पृथ्वीनारायण शाहलाई चिन्न जरुरी छ

हामीले पढ्ने, सुन्ने अधिकांश आलेख, अभिलेख र विश्लेषणहरूको समस्या कहाँ छ भने पृथ्वीनारायण शाहलाई नायक मान्नेले उनका ‘सीमा’लाई छुनै नखोज्ने र सुन्नै नखोज्ने।

विक्रम संवत् १८३१ माघ १ गते ५२ वर्षका पृथ्वीनारायण शाह बितेको दिन। त्यसयता ठ्याक्कै २५० वर्ष बितेछन्।

२०५५ मा नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानले प्रकाशित गरेको ज्ञानमणि नेपालको ’नेपालनिरूपण नामको किताबलाई आधार मान्दा नेपालमा इतिहास लेखन प्रारम्भ भएको १५ सय वर्ष भए छ। त्यो हिसाबले पृथ्वीनारायण शाह र उनको कालखण्डमा जोडिएका यावत् घटना वृत्तान्त निकै कलिला इतिहास हुन्। ऐतिहासिक दस्ताबेजको उपलब्धता, संग्रह अन्वेषण र सम्यक् विश्लेषणका हिसाबले विगत १ हजार ५०० वर्षयताको इतिहास त के कुरा, पछिल्लो अढाई तीन सय वर्ष यताकै इतिहासकै संरचना नै ’निम्छरो-निम्छरो छ।

विगत छिचोल्ने निकै सीमित सन्दर्भ सामग्रीका बाबजुद महेशराज पन्तलाई उनको हालै प्रकाशित किताब 'पृथ्वीनारायण शाह: नायक, प्रतिनायक अनि नायकदेशीय'मार्फत सम्यक् र वस्तुपरक अन्वेषकका रूपमा पढ्न पाइन्छ।

आधुनिक नेपालका शासकहरूमा सबैभन्दा शक्तिशाली छवि पृथ्वीनारायण शाहको बनेको छ, तर एकीकरण अभियानयता शासकीय शैलीका सन्दर्भमा उनको शक्ति र सीमालाई सन्तुलित तरिकाले केलाउने काम कम भयो। बरु श्रुति परम्परा र दन्त्यकथा शैलीमा उनलाई नायक वा प्रतिनायक बनाउने क्रम चलिरह्यो।

आफ्ना बाबु (पूर्वाधिकारी) नरभूपाल शाहबाट विरासतमा प्राप्त गरेको गोरखा राज्यमा मात्र सन्तुष्ट भएनन् पृथ्वीनारायण। पृथ्वीनारायणको राज्यकालमा पूर्वमा तिस्टा नदीसम्म फैलिएको नेपालको सिमानालाई त्यसपछिका शासक र भारदारहरूले पश्चिममा सतलज नदीसम्म फैलाए। यसको अर्थ हो पृथ्वीनारायण शाह प्रस्ट रूपमा राजनीतिक चेतबाट अभिप्रेरित थिए र त भूगोल एकीकरणको कष्टकर र दूरगामी मोर्चामा हिँडे। पृथ्वीनारायण शाहको अगुवाइमा सानासाना ‘भुरे टाकुरे’ राज्यहरूलाई ‘रणकौशल’ र ’राजनीतिक’ चतुर्‍याइँका साथ लपेटेर गठिलो नेपाल राष्ट्रको निर्माण भयो। यद्यपि, पृथ्वीनारायण शाहको शासनकालमा चलेको एकीकरण अभियानबाट केही वर्ग र जाति विशेषको स्वार्थ र स्वाभिमानमा हानी पुगेको उत्तिकै ऐतिहासिक तथ्य हो।

हामीले पढ्ने, सुन्ने अधिकांश आलेख, अभिलेख र विश्लेषणहरूको समस्या कहाँ छ भने शाहलाई नायक मान्नेले उनका ’सीमाहरू’लाई छुनै नखोज्ने र सुन्नै नखोज्ने। शाहलाई नरुचाउनेहरूले तर्क-कुतर्क, तथ्य-मिथ्याको प्रवाह नगरी विस्तारवादी आँखाले हेर्ने र लुटेरा शैलीका लहडी शासक हुन् भन्दै उनको शासकीय क्षमतालाई अवमूल्यन गरे। यस्तो प्रवृत्ति ज्यादातर खासगरी नेपालमा गणतन्त्र आएपछि मौलायो। ऐतिहासिक महेशराज पन्तको यो किताबले पृथ्वीनारायण शाहको ऐतिहासिकता माथिको यस्तो 'गज्याङमज्याङ'लाई तथ्यसहित खण्डन गरेको छ।

शाहवंशीय शासकहरूप्रति महेशराज पन्तको धारणा सापेक्ष हुने गर्छ भनेर कतिपय टिप्पणीकर्ता बेलाबखत भन्ने गर्छन्। किताब पढ्दै गर्दा त्यस्ता टिप्पणीको वजन रहँदैन। पन्तले यस किताबमार्फत ‘पृथ्वीनारायण शाहकै कामले गर्दा नेपाल राष्ट्रको पुनरोदय भएको हो’ भन्ने निचोडलाई थप पुट दिएका छन्। समग्रमा पुस्तकलाई सम्यक् समीक्षाका रूपमा लिन सकिन्छ।

शाहले शुरू गरेको एकीकरण अभियानको समीक्षा गर्ने सन्दर्भमा 'काठमाडौँ खाल्डो आसपासका तामाङ, नेवारलगायत विविध जातजातिले आफ्नो राज्य पृथ्वीनारायणले गर्दा गुमाउनु पर्‍यो' भन्ने टिप्पणी सुन्न पाइन्छ।

पहिलो त, ती राज्यहरू थिए वा थिएनन् भन्नेमै प्रामाणिक मतैक्य छैन। दोस्रो, यहाँ ती जातजातिको राज्य थियो नै भने पनि पृथ्वीनारायणले शुरू गरेको राज्य विस्तारको दौरान पकडमा नलिएकै भए पनि ती राज्यहरू आजसम्म स्वतन्त्र रूपमा रहन सक्थेनन् भन्ने तर्क बलियो छ। त्यो बेलाको सामरिक अवस्था मूल्याङ्कन गर्दै इतिहास नियाल्नेहरूको तर्कलाई आधार मान्दा ती राज्यहरू अस्तित्वमा नै थिए भने पनि र पृथ्वीनारायण शाहले हमला नगरी स्वतन्त्र छोडिदिएको भए तत्कालीन समयमा शक्तिशाली बन्दै गएको अंग्रेज साम्राज्यको कोपभाजनमा पर्थे सायद।

एकै छिन्, पृथ्वीनारायणलाई 'नायकत्व' वा लाभको नजरबाट नहेरी शंकाकै कोणबाट हेरौँ। मानौँ, पृथ्वीनारायणको शुरूआती महत्त्वकांक्षा आफ्नो विरासतको सानो गोरखा राज्य विस्तार गर्ने मात्र हुँदो हो, तर समय क्रमसँगै पृथ्वीनारायणको राज्य विस्तारको सामान्य आकांक्षा कालान्तरमा नेपाल एकीकरणको सेतु त बन्यो नै।

इतिहासको यही कडीलाई चुरो बनाएर बहस गर्ने हो भने शाह 'प्रतिनायक' भएनन्। र, महेशराज पन्तको यो किताबले पनि त्यही भन्छ, तर उ बेलाको समयमा पुगेर सोच्दा पृथ्वीनारायणको एकीकरण अभियानबाट प्रताडित वर्ग पनि अवश्य थियो।

इतिहास उत्खननसम्बन्धी किताब पढ्दा यो कुरा मनमा आइहाल्छ। पृथ्वीनारायण र उनको कालमा चलेको एकीकरण अभियानमा सिर्जित 'नायक' र 'प्रतिनायक' चरित्रलाई हेर्ने दृष्टिकोण बनाउने सवालमा यो किताबमा महेशराज पन्तले पक्ष धरताको कुरा गरेका छैनन्। जस्तो, पृथ्वीनारायणले काठमाडौँ उपत्यका ओगट्ने क्रममा कीर्तिपुरे जनताको नाक कान काटेको कुरामा अर्का अन्वेषक, महेशराज पन्तकै अनुज दिनेशराज पन्तले आफू नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ रहेकै बखत भनेको सुन्न पाइन्थ्यो, 'धार्नीको हिसाब नगरौँ, कीर्तिपुरको लडाइँमा नाक कान काटिएकै हो।'

यो  पनि: पृथ्वीनारायण शाहको पिताको मृत्युमा जब सेवक पुरुष सती गए

दिनेशराजले त्यसो भन्नुमा सायद आफ्नो अध्ययनको विस्तृत पेटबोली फुकाउनेको हतारो मात्र थियो। नाककान काटिएकै सन्दर्भ पुष्टि गर्न महेशराजले स्वयं दिनेशराजकै कैयौँ अध्ययनहरूलाई सन्दर्भ सामग्रीका रूपमा लिएका छन्। यसरी हेर्दा पृथ्वीनारायण शाहबारे कुरा गर्दा पन्तत्रय; नयराज, महेशराज र दिनेशराजलाई नपढी सम्भवै छैन।

धार्नी-धार्नी नाककान काटिएको कुरा ऐतिहासिक तथ्यका रूपमा भन्दा 'मिथक'का रूपमा ज्यादा सामान्यीकरण हुने हो कि भन्ने जोखिमलाई छेक्न सक्ने गरी महेशराज पन्तले कम्तीमा ६ वटा दृष्टान्त दिई विश्लेषण गरेका छन्। र, नाककान काटिएको तथ्य स्थापित गराएका छन्।

त्यसो हुँदा 'प्रेम र युद्धमा सबै कुरा जायज हुन्छ' भन्ने भाष्य टेकेर पृथ्वीनारायणलाई 'नायक' बनाउने चक्करमा पन्त रूढ छैनन्। बरु भनेका छन् 'अहिलेको दृष्टिले हेर्दा पृथ्वीनारायण शाहको यस काम (नाककान काट्ने) लाई राम्रो भन्न कदापि सकिँदैन। तर जुनसुकै कामको विषयमा परीक्षा गर्दा तात्कालिक देश, काल र स्थितिको सन्दर्भ पनि हेर्नुपर्छ।'

साथसाथै इतिहासको उक्त घाउ (घटना)लाई जोडेर, कोट्याएर नुनचुक छर्कन खोज्ने स्वार्थकेन्द्रित पाश्चात्य तथा देशभित्रका 'बखेडावादी'लाई महेशराजले जयचन्द्र विद्यालंकारजस्ताका भारतीय ऐतिहासिक सन्दर्भ सामग्रीको पोयो समातेर संयुक्त चाबुक चलाएका छन्।

'के पृथ्वीनारायण शाहको उपदेश नक्कली हो?' इतिहासको यो पेचिलो प्रश्न हो र यस किताबभित्रको पठनीय हिस्सा पनि हो।

पृथ्वीनारायणको उपदेशको प्रामाणिकताको कुरा गर्दा, उपदेशको मूल प्रति १९८२ सालमा कोलटोलका भक्तबहादुरबाट पहिलो पटक बखतमानसिंह बस्न्यातले प्राप्त गरेको कुरा खुलस्त रूपमा दस्ताबेजमा सामेल गर्न इतिहास शिरोमणि कहलिएका बाबुराम आचार्यजस्ता ऐतिहासिकले किन कन्जुस्याइँ गरे होलान्? पृथ्वीनारायणका उपदेशलाई 'उपदेश'कै रूपमा रहन नदिएर, 'दिव्य उपदेश', 'स्वर्णमय दिव्य उपदेश'को अतिशय उपमा थोपरेर किन चाकरी गर्नुपर्थ्यो होला?

उपत्यका विजयपश्चात् पनि काठमाडौँका द्मौभाजु र पृथ्वीनारायणको मिल्ती हुन नसकेको प्रसंगको विश्लेषणदेखि प्रचलित पुस २७ (पृथ्वीनारायणको जन्म जयन्ती) र असोज १५ (गोर्खाली फौजले नुवाकोटमाथि जितेको दिन) 'नेपाल एकीकरण दिवस' हो? यस्ता प्रसंगको तथ्यपरक फेहरिस्त पढ्दै गर्दा किताब गठिलो लाग्छ।

पृथ्वीनारायणलाई 'शाहजहाँ' मानेर तारिफ मात्र गर्ने एउटा परम्परागत तप्का र पृथ्वीनारायणमा विस्तारवादी र खलनायकी चरित्र मात्र देख्ने अर्को अतिवादी खेमा, यी दुवै पक्षका लागि यो किताब रुचिकर नहुन सक्छ, किनकि किताबमा अतिरञ्जना छैन, तथ्य छ।

यो पनि: डेढ दशकअघि भत्काइन्थ्यो, अहिले धमाधम ठड्याइँदै पृथ्वीनारायणका शालिक

त्यसो त यो किताबभित्रका सामग्री महेशराज पन्तले २०२९ देखि २०७६ सम्म पृथ्वीनारायण शाहबारे लेखेका किस्ताबन्दी आलेखको सँगालो हो। विधागत हिसाबले त्यसै त इतिहास निरस विषय हो, अझ त्यसमाथि फरक–फरक पत्रपत्रिकामा छापिएका र छरिएका सामग्री खोज्न र पढ्न पाठकका लागि झन्झटिलो हुन्थ्यो। पाठकको त्यही समस्या बुझेर शायद प्रकाशक पब्लिकेसन नेपालयले महेशराज पन्तका ती महत्त्वपूर्ण एघार ऐतिहासिक आलेखलाई किताबको रूपमा प्रकाशन गरेको हो।

पृथ्वीनारायण शाहबारे ऐतिहासिक अनुशीलन गर्ने, लेख्ने र छाप्ने काम १९९२ मा सूर्यविक्रम (किताबमा सूर्य्य विक्रम छ) ज्ञवालीको पालाबाट थालनी भएको रहेछ। त्यसयता बाबुराम आचार्य, नयराज पन्त, लुड्विग स्टिलर, गौतमवज्र बज्राचार्य, धनवज्र बज्राचार्य, योगी नरहरिनाथ, ज्ञानमणि नेपाल, महेशराज पन्त, दिनेशराज पन्तसम्म आइपुग्दा पृथ्वीनारायण शाहबारे महेशराज पन्तकै शब्दमा ‘चपाइसकेको कुरा नै फेरि चपाएर तयार पारिएका हुन्‘ भनिए पनि यो किताबमा महेशराज पन्त खल्लो छैनन्।

इतिहास चेतका हिसाबले हाम्रो विचार यति बिघ्न अस्थिर छ कि सकारात्मक वा नकारात्मक पाखो जता पनि तुरुन्तै ‘पानीढलो’ बनेर बगिहाल्न सक्ने। सन्निकट विगत फर्केर हेरौँ। २०६२/६३ को जनआन्दोलनपछि यस्तो हावा चल्यो–पृथ्वीनारायण शाहको सालिक देख्नै भएन। भत्काउने, फोर्ने क्रम शुरू भयो।

सिंहदरबार अघिल्तिर, नुवाकोट र पोखरामा मात्र होइन, पृथ्वीनारायणकै जन्मथलो गोरखामा समेत उनको सालिक तोडफोड गर्दै आक्रोश पोख्ने काम भयो। गणतन्त्र आएको १० वर्ष पुग्दा नपुग्दै फेरि पृथ्वीनारायण शाहकै ठूलाठूला कदका सालिक स्थापना र पुनर्निर्माणको होड चल्न थाल्यो। यस्तो हुनुको अन्तर्य हामीमा निहित इतिहास चेतको निम्छरोपन हो।

पृथ्वीनारायणका नाममा सालिक जोड्नेवाला हुन् वा सालिक तोड्नेवाला, पृथ्वीजयन्तीमा सार्वजनिक बिदा खोज्नेवाला हुन् वा खोस्नेवाला ती सबैका लागि यो किताबले विरेचनको काम गर्न सक्छ।