Tuesday, December 03, 2024

-->

विमानस्थल १० घन्टा बन्दको प्रभावः हवाई भाडा १५० प्रतिशतसम्म वृद्धि, भारतबाट टिकट खोज्दै नेपाली

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका लागि नागरिक उड्डयन प्राधिकरणले उडान संख्या कटौती गरेपछि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले हवाई भाडा १०० देखि १५० प्रतिशतसम्म वृद्धि गरेका छन्।

विमानस्थल १० घन्टा बन्दको प्रभावः हवाई भाडा १५० प्रतिशतसम्म वृद्धि भारतबाट टिकट खोज्दै नेपाली
फाइल तस्वीर

काठमाडौँ– जजिरा एयरलायन्सबाट यात्रा गर्दा कात्तिकको पहिलो हप्तासम्म काठमाडौँ–बहराइनको एकतर्फी भाडा २५ देखि ३५ हजार रूपैयाँसम्म थियो। तर अहिले उक्त एयरलाइन्सले यो गन्तव्यमा ७५ देखि ९० हजारसम्म भाडा लिइरहेको छ।

जजिराले नै काठमाडौँ–दोहाको एकतर्फी भाडा ३० देखि ३५ हजार रूपैयाँसम्म लिने गरेको थियो। अहिले यो रुटको भाडा पनि ७५ देखि ८५ हजार रूपैयाँ पुगेको छ। जजिरा एयरलाइन्सले बढाएको भाडादर उदाहरण मात्र हो। काठमाडौँ भएर विभिन्न गन्तव्य मुलुकमा उडान गर्ने वायुसेवा कम्पनीले भाडादर १०० देखि १५० प्रतिशतसम्म बढाएका छन्।

नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको समानान्तर हुने गरी ट्याक्सी–वे बनाउन थालेको छ। त्यसका लागि शुक्रबारदेखि राति १० घण्टा विमानस्थल बन्द हुँदैछ। कात्तिक २३ गतेदेखि चैत ८ गतेसम्म करिब पाँच महिना विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द गरिने प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए।

विमानस्थल १० घण्टा बन्द गरिँदा यहाँबाट हुने एक तिहाइ उडान कटौती हुने भएका छन्। त्यही बहानामा विमान कम्पनीहरूले भाडामा अस्वाभाविक वृद्धि गरेका छन्। 

उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा चल्दा सातामा ४१० अन्तर्राष्ट्रिय उडान हुन्थे। शुक्रबारदेखि पाँच महिना सातामा २८७ उडान मात्र हुने भएका छन्। अन्तर्राष्ट्रिय मात्र नभई आन्तरिकतर्फ पनि ३५ प्रतिशत उडान कटौती भएका छन्।

प्राधिकरणका प्रवक्ता भुलका अनुसार अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले वार्षिक ८० लाख यात्रु ‘ह्यान्डलिङ’ गर्न सक्छ। विमानस्थलको समानान्तर ट्याक्सी–वे निर्माणपछि यो क्षमता बढेर वार्षिक एक करोड पुग्ने छ। यात्रुको चाप अत्यधिक बढेपछि विमानस्थल विस्तार थालिएको हो।

विमानस्थल विस्तारका लागि उडान कटौती गरेर राजश्व गुमाउनु बाध्यता रहेको भुल बताउँछन्। यही बहानामा एयरलायन्स कम्पनीहरूले चलखेल गरिरहेको उनको भनाइ छ। “हामीले विकल्प दिएर ६ महिनाअघि नै सूचना जारी गरेका थियौँ। तर विमान कम्पनीहरूले विकल्प प्रयोग नगरेर राजनीति गरिरहेका छन्,” उनी भन्छन्, “एयरलायन्स कम्पनीले यस्तो गर्ने होइन, राज्यको आवश्यकताअनुसार विमानस्थल बन्द वा खुला हुन सक्छ।”

उडान कटौतीको बहाना देखाएर बढी भाडा लिइएको पाइए कारबाही हुने भुलको भनाइ छ। “उडान संख्या कम देखाएर हामीले नदिएको उडानको टिकट इस्यु गरेको र त्यही देखाएर उनीहरूले प्राधिकरणमा बुझाएको हवाई भाडाभन्दा बढी उठाएको छ भने त्यसलाई दुई देशको हवाई भाडा सम्झौता बमोजिम कारबाही गर्छौं,” उनी भन्छन्।

विमान कम्पनीले मानेनन् विकल्प
नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान कटौती हुँदा त्यसको विकल्प पनि दिएको थियो। प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थललाई विकल्पमा प्रयोग गर्न भनेको थियो।

सरकारले ती विमानस्थल भएर उडान गर्ने विमानमा कुनै शुल्क नलिने निर्णय गरेको छ। तर विमान कम्पनीहरूले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न मानेका छैनन्। प्राधिकरणका प्रवक्ता भुल विमान कम्पनीहरूको काठमाडौँ केन्द्रित मानसिकताले काम गरेको बताउँछन्। “हामी जाँदै जाँदैनौँ, हाम्रो काठमाडौँ केन्द्रित मानसिकता छ भनेपछि त्यसको समाधान प्राधिकरणसँग छैन,” उनी भन्छन्।

सरकारको आग्रहपछि फ्लाई दुबई, जजिरा र एशिया एयरलायन्स भैरहवाबाट उडानका लागि तयार भएको भुलले जानकारी दिए। तर जजिरा र फ्लाई दुबईको भाडादर निर्धारित गन्तव्यमा काठमाडौँभन्दा भैरहवाबाट २५ देखि ३० हजार रुपैयाँ महँगो छ। 

भैरहवाका ट्राभल एजेन्ट एवम् पर्यटन व्यवसायी कृष्णप्रसाद अधिकारी एयरलायन्स कम्पनीहरूले भैरहवाबाट भाडादर झन् महँगो बनाएर उडान गर्न अनिच्छा देखाएको बताउँछन्। “पहिला ३५ हजारमा भैरहवाबाट ओमान उडाउने जजिरा एयरलायन्सको भाडा अहिले १ लाख १० हजार छ,” उनी भन्छन् “भाडा महँगो बनाएर भैरहवा नआउने र सरकारको आग्रहलाई नमान्ने उनीहरूको अटेरीपन हो।”

अहिले भैरहवाबाट उडान गर्न यात्रुहरूले भने चासो देखाइरहेको अधिकारी बताउँछन्। बुकिङ पनि राम्रै हुने देखिएको तर विमान कम्पनीहरूले भाडा अचाक्ली बढाएपछि टिकट खरिद गर्न नसकेको उनको भनाइ छ। उनी भन्छन् “विमान कम्पनीको यस्तै दादागिरी रहने हो भने केही समय हामीेले पनि होल्ड गर्नुपर्ने हुन्छ। यसमा सरकारले हस्तक्षेप गर्नु पर्छ।”

विभिन्न हवाई कम्पनीले हवाई भाडा महँगो बनाएपछि वैदेशिक रोजगार व्यवसायी संघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ज्ञापनपत्र बुझाइसकेको छ। संघले बुधबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै भैरहवा र पोखरामा रहेका विमानस्थलबाट उडान गर्ने वातावरण बनाउनुपर्ने माग गरेको छ। महँगो हवाई भाडा नियन्त्रणमा सरकार सक्रिय हुनुपर्ने संघका अध्यक्ष राजन्द्र भण्डारी बताउँछन्।

केही ट्राभल एजेन्सी र हवाई कम्पनीहरूको मिलेमतोमा भाडा महँगो बनाइएको अध्यक्ष भण्डारी बताउँछन्। केही ट्राभल एजेन्सी र एयरलायन्सको मिलेमतोमा भाडा दोब्बर बढाइएको उनको आरोप छ। भैरहवा र पोखरा विमानस्थल चलाउन सके समस्या समाधान हुन सक्ने उनी बताउँछन्।

“पर्यटकका लागि यो हाई सिजन हो। यो सिजनमा भाडा बढाउनु उपयुक्त भएन,” उनी भन्छन् “३५ हजारको टिकटलाई ७० हजार तिर्नुपर्ने बाध्यता छ। महँगो पैसा तिर्दा टिकट पाइने नियमित भाडामा नपाइने भएको छ। यो कालोबजारी हो।”
अचाक्ली भाडा बढाइँदा वैदेशिक रोजगारमा जाने श्रमिक समस्यामा परेको भण्डारी बताउँछन्। यस्तै भाडादर कायम रहे आफूहरूले केही समय कामदार ‘होल्ड’ गर्ने उनको भनाइ छ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्टका कार्यसमिति सदस्य कृष्ण ढकाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान कटौती गर्दा समस्या आएको भन्दै भाडा वृद्धिमा आफूहरूको कुनै हात नरहेको बताउँछन्। “भाडा वृद्धि विमान कम्पनीहरूले गरेका हुन्। अनलाइनमा पनि त्यही देखिने हो। हामीले टिकट इस्यु गर्दा पनि एउटै हो,” उनी भन्छन्, “भाडा वृद्धिमा हाम्रो कुनै भूमिका हुँदैन।”  

विकल्प दिल्ली!
काठमाडौँबाट हवाई भाडा महँगो भएपछि वैदेशिक रोजगार व्यवसायीहरूले भारतको विमानस्थल विकल्प हुने बताउन थालेका छन्। वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भण्डारी भारतको दिल्ली विमानस्थलबाट उडान गर्दा २० हजारमा उड्न सकिने रुटमा नेपालबाट ८० हजारसम्म भाडा तिर्नु परेको बताउँछन्। 

यस्तो अवस्थाले विकल्पमा दिल्ली विमानस्थल हुनसक्ने सम्भावनाबारे सोच्नु परेको उनको भनाइ छ। “दिल्लीदेखि दुबई १० देखि २० हजारमा टिकट पाइन्छ। बांग्लादेशबाट पनि त्यही छ। दिल्लीबाट २० हजार काठमाडौँबाट ८० हजार त अति भयो,” उनी भन्छन्, “टिकक नभए नपाइने हो, महँगो तिर्दा पाउने सस्तो फेयर नपाउने कहीँ हुन्न।”

आफूहरूले मजदुरलाई नियमित भाडामा उडाउने योजना बनाउने गरेको र अन्त्यमा अचाक्ली भाडादरले थेग्न समस्या भएको उनको भनाइ छ। यस्तो अवस्थामा जमिनबाट दिल्ली पुग्ने र त्यहाँबाट उड्ने विकल्प रोज्न बाध्य हुनुपर्ने भण्डारी बताउँछन्।


सम्बन्धित सामग्री