प्रमुख प्रशासकीय अधिकृत टिक्नै नसक्ने काठमाडौँ महानगरमा निरन्तर चलिरहेको अवस्था पछाडि जायज–नाजायज कामका लागि दबाब दिने मेयरको सचिवालय र सल्लाहकार टिमको प्रमुख भूमिका देखिन्छ।
काठमाडौँ– गत पुस ५ गते (शुक्रबारका दिन) काठमाडौँ महानगरपालिकाले पत्रकार सम्मेलन आयोजना गरिएको सूचना पठायो। बिरलै पत्रकार सम्मेलन गर्ने महानगरले औपचारिक सूचना नै पठाएपछि त्यहाँ पुग्दा महानगरका प्रवक्ता नवीन मानन्धर एउटा कागज बोकेर हतारिँदै आए। पत्रकार सम्मेलन भनिएको त्यो कार्यक्रममा उनले त्यही कागजमा समेटिएको ब्यहोरो पढ्नथाले, “..तर भवन निर्माणको नक्सा पास कागजातको अनुमति–पत्रमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको देखिन्छ। यस विषयमा थप छानबिन गरी नियम विपरीत कार्य गर्ने जो कसैलाई कानूनबमोजिम कारबाही प्रक्रियाका लागि सम्बन्धित निकायमा सिफारिस गरिन्छ।”
उनले यति पढेपछि खुल्यो, महानगरले आयोजना गरेको पत्रकार सम्मेलन प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कारबाही सिफारिस गरिएकोबारे जानकारी गराउन बोलाइएको रहेछ।
तर यसले गुरागाईंलाई भने खासै प्रभाव पारेन। आइतबार उनी नियमित समयमै कार्यालय हाजिर भए। अनौठो चाहिँ के भयो भने, त्यस दिन उनलाई कार्यालय प्रवेशमै रोक लगाइयो। उनको कार्यकक्षमा ताल्चा लगाइयो। अनि उनले प्रयोग गर्ने गाडीसमेत खोसियो।
गुरागाईंमाथि महानगरपालिकाबाट मापदण्ड विपरीत पुरानो बसपार्कस्थित काठमाडौँ टावरको नक्सा पास कागजातको अनुमति–पत्रमा आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृत गरेको आरोप लगाइएको छ। यो आरोप के हो भनेर बुझ्न हामीले गुरागाईंलाई सम्पर्क गर्यौँ।
उनले आफूले मापदण्ड मिचेर नाक्सा पासका लागि स्वीकृति दिने प्रश्नै नआउने बताए। बरु आफूमाथि नियोजित रूपमा कारबाही सिफारिस भएको बताए। उनको संकेत काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उनको टिमप्रति थियो।
“मकहाँ प्रक्रिया पूरा भएरै फाइल आएको हो, प्रक्रिया पूरा भएर आएको फाइल रोक्ने कुरा भएन, त्यही भएर मैले हस्ताक्षर गरेको हो,” गुरागाईंले भने, “तर किन हो खोइ, मलाई नियोजित रूपमा फसाउन खोजियो। अहिले धेरै नभनौँ, धेरै कुरा पछि खुल्दै जाला। अहिले त मिडियादेखि जनतासम्म सबै मेयरसाबकै पक्षमा छन्। यसै पनि म अहिले धेरै बोल्न मिल्दैन।”
कार्यालय प्रवेशमा रोक लगाइएपछि गुरागाईं बिदामा बसेका छन्। महानगरपालिकाले प्रशासनिक सल्लाहकार शंकर पाण्डेको नेतृत्वमा रहेको समितिलाई यो विषय छानबिन गर्ने जिम्मा दिएको छ। यसअघि उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको नेतृत्वमा समिति गठन भए पनि उनले राजीनामा दिएपछि पाण्डेलाई समितिको नेतृत्व दिइएको हो।
काठमाडौँ महानगरपालिकामा कर्मचारीमाथि लागेको यस्तो आरोप पहिलो भने होइन। बालेन मेयर निर्वाचित भएर आएयता महानगरका विभागीय प्रमुख तथा अन्य कर्मचारीसँग बालेन र उनको सचिवालयको ‘ट्युनिङ’ मिलेको देखिँदैन। यहीकारण महानगरका प्रशासनिक प्रमुख नै यहाँ टिक्दैनन्। के छ यसपछाडिको कारण?
३ वर्षमा ४ प्रशासकीय अधिकृत, तिनै पनि नटिक्दा निमित्तमाथि निमित्त
गत पुस ५ गते गुरागाईंमाथि कारबाही सिफारिस गरेपछि महानगरले निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी शिक्षा विभागका प्रमुख गोविन्द शर्मालाई दियो। तर उनी महानगरको प्रशासकीय प्रमुखको भूमिकामा तीन साता पनि टिक्न सकेनन्। टिक्न नसकेको मात्र होइन, उनले पुस २३ गते अवकाश हुन १५ महिना बाँकी अवधि छँदै राजीनामा दिएर हिँडे। त्यसबेला उनले निकटस्थलाई सुनाएका थिए, “यत्रो करिअरभरि विवादमा परिनँ। अब अवकाशमा जाने दिन नजिकिँदै जाँदा विवादमा पर्ने, जेल नै जान सक्ने खालको काम गराउन खोजियो। त्यो काम गर्नुभन्दा बरु राजीनामा दिन उपयुक्त ठानेँ।”
शर्माले राजीनामा त्यसबेला दिएका थिए जतिबेला काठमाडौँ महानगर प्रमुखविहीन थियो। किनभने मेयर बालेन कसैलाई कुनै सूचना नदिई श्रीमती र आफूनिकट रहेका सल्लाहकार सुनिल लम्सालसँग थाइल्यान्ड गएका थिए।
महानगरपालिकाको शिक्षा विभागमा कार्यरत एक कर्मचारीका अनुसार शर्मालाई प्रक्रिया नै पूरा नभएको फाइलमा हस्ताक्षर गर्न दबाब दिइएपछि उनले जागिर अवधि बाँकी रहँदै राजीनामा दिने निर्णय लिएका थिए। “उहाँले गलत काम गरेर अख्तियारको चपेटामा पर्नुभन्दा पहिल्यै राजीनामा दिएर अवकाशमा जानु ठीक हुन्छ भन्नुभयो,” ती कर्मचारीले भने।
तर शर्माको राजीनामा स्वीकृत भएन। उनी केही दिनपछि पुनः महानगरमा फर्किए। हामीले शर्मासँग राजीनामा दिनुपर्ने खालको के कारण आइलाग्यो भनेर सोधेका थियौँ। तर उनले अहिले त्यसबारे नबोल्ने, आफूले व्यक्तिगत कारणले राजीनामा दिएको बताए।
“मैले जुन कारणले राजीनामा दिएको थिएँ, त्यो सेटल भइसक्यो। त्यसैले राजीनामा फिर्ता लिएँ,” उनले भने।
राजीनामा फिर्ता लिए पनि शर्मा त्यसपछि प्रशासकीय प्रमुखमा अडेनन्। उनी अहिले बिदामा बसेका छन्। उनको ठाउँमा महानगरपालिकाले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी कृषि तथा पशुपक्षी विभाग प्रमुख रहेका नुरनिधि न्यौपानेलाई दिएको छ। महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले भने शर्मा बिदामा बसेकाले मात्र न्यौपानेलाई निमित्तको जिम्मेवारी दिइएको दाबी गरे। उनले शर्माबाट जिम्मेवारी खोसिनुको अन्य कारण नरहेको दाबीसमेत गरे।
“उहाँ अहिले पर्वत जानुभएको छ। आमा बिरामी भएको भनेर बिदा बस्नुभएको छ। ज्येष्ठताका हिसाबले उहाँपछि रहेकाले नै नुरनिधि सरलाई जिम्मेवारी दिइएको हो,” उनले भने।
अहिले निमित्तमाथि निमित्त थपिरहेका मेयर बालेनले आफू निर्वाचित भएर आएको तीन वर्ष नबित्दै चार जना प्रशासकीय अधिकृतसँग फेरिसकेका छन्। अहिले उनले पाँचौँ प्रशासकीय अधिकृत खोज्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएका छन्।
बालेन निर्वाचित भएर आउँदा काठमाडौँ महानगरमा लोकनाथ पौडेल प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए। करिब आठ महिना प्रशासकीय नेतृत्व गरेका उनी बालेन निर्वाचित भएर आएको तीन महिनापछि सरुवा भएका थिए।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनको ठाउँमा वसन्त अधिकारीलाई पठायो। अधिकारीलाई कर्मचारी नियुक्तिको विषयमा चलखेल गरेको आरोप लगाउँदै मेयर बालेनले ‘अघोषित निलम्बन’मा राखे। त्यही अवस्थामै उनको सरुवा भयो।
अधिकारीलाई मेयर बालेनले कार्यालय प्रवेशमै रोक लगाएका थिए। उनले चढ्ने गाडीसमेत खोसेका थिए। उनलाई लगाइएको आरोपमाथि छानबिन भइरहेका बेला दुई हप्ता बिदा बसेकै समयमा २०८० माघ ३ गतेको मन्त्रिपरिषद् बैठकले २९ जना सहसचिवको सरुवा गरेको थियो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावअनुसार सरुवा गरिएका सहसचिवमा अधिकारी पनि परेका थिए। उनलाई मधेशी आयोगमा पठाइएको थियो।
अधिकारी अहिले बारा जिल्लाको प्रमुख जिल्ला अधिकारी छन्।
अधिकारीपछि संघीय सरकारले महानगरको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारलाई सरुवा गरेर पठायो। परियार पनि करिब आठ महिनाको संक्षिप्त कार्यकाल पूरा गर्दै सरुवा भए। भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले परियारलाई महानगरबाट सरुवा गरेर सञ्चार मन्त्रालय पठायो।
परियारकै ठाउँमा सरुवा भएर गुरागाईं काठमाडौँ महानगर आएका हुन्।
महानगर चलाउने ‘सल्लाहकार टिम’
निजामती कर्मचारी वृत्तमा अहिले काठमाडौँ महानगरमा प्रमुख प्रशासकीय अधिकृत भएर कर्मचारी जानै नचाहने चर्चा सुनिन्छ। गएकाहरू पनि नटिक्ने अवस्थापछाडिको कारण चाहिँ के हो त? महानगरपालिकामा कार्यरत एक कर्मचारीका अनुसार मेयर बालेनको सल्लाहकार टिम त्यसको प्रमुख कारण हो।
“अहिले जुन प्रशासकीय अधिकृतवाला विवाद छ, यसमा मेयरका सल्लाहकारहरूको बदमासी प्रमुख कारण हो,” ती कर्मचारीले भने, “प्रायः बालेनजीको केही गुनासो रहेको सुनिँदैन वा थाहा हुँदैन। तर उहाँका सल्लाहकारहरूले यो भएन, त्यो भएन, यो गर्नुपर्यो, त्यो गर्नुपर्यो भन्दै जहिले किचकिच गर्छन्। नगरे शुरूमै सरुवाको धम्की दिन्छन्।”
महानगरमा विभागैपच्छे मेयर बालेनको सल्लाहकार टिम छ। जस्तो कि सुरक्षा र ट्राफिकतर्फका सबै कुरा जगतमान श्रेष्ठले हेर्छन्। सम्पदातर्फ यादवलाल कायस्थ, स्वास्थ्यतर्फ डा. जगदीश अग्रवाल र डा. विशाल भण्डारी, जलस्रोततर्फ दीपक ज्ञवाली, खाद्यतर्फ ‘सेफ’ सन्तोष साह, सचिवालय सल्लाहकारमा सुरेन्द्र बजगाईं, धीरज जोशी, नवराज खनाल र सस्मित पोखरेल छन्।
त्यस्तै, जनसम्पर्क परामर्शदातातर्फ अनुष्का श्रेष्ठ र कानूनतर्फ ओमप्रकाश अर्याल, शंकरप्रसाद पुडासैनी, कुमारी खरेल, दिना श्रेष्ठ र महेशकुमार नेपाल सल्लाहकार छन्।
महानगरका एक विभागीय प्रमुखका अनुसार अरू सल्लाहकारभन्दा मेयर बालेनका स्वकीय सचिव भूपदेव शाह, व्यवस्थापनतर्फका सल्लाहकार कुमार व्यञ्जनकार (कुमार वेन), पूर्वाधारतर्फका सल्लाहकार सुनिल लम्साल र फोहोरमैलातर्फका अर्जुन घिमिरेको नै बोलवाला चल्ने गर्छ। मेयर बालेनको ‘कोर टिम’ भनिने यो समूहमा सन्तोष पाण्डे र सुदीप पाठक पनि छन्। उनीहरूले प्रक्रियागत होस् या नहोस्, कर्मचारीलाई दबाब दिएर वा प्रभाव देखाएर जसरी पनि काम गर्न लगाउने गरेको ती विभागीय प्रमुख बताउँछन्।
“हामी सरकारका कर्मचारी हौँ। हामीले प्रक्रिया हेर्नुपर्छ। उनीहरू (सल्लाहकार) त आज छन् भोलि हुन्छन् कि हुँदैनन् थाहा हुँदैन। उनीहरू प्रक्रिया नै नपुगेका फाइलमा जबरजस्ती साइन गर भन्छन्,” उनले भने, “भोलि गलत भए अख्तियारले त हामीलाई नै हो समात्ने। अब यो कुरा बालेनसम्म पुग्दैपुग्दैन। हामी भन्न जाने हो भने एनिटाइम उनीहरू उनकै कोठामा हुन्छन्। खासमा बालेनसम्म महानगरको ६० प्रतिशत सूचना मात्रै पुग्छ। बाँकी उनीहरू पुग्नै दिँदैनन्।”
महानगरमा २४ वर्ष काम गरेका स्वास्थ्य विभागका पूर्वप्रमुख रामप्रसाद पौडेल पनि बालेनका सल्लाहकारहरूको अनावश्यक दबाबका कारण महानगरका कर्मचारीहरू त्रसित बनिरहेको बताउँछन्। उनका अनुसार सल्लाहकारका नाममा बालेनले कर्मचारी र प्रणाली बुझ्दै न बुझेकाहरूको समूह परिचालन गर्दा यस्तो अवस्था आएको हो।
“बालेन आफैले पनि कर्मचारी बुझ्न सकेका छैनन्। उनले कर्मचारीलाई दास ठान्छन्, मान्छे गन्दैनन्। आफैलाई सर्वेसर्वा सम्झिन्छन्,” पौडेलले भने, “तर अहिलेको समयमा कुनै कर्मचारी कसैको दासत्वमा बस्न सक्दैन। उनको हेपाहा प्रवृत्ति नसुध्रिएसम्म कर्मचारीसँगको तालमेल मिल्न सक्दैन।”
हामीले यसबारे बुझ्न मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहलाई सम्पर्क गर्यौँ। शाहले कर्मचारीहरूको काममा सल्लाहकारहरूले हस्तक्षेप गरेको कुराबारे आफू अनभिज्ञ रहेको दाबी गरे। “हामीलाई त्यस्तो कुनै सूचना छैन। यदि त्यस्तो हो भने प्रमाण दिनुपर्यो, हामी कारबाही गर्छौं,” उनले भने, “मलाई चाहिँ लाग्दैन कि त्यस्तो भएको होला।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
