माथिल्लो तामाकोशी आयोजना पहिरोले पुर्याएको क्षति। तस्वीर: विद्युत् प्राधिकरण
काठमाडौँ– हिउँदमा नेपालको जलविद्युत् उत्पादन करिब एक हजार मेगावाट मात्र छ, जबकि माग १९ सय मेगावाट छ। हिउँदमा उत्पादन हुनेमध्ये करिब आधा अर्थात् ४५६ मेगावाट बिजुली माथिल्लो तामाकोशी आयोजनाबाट आउँथ्यो। यो हिउँदमा माथिल्लो तामाकोशी आयोजना बन्द हुने भएपछि करिब ५५० मेगावाट बिजुली मात्र उत्पादन हुने भएको छ।
अर्ध जलाशययुक्त आयोजना भएका कारण माथिल्लो तामाकोशीलाई ‘पिक आवर’मा चलाएर सुक्खायाममा बिजुलीको माग धान्ने गरिएको थियो। सबैभन्दा धरै विद्युत् खपत हुने समय साँझ ६ देखि १० बजेसम्म र बिहान ७ देखि ९ बजेसम्मलाई पिकआवर भनिन्छ।
दिनभर खोलाको पानी जम्मा गरेर साँझ ५ बजेदेखि ५ घण्टासम्म माथिल्लो तामाकोशी आयोजनालाई पूर्ण क्षमतामा सञ्चालन गरिन्थ्यो। पूर्ण क्षमतामा सञ्चालन हुँदा उक्त आयोजनाबाट उत्पादन हुने बिजुलीले काठमाडौँ उपत्यकासहित बागमती प्रदेशको मागलाई धानेको थियो।
तर एक महिनादेखि माथिल्लो तामाकोशीबाट विद्युत् उत्पादन भएको छैन। गत असोज ११ र १२ गतेको बाढीले राष्ट्रिय गौरवको यो आयोजनाको विद्युत्गृहमा क्षति पुर्याएपछि पूर्णरूपमा बन्द भएको हो।
आयोजना प्रमुख पूर्णगोपाल रन्जितका अनुसार बाढीले विद्युत्गृहको हेर्डवक्र्स कन्ट्रोल बिल्डिङ, बालुवा थिग्राउने मेसिन, गोंगर–लामाबगरको सडक खण्ड र २२० केभी प्रसारण लाइनको टावर नं. ४६ मा क्षति पुर्याएको छ। अहिले सडक निर्माण र प्रसारण लाइनको टावर निर्माण शुरू गरिएको छ। “हामीले अहिलेदेखि काम गर्यौं भने आउँदो बर्खाासम्म पूर्वअवस्थामा सञ्चालन गर्न सकिने सम्भावना छ। हाम्रो उद्देश्य पनि बर्खा शुरू हुनुअघि सञ्चालन गर्ने हो,” उनी भन्छन् “ठेकदारको छनोट र उसले गर्ने काममा सबै कुरा निर्भर रहन्छ।”
रञ्जितका अनुसार अहिले आंशिक रूपमा खोलामा बगिरहेको पानीबाट विद्युत् उत्पादन गर्ने तयारी छ। खोलामा बगिरहेको पानीबाट कात्तिकमा बढीमा ३०० मेगावाटसम्म विद्युत् उत्पादन गर्न सकिन्छ भने मंसिर लागेपछि उत्पादन १७२ मेगावाटमा झर्छ। “खोलामा पानी सुक्दै गएपछि उत्पादन पनि घट्छ,” उनी भन्छन् “सुक्खा समयमा त न्यून मात्रामा मात्रै उत्पादन गर्न सकिन्छ।”
हिउँदमा कसरी हुन्छ विद्युत् व्यवस्थापन?
विद्युत् प्राधिकरणका अनुसार नदीमा आधारित आयोजना पूर्ण क्षमतामा चल्दा करिब ३ हजार मेगावाट विद्य्त् उत्पादन हुन्छ। त्यसबाहेक सौर्य उर्जाबाट थप १०० मेगावाट बिजुली निकालिएको छ। हिउँदमा खोलामा पानीको बहाव कम हुँदा उत्पादन एक तिहाइले घट्छ।
हिउँदमा पिक आवरमा माथिल्लो तामाकोशी चल्दा पनि मागभन्दा करिब ९०० मेगावाट कम बिजुली उत्पादन हुन्थ्यो। विद्युत् प्राधिकरणले हिउँदमा पिक आवरमा माथिल्लो तामाकोशी पूर्ण क्षमतामा चलाउने र अपुग बिजुली भारतबाट खरिद गरी ल्याउने गर्थ्यो। अहिले घरमा जाने बिजुली नकाटिए पनि उद्योगहरूमा १२ घण्टासम्म लोडसेडिङको अवस्था छ।
सुक्खायाममा माग धान्न चलाइने माथिल्लो तामाकोशी बन्द हुँदा यो वर्ष हिउँदमा समस्या हुनसक्ने उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य बताउँछन्। तर माथिल्लो तामाकोशी आयोजनाबाट यही हिउँदमा विद्युत् आपूर्ति हुनसक्ने विद्युत् प्राधिकरणको दाबी छ।
प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोष यस वर्षकै सुक्खायामसम्म तामाकोशीलाई पूर्ववत् अवस्थामा सञ्चालनमा ल्याउने बताउँछन्। “हामीले काम अघि बढाएका छौँ। सुक्खायाममा तामाकोशीबाट विद्युत् आपूर्ति हुँदैन भन्ने लाग्दैन,” उनी भन्छन्।
घोषले तामाकोशी पूर्ण क्षमतामा सञ्चालन हुने दाबी गरे पनि यो सम्भावना नरहेको विद्युत् प्राधिकरणकै कर्मचारी बताउँछन्। “बाहिर प्रचार गर्नु एउटा कुरा हो, (माथिल्लो तामाकोशी) यो वर्षको बर्खासम्म सञ्चालन आयो भने ठूलो उपलब्धि मान्नुपर्छ,” नाम नबताउने शर्तमा एक कर्मचारी भन्छन्।
प्राधिकरणले तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् गृहलाई ५०–२० मिटरको भूमिगत बनाउने गरी डिजाइनको तयारी गरेको छ। पटक–पटक बाढी आउने र क्षति गर्ने हुनाले आगामी दिनमा सुरक्षाका लागि भूमिगत विद्युत्गृह बनाउन लागिएको प्राधिकरणले जनाएको छ।
यस्ता छन् विकल्प
आगामी हिउँदमा विद्युत् अभाव हुने विषयलाई सार्वजनिक गर्न हिच्किचाउन नहुने प्राधिकरणका उपप्रबन्धक एवम् उर्जा सिँचाइ तथा जलस्रोत मन्त्री दीपक खड्काका उर्जा सल्लाहकार प्रबल अधिकारी बताउँछन्। “हामीले यथार्थ विषयलाई लुकाउन हुँदैन, गत वर्ष पनि साढे ९०० मेगावाटसम्म विद्युत् भारतबाट आएको हो,” अधिकारी भन्छन् “यस वर्ष सुक्खायाममा तामाकोशी नचल्दा भारतबाट ल्याउने विद्युत् १२ सय मेगावाटभन्दा बढी हुन सक्छ।”
नेपाल भारतबीच विद्युत् आयात निर्यात गर्न सक्ने सबैभन्दा ठूलो ४०० केभी क्षमताको ढल्केबर–मुज्जफ्फपुर अन्तरदेशीय प्रसारण लाइनलाइन हो। यहाँबाट नेपालले बढीमा एक हजार मेगावाट विद्युत् निर्यात र ८०० मेगावाट आयात गर्न सक्छ।
नेपालतर्फको सुरक्षा र प्राविधिक कारणले निर्यातभन्दा आयात कम क्षमतामा गर्ने सम्झौता छ। उक्त प्रसारण लाइनबाट ८०० मेगावाटसम्म विद्युत् आयात गर्न सकिए पनि नेपालको आन्तरिक प्रसारण लाइनको क्षमता नहुँदा उक्त अन्तरदेशीय प्रसारण लाइनबाट ४०० मेगावाटभन्दा बढी विद्युत् आयात गर्न सकिँदैन।
विद्युत् प्राधिकरणका अनुसार ढल्केबरसम्म आएको ४०० मेगावाट विद्युत्मध्ये २०० मेगावाट पूर्व र २०० मेगावाट पश्चिमतर्फ पठाउन सकिन्छ। त्यसकारण नेपाललाई आवश्यक पर्ने सम्पूर्ण विद्युत् ढल्केबर–मुज्जफ्फपुर अन्तरदेशीय प्रसारण लाइनबाट ल्याउन असम्भव छ। उर्जा सल्लाहकार अधिकारी नेपाल र भारतबीचमा भएका १३२ केभी क्षमताका अन्तरदेशीय प्रसारण लाइनको प्रयोगबाट पनि थप विद्युत् आयात गरेर आवश्यकतालाई सम्बोधन गर्न सकिने बताउँछन्।
नेपाल र भारतबीचमा कटैया–कुसवा पहिलो र दोस्रोबाट १००/१०० मेगावाट, रक्सौल–परवानीपुरबाट १०० मेगावाट, गण्डक–रामनगरबाट ४० मेगावाट बिजुली आयात तथा निर्यात गर्न सकिन्छ। त्यस्तै, भारतको न्यू नौतनवा–मैनहियाबाट १०० मेगावाट र टनकपुर–महेन्द्रनगरबाट ७० मेगावाट विद्युत् आयात तथा निर्यात गर्न सकिन्छ।
नेपालले यस वर्ष भारतसँग २३० मेगावाट विद्युत् आयातको सम्झौता गरेको छ। त्यसमध्ये २०० मेगावाट ढल्केवार–मुज्जफपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात गरिने र ३० मेगावाट टनकपुरबाट आयात गर्ने सम्झौता छ। यो सम्झौताले नेपालले चाहेको बेला २४सै घण्टा उक्त परिणामको विद्युत् आयात गर्न सक्ने ढोका खोलेको अधिकारी बताउँछन्।
“हाम्रो आन्तरिक प्रसारण लाइन नहुँदा हामीले चाहेअनुसार विद्युत्लाई लैजान नसक्ने अवस्था छ,” अधिकारी भन्छन् “भारतसँग अन्तरदेशीय प्रसारण लाइनलाई ध्यान दिए पनि हाम्रो आवश्यकता पूरा गर्न हामीले आवश्यक पर्ने ठाउँमा विद्युत् पुर्याउन सक्दैनौँ।”