हत्या गरिएका यामु निरौला।
काठमाडौँ– झापाको दमक नगरपालिका–९ घर भएका ३७ वर्षीय यामु निरौला कात्तिक ६ गते दिउँसो २ बजेसम्म घरमै थिए। उनको मोबाइलको घन्टी बज्यो। केहीबेर गफिए। अनि लुगा लगाएर तयार भई मोटरसाइकलमा निस्किए। त्यसपछि उनी फेरि घर फर्किन पाएनन्।
उनी जग्गा प्लटिङमा संलग्न थिए। त्यो दिन मोबाइलमा कुरा सकाएपछि प्लटिङ गर्न लागिएको दमक–३ स्थित जग्गामा गएका थिए। त्यहीँ उनीमाथि कुटपिट र हत्या भयो।
यामुका दाजु नवराज योजनाबद्ध रूपमा भाइलाई बोलाएर हत्या गरिएको बताउँछन्। “यहाँ (घर) बाट जान १५–२० मिनेट लागेको होला, ४ः२३ बजे मेरो भाइको हत्या गरियो, मसँग सीसीटीभी फुटेज छ,” नवराज भन्छन्।
परिवार त्यति बेला आश्चर्यमा पर्यो, जति बेला हत्यामा संलग्न भएको आरोपमा किटानी जाहेरी दिँदा प्रहरीले दुई जनाको नाम हटाएर ल्याउन भन्यो। “हामीले जाहेरी दिँदा प्रहरीले घटनामा संलग्नमध्ये बुद्धिमान थापा र नम चेम्जोङको नाम हटाएर ल्याउन भन्यो,” उनी भन्छन्, “हामीले शव नलिएर सडकमा प्रदर्शन नै गर्नु पर्यो।”
मावा खोलानजिक प्लटिङ गर्न लागिएको जग्गा सम्बन्धी विवादमा कुटपिट गरी यामुको हत्या भएको प्रहरीले जनाएको छ। उक्त जग्गाको प्लटिङ लामो समयदेखि रोकिएको थियो। पछिल्लो समय नयाँ समूहले प्लटिङको काम अगाडि बढायो। यामु उक्त समूहसँग संखुवासभाको मादी नगरपालिका घर भएका गणेश दर्जी र झापा उर्लाबारीका प्रकाश कार्कीमार्फत जोडिएका थिए।
तर त्यही प्लटिङ उनको मृत्युको कारण बन्यो। त्यो दिन प्लटिङ गर्ने जग्गामा पुगेका उनी कुटपिटबाट गम्भीर घाइते भएका थिए। उनलाई भुईंमा ढलिरहेको अवस्थामा भेटेर स्थानीयले उपचारका लागि आम्दा अस्पताल दमक पुर्याएका थिए। तर चिकित्सकले उनको मृत्यु भइसकेको बताएका थिए।
हत्या भएको दिन यामुलाई त्यही समूहले कुराकानीका लागि बोलाएको दाजु नवराज बताउँछन्। प्रहरीले किटानी जाहेरीमा उल्लेख गरिएका नाम हटाउन भनेपछि स्थानीयले प्रदर्शन नै गरेका थिए। आफ्नो काकाको मोबाइलमा कुरा गर्दै एसपी मिलन केसीले नाम हटाएर ल्याउन भनेको नवराजको भनाइ छ।
“एसपीले दुई जनाको नाम हटाउन भन्नुभयो, यहाँका डीएसपी निशान थापा रातारात बिदामा जानुभयो, अर्का डीएसपी कृष्णकुमार चन्दलाई पठाइयो,” उनी भन्छन्, “उहाँ (कृष्णकुमार)ले पनि दुई जनाको नाम हटाएर ल्याउन भनेपछि हामीले न्यायका लागि सडकमा जाने अवस्था आयो। अनुसन्धानमा दोषी देखिए छुट्छ, जाहेरी त लिनु पर्यो नी!”
आफूहरूले सात दिनसम्म शव नलिँदा पनि प्रसशानलाई केही फरक नपरेको देख्दा अचम्म लागेको नवराज बताउँछन्। स्थानीय अगुवाहरूले आन्दोलन चर्काउने चेतावनी दिएपछि मात्र जाहेरी दर्ता भएको थियो। जाहेरीमा आरोपी बनाइएका बुद्धिमान थापा नेकपा एमालेबाट प्रदेशसभा सदस्य रहेका होमबहादुर थापा र एमाले केन्द्रीय सदस्य गोविन्द थापाका भाइ हुन्।
प्रदेशसभा सदस्य होमबहादुर र केन्द्रीय सदस्य गोविन्दले बुद्धिमानको नाम हटाएर मात्र जाहेरी लिन प्रहरीलाई दबाब दिएको नवराजको दाबी छ। “सत्ता र शक्तिको आडमा न्यायलाई मार्न खोजिएको छ,” उनी भन्छन्, “मलाई फोन गरेर भाइको नाम नहटाए यस्तो मुद्दा आफ्नो लागि झिनामसिना भएको भन्दै होमबहादुरकै अर्का भाइ गोविन्द थापाले ठाडै चुनौती दिए।”
घटनाको सात दिनपछि जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा प्रहरीले जाहेरीमा उल्लेख भएकाहरूको नाममा पक्राउ पुर्जी जारी गराउने सहमति जनाएको थियो। त्यसपछि मात्र परिवारले शव बुझेका थिए।
जाहेरी परेकामध्ये आठ जना पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण चन्दले बिहीबार (कात्तिक २८) टेलिफोनमा उकालोलाई जानकारी दिए। शुरूमा प्रहरीले संखुवासभाको मादी घर भएका गणेश दर्जी, झापा उर्लाबारीका प्रकाश कार्की र ध्रुव गौतमलाई पक्राउ गरेको थियो। उनीहरूसहित नमकुमार चेम्जोङ, शेरबहादुर नेम्वाङ, गोपाल भण्डारी र भीमराज चम्लागाईं पनि पक्राउ परेका थिए। जाहेरीमा नाम उल्लेख भएका सुनसरी इटहरीका प्रमोदकुमार घले भने फरार थिए।
आफूहरूले शुरूदेखि नै अनुसन्धानलाई अगाडि बढाएको प्रवक्ता चन्दको भनाइ छ। घटनाको भोलिपल्ट नै प्रहरीले जाहेरी दर्ता गरेकाले नाम हटाउन दबाब दिएको विषय निराधार भएको उनको दाबी छ। यामुमाथि कुटपीट भइरहेको सीसीटीभी फुटेज प्राप्त भएको र पोष्टमार्टम रिपोर्ट पनि आइसकेपछि त्यसका आधारमा अनुसन्धान गरिएको उनी बताउँछन्।
प्रहरीले संरक्षण गरेको भनिएका बुद्धिमान घटनाको २३औँ दिनमा पक्राउ परेका थिए। उनी १५ दिनदेखि दमकमा नै थिए। घटनापछि बुवाको मृत्यु भएका कारण उनी किरियामा बसेका थिए।
तर पक्राउ परेका आठ जनामध्ये बुद्धिराज थापासहित ६ जनामाथि मुद्दा नचल्ने भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय झापाले जाहेरीमा प्रतिवादी बनाइएका ६ जनामाथि मुद्दा नचल्ने निर्णय शुक्रबार गरेको हो। प्रहरीको अनुसन्धानमा देखिएका तथ्यहरूका आधारमा यस्तो निर्णय गरिएको सहायक जिल्ला न्यायाधिवक्ता तेजबहादुर सिंजाली मगर बताउँछन्।
उनका अनुसार प्रकाश कार्की, ध्रुव गौतम, भीमराज चम्लागाईं, बुद्धिमान थापा, नम चेम्जोङ र प्रमोदकुमार घलेमाथि मुद्दा नचलाइने भएको छ। कुटपिटमा संलग्न देखिएका गणेश दर्जी, राजु भनिने शेरबहादुर नेम्वाङ र गोपाल भनिने खेमराज भण्डारीविरुद्ध मात्र मुद्दा चल्ने मगरले बताए।
“तीन जनाले प्रहार गरेको भनी खुलेर आएको छ, बाँकी ६ जनामध्ये एक जना बुद्धिमान थापाको वारदातस्थलमा उपस्थिति नै छैन, अन्यले प्रहार गरेको देखिएन। प्रकाश कार्की, ध्रुव गौतम र नम चेम्जोङले चाहिँ कुटपिट रोक्न प्रयास गरेको देखिएको छ,” मगरले भने। हत्या गर्ने पूर्वयोजना बनाएको नदेखिएको, शव परीक्षण प्रतिवेदनबाट समेत मृतकमाथि धेरै व्यक्तिले प्रहार गरेको घाउचोट नदेखिएको र प्रत्यक्षदर्शीको बयानलगायत आधारमा मुद्दा नचल्ने निर्णय भएको उनी बताउँछन्।
हत्या आरोपी बुद्धिमानका दाजु तथा प्रदेशसभा सदस्य होमबहादुर थापा आफूहरूले कुनै पनि निकायलाई दबाब नदिएको बताउँछन्। “निश्पक्ष छानबिन गर भनिएको हो। ऊ (बुद्धिमान) घटना हुँदा त्यहाँ गएको पनि थिएन, उसको कुनै भूमिका थिएन। घरमै परिवारसँग थियो,” थापा भन्छन्, “तर एक खालका साथीभाइहरूले दबाब दिएर नाम जाहेरीमा किटान गर्न लगाएका थिए।”
भीडको दबाबले नाम समावेश गर्न बाध्य भएको तर छानबिनको क्रममा संलग्नता नदेखिएको उनी बताउँछन्। प्रहरीले पनि त्यहीअनुसार प्रतिवेदन तयार गरेको आफूले थाहा पाएको उनको भनाइ छ। त्यसैलाई हेरेर सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको उनी बताउँछन्। “हामीले किन दबाब दिने र! म यहाँको जनप्रतिनिधि पनि हो, सोध्दा हुन्छ यहाँका प्रहरी अधिकारीलाई, एक कल फोन गरेको छैन,” थापाले भने।
सरकारी वकिलको कार्यालयले ६ जनालाई मुद्दा नचलाउने निर्णय गरेपछि मृतकका परिवार असन्तुष्ट छन्। तर अब के गर्ने भन्ने परिवारमा सल्लाह गर्न बाँकी रहेको मृतकका दाजु नवराजले बताए।