काठमाडौँ– त्यो दिन कक्षा ३ को दोस्रो त्रैमासिकको परीक्षा सकेर वर्षा कोइराला ठमेलस्थित घर आइ मात्र पुगेकी थिइन्। त्यही बेला टेलिफोनको घण्टी बज्यो। त्रिपुरेश्वरस्थित ‘मित्सुबिसी कर्पोरेसन’को कार्यालयबाट आएको फोनमा उनका बुवा बाबुकृष्णले भने, “बाहिर तनाव छ, कतै ननिस्कनू।”
फोन आएको १५ मिनेट नबित्दै बाहिर बन्दुक पड्कियो। झ्याल फुटाएर गोली कोठाभित्र पस्यो र वर्षाको छातीमा लाग्यो। त्यसपछि उनी कहिल्यै नउठ्ने गरी ढलिन्। उनको १३औँ जन्मदिन आउन जम्मा तीन दिन बाँकी थियो। (कान्तिपुर, २०५७ पुस ११)
यो घटना भएको २४ वर्ष बितेको छ। वर्षा बाँचिरहेको भए आज (पुस १४ गते) ३७औँ जन्मदिन मनाइरहेकी हुन्थिन्। तर एउटा ‘फेक’ खबर फैलिँदा मुलुक अशान्त भयो र वर्षासहित पाँच जनाले ज्यानै गुमाए। एक हजारभन्दा बढी घाइते भए।
बलिउड अभिनेता ऋतिक रोशनले टेलिभिजन च्यानल ‘स्टार प्लस’लाई दिएको अन्तर्वार्तामा ‘सबैभन्दा मन नपर्ने देश नेपाल र नेपाली हुन्’ भनेको झूटो हल्ला फैलिएको थियो। त्यही हल्लाका कारण २०५७ पुसमा काठमाडौँसहित देशका कतिपय शहरमा ‘नश्लीय दंगा’ भयो।
सबैभन्दा अशान्त काठमाडौँ नै थियो र एकपछि अर्को झडप भइरहेका थिए। अभिनेता ऋतिक रोशनको विरोधमा सबैभन्दा उग्र थिए विद्यार्थी संगठनहरू। विद्यार्थी संगठनका नेता ज्ञापनपत्र लिएर पुस ११ गते भारतीय दूतावासमै पुगेका थिए।
ज्ञापनपत्र बुझाएर फर्किने क्रममा विद्यार्थी र प्रहरीबीच लैनचोरमा भिडन्त भयो। त्यो दिन प्रहरीले २५० राउन्डभन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो, जसबाट १६ जना गम्भीर घाइते भएका थिए। घुम्न आएका कतिपय पर्यटक भिडन्तमा परेका थिए।
झडप लैनचौर र ठमेलमा मात्र सीमित थिएन, चाबहिलमा पनि यस्तै खालको घटना भयो। गोपीकृष्ण हल जलाउन भिड जम्मा भएपछि प्रहरीले २०० राउन्डभन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो।
प्रदर्शनकारीहरू चाबहिलसम्म पुग्नुको एक मात्र कारण थियो, गोपीकृष्ण मुभिजको एउटा स्क्रिनमा ऋतिक रोशन अभिनित ‘मिसन कश्मीर’ चलिरहेको थियो। त्यही दिन साँझ नेवि संघले विज्ञप्ति जारी गरी ऋतिक अभिनित कुनै चलचित्र नचलाउन चेतावनी दिएको थियो।
दंगाको पहिलो दिन पुस ११ गते गोली लागेर चार जनाको मृत्यु भयो। मृत्यु हुनेमा वर्षासहित १४ वर्षीय कर्मा लामा, गोविन्द नेपाल र केदार पराजुली थिए।
पुस १२ गते दंगा झनै फैलियो। त्यो दिन बिहानैदेखि भारतीय नागरिकको खोजीमा सडकमा वितण्डा मच्चाउदै हिँडेको भिडले भारतीय वा तिनले भारतीय ठहर्याएका जोसुकैलाई आक्रमण गर्न थाल्यो।
भिडका सहभागीले सडकमा हिँडिरहेका मधेशी, मुस्लिम, मारवाडी र उनीहरू चढेको गाडी तथा आवासमा आक्रमण गरे। ५० जनाभन्दा बढी भारतीय नागरिकलाई निर्घात पिटे। ५० भन्दा बढी घर र पसलका सिसा फुटाइदिए।
न्युरोडस्थित मारवाडी सेवा समितिमा मात्रै अलग–अलग समूहले २० पटकभन्दा बढी तोडफोड गरे। त्यस क्षेत्रका मारवाडीहरूको पसल पनि तोडफोड भए। बबरमहल, ठमेल, पुरानो बानेश्वर, नारायणगोपाल चोकलगायत स्थानमा आठ वटा निजी गाडीसहित दुई दर्जनभन्दा बढी सवारीसाधन तोडफोड गरिए।
चाबहिलमा पुस १२ गते गोली लागेर १९ वर्षीय रिन्जी शेर्पाको मृत्यु भयो, ३० प्रहरीसहित ८० जना घाइते भए। विभिन्न ठाउँबाट प्रहरीले ११६ जनालाई गिरफ्तार गरेको थियो।
भारतीय अभिनेता ऋतिक रोशनले नेपाल र नेपालीबारे बोलेको भनिएको पहिलो फेक समाचार चितवनबाट बाहिरिएको थियो। त्यहाँको स्थानीय पत्रिका ‘चितवन पोष्ट’मा भरतपुरको बालमन्दिर चोकमा केही युवाले ऋतिकको पुत्ला जलाएको समाचार प्रकाशित गरेपछि क्याम्पस र विद्यालयका विद्यार्थीले पनि आन्दोलन शुरू गरेका थिए।
ऋतिकले मंसिर २९ गते दिएको अन्तर्वार्ताको भोलिपल्टै शुक्रबार प्रकाशित चितवन पोष्टको समाचारमा भनिएको थियो, “स्टार प्लसको एक अन्तर्वार्ता कार्यक्रममा नेपाल र नेपालीविरूद्ध बोलेकाले बलिउडका नायक ऋतिक रोशनप्रति युवाहरू आक्रोशित भएका छन्। आक्रोशित युवाको एक समूहले गत मंगलबार दिउँसो बालमन्दिर चोकमा ऋतिकको पुत्ला जलाएका थिए। त्यस्तै, अन्य युवाहरू पनि ऋतिकका विरूद्ध आवाज उठाउने बताउँछन्।”
ऋतिक रोशनको अन्तर्वार्ता प्रसारण भएको बिहीबार (मंसिर २८) भनिए पनि चितवन पोष्टले अन्तर्वार्ताको दुई दिनअघि नै पुत्ला जलाएको समाचारमा लेखेको थियो। त्यस बेला चितवन पोष्टमा काम गर्ने एक पत्रकारका अनुसार ऋतिकको विरोधमा समाचार छपाउन कार्यालय आएका युवाको समूहलाई कुनै घटना नभई समाचार नबन्ने बताइएको थियो। त्यसपछि ती युवाहरू पुत्ला जलाएर समाचार छपाउन आइपुगेका थिए।
समाचार छापिएको विषयमा चितवन पोष्टका सम्पादक धर्मराज अर्यालले भनेका थिए, “हामीले घटना भएको समाचार छापेका हौँ, ऋतिकले बोलेका हुन् वा होइनन् थाहा छैन।” उनले आफ्नो घर भएको टोलमा पुत्ला जलाइएकाले पनि सद्भावना राख्दै समाचार छापेको बताएका थिए। (कान्तिपुर, २०५७ पुस १३ गते)
त्यति बेला अनेरास्ववियुका महासचिव खिमलाल भट्टराई, सचिव श्रीप्रसाद साह र महेन्द्र मोरङ क्याम्पस विराटनगरका अनेरास्ववियु नेता मीन आचार्यले पनि ऋतिकविरूद्ध विज्ञप्ति निकालेका थिए। तर उनीहरूले समेत ऋतिकले नेपाल र नेपालीबारे बोलेको अभिव्यक्ति आफैले भने नसुनेको बताएका थिए।
अभिनेता ऋतिकले भने नेपालमा भएका घटनाको कारणबारे आफू बेखबर रहेको बताएका थिए। कसैले निहित स्वार्थमा आफूविरूद्ध हल्ला फैलाएको उनको भनाइ थियो। “मैले नेपाल र यहाँका मानिस मन पर्दैन भनेर कुनै पनि टेलिभिजन च्यानललाई अन्तर्वार्ता दिएको छैन,” उनले भनेका थिए, “नेपालविरूद्ध लान्छनायुक्त अभिव्यक्ति दिएको भन्ने हल्ला छ, त्यसको भिडियो क्लिप वा लिखत देखाउन चुनौती दिन्छु।” (कान्तिपुर, २०५७ पुस १२)
आफूले भन्दै नभनेको कुरामाथि नेपालमा दंगा भड्किएपछि ऋतिक रोशनले २००० डिसेम्बर २७ (२०५७ पुस १२) मा नेपाललाई पनि भारतजत्तिकै प्रेम गर्ने बताए। उनले भनेका थिए, “म नेपाल र यहाँका जनतालाई त्यति नै प्रेम गर्छु, जति भारत र यहाँका मानिसलाई गर्छु। वास्तवमा, म सानैदेखि काठमाडौँ घुम्न जान चाहन्थेँ।”
तर नेपाल सरकारसमेत भिडको पछाडि दौडिएको थियो। त्यति बेलाका सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्ताले सञ्चारमाध्यमसँगको कुराकानीमा ऋतिकले माफी माग्नुपर्ने बताएका थिए। ऋतिकले नेपालीको भावनामा खेलबाड गरेको उनको भनाइ थियो।
त्यति बेला सरकारले हिन्दी फिल्ममा प्रतिबन्धसमेत लगायो। हिन्दी पत्रपत्रिका जलाइयो। सिनेमा हलहरू पुगेर भिडले हिन्दी फिल्म बन्द गराउन दबाब दियो। हिन्दी गीतका क्यासेट फुटाइयो। भारतीय फिल्म र कलाकारका पोस्टरसमेत च्यातियो।
प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि तत्कालीन उपप्रधानमन्त्री रामचन्द्र पौडेलले शान्त रहन अपिल गरेका थिए। उनको भनाइ थियो, “म शान्त रहन अपिल गर्छु, किनकि यस प्रकारका हिंसात्मक गतिविधिले राष्ट्रलाई नोक्सान पुर्याउँछ।”
यस हिंसात्मक घटनाको सबैभन्दा ठूलो असर नेपालका मधेशी समुदायमाथि पर्यो। त्यसमध्ये एक हुन्– सीके राउत। त्यति बेला उनी पुल्चोक क्याम्पसमा इन्जिनियरिङ स्नातक अन्तिम वर्षमा अध्ययनरत थिए। उनले आफ्नो पुस्तक ‘बैरागदेखि बचावसम्म’ मा भनेका छन्, “अनियन्त्रित व्यापक रंगभेदी आक्रमणले मेरो जीवनमा पीडादायक घाउ छाडेर गएको थियो र मानवतामाथि मेरो आस्था डगमगाएको थियो।”
राउतले लेखेअनुसार क्याम्पसमा समेत अपमान खेप्नु परेको थियो। सहपाठीहरू एकाएक उद्दण्ड भएको, कतिपयले दुर्व्यवहारसमेत गरेको उनले लेखेका छन्। क्यान्टिन, पुस्तकालय र कक्षामा रमाइलो गर्ने साथीहरूले उनलाई पराया देख्न थाले। आफ्नै साथीहरूबाट जोगिन मुस्किल पर्यो। उक्त घटनापश्चात एकजना प्राध्यापकले उनलाई भनेकी थिइन्, “यी धोतीहरूले हाम्रो अपरचुनिटी खोसेर लिन्छन्, हुँदा–हुँदा त कलेजमा समेत आएर टप गर्छन्।”
कक्षामा हाँसोको फोहोरा छुट्यो, राउत आफ्नो शिर बेन्चतिर निहुराएर सुनिरहे। उनले पुस्तकमा भनेका छन्, “भित्र–भित्रै म ती अपमान, दुर्व्यवहार, आक्रमण र भेदभावको आगोमा उम्लिन्थेँ, मन हिंसात्मक हुन्थ्यो। तैपनि बाहिर शान्त देखिने मेरो बाध्यता थियो।”
यो घटनाबाट राजधानी काठमाडौँमै मधेशीले असुरक्षित र अपमानित महसुस गरेको राजेन्द्र महतो बताउँछन्। महतोले आफ्नो पुस्तक ‘अधुरा क्रान्तिः संघर्ष मातृभूमिका लागि’मा लेखेका छन्, “कहीँकतै श्यामल अनुहार र धोती लगाएको भेटियो कि कुटाइ खाइहाल्ने परिस्थिति बन्यो। नागरिकता देखाएर नेपाली हुँ भन्दा पनि उनीहरूलाई छाडिएन।”
मधेशीको घर, जिउ, प्रतिष्ठा र सम्पत्तिमाथि आक्रमण भएको महतो बताउँछन्। उनले संसद्मा समेत यो विषय उठाएका थिए। प्रतिवेदन बनाएर सत्यतथ्य बाहिर ल्याउन, दोषीलाई कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन उनको आग्रह थियो। उनले सरकारको नीति तथा कार्यक्रममै यसको प्रतिबद्धता खोजेका थिए।
महतोले भनेका थिए, “सभामुख महोदय! अपने ही देश में इस ढंगका अन्याय शोभनीय नहीं है। इतना शर्मनाक घटना मुश्किल से मिलता होगा दुनियाँ में। ...सरकार को बताना पडेगा कि कैसे एक समुदाय दुसरे समुदाय के उपर आक्रमण कर बैठे। इसके पिछे क्या था? क्योंकि यदि आप ने चिडफाड नहीँ किया तो दुबारा भी घट सकती है। और जब दुबारा और तीबारा घटेगी तो परिणाम क्या निकल सकता है आप अनुमान लगा सकते हैं?”
ऋतिक रोशनको कथित अभिव्यक्तिको निहुँमा आफू पनि त्रसित बनेको तत्कालीन संविधानसभा सदस्य गोपाल ठाकुर बताउँछन्। काठमाडौँमा बसोबास गरिरहेका मधेशी समुदायमाथि विभेद र दुर्व्यवहार भएको प्रत्यक्ष देखेका उनी अहिलेसम्म पनि नेपाली शासकका लागि मधेशी समुदाय आप्रवासी नै भएको सुनाउँछन्।
“त्यति बेला व्यक्तिगत रूपले ममाथि कुनै दुर्व्यवहार भएन। तर मैले मेरो दैनिकी कार्यालयदेखि घरसम्म मात्रै सीमित गर्नुपरेको थियो,” ठाकुर सम्झन्छन्, “बाँकी त दुध, तरकारी बेच्ने र कपाल काट्नेहरूको स्थिति भनिनसक्नु छ।”
यो घटनाको ठूलो राजनीतिक असर देखियो। मल्लिका शाक्यले ‘कन्ट्री अफ र्युमर्सः मेकिङ सेन्स अफ अ बलिउड कन्ट्रोभर्सी’मा भनेकी छन्, “मिडियाले अभिनेताको स्पष्टीकरणबारे रिपोर्टिङ गरेपछि सडकको दंगा रोकियो, तर राजनीतिक तनाव कायमै रह्यो।”
भारतका तत्कालीन प्रधानमन्त्री अटलबिहारी बाजपेयीले नेपालका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई फोन गरेर भारतीय नागरिकको सुरक्षाका बारेमा चासोसमेत राखेका थिए।
ऋतिकको विरोधमा साना राजनीतिक दलहरूले २०५७ पुस १७ र १८ गते नेपाल बन्दको घोषणा गरेका थिए। उनीहरूले उपप्रधान तथा गृहमन्त्री रामचन्द्र पौडेलको राजीनामा माग गरेका थिए। युद्धरत तत्कालीन नेकपा माओवादीले पनि यो मागमा आफ्नो समर्थन जनाएको थियो। प्रमुख प्रतिपक्षी नेकपा एमालेले समेत पौडेललाई राजीनामा दिन आग्रह गरेको थियो।