केही समयपछि सशस्त्र प्रहरीको दमकल आइपुग्यो। आगो निभाइयो। त्यसबेला सुरेशलाई सम्पर्क गर्न कोशिश गर्दा उनको मोबाइल अफ भइसकेको थियो। दिनेश, अनिल र अन्य पत्रकारको हारगुहारपछि तीन प्रहरी आगोले खाक भएको घरभित्र छिरे। तर कोही नभेटिएको भन्दै बाहिरिए।
दिनेश बोल्न सकिरहेका थिएनन्, उनलाई अन्य पत्रकारले सम्हाल्न थाले। अनिल र उनी कार्यरत संस्थाका कर्मचारीले आशंका, पीडा र अनिश्चितताबीच खोजीकार्य अघि बढाए। ठूला अस्पतालमा खोजी गरियो। अनिलको समूह पुनः तीनकुने पुग्यो। उक्त घरमा पुनः आगो बल्न थाल्यो। अनिल भन्छन्, “दमकलले राम्ररी आगो निभाएको रहेनछ।”
अन्ततः साँझपख आगो पूर्णरूपमा नियन्त्रणमा आयो। आगो निभेपछि दमकलको टोलीले पहिले सुरेशले भिडियो खिचिरहेको देखिएको तलामा लगाइएको च्यानल गेटको ताल्चा फुटायो। सुरेशको शव त्यहीँ भेटियो।
दिनेशका आँखामा प्रश्नै प्रश्न छन्– “भाइ किन भाग्न सकेन? जस्तोसुकै जोखिम मोलेर रिपोर्टिङ गर्ने सुरेश किन त्यहाँबाट निस्कन सकेन? आगो लाग्दा एक व्यक्तिले उम्किन प्रयास गर्ने होइन र? किन झ्यालबाट हाम फालेन? मोबाइल त आगोले डल्लो पर्यो, तर उसको क्यामरा खोइ?”
सुरेशका जेठा दाजु रमेश भावविह्वल हुँदै भन्छन्, “मेरो भाइ त्यहाँबाट सजिलै जोगिन सक्थ्यो। तर के, कसैले उनलाई भाग्न नदिएको हो? ऊ झ्यालबाट भित्र गएको हो, फर्किँदा पनि त ऊ झ्यालबाटै निस्कन सक्थ्यो नि, हैन र?”
त्यसैबेला सुरेशकी श्रीमतीले कम्पनयुक्त आवाजमा सोधिन्, “आगो लाग्दा मान्छे त छट्पटाउँछ। दौडन्छ। हाम्फाल्छ। तर किन उनी कुर्सीमै बसे जस्तो अवस्थामा भेटिए?”
सरकारसँग परिवारको सातबुँदे माग
सुरेशसँग एभिन्युजमा करिब आठ वर्ष निरन्तर रिपोर्टिङ गरेको अनुभव थियो। उनले २०७९ सालमा हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार पाएका थिए।
रिर्पोटिङ गर्दागर्दै जलेको अवस्थामा मृत भेटिएका सुरेशको शव पोस्टमार्टम गरिएको छैन। सरकारले आफ्ना माग पूरा नगरेसम्म शव नबुझ्ने चेतावनी पीडित परिवारले दिएको छ।
जेठा दाजु रमेश भन्छन्, “मेरो भाइले इमानदारीसाथ आफ्नो कर्म गर्दागर्दै ज्यान गुमाउँदा हामी अहिले शून्यमा छौँ। तर मेरो भाइको ज्यान कसरी गयो? त्यसबारे हामीलाई जान्नु छ। त्यो नै हाम्रा लागि न्याय हो।”
घटनाको भोलिपल्ट गृहमन्त्री रमेश लेखकले सुरेशका दाइ दिनेश र एभिन्युजका सदस्यहरूलाई भेटेर सान्त्वना दिएका थिए। त्यही बेला गृहमन्त्रीलाई परिवार र एभिन्युजका तर्फबाट सुरेशको मृत्युलाई लिएर सात बुँदे माग पूरा गर्न तीन दिनको समय दिइएको थियो। सुरेशका परिवारले सरकारसमक्ष शहीद घोषणा गर्नुपर्ने, उच्चस्तरीय छानबिन समिति गठन गरेर घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने लगायत माग राखेका छन्।
अल्टिमेटम सकिए पनि गृहमन्त्रीबाट कुनै प्रतिक्रिया नआएको सुरेशका दाइ दिनेशले बताए। परिवारले चैत १८ गते बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर आफूहरूलाई न्याय दिन माग गरेका छन्। जवाफमा प्रधानमन्त्री ओलीले यस घटनाबारे सरकारी निकायले छानबिन गरिरहेको बताएका थिए।
सुरेशको मृत्युलाई लिएर पत्रकार महासंघले पनि विरोध गरेको छ। दाइ दिनेश भन्छन्, “हामीप्रति सबैले सहानुभूति देखाउनुभएको छ, त्यो राम्रो कुरा हो। तर हामीले जे माग राखेका छौँ, त्यो पूरा गर्न पत्रकार साथीहरूले संयुक्त रूपमा दबाब दिनुभयो भने बल्ल हाम्रा लागि कोही छ भन्ने अनुभूति हुन्थ्यो।”
भिडियो
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
