शहरी सडकमा नयाँ प्रविधि र पैदल यात्रीबीचको द्वन्द्व

सरोकारवाला निकायले सडक प्रयोगकर्तालाई प्रविधिको कुशल प्रयोगबारे व्यापक जानकारी दिनु जरुरी छ। नत्र सडकमा जोडिएका प्रविधिमा गरेको खर्चको प्रभाव खासै रहँदैन। बरु दुर्घटना बढाउन योगदान गर्छ।

सडक सुरक्षाका आयाममध्ये प्रविधिको प्रयोगलाई महत्त्वपूर्ण रूपमा लिइन्छ। विश्वमा पहिलो पटक सन् १९०९ मा जर्मनीले ट्राफिक नियम शुरू गरेको थियो र १९३४ मा शहरी सडकमा ६० किलोमिटर प्रतिघण्टाको गति पनि सीमित गरिएको थियो। सडकलाई सुरक्षित पार्ने सिलसिलामा बेलायतले पहिलो पटक ‘पेडेस्ट्रियन क्रसिङ’ (पैदलयात्रीले बाटो काट्ने ठाउँ) निर्माण थालेको थियो। विभिन्न विकसित देशमा सडक सवारीसम्बन्धी उच्चतम प्रविधिको प्रयोग सन् १९७० तिरै शुरू भइसकेको थियो।

ती राष्ट्रले सुरक्षात्मक प्रविधिको प्रयोगसँगै सडक प्रयोगकर्तालाई यसबारे प्रशिक्षण र जनचेतना दिए, दिने गर्छन्। सरोकारवाला निकाय परिचालन गरी सडक सुरक्षाका उपाय र तिनको प्रयोगबारे सुसूचित गराउँछन्। त्यस्ता देशले सडक सुरक्षालाई मानिसको जीवन र मरणसँग जोडिएको समस्याका रूपमा आत्मसात् गरेको पाइन्छ। सडक प्रयोगकर्ताका लागि राज्यसंयन्त्र नै लागेर सुसूचित गराउने गरेका कारण ती देशमा सडक अनुशासनको व्यापक पालना हुने भयो। फलस्वरूप ती राष्ट्रले सडक दुर्घटनालाई धेरै हदसम्म न्यूनीकरण गरी धेरै मानिसलाई चोटपटक, अंगभंग र अकाल मृत्युको मुखबाट बचाउन सफल भए।

नेपालमा ढिलै भए पनि सडक सुरक्षालाई प्रविधिसँग जोड्न खोजिएको छ। हालसालै काठमाडौँका ३३ सामुदायिक र निजी विद्यालय र तीन वटा अस्पतालअगाडिको सडकमा पेडेस्ट्रियन क्रसिङ (पेलिकन) प्रणाली जडान गरिएको छ। सडकमा जडान गरिएका पेलिकनलाई ठूलै महत्त्व दिई सडक सुरक्षाका लागि धेरै ठूलो काम गरिएझैँ प्रचार भइरहेको छ। हामीले प्रयोगमा ल्याएका प्रविधिको प्रचारप्रसार पक्कै गर्नुपर्छ, तर यसमा कुन कुरा प्राथमिकतासाथ प्रचारप्रसार गर्ने भन्नेले धेरै महत्त्व राख्छ। के–कस्ता प्रविधि प्रयोगमा आएका छन् भन्नेभन्दा बढी ती प्रविधिको उचित प्रयोग कसरी गर्ने भन्नेबारे बृहत् रूपमा सडक प्रयोगकर्ता र समुदायमा प्रचारप्रसार आवश्यक छ।

यो पनि: जेब्रा क्रसिङबाट ८ लेन सडक पार गर्न १५ सेकेन्ड, बीचमा पुगेपछि फस्छन् पैदलयात्री (भिडियो कथा)

हामीहरू एक हिसाबले अहिल्यै चुकिसकेका छौँ, किनकि सडकमा प्रविधि जोड्नुसँगै सडक प्रयोगकर्तालाई उचित रूपमा त्यसको प्रयोगबारे सुसूचित गर्न सकेका छैनौँ। त्रास के छ भने, पैदलयात्रीले उचित प्रयोग गर्न नजानेकै कारण पेलिकन भएको स्थानमै धेरै दुर्घटना हुने देखिन्छ। केही दिनअघिसम्म सडकमा यस्ता प्रविधिको प्रयोग नगरेका सडक प्रयोगकर्ता भोलिपल्ट नै पेलिकनको प्रयोग गर्न अभ्यस्त नहुन सक्छन्।

सडक प्रयोगकर्ताको मनमस्तिष्कले लिनेगरी यस्तो प्रविधिबारे हामीले पहिल्यै व्यापक रूपमा बताएका छैनौँ। अहिले हाम्रो सडकमा प्राय: सवारीसाधन चालकले केही हदसम्म यो बत्ती प्रयोग गरेको देखिन्छ, तर पैदलयात्रीको हकमा भने नगण्य मात्रामा प्रयोग भइरहेको छ। पेलिकनमा रातो मान्छेजस्तो बत्ती संकेत बल्दै गर्दा गाडी हुइँकेर अगाडि जाने र हरियो मान्छेजस्तो बत्ती संकेत बल्दा रोकिने गरेका छन्। तर पैदलयात्रीले भने पेलिकनमा बलेको रातो मान्छेजस्तो बत्ती-संकेतलाई खासै महत्त्व दिएका छैनन्।

सडक सुरक्षाका अध्येताका हिसाबले सडकमा जडान गरिएका यस्ता पेलिकन कसरी सञ्चालन भएका छन् भनेर जान्न प्रविधि जोडिएका ठाउँमा गएँ। त्यसबाट थाहा भयो कि पैदलयात्रीले यी पेलिकनले मार्गदर्शन गरेबमोजिम सडक प्रयोग गरिरहेका छैनन्। सडकमा राखिएको यो प्रविधि प्रयोग नगर्ने व्यक्तिका उमेरसमूह हेर्दा खासै भिन्नता देखिएन। हरेक उमेरसमूहका व्यक्तिले पैदलयात्री सुरक्षाका लागि बनाइएको पेलिकनको महत्त्वबारे नबुझेको वा यसलाई बेवास्ता गरेको प्रस्टै देखियो।

उक्त पेलिकनमा 'पख्नुस् न हरियो बत्ती बलेपछि मात्र  बाटो काट्नूस्' भन्दा प्रायजसोले 'हतार छ के नै हुन्छ र?' वा 'अगाडिको मान्छे त गएको छ, बाटो खाली छ' भन्नेजस्ता उत्तर दिए। केहीले भने हाँसेर टारिदिए। तर सडक प्रयोगकर्तालाई राम्ररी सम्झाएको अवस्थामा भने केही युवाले हरियो बत्तीलाई कुर्दै बाटो काटे। त्यसबाट बुझियो–हाम्रा पैदलयात्री सडकमा जडान गरिएको प्रविधिबारे सुसूचित छैनन् र यहाँ बलेका रातो र हरियो बत्तीको खासै वास्ता गर्दैनन्। अर्कोतर्फ, यस्ता पेलिकनमा सवारीसाधन भने हरियो बल्दा रोकिने र रातो बल्दा हुइँकिने गरेको देखियो।

फलस्वरूप, प्रविधि जडान हुनुभन्दा पहिले बाटो काट्ने पैदलयात्री हेर्दै सवारीसाधन चलाउनेले अब पेलिकन राखिसकेपछि बत्ती हेरेर चलाउने गरेको देखियो। तर पैदलयात्रीले पेलिकनको खासै वास्ता गरेको देखिएन। प्रविधि र सडक प्रयोगकर्ताबीच तालमेल नमिलेको यो अवस्थालाई प्रविधि र सडक प्रयोगकर्ता बीचको द्वन्द्वका रूपमा पनि लिन सकिन्छ। झनै दुःखको कुरा, पेलिकन नभएको समयमा भन्दा पनि पेलिकन भएपछि पैदलयात्री सडक दुर्घटनामा पर्ने जोखिम उच्च देखियो।

यो द्वन्द्वको अवस्था निवारण गर्न सरोकारवाला निकायले सडक प्रयोगकर्तालाई प्रविधिको कुशल प्रयोगबारे व्यापक जानकारी दिनु जरुरी छ। नत्र भने हाम्रा सडकमा जोडिएका प्रविधिमा गरेको खर्चको प्रभाव खासै केही रहँदैन। बरु दुर्घटना बढाउन योगदान गर्छ। 

यसैले हामीले प्रयोगमा ल्याएका सडक सुरक्षा प्रविधिबारे समुदाय, विद्यालय र कलेजमा बृहत् प्रचारप्रसार आवश्यक छ। अटेर गरे कडा कारबाहीको व्यवस्था र त्यस व्यवस्थाबारे व्यापक रूपमा पूर्वसूचना आवश्यक छ। पेलिकन जोडिएका स्थानमा ट्राफिक प्रहरी, स्वयंसेवक र अन्य इच्छुक नागरिकलाई तुरुन्त परिचालन गरी व्यापक रूपमा सडक प्रयोगकर्तालाई सचेत गरी यस प्रविधिको प्रयोग गर्न बाध्य गर्नुपर्ने देखिन्छ। यस्ता प्रविधिको प्रयोगले अवश्य नै हामी सडक प्रयोगकर्ता सडक दुर्घटनामा परी चोटपटक, अंगभंग र अकाल मृत्युबाट बच्न सक्छौँ। के बुझ्नुपर्छ भने सडक दुर्घटना न्यूनीकरण गर्न सकिने समस्या हो र प्रभावकारी न्यूनीकरणको प्रयास आजको आवश्यकता हो।

(सेढाईं सडक सुरक्षा अभियन्ता हुनुहुन्छ।)