Wednesday, February 12, 2025

-->

चीनबाहिर पनि फैलिँदै एचएमपी भाइरस, स्वास्थ्य मन्त्रालय भन्छ– नेपालका लागि नयाँ होइन

चीनलगायत केही मुलुकमा फैलिरहेको ह्युमन मेटान्युमो भाइरसले अर्को महामारीको रूप लिन सक्ने आशंका सामाजिक सञ्जालमा भइरहँदा विज्ञहरूले त्रसित हुन नपर्ने बताएका छन्।

चीनबाहिर पनि फैलिँदै एचएमपी भाइरस स्वास्थ्य मन्त्रालय भन्छ– नेपालका लागि नयाँ होइन

काठमाडौँ— चीनमा बालबालिकाहरूलाई रुघाखोकी, ज्वरो र घाँटी दुख्ने लक्षण देखिएपछि केही सातादेखि अस्पतालमा भिड बढेको छ। बालबालिकामा देखिएको लक्षण ‘ह्युमन मेटान्युमो भाइरस’ (एचएमपीभी) भएको चीन सरकारले पुष्टि गरेको छ। 

संक्रमण बढ्दै गएपछि चीनको रोग नियन्त्रण केन्द्रले मानिसहरूलाई स्वास्थ्य र सरसफाइका उपाय अपनाउन सचेत गराएको छ। चीनमा बढिरहेको संक्रमणले कोरोनाभाइरसजस्तै अर्काे महामारी फैलिने आशंका सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा गर्न थालिएको छ।

चीनपछि मलेसिया र भारतमा पनि एचएमपीभी संक्रमणको लक्षण भएका बिरामी भेटिएका छन्। भारतमा मंगलबार पहिलो संक्रमित भेटिएयता बिहीबार बिहानसम्ममा आठ जना पुगिसकेका छन्। यद्यपि, त्यहाँका स्वास्थ्यमन्त्री जेपी नड्डाले एचएमपीभी नयाँ भारस नभएको र यसबाट त्रसित नहुन आह्वान गरेका छन्। चिसो मौसममा संक्रमण बढिरहेको हुँदा यो भाइरसबाट जोगिने उपाय गर्न पनि उनले सर्वसाधारणलाई आग्रह गरेका छन्। 

भारतमा संक्रमितको संख्या बढ्दै जाँदा नेपालमा त्रसित नहुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आह्वान गरेको छ। मन्त्रालयले विज्ञप्ति जारी गरेर एचएमपीभी साधारण भाइरस भएको जनाउँदै भ्रामक हल्लाको पछि नलाग्न आग्रह गरेको छ।

मन्त्रालयको विज्ञप्तिमा जोडो महिनामा श्वासप्रश्वासजन्य संक्रमण बढ्नु स्वाभाविक मानिने र एचएमपीभी भाइरस नेपालमा पहिला पनि देखिइसकेको जनाइएको छ। “नेपालमा विगतमा पनि देखिएको साधारण रुघाखोकी उत्पन्न गराउने भाइरस हो,” विज्ञप्तिमा भनिएको छ, “जसको परीक्षण, निगरानी र प्रतिकार्यका लागि आवश्यक क्षमता र तयारी नेपालले गरिसकेको छ।”

के हो ह्युमन मेटान्युमो भाइरस?
अमेरिकी रोग नियन्त्रण र रोकथाम केन्द्रका अनुसार यो श्वासप्रश्वासमा समस्या हुने रोग हो। यो भाइरसको संक्रमणबाट ज्वरो आउने, रुघाखोकी लाग्ने, घाँटी दुख्ने हुन्छ।

यसको लक्षण मौसमी फ्लुसँग मिल्दोजुल्दो हुन्छ। त्यसैले अरू सामान्य जाडोको भाइरस र यो भाइरसलाई छुट्याउन गाह्रो हुने विशेषज्ञहरू बताउँछन्। यो भाइरस ‘न्युमोभिरिडे’ परिवारको जिनसँग मिल्दोजुल्दो हुन्छ।

हाल फैलिरहेको एचएमपीभी भाइरस पहिलो पटक सन् २००१ मा नेदरल्यान्डमा पत्ता लागेको थियो। यसले वृद्ध, बालबालिका र रोगसँग लड्न सक्ने क्षमता कम भएका मानिसमा ब्रोङ्काइटिस (फोक्सोमा हुने समस्या) वा निमोनियाको जोखिम हुन्छ।

यो भाइरस चिसो मौसममा बढी सक्रिय भएर गर्मी महिनाको मध्यसम्म रहन्छ। यो वर्ष चीनको उत्तरी क्षेत्रबाट यो भाइरस देखिएको छ। ठूलो संख्यामा बिरामीहरू अस्पताल भर्ना भए पनि चीन सरकारले स्वास्थ्य आपतकाल घोषणा गरेको छैन।

चीनले यसलाई जोखिमको रूपमा नलिएको जनाएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचआ)ले पनि यो भाइरसबारे हालसम्म कुनै विज्ञप्ति जारी गरेको छैन। 

अस्ट्रेलियाको फ्लिन्डर्स विश्वविद्यालयमा सार्वजनिक स्वास्थ्यकी वरिष्ठ अध्यापक डा. ज्याकलिन स्टिफेन्सले भनेकी छन्, “यो कोभिड–१९ वा इन्फ्लुएन्जाजस्तो ख्याल गर्नुपर्ने रोग होइन। यो सामान्य र धेरै मानिसहरूमा सजिलै सर्ने रोग हो। यसले हामीलाई केही दिन अस्वस्थ र त्रसित बनाउँछ। तर आराम गरे केही दिनमै ठीक हुन्छ।”

स्वस्थ मानिसमा यो समस्या एक सातासम्म मात्रै रहन्छ। तर बालबालिका, वृद्धवृद्धा र कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिमा बढी समयसम्म रहने सरुवा रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन्। समयमै उपचार नभए निमोनियाको जोखिम पनि रहने उनी बताउँछन्।

यद्यपि, मृत्यु हुने जोखिम न्यून रहेको डा. अधिकारी बताउँछन्। “विशेषगरी जाडोयाममा यो भाइरस देखा पर्छ। रुघाखोकी गराउने भाइरसहरूमध्येकै यो एक हो। त्यसैले निमोनियासम्म हुनसक्छ। तर मृत्यु हुने सम्भावना एकदम कम छ,” उनी भन्छन्।

यो भाइरसविरुद्ध कुनै पनि खोप वा एन्टिभाइरल छैन। तर केही उपाय अपनाएमा संक्रमण कम गर्न सकिने डा. अधिकारीको भनाइ छ।

नेपालमा के छ अवस्था?
नेपालमा हालसम्म यस भाइरसका बिरामी भेटिएको छैन। नेपालमा यो भाइरसको जाँच नहुने कारण पनि पहिचान नभएको हो।

डा. अधिकारीका अनुसार रुघाखोकीका लक्षण देखाउने १० भन्दा धेरै भाइरस छन्। यस्ता लक्षण लिएर अस्पताल पुग्ने बिरामीमा समान्यतः कोरोना र इन्फ्लुएन्जा भाइरस जाँच गरिन्छ। यदि दुवै भाइरस नभए ‘रेस्पेरेटेरी सिन्सिटिएल भाइरस’ जाँच हुन्छ।

जाँच नभए पनि नेपालले यो भाइरसको सामना गरिसकेकाले जोखिम नरहेको डा. अधिकारी बताउँछन्। “पटकपटक संक्रमण भइसकेको तर हामीले जाँच नगरेको भाइरस हो। संक्रमण भए पनि सामना गरिसकेकाले घातक छैन,” उनी भन्छन्, “यद्यपि, वृद्ध र रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई अलि समस्या हुन सक्छ।”

स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पनि यो भाइरसबाट गम्भीर समस्या देखिने जोखिम कम रहेको जनाइएको छ। तथापि, मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, अस्पतालहरू र प्रयोगशालाद्वारा निगरानी तथा सजगता बढाइएको पनि विज्ञप्तिमा उल्लेख छ।

संक्रमणबाट कसरी बच्ने?
विशेषज्ञका अनुसार यो भाइरस संक्रमित मानिसको संसर्गबाट, संक्रमितले हाँच्छ्युँ गर्दा, खोक्दा, चुम्बन गर्दा, संक्रमितसँग हात मिलाउँदा, अंकमाल गर्दा सर्न सक्छ। संक्रमित व्यक्तिको लत्ताकपडालगायत सामग्री प्रयोग गर्दा पनि सर्न सक्छ। “समान्यतः रुघाखोकी वा कोरोनाभाइरस जसरी फैलिन्छ, यो भाइरस सर्ने विधि पनि त्यही नै हो,” डा. अधिकारी भन्छन्।

विशेषज्ञहरूका अनुसार यसबाट बच्न मास्कको प्रयोग गर्ने, समय समयमा साबुनपानीले हात धोइरहने, सरसफाइमा ध्यान दिने गर्नुपर्छ। अनावश्यक बाहिर हिँडडुल नगर्ने र भिडभाडमा नजानु उत्तम हुन्छ। 

संक्रमित व्यक्तिले नाक र मुख राम्ररी छोपिने गरी मास्क लगाउने, हाँच्छ्युँ गर्दा वा खोक्दा कुहिनाले मुख राम्ररी छोप्ने गर्नुपर्छ। भाइरससँग लड्न सक्ने क्षमता बढाउने खानेकुरा, तातो झोलिलो, फलफूल खानुपर्छ। समस्या बढ्दै गए वा असहज भए अस्पताल जाने वा चिकित्सकको परामर्श लिनुपर्ने विशेषज्ञहरू सुझाउँछन्।


सम्बन्धित सामग्री