काठमाडौँ- डिल्लीबजारस्थित विजय स्मारक माविमा शौचालय निर्माणाधीन थियो। त्यसको सेफ्टी ट्यांकका लागि खाडल खनेर छाडिएको थियो। गत जेठमा कक्षा ५ मा अध्ययनरत एक छात्र खेल्दाखेल्दै पानी जमेको त्यही खाडलमा खसे।
विद्यालय समयमा नै घटना भएको कारण ती विद्यार्थीको तत्कालै उद्धार भएको र ठूलो क्षति नभएको प्रधानाध्यपक डिल्लीप्रसाद शर्मा ढकाल बताउँछन्। “विद्यालय छुट्टी भएपछि वा अन्य समयमा भएको भए मानवीय क्षति हुनसक्थ्यो,” ढकाल भन्छन्।
यो घटनाको ६ महिनापछि पनि विजय स्मारकमा दुर्घटनाको जोखिम टरेको छैन। विजय स्मारकमा एशियाली विकास बैंक (एडीबी)को अनुदानमा शौचालय र पानी ट्यांकीसहित विद्यालय भवन बनाउन आशिष निर्माण सेवा प्रालिलाई ठेक्का दिइएको थियो। तर तीन वटै संरचना अलपत्र छन्।
अहिले शौचालयको भवन ठडिए पनि अन्य कुनै काम गरिएको छैन। पानी ट्यांकीका लागि खनिएको खाडल वरिपरि ढलान गरिएको छ। ट्यांकीको भित्ता ढलानका लागि हालिएको रड ठाडै छाडिएको कारण विद्यार्थी खेल्दाखेल्दै त्यसमा पर्ने जोखिम रहेको प्रधानाध्यापक ढकाल बताउँछन्।
भवन ठडियो, काम सकिएन
२०७२ सालको भूकम्पले विजय स्मारकको एउटा भवन क्षतिग्रस्त भयो। त्यस भवनमा रातो स्टिकर टाँसिएको थियो। तर भवन अभावमा त्यसैमा विद्यालयको कार्यालय, शिक्षक कोठा र प्रशासन राखिएको थियो।
एडीबीको सहयोगमा भवन बन्ने भएपछि काठमाडौँ महानगरले रातो स्टिकर लागेको भवन भत्कायो। केन्द्रीय आयोजना कार्यान्वयन इकाईले आशिष निर्माण सेवालाई भवन बनाउने ठेक्का दिएको थियो। निर्माण अनुगमनको जिम्मा पुनर्निर्माण प्राधिकरणलाई थियो।
१२ कोठे भवनको लागि ठेक्का लिएको आशिष निर्माण सेवा प्राली आशिष गौली र निर्माण गौलीको कम्पनी हो। ठेकेदार कम्पनीले विद्यालयसँग २०७८ मंसिर ५ गते सम्झौता गरेर निर्माण थालेको थियो। निर्माण थालेको १४ महिनामा अर्थात् २०७९ माघ १५ गते सबै संरचना हस्तान्तरण गर्नु पर्ने थियो। तर दुई पटक समयसीमा नाघिसक्दा पनि काम सम्पन्न गरेको छैन।
दोस्रो पटक थपेको समयावधि गएको असोज १४ गते सकिइसकेको छ। शौचालय र पानी ट्यांकी अलपत्र छन् भने, भवनको निर्माण सम्पन्न भइसके पनि 'फिनिसिङ'को काम नसक्दा ठेकेदारले हस्तान्तरण गरेको छैन।
निर्माण कम्पनीले अनावश्यक ढिलासुस्ती गरेको कारण विद्यालयको पठनपाठन प्रभावित भइरहेको प्रधानाध्यापक ढकाल बताउँछन्। प्रयोगात्मक कोठा नहुँदा विद्यार्थीहरू प्रयोगात्मक अभ्यासबाट पनि बञ्चित हुँदै आएका छन्।
“हामी भन्दाभन्दै थाकिसक्यौँ, तर ठेकेदार सुन्दै सुन्दैन। अब सकिहाल्यौँ, केही दिनमै सकिहाल्छौँ भन्ने गरेको छ,” ढकाल भन्छन्, “मैले र विद्यालय व्यवस्थापन समितिले पनि कयौँपटक भनिसकियो, तर टेर्दैनन्।”
ठेकेदारले भवन हस्तान्तरण नगरेपछि विद्यालयले नै सरसफाइ गरेर अहिले कक्षा ११ र १२ का लागि चार वटा कोठा प्रयोग गर्न थालेको छ। ती कोठामा बिजुली बत्तीलगायत सामग्री जोडिएको छैन। विद्यालयले अर्को भवनबाट बत्ती ल्याएर अस्थायी रूपमा काम चलाएको ढकाल बताउँछन्।
अहिले पनि विद्यालय परिसरमा निर्माण सामग्री थुपारिएको छ। विद्यार्थीले खेल्दा अव्यवस्थित निर्माण सामग्रीका कारण दुर्घटनाको जोखिम भएको उनी बताउँछन्। न्यून जनशक्ति मात्र खटाउने कारण काम चालु राखेको बेला पनि निर्माणले गति नलिएको उनको भनाइ छ।
कीर्ति र धुम्रवराह माविमा पनि उस्तै
कीर्तिपुरस्थित कीर्ति माध्यमिक विद्यालयमा पनि भवन निर्माण अलपत्र छ। यहाँ त शौचालयसम्म नहुँदा विद्यार्थीहरूले सास्ती खेप्नु परिरहेको छ। अहिले विद्यालय आफैले अस्थायी शौचालय बनाएको छ।
यहाँको निर्माणाधीन १६ कोठाको चारतले भवनको ठेक्का पनि आषिश निर्माण प्रालीले नै पाएको छ। दुई पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न नभएको प्रधानाध्यपक सरला प्रधान बताउँछिन्।
“एउटा मात्र शौचालय बनाइदिँदा पनि विद्यार्थीहरूलाई सहज हुन्थ्यो। विद्यार्थी धेरै छन्, त्यसैले समस्या छ,” प्रधान भन्छिन्, “भवनको काम लगभग सके पनि कम्पाउन्ड, पानी ट्यांकी र शौचालयको काम भएको छैन। ठेकेदारलाई सोध्दा अब चाँडै सकिहाल्छौँ भन्छन्। त्यस्तो भनेकै धेरै समय भइसक्यो।”
धुम्बाराहीको धुम्रवराह माध्यमिक विद्यालयमा पनि भवन निर्माणको ठेक्का आशिष निर्माण कम्पनीले नै लिएको छ। यहाँ चार कोठाको मात्रै भवन बनाउने ठेक्का पाएको थियो। तर त्यही भवन पनि तीन वर्ष बितिसक्दा समेत निर्माण सम्पन्न गरेर विद्यालयलाई दिएको छैन।
भवन अभावका कारण लेखा शाखालगायत प्रशासन व्यवस्थित गर्न नसकेको धुम्रवराहका प्रधानाध्यापक सुजाता राजलवट बताउँछिन्। “हामीलाई गाह्रो भइसक्यो, कहिले भवन उपयोग गर्न पाउँछौँ भनेर ठेकेदारलाई सोध्दा हाम्रो अरूतिर पनि काम चलिरहेको छ तर पहिला यही विद्यालयलाई हस्तान्तरण गर्छौं भन्ने जवाफ पाउछौँ,” राजलवट भन्छिन्, “चिप्ला कुरा मात्रै गर्ने जस्तो लाग्यो। काम सकिइसकेको छ भोलि नै विद्यालयलाई जिम्मा लगाउछौँ भनेको पनि कति महिना भइसक्यो।”
उपत्यकाका ११ विद्यालयका भवन भएन हस्तान्तरण
आशिष निर्माण सेवा प्रालिले काठमाडौँको विजय स्मारक, धुम्रवराह र कीर्ति माविको मात्र नभई काठमाडौँ उपत्यकाका ११ वटा विद्यालका भवन बनाउने ठेक्का लिएको छ। कम्पनीले ती तीनसहित नागार्जुन नगरपालिकाको जनउद्धार मावि, मनमैजुको मानसी मावि, कागेश्वरी मनोहराको बालउद्धार मावि र सिद्धिगणेश माविका भवन पनि ठेक्का लिएको छ।
त्यस्तै, तारकेश्वरको पुरानो गेश्वरी मावि, टोखाको सरस्वती मावि, भक्तपुरको गणेश मावि र ललितपुरको महेन्द्रग्राम माविका भवन बनाउन ठेक्का लिएको छ। तर दुई पटक समयावधि थप्दासमेत कुनै पनि विद्यालयलाई भवन हस्तान्तरण गरिएको छैन।
यी सबै विद्यालयको भवनको कुल ठेक्का रकम ५० करोडभन्दा माथि छ। निर्माण कम्पनीका प्रतिनिधि सन्तोष अधिकारी गैरकानूनी रूपमा समाधावधि नथपिएको दाबी गर्छन्।
केही समय चाडपर्वका लागि मात्रै काम रोकिएको र अहिले सबैतिर काम भइरहेको उनको भनाइ छ। अबको दुई महिनाभित्र सबै विद्यालयका भवनहरू हस्तान्तरण गरिसक्ने उनले बताए।
“अलिक अघि नै गरिसक्थ्यौँ तर बीचमा पर्वहरू र भुक्तानीका समस्याहरूले कामको गति कम भएको थियो,” उनी भन्छन्, “लगभग सबै काम सकिनै सकेको छ। केहीको फिनिसिङ र केहीको पानी ट्यांकी, गेट र शौचालयका काम बाँकी छन्। यी काम चाँडै नै सकिइहाल्छ।”
केन्द्रीय आयोजना कार्यान्वयन इकाई आयोजना निर्देशक वसन्तप्रसाद कोइराला पनि डेढदेखि दुई महिनाभित्र नै भवन विद्यालयलाई हस्तान्तरण गर्ने गरी गृहकार्य भइरहेको बताउँछन्। निर्माण कम्पनीलाई पनि सोहीअनुसारको निर्दशन दिइएको उनको भनाइ छ।
“दुईतीन दिनअगाडि पनि हामीले कम्पनीका मान्छेहरूसँग छलफल गरेका थियौँ। उहाँहरूलाई निर्माणमा तीव्रता दिन भनेका छौँ,” कोइराला भन्छन्, “अब पनि ढिलासुस्ती देखियो भने कारबाही प्रक्रिया पनि अगाडि बढाउछौँ।”
तर धेरै विद्यालयमा दुई महिनाभित्र काम सकिने अवस्था छैन। डिल्लीबजारस्थित विजय स्मारक माविको पानी ट्यांकी भुईं र भित्ता ढलान गरेपछि पानी चुहिएको पाइएको छ। शौचालयको पनि भवन बनाउनुबाहेक धेरै काम बाँकी नै छ। मूल भवनमा प्रयोगशाला कोठामा पनि धेरै काम बाँकी भएको विद्यालयले जनाएको छ।