धुलिखेलस्थित देवीस्थान पार्कमा २०७७ फागुन २९ गते १७ फिट अग्लो पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक तयार भयो। यसलाई अहिलेसम्म बनेकामध्ये पृथ्वीनारायणको सबैभन्दा अग्लो शालिक मानिएको छ।
काठमाडौँ– गोरखाको ठूलो आँगन मासेर पृथ्वीनारायण शाहको नयाँ शालिक राखियो। यसको छेवैमा गोरखा संग्रहालयभित्र पृथ्वीनारायणकै अर्को शालिक पनि छ। १०० मिटरको फरकमा एकै व्यक्तिको शालिक किन चाहियो? गोरखा बजारको अर्को डाँडामा बनाए हुन्थ्यो नि। पुरातत्त्व क्षेत्र मास्न गोरखा नगरपालिका नै किनअघि सरेको?
सन्तोष भट्टराईले हालै तस्वीरसहित ट्विट गरे। गोरखाका स्थानीय तथा पेशाले पत्रकार भट्टराईमा पृथ्वीनारायण शाहको शालिक आफ्नो क्षेत्रमा थपिनुभन्दा पनि पुरातात्विक क्षेत्र मासिनुको चिन्ता देखिन्थ्यो।
केही समययता राजमार्ग, डाँडा, पार्क, सामुदायिक तथा निजी संस्थाका परिसरमा पनि पृथ्वीनारायणका शालिक अनावरण गर्ने क्रम तीव्र छ। २०७९ मंसिर १२ गते झापाको कनकाई नगरपालिकाले ७२औँ प्रजातन्त्र दिवसको अवसरमा नगरपालिकाको प्रवेशद्वारमा पृथ्वीनारायणको पूर्ण कदको शालिक अनावरण गर्यो।

राष्ट्रिय विभूतिको सम्मानस्वरूप सात फिट पाँच इन्च अग्लो शालिक बनाइएको नगरप्रमुख राजेन्द्रकुमार पोखरेल बताउँछन्। उनका अनुसार शालिक बनाउन ११ लाख रुपैयाँ खर्च भएको छ।
त्यस्तै, गत वर्ष पुस २७ गते सुर्खेतको बयलकाँडा गढीस्थित सेनाको पश्चिम कमान्डमा पनि पृथ्वीनारायणको शालिक अनावरण गरिएको थियो। २०७७ असार २१ गते सेनाले नै महेन्द्रनगरको भरतपुरस्थित २५ नम्बर बाहिनी मूल गेटमा उनकै शालिक अनावरण भएको छ।
धुलिखेलस्थित देवीस्थान पार्कमा २०७७ फागुन २९ गते १७ फिट अग्लो पृथ्वीनारायणको पूर्ण कदको शालिक तयार भयो। पृथ्वीनारायणको हालसम्मकै अग्लो मानिएको यो शालिकको लागत १५ लाख रुपैयाँ भएको बताइएको छ।
शालिक निर्माणको यो लहर २०७४ असोज ८ गते चन्द्रागिरिको डाँडामा पृथ्वीनारायणको शालिक अनावरण भएपछि शुरू भएको चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहको अनुमान छ। “शालिक तोडफोडको क्रम भंग भए पनि निर्माणको क्रम शुरू भएको थिएन”, उनले भने, “हामीले ठड्याएपछि देशव्यापी लहर आयो।”

शाहका अनुसार चन्द्रागिरि हिल्स लिमिटेडले भने पृथ्वीनारायणसँग चन्द्रागिरि प्रत्यक्ष सम्बन्धित भएको कारण शालिक बनाएको थियो। नुवाकोट जितेर आएका पृथ्वीनारायणले चन्द्रागिरिको डाँडाबाट पहिलोपटक काठमाडौँ उपत्यकालाई नियालेको कथनअनुसार नै यस क्षेत्रको ऐतिहासिक महत्त्व दर्साउन शालिक निर्माण गरिएको उनी बताउँछन्।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट अनावरण भएको शालिक अघिल्तिर आममानिसले फोटो खिच्छन् नै उच्चपदस्थ, नेतालगायतले पनि फोटो खिच्ने गरेको शाह सुनाउँछन्। “जस्तोसुकै राजनीतिक आस्था र सिद्धान्तका राजनीतिज्ञ भए पनि शालिकसामु सबैको सौहार्दता देखिने गर्छ”, उनी भन्छन्।
पाँच फिट आठ इन्चको पूर्ण कदको शालिकलाई मूर्तिकार नवीन सुवेदीले बनाएका थिए। यसपछि सिन्धुलीगढीमा राखिएको पृथ्वीनारायणको शालिक पनि उनैले बनाएका हुन्।
दोस्रो जनआन्दोलनमा तोडिए शालिक
२०६२/६३ को जनआन्दोलनपछि पृथ्वीनारायण शाहको शालिक भत्काउने, फोर्ने क्रम सुरु भएको थियो। पृथ्वीनारायणकै जन्मथलो गोरखामै पनि उनको शालिकमा आक्रोश पोखिएको थियो। त्यस्तै पोखरा, सिंहदरबार अघिल्तिर, नुवाकोटमा पनि शालिक फोरिए।

“त्यतिबेला एन्टी पृथ्वीनारायण शाह लहरै चलेको थियो”, इतिहास तथा संस्कृतिका अध्येता सुनिल उलक भन्छन्, “माओवादीभित्र पनि विशेषतः वाईसीएल यस्ता हर्कतमा उग्र थिए।” उनको बुझाइमा हाल पृथ्वीनारायणको शालिक बन्नु सांकेतिक विद्रोह वा राजनीतिक होडबाजी नभई वाईसीयलजस्ता ‘उग्र समूह’को अनुपस्थितिमा विकसित भएको घटनाक्रम हो।
“२०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले लिएको कदमले जनतालाई चिढ्याएको त हो” उनी भन्छन्, “तर जनमानसमा पृथ्वीनारायणकै शालिक भत्काउने गरी आक्रोश थिएन।” उनको भनाइमा वर्तमान परिस्थितिमा जो कोही बिना डर, त्रास आफ्नो लगाव, झुकाव अभिव्यक्ति दिन सक्ने कारण पनि शालिक निर्माणमा व्यक्ति, संस्था तथा सरकारी निकाय नै पनि अग्रसर हुन्।
इतिहासकार रमेश ढुंगेलका अनुसार, चन्द्रागिरिको डाँडाबाट उपत्यका नियाल्दा यहाँको राज्य जित्ने अभिलाषा उनमा जागेको थियो। “सामन्ती समाजमा अधिनायकवाद अवश्य चल्छ, यसो हुँदा राष्ट्र निर्माण उनको नितान्त व्यक्तिगत अभिलाषा भए पनि राष्ट्रनिर्माता भने मान्नै पर्छ”, उनी भन्छन्।

ऐतिहासिक रूपमा बनेका शालिक तोडफोड हुनु गलत भएको उनी बताउँछन्। चन्द्रागिरिजस्ता स्थानमा शालिक अनावरण गर्दा उक्त स्थानको ऐतिहासिक महत्त्व, परिवेशको अध्ययन, अनुसन्धान गरेर मात्र राख्नुपर्ने उनको भनाइ छ।
'शालिक सम्मान हो, यसले निरन्तरता पाउनुपर्छ'
शालिक निर्माणलाई सकारात्मक रूपमा लिनुपर्ने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ बताउँछन्। “विभिन्न देशमा आफ्नो देश निर्माताको शालिक बनाइँदैछ। विराट नेपाल दिने पृथ्वीनारायण शाहलाई देशले भने कहिल्यै सम्मान गर्न सकेको छैन”, श्रेष्ठ भन्छन्।
२०६२–०६३ को परिवर्तन पश्चात् मुलुकको गौरवशाली इतिहासलाई नै बदनाम गर्नेगरी राजा र राजसंस्था विरोधी क्रियाकलाप भएको उनको भनाइ छ। यद्यपि, यस्ता घटनाले लामो समय निरन्तरता नपाएको र जनताले पृथ्वीनारायणको महत्त्व बुझेको उनले बताए।

“जनताले महत्त्व बुझेको प्रतिक्रियास्वरूप बिग्रिएका, भत्किएका, तोडिएका शालिक स्थापना तथा नयाँ अनावरण हुन थाल्यो”, प्रवक्ता श्रेष्ठ भन्छन्, “राष्ट्र निर्माताको रूपमा देशका विभिन्न स्थानमा भइरहेको शालिक निर्माणले निरन्तरता पाउनुपर्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
