जनकपुरधाम– बिहानै घन्टीको आवाजसँग गुञ्जिने संस्कृत मन्त्रोच्चारण। विद्यार्थीको चहलपहल। अनि गुरुकुल शैलीमा शुरू हुने कक्षा।
जनकपुरधाम–८ स्थित याज्ञवल्क्य संस्कृत विद्यालयमा यसरी नै बिहानको शुरूआत भएको ११५ वर्ष भइसकेको छ। यो विद्यालय याज्ञवल्क्यको नामले भन्दा पनि ज्ञानकूपको नामले परिचित छ। यहाँ अहिले पनि विद्या, ज्ञान र शतानन्द गरी तीन वटा कूप (कुवा) छन्। तर व्यवस्थित गरिएको छैन। ज्ञानकूपको पानी पिउँदा जीवन ज्ञानमय बन्ने विश्वास छ।
१९६६ सालमा स्थापना भएको विद्यालयमा अहिले २७ सयभन्दा बढी विद्यार्थी छन्। साढे तीन बिघामा फैलिएको विद्यालय परिसर पस्दा कुनै तपोवनको अनुभूति हुन्छ। यहाँ संस्कृत भाषा र साहित्यको मात्र नभई आधुनिक र प्राविधिक शिक्षा पनि पढाइ हुन्छ। संस्कृत पढ्न चाहनेलाई १२ कक्षासम्मको छुट्टै पाठ्यक्रम छ।
![](https://www.ukaalo.com/admin/storyimage/35b4e15b.jpg)
संस्कृत पढ्नेहरू भर्ना भएपछि प्रायः १२ कक्षा सकेर मात्र बिदा हुन्छन्। थप अध्ययनका लागि भारतको बनारसलगायत विभिन्न शहरतिर जान्छन्। महोत्तरीको तिलगरका नितेश झा अहिले कक्षा ९ मा अध्ययन गरिरहेका छन्। उनी कक्षा १२ सकेपछि बनारस जाने योजनामा छन्।
नितेशले कर्मकाण्ड र जोतिषशास्त्रलाई मूल विषय बनाएका छन्। यहाँ कक्षा १ देखि ५ सम्म एक विषय संस्कृत पढ्नुपर्छ। कक्षा ६ देखि ८ सम्म दुई तथा कक्षा ९ र १० मा तीन विषय संस्कृत हुन्छन्। संस्कृत पढ्न नचाहनेका लागि अरू विषय छन्। नितेश भन्छन्, “म राम्रो पुरोहित बन्न चाहन्छु। सानोतिनो पूजापाठ त अहिले पनि गराउँछु।”
संस्कृत पढ्नेहरूका लागि छात्रावासको पनि व्यवस्था छ। छात्रावासमा बस्ने ६१ जनाको नित्यकर्म अन्य विद्यार्थीको भन्दा फरक छ।
यसरी शुरू हुन्छ दैनिकी
याज्ञवल्क्य संस्कृत विद्यालयले दुई सत्रमा विद्यालय सञ्चालन गर्छ। कक्षा ११ र १२ को विज्ञान र व्यवस्थापन संकायको पढाइ बिहान हुन्छ। कक्षा १ देखि १० सम्म दिउँसो पढाइन्छ। कक्षा ११ र १२ मा प्राविधिक र संस्कृत पढ्ने विद्यार्थीहरूको पढाइ पनि दिवा सत्रमै हुन्छ।
संस्कृत पढ्ने विद्यार्थीहरूले प्रातःकालीन नित्यकर्म गर्नुपर्ने हुनाले दिउँसोको कक्षा राखेको प्रधानाध्यापक सञ्जय झा बताउँछन्। संस्कृत पढ्ने र छात्रावासमा बस्नेका लागि बिहानीको नित्यकर्म अनिवार्य छ। यी विद्यार्थीहरूको पाठ्यक्रमअनुसारको पढाइ १० बजेदेखि शुरू भए पनि व्यवहारिक शिक्षा बिहान ५ बजेदेखि नै शुरू भइसक्ने प्रधानाध्यापक झाको भनाइ छ।
छात्रावासमा रहेर पढिरहेका मलंगवाका आरूष मिश्राका अनुसार छात्रावासका विद्यार्थीहरू बिहान ४ बजे उठिसक्छन्। नुहाइधुवाइ गरी वस्त्र धारण गर्दा ५ बज्छ। त्यसपछि सबै जना ध्यान गर्ने कोठामा जम्मा हुन्छन्। त्यहाँ ध्यानसँगै सन्ध्याबन्धन र रूद्राभिषेक पनि हुन्छ। “बिहान ५ बजेदेखि ८ः४५ सम्म हामी धोती र कुर्तामा हुन्छौँ। अन्य वस्त्र धारण गर्ने छुट छैन,” आरूष भन्छन्, “हाम्रो असली शिक्षा नै यही हो, जहाँ अनुशासन र संस्कारको पालन गर्न सिकाइन्छ।”
![](https://www.ukaalo.com/admin/storyimage/e12fb59e.jpg)
पौने ९ बजे भोजनको समय हुन्छ। केहीबेर आरामपछि विद्यालयको नियमित अध्यापन शुरू हुन्छ। सर्लाहीको बलराबाट पढ्न आएका सुजितकुमार मिश्राका अनुसार अन्य विद्यार्थीहरूको नियमित कक्षा ४ बजे सकिए पनि छात्रावासका विद्यार्थीहरूले साँझको नित्यकर्म पनि गर्नुपर्छ। ५ बजेदेखि शरू हुने सन्ध्याबन्धन, ध्यान र प्रार्थना साढे ६ बजेसम्म चल्छ। त्यसपछि भोजन र गृहकार्य हुन्छ।
यो विद्यालयमा मधेश प्रदेशबाहेक रामेछाप, ओखलढुंगा, सिन्धुलीका विद्यार्थी पनि छन्। छिमेकी मुलुक भारतको सीमावर्ती जिल्लाका विद्यार्थीसमेत संस्कृत पढ्न आउँछन्।
यहाँकी पूर्वशिक्षक नीला घिमिरेका अनुसार कुनै समय काठमाडौँ, काभ्रे, दोलखा, सिन्धुपालचोक, चितवन, धादिङ, जुम्ला, उदयपुर, सोलुखुम्बु, खोटाङ, इलाम र झापाबाट पनि विद्यार्थीहरू आउँथे। अहिले संस्कृत पढ्न चलन कम हुँदा टाढाका विद्यार्थी आउन छाडेको उनी बताउँछिन्।
निःशुल्क संस्कृत शिक्षा
याज्ञवल्क्यमा संस्कृत पढ्ने विद्यार्थीहरूले पैसा तिर्नुपर्दैन। छात्रावासमा पनि बस्न र खान शुल्क लाग्दैन। तर प्राविधिक र अन्य विषय लिएर कक्षा ११ र १२ पढ्नेले शुल्क तिर्नुपर्छ। कक्षा ११ मा वार्षिक ७ हजार र कक्षा १२ मा ४ हजार रुपैयाँ लाग्ने प्रधानाध्यापक झा बताउँछन्।
विद्यालयको स्थापनाकालदेखि नै छात्रावासमा पढ्ने विद्यार्थीहरूको मेष खर्च जनकपुर गुठी संस्थानले बेहोर्छ। संस्थानले प्रतिविद्यार्थी मासिक २१ सय ३५ रुपैयाँ दिने गरेको छ। “विद्यालय जसरी शुरूदेखि चल्दै आएको छ, अहिले पनि त्यसरी नै चलिरहेको छ। छात्रावासबाहिरका विद्यार्थीहरूलाई पनि कक्षा १ देखि १० सम्म निःशुल्क छ,” झा भन्छन्, “११ र १२ का लागि अभिभावकहरूले सहयोग गर्दा राम्रै चलिरहेको छ।”
संस्कृत पढ्ने विद्यार्थीले कुनै शुल्क तिर्नु नपर्ने मात्र होइन दक्षिणामार्फत आम्दानी पनि गर्ने प्रधानाध्यापक झा बताउँछन्। “११ र १२ पढ्नेहरूको कमाइ राम्रै हुन्छ। विद्यालय सकेर पूजापाठका लागि दूरदराजका गाउँसम्म पनि पुगिरहन्छन्,” उनी भन्छन्, “यसले उनीहरूलाई पढ्दै गर्दा आत्मनिर्भर पनि बनाइरहेको हुन्छ।”
विद्यालयमा स्थायी दरबन्दीका १५ शिक्षक छन्, जसमध्ये माविका सात, निमाविका तीन र प्राविका पाँच जना छन्। माविका सातमध्ये चार शिक्षक संस्कृतका छन्। उनीहरूबाहेक राहत दरबन्दीमा पाँच शिक्षक छन्। विद्यालयलाई काठमाडौँस्थित महर्षि फाउन्डेसनले मासिक ५५ हजार रूपैयाँ दिँदै आएको छ। यो नमूना विद्यालय भएकाले केही शैक्षिक अनुदानहरू पनि आउने प्रधानाध्यापक झा बताउँछन्।
![](https://www.ukaalo.com/admin/storyimage/a85dc5ed.jpg)
मधेश आन्दोलनताका भने विद्यालयमा विद्यार्थी संख्या ह्वात्तै घटेको थियो। “त्यति बेला पहाडबाट आउने विद्यार्थी आएनन्। पढाउनलाई विद्यार्थीहरू नै थिएनन्,” झा भन्छन्, “संस्कृत पढ्नेहरू नै छैनन् जस्तो भएको थियो। तर पछिल्लो समय सुधार आएको छ। अहिले यहाँको आकर्षण बढ्दो छ।”
पछिल्लो समय मुस्लिम धर्मावलम्बी बालबालिका पनि पढ्न आइरहेको उनी बताउँछन्। अहिले ३५ जना मुस्लिम विद्यार्थी पढिरहेका छन्। “उनीहरूलाई भर्ना हुने बेलै भनेका थियौँ की यहाँ संस्कृत अनिवार्य छ। तर उनीहरूले कुनै आपत्ति जनाएनन्,” उनी भन्छन्।
कक्षा ६ मा अध्ययनरत मोहम्मद आशिफ साफी यहाँ पढ्न कुनै आपत्ति नभएको बताउँछन्। तर संस्कृत आफूलाई अलिक कठिन लाग्ने गरेको उनको भनाइ छ। “म र मेरो दाई (कक्षा ९ मा अध्ययनरत) दुईजना मात्रै अलिअलि संस्कृत बुझ्छौँ, घरमा बाँकी कोही बुझ्दैनन्,” उनी भन्छन्, “घरमा कसैले संस्कृत नपढ भन्नुभएको छैन।”
विद्यालयको इतिहास
१९६० सालमा राम मन्दिर र जानकी मन्दिरको उत्तर पश्चिम भागको भूमिमा राम मन्दिरका महन्थ चतुर्भुज गिरीका शिष्य विश्वनाथ गिरीले एउटा फुसको आश्रममा विद्यालय स्थापना गरेका थिए। त्यसका लागि उनलाई दुर्गाचैतन्य ब्रह्मचारीले सल्लाह दिएका थिए। त्यहाँ वेद, व्याकरण, न्याय, ज्योतिष आदि विषयको पठनपाठन हुन्थ्यो। केही वर्षपछि गंगासागर र धनुषसागरको बीचमा निर्माण भएको नयाँ भवनमा पठनपाठन हुनथाल्यो।
याज्ञवल्क्य संस्कृत विद्यालयका पूर्वप्रधानाध्यापक लीलाबल्लभ ढकालले ‘त्रेतायुगीयसंस्कृति–प्रतिकः श्री याज्ञवल्क्य–संस्कृत–माध्यमिक–विद्यालय’ नामक दस्ताबेजमा लेखेअनुसार त्यति बेला प्रधानाध्यापकको बसोबास राम मन्दिरकै उत्तरतर्फको फुसको भवनमा हुन्थ्यो। विद्यार्थीहरू भने राम मन्दिर परिसरका घरमा बस्थे।
“मठ मन्दिरहरू मालपोत विभाग अन्तर्गत पर्थे। संस्कृत शिक्षाको व्यवस्था रेखदेख मालपोत विभागअन्तर्गत संस्कृत बन्दोबस्त नागरिक फाँटबाट हुन्थ्यो। यसको डाइरेक्टर राणाहरूका गुरू हुन्थे। त्यतिबेला हेमराज पाण्डे थिए,” लीलाबल्लभले लेखेका छन्, “उनैबाट अध्यापकहरू नियुक्त भए। गुरूहरूको पारिश्रमिक र विद्यार्थीहरूको भोजन वृतिको व्यवस्था यसै फाँटबाट गरिएको थियो।”
![](https://www.ukaalo.com/admin/storyimage/1e960a69.jpg)
यो विद्यालयले संस्कृत बन्दोबस्त नागरिक फाँटबाट १९६६ वैशाखदेखि राजकीय संस्कृत प्रधान पाठशालाको नामले वैधानिकता पायो। व्याकरण, ज्योतिष र साहित्य गरी तीन विषय स्वीकृत भयो। प्रथमादेखि आचार्यसम्मको पढाइ हुन थाल्यो। विषयगत ३ अध्यापकको दरबन्दी कायम भयो।
लीलाबल्लभले लेखेको दस्ताबेजअनुसार विद्यालयमा पहाडे र मैथिल दुवै समुदायका विद्यार्थीहरूका निमित्त छात्रवृतिको व्यवस्था थियो। पहाडे विद्यार्थीले स्थानीय भाषा राम्रोसँग बुझ्न नसक्दा नेपाली भाषाबाट पाठ लगाइदिन एक अध्यापक राखिएको थियो। २००४ सालमा नेपाली माध्यम सिकाउने पहिलो अध्यापक कृष्णप्रसाद उपाध्याय नियुक्त भए। यहाँ भारतको बिहार, बंगाल, भुटान र आसामबाट पनि विद्यार्थी आउने गरेको दस्ताबेजमा उल्लेख छ।
एकीकरण हुँदै बनेको विद्यालय
याज्ञवल्क्य संस्कृत विद्यालयको अस्तित्व रक्षाका निम्ति अवधबिहारी शरण (मौनी बाबा)को विषेश योगदान मानिन्छ। उनी नबोलीकन मौन मात्रै रहने गरेकाले उनलाई मौनी बाबा भनिन्थ्यो। तीर्थयात्राको क्रममा भारतको वाँदा जिल्लाको चित्रकुटबाट जनकपुर आएका थिए। पछि उनी यहीँ बस्न थाले।
त्यही क्रममा १९८० सालमा उनले ‘मौनीय संस्कृत महाविद्यालय’को स्थापना गरे। त्यस बेला गुरू र विद्यार्थीका लागि बनेको चदराको छानो र काठको भवन अझै छ। यो महाविद्यालयमा शुरूदेखि नै वेद व्याकरण, न्याय दर्शन, साहित्य र ज्योतिष विषयहरूको पढाइ हुन्थ्यो। यहाँ प्रथमादेखि शास्त्री आचार्यसम्मको पढाइ हुन्थ्यो। परिक्षाहरू बिहार परिक्षा समिति पटनाबाट हुन्थ्यो।
![](https://www.ukaalo.com/admin/storyimage/9a5afaa1.jpg)
आश्रमलाई १९८४ सालमा ठाउँ अभाव भएपछि पण्डित सीताराम दासको अध्यक्षतामा ज्ञानकुप परिसरमा विद्यालय सारियो। लीलाबल्लभको दस्ताबेजअनुसार मौनी बाबाले बेलामौकामा जनकपुरको बाह्रबिघा मैदानमा रामलीला पनि आयोजना गराउँथे। एकपटक रामलीलामा अनैतिक हर्कत भएको हल्ला चलेपछि बाबा दुखी भएर जनकपुर छाडेर अन्यत्रै गए।
“महात्मा मौनी बाबा जनकपुर छाडेर गएपछि आश्रमको अवस्था नाजुक बन्दै गयो। विद्यालय पनि बन्द हुने अवस्थामा पुग्यो। १९६६ सालमा स्थापना भई नियमित चलिरहेका राजकीय संस्कृत प्रधान पाठशालालाई मौनीय संस्कृत महाविद्यालयमा गाभ्ने निर्णय भयो,” दस्ताबेजमा उल्लेख छ, “मौनीय संस्कृत महाविद्यालयको जीवनले पनि मृत सञ्जीवनीको सुधा पायो, नवजागृतको चेतना फैलिँदै गयो।”
यी दुई पाठशालाबाहेक जनकपुरस्थित पिठियाबजारको दक्षिणमा दुर्गा चैतन्य ब्रह्मचारीले वेदवेदांग पाठशाला १९७६ सालदेखि सञ्चालनमा ल्याएका थिए। १९८५ सालमा ब्रह्मचारीको निधन भएपछि यसको स्वामित्व गुठी संस्थानमा गएको थियो। केही समय गुठीले नै पाठशाला सञ्चालन गर्यो। तर २००८ सालमा यसलाई पनि राजकीय संस्कृत प्रधान पाठशालामा गाभियो।
२००८ सालमा सरकारले पाठशालाहरूको वर्गीकरण गर्दा यो विद्यालयलाई हाई स्कुलसरह मानियो। गुरूहरूको पारिश्रमिक हाई स्कुलसरह सरकारी स्रोतबाट प्राप्त हुन थाल्यो। २०१६ सालमा त्रिभुवन विश्वविद्यालय स्थापना भएपछि त्रिविको नियमानुसार २०२४ सालमा यहाँ याज्ञवल्क्य संस्कृत महाविद्यालयको स्थापना भयो। महात्मा याज्ञवल्क्य यही भूमिमा आएर ज्ञान आर्जन गरेका कारण उनकै नामबाट महाविद्यालयको नामकरण गरिएको थियो।
त्रिविबाट उच्च तहको कक्षा सञ्चालन स्वीकृत भएपछि प्रधान पाठशालामा पूर्वमध्यमासम्म पठनपाठन हुन थाल्यो। २०२० सालमा त्रिविबाट परीक्षा सञ्चालन हुन थालेपछि बिहार संस्कृत समिति र कामेश्वर संस्कृत विश्वविद्यालयसँग परीक्षा सम्बन्ध टुट्यो।
२०३० सालमा महाविद्यालय यहाँबाट स्थानन्तरण भएर महोत्तरीको मटिहानी पुगेको प्रधानाध्यापक झा बताउँछन्। २०४७ सालबाट यहाँ माध्यमिक विद्यालय मात्र राख्दा विद्यार्थीहरूलाई कठिनाइ भएपछि स्नातकसरहको पढाइ पनि शुरू गरिएको उनको भनाइ छ। तर अहिले हजारी विद्यापीठ बाराही कुटीमा परिसरमा सरेको छ भने यहाँ मावि मात्र सञ्चालनमा छ।