एक जना व्यक्तिले पैसा समात्नोस् भने। 'हामी जागिर खान्छौँ, कोही आवश्यक पर्नेलाई दिनोस्' भन्दा पनि तिनले मानेनन्। यस्ता विषयले हामीलाई कति चोट पर्छ भन्नेबारे तिनलाई के मतलब? उनलाई 'धर्म' कमाउनु थियो।
‘सुन्नुहोस् न! वीर अस्पताल कता होला?’
हातमा सेतो छडी लिएर सडकमा हिँडिरहेका आँखा नदेख्ने व्यक्तिहरूले थाहा नपाएको वा भुलेको बाटो यसरी नै सोध्ने गर्छन्। जवाफमा कतिले ‘म पुर्याइदिन्छु’ भनेर गन्तव्यमा पुर्याइदिन्छन्, पनि। तर कतिपय मानिसले भने उसले टेकिरहेको सेतो छडी समातेर डोर्याउँछन्। अझ केहीले १०० मिटर अगाडि या तीन घरपर पनि भन्छन्। कोही फेरि अर्कै किसिमका सिधा, अगाडि, दायाँ बायाँ, ए एक छिन एक छिन भनेर निर्देशन दिने। ‘आउनोस् सँगै जाऊँ’ या ‘म सहयोग गर्छु’ भन्ने होइन। कतिचाहिँ वास्तै नगरी हिँडिदिन्छन्। दैनिक हिँडिरहने या बानी परेको बाटोबाहेक नयाँ ठाउँमा, बाटो भुलेको बेला आँखा नदेख्ने व्यक्तिले सधैँ झेल्ने समस्या हो यो। यस लेखमा दैनिक रूपमा यात्रा गर्दा, पैदल हिँड्दा आँखा नदेख्ने व्यक्तिले भोगेका केही तीतामीठा अनुभव बाँड्ने प्रयास गरिने छ।
म र मेरी श्रीमती, दुवै जना आँखा देख्दैनौँ। हामीलाई कार्यालय आउने र जाने प्रयोजनका निम्ति दिनहुँ गुर्जुधारादेखि सुनधारा सार्वजनिक बसमा आउजाउ गर्नुपर्छ। घरबाट मूल सडकमा निस्केर जब निकै कम आँखा देख्ने मेरी श्रीमती बस रोक्छिन्, ‘फोर्स’ भनिने साना बसले सेतो छडी देखेपछि प्रायः बस रोक्दैनन्। ती साना बस गन्तव्यमा केही छिटो पुग्ने हुँदा तिनमा निकै भिड त हुन्छ नै, यद्यपि अपांगता भएका व्यक्तिका निम्ति आरक्षण सिटको व्यवस्था पनि त गरिएको हुन्छ। हामी त्यसमा चढ्न त चाहन्छौँ तर सहचालक नहुने ती बसले न ‘यो र त्यो’ भन्दै ठाउँको नाम भन्छन् न हामी सजिलै चढ्न नै पाउँछौँ।
हुन त चन्द्रागिरि, ओमजनता यातायातलगायत केही सीमित बसका सहचालक छन्, जो हामीलाई कहाँ जाने भनेर सोध्छन् पनि। तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने विद्युतीय साझा बसले समेत कहिलेकाहीँ नरोकिदिँदा सरकारी भनिने ती साझा बसप्रति चित्त दुख्छ। कार्यालय सकेर घर फर्कँदा पनि पटक–पटक गुर्जुधारामै सवारीसाधन रोकिदिनोस् भन्दा ट्राफिक समस्या देखाएर या नसुनेको बहाना बनाएर हामीलाई गुर्जुधारा चोकमा पुर्याएर रोकिन्छ, जस कारण सडकपेटीविहीन त्यो अस्तव्यस्त सडकमा हामी जोखिम मोल्दै फर्कन बाध्य हुन्छौँ।
फेरि अघिकै कुरामा फर्किऊँ। जब सुनधारामा बस अडिन्छ, तब करिब २०० मिटर जति पर रहेको कार्यालय हिँडेर जान पनि हामीलाई कठिन युद्ध जितेसरह हुन्छ। कतै उकालो, कतै ओरालो, कतै खाल्डो त कतै खम्बा। हिउँदमै पनि हिलो हुने उक्त सडकपेटीमा आँखा देख्ने मानिसलाई त हिँड्न कठिन हुन्छ भने हामी त अपांगता भएका व्यक्ति हौँ। आँखा नदेख्ने व्यक्तिकै लागि भनेर प्रत्येक सडकपेटीमा खुट्टाले छुँदा महसुस हुने ‘ट्याकटाइल पाथवे’ निर्माण गरिएका छन्, तर त्यस्ता सहज बिन्दुलाई अवरोध गर्ने गरी कतै फूल रोपिएका हुन्छन्, कतै मोटरसाइकल र गाडीहरू रोकेर राखिएका हुन्छन् भने एक पटक भत्किएपछि वा भत्काएपछि शुरूकै जस्तो संरचना बनाउने अभ्यास हामीले कहिल्यै सिकेनौँ वा जानेनौँ।
कतिपय घटना यस्ता पनि छन्, जहाँ कार्यालयको पोसाकमा सजिएर आएका दृष्टिविहीन कर्मचारी सडकपेटीको हिलोमा गाडिएर जुत्ताभर हिलो बोकेर कार्यालय पुगेका छन्। अब कल्पना गरौँ, दिनहुँ घरघरमा गएर अगरबत्तीलगायत सामग्री बेचेर जीविकोपार्जन गर्ने साथीहरू कति पटक हिलोमा गाडिए होलान्? त्यसैले, आजभोलि हामीलाई पनि मौसम पूर्वानुमानको जानकारी अनिवार्य भएको छ। किनभने, पानी पर्ने दिन हामी जुत्ता लगाउँदैनौँ।
…
आजभोलि मानिसलाई फुर्सद छैन। हरेकलाई आ–आफ्नो गन्तव्य पुग्न साँच्चिकै हतारो छ। हो, हामीलाई पनि। तर भिडमा केही बिस्तारै र दायाँबायाँ को र कस्तो प्रकृतिको मानिस हिँडिरहेको छ भनेर ख्याल राखिदिने हो भने सायद मेरो सेतो छडीले पनि बाटो पाउँथ्यो कि? कम्तीमा यसले बाटो पायो भने मैले पनि बाटो पाउँछु। बाटोमा तपाईंले ख्याल नगरी हिँड्नुभएको बेला मेरो सेतो छडी बङ्गाइदिनुभएको छ। सेतो छडी त मेरो आँखा हो प्रिय सज्जनहरू, यसलाई केही भयो भने मेरो डेग चल्दैन।
म र अन्य साथीले पनि अनुभव गरेको अर्को तीतो घटना बाँड्छु। कार्यालयको पोसाकमा हामी टाइ र परिचयपत्रसमेत झुन्ड्याएर हिँडिरहेका हुन्छौँ। तर अधिकांशले पहिलो भेटमा नै सोध्ने प्रश्न हो, ‘कतिमा पढ्नुहुन्छ?’ ‘कुन विद्यालय पढ्नुहुन्छ?’ ‘विद्यालयको गाडी छैन?’ यसबाट हाम्रो समाजको सोच प्रतिबिम्बित हुन्छ। अझै पनि समाजले विश्वास गर्नै सकेको छैन कि अपांकता भएका व्यक्तिहरू जागिर गर्छन्। धन्न खुशी लाग्छ। कम्तीमा हामीलाई विद्यार्थीका रूपमा भए पनि स्विकारिदिनुभएको छ।
हामी बाटोमा एक्लै हिँड्दा केहीले सोध्छन्, ‘एक्लै हिँडेको! साथी छैन?’ प्रश्न त जायज लाग्छ नि हगी! हामी अवाक् हुन्छौँ। कतिपय अवस्थामा साथीको खाँचो हामीलाई पनि पर्छ। तर साथी भएको भए एक्लै हिँडिन्थ्यो होला त? अनि सधैँ मेरा निम्ति सँगै कोही हुँदा पनि त हुँदैनन्। र, अर्को कुरा के पनि सत्य हो भने यी सहजै समाधान गर्न सकिने किसिमका उल्झन हुन्थेनन् भने हामी हाम्रा धेरैजसो काम एक्लै गर्न सक्छौँ र सक्षम पनि छौँ।
कुरा २०८० पुस २ गतेको हो। सरकारी सेवामा प्रवेश गरेको दोस्रो दिन म र अर्का एक दृष्टिविहीन दाइ सुनधारास्थित आ–आफ्नो कार्यालयमा जान दाउरा डिपोबाट बस चढ्यौँ। कलंकी कटेदेखि नै बस अत्यधिक जाममा पर्यो। खासमा त्यस दिन त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह रहेछ, कार्यक्रममा प्रधानमन्त्रीसमेत सहभागी हुने कार्यक्रम रहेछ। बसचालकले टेकुभन्दा पर जान नसक्ने भन्दै सबैलाई झर्न आग्रह गरे। हामी पनि ओर्लियौँ। एकै छिन त्यहीँ अडियौँ र सहयोगका निम्ति आग्रह पनि गर्यौँ। केही सिप नलागेपछि लौ त हिँडौँ भनेर करिब दुई पाइला के सारेका थियौँ, एकाएक मैले कुकुरलाई कुल्चेछु। कुकुरले मलाई टोकिहाल्यो। म बेसरी रोएँ। शारीरिक दुखाइले भन्दा बढी ग्लानि यहाँको संरचना, कथनी र करणीमा ठूलो खाडल भएका संयन्त्र र तिनका प्रमुखहरूको प्रगतिले भयो।
म पुस १ गते निकै खुशी थिएँ, खुलातर्फ ८ नम्बरमा सिफारिस भएर सार्वजनिक सेवामा प्रवेश गर्न पाउँदा। तर कार्यालय जान र आउन यति धेरै हन्डर र ठक्करको सामना गर्नुपर्छ कि जटिल रूपमा सोच्ने हो भने निकै पीडा बोध हुन्छ। धन्न हामी शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रनजिकै रहेछौँ र सुई लगाएर करिब ११ बजे दुखाइ बोकेरै भए पनि म कार्यालय पुगेँ। त्यस उप्रान्त म हिँडेर कहीँ पुग्नुपर्यो भने मिनेट–मिनेटमा कोही न कोहीसँग अगाडि कुकुर छ कि भनेर सोधिरहन्छु। यो मेरो मात्र समस्या होइन, परीक्षा दिन जाँदा वा बाटामा अगरबत्ती बेच्दै हिँड्दा कुकुरले टोकेर एक्लै परेका धेरै आँखा नदेख्ने साथी छन्।
एकान्तकुना जान कालीमाटी चोकमा बस कुर्दै थियौँ। अचानक एक जना व्यक्तिले पैसा समात्नोस् भने। म र मेरी श्रीमतीले प्रतिकार गर्यौँ। हामी जागिर खान्छौँ, कोही आवश्यक पर्नेलाई दिनोस् भन्दा पनि ती व्यक्तिले मेरो इच्छाले दिएको लिइदिनोस् भनेर भनिरहे। अन्ततः मै निरीह बन्नुपर्यो। आज पनि मानिसहरू अपांगता भएको व्यक्तिलाई सहयोग गरेको बदलामा धर्म कमाउन चाहन्छन्। तिनलाई के मतलब, त्यसले हामीलाई कति चोट पुर्याउँछ वा कस्तो महसुस हुन्छ भनेर।
एकाध पटक काठमाडौँमा नै यात्रा गर्दा केही धर्म प्रचारकहरूलाई भेटेको छु, जसले परमेश्वरको शक्तिबारे मलाई 'ज्ञान' दिएका थिए। तिनका अनुसार परमेश्वरमा आँखाको ज्योति फर्काउन सक्ने शक्ति छ। मैले सुनिरहेँ र ठूलो प्रतिकार गरिनँ। मलाई थाहा छ– हजारौँ वर्षदेखि यस्ता अवैज्ञानिक धारणाहरू संसारमा टिकिरहेका छन्।
...
आजभोलि पठाओ, इन्ड्राइभजस्ता ‘राइड शेयरिङ प्लाटफर्म’ले अपांगता भएका व्यक्तिलाई धेरै सहयोग पुर्याएका छन्। प्रविधिमा अभ्यस्त हामी हाम्रा लागि आफैँ ‘राइड बुक’ गर्न सक्छौँ। केही खर्चिलो भए पनि पठाओ, इन्ड्राइभजस्तै माध्यमले हामीलाई समयमै सहज हिसाबले आवतजावत गर्न सघाउ पुर्याएका छन्। तर ‘राइडर’ले पनि सभ्य र मर्यादित व्यवहार गर्नु जरुरी छ। व्यवस्थित किसिमले सवारी चलाउने अनि अपांगता भएका व्यक्तिलाई सकेसम्म उनीहरूसँगै सोधेर भए पनि सहज व्यवहार गर्नुपर्छ।
राइड सेयरिङ प्लाटफर्मको कुरा गरिरहँदा हामी आँखा नदेख्ने व्यक्तिहरू अपरिचित बाटोमा कहाँबाट कहाँ पुगिन्छ वा अहिले कता छौँ भनेर थाहा पाउँदैनौँ। त्यसैले, नक्सा हेरेर हामीलाई अनुरोध गरेकै स्थानमा पुर्याइदिए सजिलो हुन्छ। कतिपय राइडर, ‘क्याप्टेन’ वा सार्वजनिक बसका चालक र सहचालकले हामीसँग भाडा लिन मान्नुहुन्न। हामीलाई तपाईंले भाडा नलिएर होइन, सही स्थानमा पुर्याइदिएर र मर्यादित व्यवहार गरेर सहयोग गरिदिनुभए हामी खुशी हुन्छौँ।
पठाओ, इन्ड्राइभलगायत राइड शेयरिङ प्लाटफर्ममा अपांगता भएका व्यक्तिलाई दुर्व्यवहार गरिएको या गर्न खोजिएको भनी बेलाबेला समाचार र गुनासा सुनिन्छन्। यसमा सम्बन्धित राइडर वा क्याप्टेन सजग र मर्यादित हुनु जरुरी छ भने सम्बन्धित कम्पनीको यात्रु सहायता कक्ष र नेपाल प्रहरीले पनि अपांगता भएका व्यक्तिबारे जानकारी दिने र यस्ता गम्भीर गुनासालाई समयमै सुनुवाइ गरेर दोषीलाई कारबाही गर्नुपर्छ।
काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीसाधनमा अभ्यास गरिएको सबैभन्दा राम्रो पक्ष आरक्षण सिट हो। महिला, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिले तोकिएको आरक्षण सिटको निर्बाध उपभोग गर्न पाउँछन्। यसले गर्दा अपवादबाहेक हामीले उभिएर कठिन यात्रा गर्नुपर्दैन। काठमाडौँबाहिर लामो र छोटो दूरीका यातायातमा यसको अभ्यास छैन, जसले गर्दा काठमाडौँबाहिर यात्रा गर्न झनै कठिन छ।
छोटो दूरीको यातायातमा अपांगता भएका व्यक्तिहरूका निम्ति ४५ प्रतिशत भाडा छुट गरिन्छ। लामो दूरीको यातायातमा भने टिकट काउन्टरबाटै टिकट काट्दा छुट पाइन्छ भनिएको भए तापनि व्यवहारमा यो लागू भएको पाइँदैन। विभिन्न वायुसेवा कम्पनीले आन्तरिक उडानमा अपांगता भएका व्यक्तिका निम्ति माथिल्लो भाडा दरमा, अझ ‘एयर फेयर’ मा मात्र ५० प्रतिशत छुट दिएका छन्, तर वायुसेवा प्रदायकले गरेको यो छुट व्यवस्था भने निकै अव्यावहारिक छ। किनभने 'सस्तो भाडा दर'मा अनलाइनबाटै टिकट काट्ने हो भने पनि उनीहरूले दिएको छुटपछिको मूल्यभन्दा सस्तो पर्न आउँछ।
...
उल्लिखित विषयमा समस्या, गुनासो र अप्ठ्यारा हजार छन्, तर बाटोमा हिँडिरहँदा चारपाँच कक्षामा पढ्ने साना नानीबाबुले सहयोग गरौँ भनेर सोध्दा या वृद्ध हजुरबुबा–हजुरआमाले बाटो कटाउन मदत गर्दा निकै खुशी लाग्छ। बाटोमै हिँड्दा साथी बनेका व्यक्तिहरू, निःस्वार्थ भावले बसमा आरक्षण सिटमा बस्न दिनोस् भनेर अनुरोध गरिदिने या आफैँ बसेको सिट छाडिदिने मनलाई भने हृदयदेखि आभार व्यक्त गर्छु।
आँखा नदेख्ने व्यक्तिका लागि हिँडडुल र यात्रालाई सहज बनाउने उद्देश्यले विश्वका विभिन्न देशले अपनाएका उत्कृष्ट अभ्यास र समाधान प्रभावकारी छन्। जापान, अमेरिका र अन्य विकसित देशका कतिपय शहरका रेल, मेट्रो स्टेसन, लिफ्टलगायतमा अडियो निर्देशन राखिएका हुन्छन्। आगमन र प्रस्थानबारे जानकारी अडियोमार्फत प्रदान गरिन्छ। सडकपेटी र सार्वजनिक स्थानमा अनिवार्य रूपमा ट्याक्टाइल पाथवे हुन्छ। यसबाट आँखा नदेख्ने व्यक्तिले सही दिशा पहिचान गर्न सक्छन्।
आजभोलि विभिन्न एपबाट पनि आफू रहेको स्थान, जानुपर्ने स्थान आदिबारे अडियामार्फत जानकारी लिन सकिन्छ। कतिपय विकसित देश र शहरमा बाटो काट्नसमेत अपांगतामैत्री प्रविधि जडान गरिएको छ। अडियो या भाइब्रेसनमार्फत रातो, पहेँलो र हरियो बत्तीको जानकारी पाइने हुँदा आँखा नदेख्ने व्यक्तिले समेत सहजै बाटो काट्न सक्छन्। उल्लिखित अभ्यासलाई हामी पनि अनुसरण गर्न सक्छौँ। ससाना सुधारले पनि अपांगता भएका व्यक्तिको जीवनशैलीमा सहजता ल्याउन मदत गर्छ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाका निम्ति बालेन्द्र शाहले प्रमुखका रूपमा उम्मेदवारी दिइसकेपश्चात् मैले एक कार्यक्रममा उनीसँग अन्तर्वार्ता लिने अवसर प्राप्त गरेँ भने अर्को कार्यक्रममा सहभागीका रूपमा उनलाई प्रश्न सोध्ने मौका पाएँ। अन्तर्वार्तालाई सुखद संयोगका रूपमा लिएको मैले आम जनचासो र उनले अन्य कार्यक्रममा सुनाएका योजनाबारे थप प्रस्ट पार्न अनुरोध गरेको थिएँ। जब पछिल्लो कार्यक्रममा मैले प्रश्न सोध्ने मौका पाएँ, मैले माथि उल्लेख गरेका सन्दर्भ (अव्यवस्थित सडक र अपांगता भएका व्यक्तिहरूले भोग्नुपरेका समस्या)मा केन्द्रित रहेर प्रश्न गरेको थिएँ, ‘तपाईंको भुईंमा हिँड्ने योजना के छ? मैले हाल बाचा गरेका योजना पूरा गर्नुभएन भने पाँच वर्षपछि सम्पूर्ण जनतासामु माफ माग्ने आँट राख्नुहुन्छ’ भनेर पनि सोधेको थिएँ। त्यति बेला उनले जवाफ दिएनन्।
सायद उम्मेदवार शाहले महानगर प्रमुख भएपछि भुईंमा हिँड्नुपर्छ भनेर सोचेका थिएनन् कि? म महानगर प्रमुख शाहले चालेका सकारात्मक कदम, उनको आँट र दृढताको सदा समर्थक हुँ। तर उनले आफ्नो कार्यकालमा हालसम्म पनि अपांगता क्षेत्रलाई न्याय गरेको मैले महसुस गरेको छैन। बरु, महानगर प्रहरीले सुन्दर र सफा सडकको नाममा सांगीतिक कार्यक्रम गर्दै गुजारा चलाउने हाम्रा दृष्टिविहीन साथीमाथि अभद्र व्यवहार गर्यो। न त तिनलाई वैकल्पिक रोजीरोटीको व्यवस्था गरियो, न तिनलाई प्रतिभा प्रस्फुटनका निम्ति स्थान नै प्रदान गरिएको छ। हुन त यस लेखमा प्रस्तुत गरिएका समस्या महानगर प्रमुख एक्लैले वा स्थानीय तहले गरेर मात्र समाधान हुन सक्तैनन्, तर बालेन्द्र नाम र महानगर प्रमुख मात्र होइनन्, उनी बिम्ब, प्रतिनिधि र हाम्रो पुस्ताले आशा र भरोसा गरेका व्यक्ति हुन्।
मैले सुरुवातमा उल्लेख गरेको थिएँ, हातमा सेतो छडी लिएर हिँड्ने व्यक्ति दृष्टिविहीन हुन्। बाटोमा उनीहरू अलमलिएजस्तो देख्नुभयो भने कम्तीमा तपाईंलाई केही सहयोगको आवश्यकता छ भनी सोध्नुहोस्। अपांगता एक अवस्था भए पनि यसका धेरै प्रकार र प्रकृति छन् भने व्यक्तिले यसलाई अवरोध वा अवसर जे पनि सम्झिएको हुनसक्छ।
त्यसैले, शिष्ट, सरल र पाच्य भाषा प्रयोग गरिदिनुहोस्। अर्को कुरा, यदि तपाईं कोही दृष्टिविहीन व्यक्तिलाई हिँडाउँदै हुनुहुन्छ भने ऊ स्वयंलाई समाउन लगाउनोस्। यदि मैले तपाईंलाई तपाईंको कुइनोभन्दा माथि समाएर तपाईंभन्दा केही पछाडि हिँडेँ भने म तपाईंको सारमा हिँड्न सक्छु। तपाईं उक्लिँदा उक्लन र तपाईं ओर्लँदा ओर्लन सजिलो हुन्छ मलाई। अन्त्यमा, आफ्ना साना छोराछोरी, भाइबहिनीलाई सानैदेखि अपांगताबारे जानकारी दिनुहोस्। तपाईं नीतिनिर्माण वा कार्यान्वयनको तहमा हुनुहुन्छ भने प्रत्येक नीति र कार्यक्रमले अपांगतालाई समेटेको छ या छैन भनेर नियाल्नुहोस्।
तपाईं र म एक्लै हिँड्न खोज्दा अलि छिटै पनि हिँडिएला, तर लामो यात्रा सहज रूपमा पार गर्न त सँगै नै हिँड्नुपर्छ नि, होइन र?
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
