Wednesday, October 16, 2024

-->

कृषि पर्यटन: जाग्ने र लाग्ने हो भने गजब हुन्छ

कृषि पर्यटनलाई हामीले प्रवर्द्धन र प्रचार गर्ने हो भने हाम्रा पुराना परिकार र सत्कार पनि ब्युँतिनेछन्। खेतीपातीलाई बेकाम ठानेर विदेश जानेहरू पनि बिस्तारै देश फर्किनेछन्।

कृषि पर्यटन जाग्ने र लाग्ने हो भने गजब हुन्छ

नयाँ ठाउँ हेर्न, त्यहाँका अनौठा, ऐतिहासिक, पुरातात्त्विक तथा विशेष महत्त्वका प्राकृतिक, धार्मिक, सांस्कृतिक सम्पदाको मजा लिन/दर्शन गर्न घरबाट एक दिनभन्दा बढीको समय लिएर कतै जाने कर्मलाई पर्यटन भनिन्छ। त्यसरी घुम्ने व्यक्तिलाई पर्यटक भनिन्छ। समयसँगै पर्यटनका आयाम बदलिँदै छन्: साहसिक पर्यटन, शैक्षिक पर्यटन, स्वास्थ्य पर्यटन, धार्मिक पर्यटन, वातावरणीय पर्यटन, 'सपिङ पर्यटन' आदि। त्यसमध्ये कृषि पर्यटन पनि एक हो। नेपाल बहुभाषिक र बहुसांस्कृतिक मुलुकसमेत भएकाले यहाँ खानामासमेत विविधता छन्। ठाउँ र समुदाय अनुसारका फलफूल, अनाज र परिकार छन्। त्यसो हुँदा नेपालमा खाना पर्यटनलाई कृषि पर्यटनका रूपमा अघि बढाउन र 'मार्केटिङ' गर्न सम्भव छ। 

पर्यटकलाई स्थानीयले आफ्नै घरबारीमा फलेका फल या तयार पारेका मौलिक परिकार पर्यटकलाई खुवाउनुका अनेकन् लाभ छन्। एउटा त पर्यटकले त्यस क्षेत्रको बासिन्दाको रूपमा आफूलाई अनुभूत गर्न सक्छ। गाउँ छाडेर शहर पसेका कतिपयले 'नस्टाल्जिक' महसुस गर्न सक्छन्। स्थानीयसँग पर्यटकहरूको नियमित घुलमिलले सांस्कृतिक अन्तरघुलन र स्वीकार्यता पनि बढ्ने भयो। सँगसँगै, खेतबारीमा फलेका अनाज थलोमै या घरदैलोमा पर्यटकलाई बेच्न पाउँदा कृषकले पनि बिचौलियाको धेरै मार खेप्नु पर्दैन। ताजा खाना र खुवाउन पाइयो।  

खुल्ला आकाशबीच कुनै परिकार खान पाउनु या कृषि कर्म गर्न पाउनुको मजा बेग्लै हुन्छ। ख्याल राख्नुपर्ने कुरा छ कि कृषिसँग जोडिएका सबै पाटोसँग कृषि पर्यटन जोडिन सक्छ। खेतीको मौसममा पर्यटक स्वयंलाई कृषिकर्ममै सहभागी गराउन सकिन्छ। रोपाइँको याममा रोपाइँमै, फलफूल या बाली टिप्ने बेला सोही कर्ममा सहभागी बनाएर पर्यटकलाई मजा दिलाउन सकिन्छ। यसमा स्थानीय गीतसंगीत र मौलिक संस्कृति जोड्न सके झनै राम्रो। 

बढ्दो 'आधुनिकता'सँगै हामी आफ्नो परिवारको सानो चौकोठामा थुनिएका छौँ। गाउँघर र देहातले समेत यस्तो स्वभाव बिस्तारै ग्रहण गर्दै छ। तर कृषि पर्यटनलाई हामीले प्रवर्द्धन र प्रचार गर्ने हो भने हाम्रा पुराना परिकार र सत्कार परम्परा पनि ब्युँतनेछन्। खेतीपातीलाई बेकाम ठानेर विदेश जानेहरू पनि बिस्तारै देश फर्कनेछन् र घर आँगनमै कमाइ उपलब्ध हुनेछ। 

नेपालको विकासका आयामहरू

जलविद्युत, पर्यटन र कृषिमार्फत नेपालको आर्थिक रूपान्तरण सम्भव छ। हामीसँग ८३ हजार मेगावाट जलविद्युत क्षमता  छ। हामीले यदि भोलिका दिनमा सबै क्षमता उपयोग गर्दै बिजुली उत्पादन गर्ने हो भने त्यसको अत्यन्तै थोरै प्रतिसतले मात्रै नेपालको उपभोक्तालाई पुग्छ। तर तत्कालका लागि हाम्रो जलक्षमताअनुसार बिजुली उत्पादन गर्न अर्बौँ लाग्छ। लगानी जुटाउन पनि भने जति सहज पक्कै नहोला। 

तर पर्यटनमा भने उति धेरै झमेला हुँदैन। कम लगानीमा पनि पर्यटन सम्भव छ, किनभने पहिले नै हामीसँग मठ, मन्दिर, गुम्बा, वनजंगगल, वन्यजन्तु, संस्कृतिलगायतका पुँजी छन्। आवश्यक छ, थोरै क्रियाशीलता र सृजनशीलता। छनलाई नेपालमा केही शहर र बजार पर्यटकीय स्थानका रूपमा चिनिएका छन्, तर सबैतिर पूर्वाधार विकास भएका छैनन्। त्यस खालका व्यवस्थित र आरामदायी पर्यटनका लागि पनि प्रशस्त लगानी आवश्यक पर्छ। 

कृषि पर्यटन नै किन?  
सन् २०१७ को आँकडा अनुसार चार महिना (मध्य जुलाईदेखि मध्य नोभेम्बर) मा नेपालीहरू पर्यटकका रूपमा विदेश गएर झन्डै २५.३५ अर्ब डलर खर्च गरेको पाइयो भने विदेशी पर्यटक नेपालमा आएर २२.७२ अर्ब डलर मात्रै खर्च गरे। कोरोनाको विपत‍्पछि आर्थिक संकट हुँदासमेत नेपालीले विदेश भ्रमणमा १ खर्ब १९ अर्ब नेपाली रुपैयाँ बराबर सके भने विदेशीले नेपालमा जम्मा ५८ अर्ब मात्रै खर्च गरे।

यी तथ्यांकबाट नेपालमा विदेशीले खर्च गर्ने रकमभन्दा नेपालीले विदेश गएर धेरै रकम खर्च गर्दो रहेछन् भन्ने बुझिन्छ। यसरी नेपालमा पर्यटक भित्र्याउन भन्दा विदेश गएर खर्च गर्ने नेपालीलाई रोक्न सक्नु उचित हुन्छ। यसबाट नेपालको अर्बौं रुपैयाँ विदेश जानबाट रोक्न सकिन्छ। यसका लागि कृषि–पर्यटन नै सबैभन्दा राम्रो विकल्प हुन सक्छ, यसले आन्तरिक तथा बाह्य पर्यटक दुवैलाई बढाउँछ। कृषि क्षेत्रमा बिचौलियाको प्रभाव कम गर्छ र रोजगारी सिर्जना गर्छ। 

कृषि पर्यटनका लागि पनि सहज बाटोघाटो हुन आवश्यक छन्, तर महँगो पूर्वाधारको माग यसले उति गर्दैन। अर्को कुरा, भर्खरै जारी भएको कृषि गणनाअनुसार नेपालको ६२ प्रतिशत कृषक परिवार छन्। यति धेरै कृषक भएका देशमा कृषि पर्यटन उति असहज कुरा पनि भएन। उसो त देशका कतिपय क्षेत्रमा 'होमस्टे' अहिले पनि सञ्चालित छ। 

विश्वको जनसंख्याको झन्डै आधि जति जनसंख्या ओगटेको चीन र भारत हाम्रो छिमेकी मुलुक हुनु पनि हाम्रा लागि पर्यटनमा अवसर हो। भारतसँग खुला सिमाना भएका कारण भारतका बढी भन्दा बढी पर्यटक नेपाल भित्र्याउन सकिन्छ।  तर भारत र चीनको कुल जनसंख्याको ०.०१ प्रतिशत नै झन्डै २ करोड हुन जान्छ। वर्ष भरी त्यति मात्रै पर्यटक ल्याउन सक्दा पनि  हामीलाई मनग्य हुन्छ। देश समृद्धिको बाटोमा लाग्छ। 

त्यसमाथि, शहर बजारमा थाकेका मानिसहरू तथा बाइक चालकहरूलाई पनि कृषि पर्यटन सुस्ताउने र गाउँ/देहात बिर्साउने थलो हुनसक्छ। उसो त अहिले मोटरसाइकल शहरी क्षेत्रका हर घरमा छन्। सामान्य मोटर बाटो देशको प्राय: सबै क्षेत्रमा पुगेको छ। मोटर साइकल चालकका लागि पनि कृषि पर्यटनले केही बेर सुस्ताउने अवसर दिन्छ।  

तराईमा धेरै गर्मी हुन्छ, गर्मी छल्नका लागि नदीको बगर र पोखरी राम्रा ठाउँ हुन्। यस्ता उपयोग नभएका जमिनलाई स्थानीय निकायले भाडामा लगाएर पनि पर्यटक आकर्षणका लागि प्रयोग गर्न सकिन्छ। नदी तथा पोखरी वरिपरि खेती गरी उब्जेका अनाज र फलफूल पर्यटकलाई खुवाउन सकिन्छ। नदी तथा पोखरी वरपर खेती गर्नाले सिँचाइको राम्रो व्यवस्था भई बाली पनि राम्ररी सप्रन्छ। 

तराई हुँदै बाह्रमासै बग्ने तराईका नदीमा बाग्मती, कोशी, नारायणी र कर्णाली आदी हुन। यी नदीले बर्सेनि हजारौँ बिघा जमिन कटानी गरी कृषियोग्य जमिन नास गरे पनि वर्षाबाहेकका याममा यिनलाई पर्यटक आकर्षित गर्न प्रयोग गर्न सकिन्छ। नदी वरपर खेर गइरहेको हजारौँ बिघा जमिनलाई अस्थायी रूपमा टहरा आदि निर्माण गरी पर्यटक निम्त्याउन सम्भव छ। बगरमा केरा खेती सम्भव छ। एक सिजनमा फल्ने ताजा अनाज वा फलफूलका अनेक परिकार बनाउन सम्भव छ। फरक फरक परिकार खुवाएर एउटा पर्यटकको बसाइँलाई १० दिनसम्म  बनाउन सम्भव छ।

पछिल्लो पटक कृषि पर्यटकका रूपमा कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, नवलपरासी, चितवन तथा रौतहट,बारा र झापा रहेका छन्। यी जिल्लामा कतिपय कृषकले खेतमै उत्पादित उपजको विभिन्न परिकार बनाएर खुवाउने गर्छन्। कैलाली जिल्लाको टिकापुरमा कालु हमालले सञ्चालन गरेको बनाना रेस्टुरेन्टमा केराबाट मात्रै ३० भन्दा बढी परिकार बन्छन्। रौतहटको दुर्गा भगवती गाउँपालिका तथा ईशनाथ नगरपालिकामा पनि बनाना रिसोर्ट रहेका छन्, जहाँ केराका ३० भन्दा बढी परिकारको स्वाद लिन सकिन्छ। ट्राउट माछा खानकै लागि धेरै काठमाडौँ उपत्यकावासी नुवाकोटको ककनी, रानीपौवा र ३५ किलो क्षेत्र जाने गर्छन्। यस्ता धेरै उदाहरण हुन सक्छन्। 

अवसर र रोजगारीको खोजीमा गाउँ–ठाउँ र परिवारसमेत छाडेर नेपाली युवा विदेसिन बाध्य छन्। कृषि पर्यटनलाई राम्रो अध्ययन र गृहकार्य गरेर स्थापित गर्न सबै स्थानीय सरकार र नागरिक लाग्ने हो भने मुलुक र नागरिकको कायापलट हुनेछ। तर त्यसका लागि हामी जागेर मात्रै हुँदैन, कम्मर कसेर लाग्नुपर्छ। 


कृषि विज्ञानमा स्नातक गिरी स्वयं रौतहटको दुर्गा भगवती गाउँपालिकामा कृषि पर्यटन कर्ममा संलग्न छन्।


सम्बन्धित सामग्री