बरमझियाका देवेन्द्र मिश्र त्यहाँको थारू बस्तीका एक्ला गैरथारू हुन्। तर तिनै थारूका जग्गा बन्धकी राखी मिटरब्याजमा ऋण लगाएर उनले धेरैको सम्पत्ति आफ्नो र परिवारको नाममा गराइसकेका छन्।
काठमाडौँ– सप्तरीको बरमझियाकी शान्ति चौधरीलाई केही दिन बिराएर सदरमुकाम राजविराजस्थित जिल्ला प्रहरी कार्यालय नपुगी चित्त बुझ्दैन। उनी जरुरी काम पन्छाएरै प्रहरी कार्यालय पुग्छिन्। आफ्नो जग्गा फिर्ता पाउने उनको आशा मरेको छैन।
“पहिला जग्गा केही दिनमै फिर्ता आइहाल्ला भन्ने लागेको थियो। यति दौडधुप गर्दा पनि खासै काम भइरहे जस्तो लाग्दैन,” उनी भन्छिन्, “जग्गा आखिर मेरै हो, यसै माया मार्न त सक्दिनँ।”
शान्ति र उनको परिवारको ३० कट्ठा जग्गा देवेन्द्र मिश्रको नाममा छ। शान्तिका श्रीमान् उमाकान्तले २०६८ सालमा १० कट्ठा जग्गा पास गरिदिएर देवेन्द्रसँग १ लाख रुपैयाँ लिएका थिए।
उमाकान्त बरमझियाका पूर्व प्रधानपञ्चसमेत हुन्। जेठो छोरालाई विदेश पठाउन उनले देवेन्द्रसँग ऋण लिएका थिए। पछि विभिन्न कामका लागि थप पैसा ऋण लिएर देवेन्द्रको नाममा अरू २० कट्ठा जग्गा पनि पास गरिदिए।
२०७४ सालमा उमाकन्तको निधन भयो। भाइ सुरेशका अनुसार उमाकान्तले जम्मा १ लाख ९५ हजार रुपैयाँ ऋण लिएका थिए। करिब चार वर्षमा व्याजसहित ६ लाखभन्दा बढी रुपैयाँ तिर्दा पनि जग्गा नफर्काएको सुरेश बताउँछन्।
"भोलि फर्काइदिउँला, पर्सि फर्काइदिउँला भनेर आलटाल गरिरहे। यहीबीचमा दाइको मृत्यु भयो। त्यसपछि जग्गा फर्काएनन्," सुरेश भन्छन्।
शान्तिका अनुसार निधन हुनुअघि नै उमाकान्तले घरका सदस्यलाई आफूले ऋण तिरिसकेको बताएका थिए। तर छोराहरू जग्गा फिर्ता माग्न जाँदा देवेन्द्रले नदिएको उनको भनाइ छ।
“जग्गा फिर्ता माग्न आफैँ पनि गएँ, उल्टै धेरै पैसा तिर्नै बाँकी छ भन्न थाले। म त अक्क न बक्क भएँ,” शान्ति भन्छिन्, “कागज देखाउनुस् न त हिसाबकिताब होला नि भन्दा १ करोड १३ लाख ९ हजार ४६० रुपैयाँ बाँकी भएको कागज थमाए।”
उकालोलाई प्राप्त कागजमा देवेन्द्रले २०७७ सम्मको हिसाब जोडेर त्यति रकम पुर्याएको देखिन्छ। गाउँका पञ्च भलाद्मीसँग गुनासो गर्दा आफूलाई मिटरब्याजीको फन्दामा परेको बताए। त्योबेला मिटरब्याजी भनेको आफूलाई थाहा नभएको उनी बताउँछिन्।
“मिटरब्याजी पीडितहरूको उजुरी जिल्ला प्रशासन कार्यालयले लिइरहेको थियो। मलाई पनि छिमेकीले उजुरी गर्न भनेपछि दर्ता गराएँ,” उनी भन्छिन्, “अहिले जिल्ला प्रहरीले हेर्न थालेको छ, तर मेरो उजुरीको सुनुवाइ भइसकेको छैन।”
उनका चार छोरामध्ये तीन जना कतारमा र एक जना गाउँमै छन्। सबै छोराको बिहे भइसकेको छ। उनी आफ्नै खेतमा उब्जाएको सब्जी बरमझिया बजारमा बेचेर घर चलाउँछिन्।
उमाकान्तको शंकास्पद मृत्यु!
उमाकान्तलाई २०७४ पुस २१ गते ज्वरो आयो। देवेन्द्र अहेब पनि हुन् र उनले जनस्वास्थ्य अधिकृतबाट अवकाश पाएका हुन्। उमाकान्त जाँच गराउन देवेन्द्रको घर गए।
उमाकान्तलाई त्यो दिन देवेन्द्रले सुई लगाइदिएर पठाएको शान्ति बताउँछिन्। तर सुईले उल्टै ‘रियाक्सन’ गरेको थियो। “सुई लगाएर आएपछि साँझ फोका आएको बताउनुभयो। मैले तातो पानीले सेकिदिएँ,” उनी भन्छिन्, “रातभरिमा पूरै जीउ पहेँलो भइसकेको थियो। सुईबारे सुनाउनु भएपछि मैले गएर देवेन्द्रलाई अवस्था बताएँ। उनैले कञ्चनपुर अस्पताल लग्न सल्लाह दिए।”
त्योबेला उमाकान्तका कोही पनि छोरा घरमा थिएनन्। छोरी र बुहारीले कञ्चनपुर अस्पताल पुर्याए। तर अस्पतालले भर्ना गर्न मानेन। बरु धरान वा विराटनगर लैजान भन्यो। विराटनगर नपुग्दै उमाकान्त अस्ताए।
“कञ्चनपुर अस्पतालमा पनि डाक्टरले गलत सुई लगाइदिएको भनेका थिए,” शान्ति भन्छिन्, “यो विषय मैले धेरै दिन कसैलाई सुनाउँदै सुनाइनँ। तर अचेल मलाई कताकता डेढ बिघा जग्गासँग जोडिएको हो कि जस्तो लागिरहेको छ।”
देवेन्द्र भने उमाकान्तलाई आफूले सुई नै नलगाएको बताउँछन्। उमाकान्त आफूकहाँ आएको तर सुई नलगाएको उनको दाबी छ।
“अर्कैले सुई लगाएको हो, नाम त मलाई थाहा भएन। तर मैले लगाएको छैन,” उनी भन्छन्, “जग्गाको विषय पनि गलत हो। उनले मसँग ऋण लिएको होइन, जग्गा नै बेचेको हो। अब किनेको सम्पत्ति म कसरी फिर्ता गरौँ?”
जुद्दीन र शैलेसको जग्गा पनि 'कब्जा'
बरमझियाकै जुद्दीन मियाँले २०७२ सालमा देवेन्द्रसँग ३२ लाख रुपैयाँ ऋण लिएका थिए। उनले ६ कट्ठा १४ धुर जग्गा पास गरिदिएर ऋण लिए। पछि चर्को ब्याज लाग्न थालेपछि देवेन्द्रले नै पैसा चाँडै तिरेर जग्गा फिर्ता लैजान भनेको जुद्दीन बताउँछन्।
“उनले मलाई छोराजस्तै मान्ने। परिवारकै सदस्यजस्तो थिएँ। मेरो जग्गा उनले आफ्नी छोरी सुनिता मिश्रको नाममा राखेका छन्। मलाई पैसा तिर्न भनेपछि एकमुष्ट दिन नसक्ने बताएँ,” जुद्दीन भन्छन्, “म ग्यारेजमा काम गर्नेले त्यति पैसा एकमुष्ट तिर्ने कुरै थिएन। पछि जग्गाहरू बेचेर तिरिदिएँ।”
जुद्दीनले ४ कित्ता जग्गा बेचेर ८४ लाख रुपैयाँ बुझाइसकेका छन्। तर आफ्नो जग्गा फिर्ता पाएका छैनन्। बरु उनकै ६ कट्ठा १४ धुरबाट अढाई कट्ठा छोडेर बाँकी जग्गा बेचिदिए।
“मैले ब्याजसहित ऋण चुक्ता गरेपछि मलाई मेरो नागरिकता लालपुर्जा सबै फिर्ता गरिदिए। छोरी आएपछि जग्गा तिम्रो नाममा गरिदिन्छु समेत भने, तर गरेनन्,” उनी भन्छन्, “मेरो जग्गा उनले बन्धकी नराखी खरिद गरेका हुन्। अहिले उल्टै जग्गा मसँग नलिएको भनेर मेरैविरुद्ध मुद्दा हालेका छन्।”
जुद्दीनलाई अहिले अदालतभन्दा पनि सरकारसँग बढी आस छ। उनी मिटरब्याजीको समस्या सरकारले नै हल गरिदिए आफूलाई न्याय हुने बताउँछन्।
बरमझियाकै शैलेस झा अर्का पीडित हुन्। २०५९ सालमा उनका बुबा सदानन्द झाले एक बिघा जग्गा पास गरिदिएर ८० हजार ऋण लिएका थिए। सदानन्दले देवेन्द्रलाई डेढ लाख रुपैयाँ फिर्ता गरे तर जग्गा फिर्ता पाएनन्। सदानन्दको निधन १० वर्षअघि भइसकेको छ।
“बुबाले पैसा तिरिदिएको भन्नुभयो। तर जग्गा माग्न जाँदा कहिले १ करोड बाँकी छ भन्छ, कहिले कति करोड भन्छ। मेरो जग्गा आफ्नी श्रीमती कपुर मिश्रको नाममा राखेका छन्। गाउँमा पञ्च बसेको थियो, कसैलाई टेरेन,” शैलेस भन्छन्, “अहिलेसम्म त्यो जग्गा हामी खाइरहेका छौँ, रोक्न आएको छैन। जग्गा भने उसैको नाममा छ।”
देवेन्द्र भने जुद्दीन मियाँसँग आफ्नो कुनै कारोबार नरहेको बताउँछन्। आफूले जुद्दीनसँग नभई भरतराज शर्मा अर्यालकी श्रीमतीसँग जग्गा किनेको उनको भनाइ छ।
शैलेससँग पनि ऋण दिएको नभई जग्गा खरिद गरेको उनी बताउँछन्। “यो कुरा २०६० सालको हो। आज २२ वर्ष भइसक्यो। यतिका दिनसम्म कहाँ थियो?” उनी भन्छन्, “यो ऋण होइन। उसको बुबाले बेच्दै थियो, मैले किनेँ।”
गाउँमै बदनाम
पैसा लेनदेनको मामिलामा देवेन्द्र मिश्र गाउँमै बदनाम भएको स्थानीय ललन चौधरी बताउँछन्। शान्ति, जुद्दीन र शैलेस मात्रै नभई १५–२० जनाको जग्गा उनले कब्जा गरिराखेको ललन सुनाउँछन्।
“पूरै थारू बस्तीमा उनै मात्र एक जना बाहुन छन्। त्यो पनि हाम्रै पुर्खाहरूले उनको बाजेलाई पूजापाठ गराउन यहाँ बसाएको। तर उसले चौधरी बस्तीलाई नै लुटिसक्यो,” उनी भन्छन्, “थारूसँग जग्गा हुने पैसा नहुने, ऊसँग पैसा हुने। ऋण दिएर पैसा पनि फिर्ता लिन्छ र जग्गा पनि आफ्नो गरिलिन्छ।”
कञ्चनपुर नगरपालिका–१ का वडा सदस्य शैलेन्द्र यादव पनि देवेन्द्र इमानदार मान्छे नभएको बताउँछन्। उनका अनुसार वडाले पटक–पटक पञ्चायती राख्दा देवेन्द्रले फर्जी कागज देखाउने गरेका छन्।
“देवेन्द्र मिश्रको बारेमा गाउँमा कसैलाई सोधे हुन्छ, सबैले उनलाई भन्ने बेइमान नै हो,” शैलेन्द्र भन्छन्, “अहिले मिटरब्याज पीडितहरूले उनीविरुद्ध उजुरी त हालेका छन्, हेरौँ केही कारबाही पनि हुन्छ कि यतिकै फासफुस हुन्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
