खेतीपाती नाफाका लागि अन्नपात वा वस्तुभाउ उब्जाउने वा हुर्काउने कुरा मात्र होइन, यो मानवको पूर्णतातर्फको यात्रा हो। यी आधारभूत कुरामा बुझ पचाएर वा भ्रम पालेर यो यात्रा तय गर्न सकिँदैन।
अरूको नासो छोइपासो भन्ने नैतिक बोधसँगै हुर्केका मेरो पुस्ताका अगुवालाई पुर्खाको नासो भावी पुस्तालाई बुझाउन नसकेकोमा आत्मग्लानि हुनुपर्ने हो। तर अपवादबाहेक यो नैतिक बोधले धेरैलाई छोएको सम्म देखिँदैन। उल्टै, भुईँ छोडेका धेरै मानिसहरू रोमन शासक निरोका पाहुनाझैं आम मानिसका रगत पसिनाको रापतापमा ङिच्च दाँत देखाउँदै प्रकृतिको लुछाचुँडी र विषाक्त खानाको भोजभतेरमै दंग देखिन्छन्। यत्तिमै सीमित छैन, धेरैले नयाँ पुस्तालाई समेत सोहीअनुसार शिक्षादीक्षा दिलाउँदै छन्। भिक्षाका भरमा बाँच्न उक्साउँदै छन्।
यो आजको समाजको चित्र हो। विकासे रङले लिपपोत गर्दै, यो कुरूप चित्रलाई नै नयाँ देखाउने कसरतसमेत भइरहेको छ। हुन त समाज विकास क्रमका अनेकौँ पत्र छन्। यहाँ चर्चा गर्न खोजिएको चाहिँ सबैभन्दा पछिल्लो विकासे पत्रको हो। 'आजको विकास'को बखानमा 'पेटभरि खान पाएको, धेरै बाँच्न पाएको र विज्ञान-प्रविधिको विकासले मंगल ग्रहमा बस्ती बसाउन सक्ने भएको' भन्दै गौरव गाथा सुनाउने गरिन्छ। मानवीय उपलब्धिका हिसाबले इतिहासको सबैभन्दा सुखी पुस्ता यही भएको समेत दाबी गरिन्छ। यस्ता सरदर तथ्याकंका रङले पोतिएको मानव समाजको यो चित्र आफैँमा भ्रमपूर्ण छ। विडम्बना, यो रङ्गीन चित्रको मृगतृष्णामा मुग्धहरूलाई यसको विषले कसरी असर गर्दै छ भन्ने सामान्य हेक्कासमेत छैन।
अर्को कुरा, प्रत्यक्ष र अप्रत्यक्ष विषको खेती गर्नेले पैसामात्र फलाएका छन्। प्रकृति र मानव शरीरमा यस्ता विषले पर्ने गम्भीर असरबारे थाहा नपाएका समुदायबाहेक अरू सबैले गरेको विकासको काम पैसामात्र फलाउने हो। आधुनिक भनिने विषाक्त खेतीपाती खानका लागि गरिएको होइन, पैसा फलाउन गरिएको धन्दा हो। खानका लागि गरिएको भए यसमा विष मिसाउने कुरा सोच्नसम्म सकिन्थेन, किनकि सबैलाई थाहा छ, विषले बचाउँदैन, ढिलो चाँडो मार्छ मात्र।
यो कुरा गर्दा हाम्रो समाजमा अहिले तीन थरी मानिस छन् भनेर विचार गर्न सकिन्छ। एक थरि, जसले सबै कुरा थाहा पाएका छन्, मर्नसमेत विष खान्छन्। दोस्रो थरि छन्, जसले झुक्किएर विष खान पुगी मर्छन्। तेस्रो थरि मानिस छन् जसले यो सबै थाहा पाएर पनि बुझ पचाउँछन्। यो लेख यिनै बुझ पचाउनेहरूमा समर्पित छ।
विकास-अविकासको बहससँगै कस्तो खाना र कस्तो खेतीपातीको बहससमेत फैलिँदै गएको छ। कोभिडसँगै सघन बन्दै आएको यो बहसले जीवन ऊर्जाका लागि हावा र पानीपछि नभै नहुने खाना र यसको बन्दोबस्त गर्न गरिने खेतीपाती किन र कसरी विषाक्त भइरहेको छ भन्ने कुरा थप उजागर हुँदै गएको छ। तर बुझ पचाउने क्रम भने झाँगिदै गएको छ।
वातावरण अभियन्ता वन्दना सिवाले आजभन्दा ३ दशक पहिला लेखेको लेखमा उल्लेख गरेको प्रसङ्ग सम्झौँ–विकासेहरूको एउटा भेलामा एक जना आदिवासीले तिनीहरूप्रति व्यंग्य गर्दै भनेका थिए ‘जुन दिन यस धर्तीको अन्तिम रुख काटिने छ, अन्तिम माछा मर्नेछ र अन्तिम नदी सुक्ने छ, तब मात्र मानिसले थाहा पाउने छ कि पैसा खाएर बाँचिँदैन’। पक्कै, यो भनाई थाहा पाएर बुझ पचाउने जमातका लागि लक्षित हो।
यो भनाई जति सरल सुनिन्छ, यसको मर्म उति नै पेचिलो छ। खेतीपाती पैसा फलाउने नभई खानाको बन्दोबस्त मिलाउने कर्म हो। सम्पूर्ण चक्रीय जीवन प्रणालीको ऊर्जाको स्रोत हो खाना। यो बनाउने प्रक्रिया प्रकृतिले आफै मिलाउँछ। यस्तो खानाको खोजीमा निस्केका जिज्ञासु पुर्खाले आफ्नो ऊर्जाको बन्दोबस्त मिलाउन प्रकृतिबाटै सिकेर यसैको लय समाउँदै खेतीपातीको सुरुवात गरे। यो नै हाम्रो परम्परागत खेती प्रणाली हो।
तर पछिल्लो कालखण्डमा युरोपको सम्म मैदानी भूगोलमा विकसित भएको यान्त्रिक ज्ञान प्रणाली औद्योगिकीकरणको बाटो समातेर विषाक्त हुँदै यहाँसम्म आइपुगेको छ। यसले खेती र खानामात्र होइन, सामाजिक मनोविज्ञानसमेत विषाक्त बनाएको छ। यसले फैलाएको विषले प्रकृति, माटो र मानव स्वास्थ्य संकटको डिलमा छ। यस्तो खेती प्रणाली उपनिवेशी साम्राज्यसँगै आधुनिक भनिने विकासे घोडा चढेर हामीकहाँ आइपुगेको हो। यस्तो सम्म मैदानी कृषि हाम्रो विशेषताको उकालो चढ्न नसकेर बरालिएको मात्र छैन, हामी सबैलाई यसैसँग तानेर सम्म मैदानी चेतनाको थाङ्नोमा सुताएको छ।
यो सम्म मैदानी खाना र खेतीपातीमा मात्र सीमित छैन, यसले प्रकृतिसम्मत मानवीय ज्ञानको यान्त्रीकरण गरेको छ। यही यान्त्रीकि बौद्धिकताको माखेसाङ्लोमा अल्झिएर कस्तो खाना र कस्तो कृषिको बहस के खाने र कति नाफामा बरालिएको छ। सबैलाई थाहा छ, आज किसानलाई पेटभरि खाएर मात्र पुग्दैन, उसलाई घर परिवार चलाउन र अन्य सामाजिक व्यवहार समाल्न सक्ने बन्नु परेको छ। यही बाध्यतालाई कमजोरीको रूपमा लिएर बिचौलियाले नाफाको व्यापारको प्रवर्द्धन गरिरहेका छन्। यो विषाक्त खाना खान बाध्य बनाई राख्ने माखेसाङ्लो हो। कस्तो खानाका लागि कस्तो कृषि व्यवस्था–वैश्विक राजनीतिको पेचिलो प्रश्नसँग जोडिएको छ।
खाना र खेतीपातीलाई नाफा मात्र कमाउने विश्व बजारमा लिलामको बस्तु बनाएर न प्रकृतिको विविधता बढाउन सकिन्छ, न समाजको विभेद घटाउन नै। आजका संकटहरूको समाधान खोज्ने बाटो नै होइन यो। तसर्थ, हाम्रो खेतीपातीमा देखिएको संकट सामना गर्दै भविष्यका लागि खाद्यमा आत्मनिर्भर हुन, तत्कालका लागि किसानको आम्दानी र रोजगारी बढाउन खेतीपातीको दृष्टिकोण र मार्गचित्र के हो? अहिलेजस्तो व्यापारिक खेती गरेर पैसा फलाउने या खानाका लागि खेतीपाती गर्ने? गम्भीर मन्थन आवश्यक छ, दुईमध्ये एक रोज्नु पर्ने भएको छ।
यो पनि: कृषि पर्यटन: जाग्ने र लाग्ने हो भने गजब हुन्छ
खाना र खेतीपाती परम्परागत सोचबाट मात्र अघि बढ्न सक्दैन भन्ने कुरामा पनि धेरै दुबिधा छैन। ढिलै भए पनि बिस्तारै यो कुरामा धेरै सहमत हुँदै आएका छन्। सन् १९१८ मा विश्व खाद्य संगठनले प्रकाशित गरेको खाना र खेतीपातीको भविष्य: वैकल्पिक मार्गचित्र, २०५० नामक प्रतिवेदनमा जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेका प्रभावको आँकलन गर्दै भनिएको छ, ‘निरन्तर घट्दो प्राकृतिक स्रोत, जलवायु परिवर्तनको प्रभाव र असरले भविष्यमा मानव जातिको खानाको बन्दोबस्त गर्न अहिलेको खेती प्रणालीमा ठुलो परिवर्तन गर्नुपर्ने भएको छ’।
यसरी हेर्दा खनिज स्रोत, कृत्रिम रसायन र विषादीको जथाभाबी प्रयोग गर्न उक्साउने विषाक्त खेती प्रणाली नै खाद्य, जलवायु र स्वास्थ्य संकटको मूल कारण हो भन्ने कुरा स्वीकार गर्नैपर्छ। नत्र हाम्रो कृषि सप्रिँदैन। विविधतायुक्त खाने संस्कृति हराएसँगै भोकमरीको भाष्य थोपरिएको हो। नाफाका लागि प्रकृतिको दोहन गर्न जल जगंल र जमिनको लुछाचुँडी भएको हो। यान्त्रिक ज्ञानले उक्साएको उपनिवेशी सत्ताले थोपरेका मिथ्या मानकहरूका पछि लागेर नै हाम्रो भूगोलको कृषि ओरालो लागेको हो।
जैविक विविधता, स्रोतमा प्रचुरता र प्रकृतिसम्मत उत्पादनको हाम्रो भूभागको विशेषतालाई बेवास्ता गर्छ। यस्तो सोचले सयौँ वर्षदेखि अपनाउँदै आएको खेती संस्कृतिलाई उन्नत बनाउन छोडेर बाहिरको राम्रो भन्ने सपना बाँड्छ। यतिमा मात्र यो सीमित छैन। भ्रमको खेतीको फेहरिस्त लामो छ। हाम्रो शरीरमा विष पचाउने प्रणाली छ, त्यसैले अलिअलि विष खाएर केही फरक पर्दैन, औषधिले ठिक पार्छ। नेपालमा अनिकाल र भोकमरी थियो, अहिले खाद्य अभाव छ। सबैले पेटभरि पोषिलो खाना खान पाउँदैनन्। त्यस्तै, माटोले रसायन र प्रांगारिक मल भनेर छुट्याउँदैन। रोग तथा किरा नियन्त्रणको भ्रम उस्तै छ। रोग र किरा नियन्त्रणका नाममा पैसा तिरेर विष खाने र पैसै तिरेर यसको उपचार गर्ने काम सँगसँगै भइरहेको छ। यसरी हेर्दा विष र औषधी जुम्ल्याहा नाफाखोरका हतियार भएका छन् ।
यी कटु वास्तविकता आत्मसात् गरेर मात्र खेतीपातीले बिराएको बाटो फेर्ने दृष्टिकोणको बहस शुरू हुन्छ।
मूलतः हाम्रा पूर्वजले परिष्कृत गरेको प्रकृतिसम्मत खेतीपाती प्रणालीका मूलभूत सिद्धान्त र मान्यतामा आधारित भएर मात्र खेतीपाती उन्नत बनाउन सकिन्छ। खेतीपाती प्रकृतिसम्मत प्रणाली हो र खेतीपाती गर्न किसान विवेकपूर्ण हुनु आवश्यक छ भन्ने हेक्का राख्न जरुरी छ। अर्को कुरा, प्रकृति नै सहकार्य र दक्षताको सबैभन्दा ठुलो उदाहरण हो। प्रकृतिमा सबैले मिलेर काम गर्छन् र सबै व्यवहार एकीकृत प्रणालीको रूपमा व्यवस्थित भएको हुन्छ। खेतीपातीलाई घरपालुवा बनाएदेखि मानिसले अपनाउँदै आएको एकीकृत मिश्रित खेतीपाती प्रणाली यसको एउटा सानो उदाहरण मात्र हो। यस्तो खेतीले प्रजातिहरूको अन्तरनिर्भरता र सहअस्तित्वको उपयोगबाट ऊर्जा, पोषण र आहार चक्रको बन्दोबस्त मिलाइएको हुन्छ। यो नै सहकार्यको अनुपम उदाहरणसमेत हो।
यस्तो खेतीमा हामीलाई चाहिने उत्पादनका लागि विविधताको अधिकतम उपयोग गरिन्छ। यो प्रणालीमा सबै तह, वर्ग र क्षेत्रका प्रजातिको गुणात्मक समीकरण मिलाइएको हुन्छ, जुन अहिलेको एकल खेतीपातीभन्दा बढी उत्पादनशील हुन्छ। सँगै, प्रकृतिको पुर्नउत्पादन चक्रजस्तै खेतीपातीलाई सकेसम्म सानो घेरामा सीमित गर्ने कुरा उत्तिकै मननयोग्य छ। प्रकृतिका सबै चलायमान जीवले खाना सकेसम्म सानो उर्जाचक्रमा व्यवस्थित गरेका हुन्छन्। यो प्रकृतिको दिगो उपयोग गर्ने नियम समेत हो।
यो कुरालाई प्रकृति र समाजको अन्तरसम्बन्धको वृहद् चित्रमा हेरिनुपर्छ। यसर्थमा हाम्रो खेतीपातीको मार्गचित्र हाम्रै विशेषता आधारित हुनुपर्छ भने यसलाई बाह्य प्रकृति र समाजको अन्तर्सम्बन्धको एक इकाईको रूपमा लिनुपर्छ। यस्तो प्रणालीले मात्र विश्वव्यापी रूपमै संकटग्रस्त बन्दै गएको माटो र मानव स्वास्थ्य जटिलता, जलवायु परिवर्तन र वातावरणीय ह्रासजस्ता अहिलेका मूल समस्याहरू सम्बोधन गर्न सम्भव हुन्छ।
अन्त्यमा, जापानी खेतीपातीका अभियन्ता मनासुबु फुकोआकाले भनेझैं खेतीपाती भनेको नाफाका लागि अन्नपात वा बस्तुभाउ उब्जाउने वा हुर्काउने कुरा मात्र होइन, यो मानवको पूर्णता तर्फको यात्रा हो। यी आधारभूत कुरामा बुझ पचाएर वा भ्रम पालेर यो यात्रा तय गर्न सकिँदैन।
(प्राकृतिक स्रोतको समाजशास्त्रमा पीएचडी गरेका पौडैल खानका लागि खेतीपातीका अभियन्ता हुन्। उकालोको विचार खण्डमा प्रकाशित सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
