राजा महेन्द्रले पल्लो किरात थातथलो भएका किरातीलाई हुकुम प्रमांगीमार्फत कानून फाँटको जिम्मेवारी दिए। उनी पछि न्यायाधीशमा पदोन्नती गरिए। यो कथा तिनै किराती न्यायाधीशसँग जोडिन्छ।
राजा त्रिभुवनको मृत्युपछि उनका छोरा महेन्द्र राजा भए। आफ्नो राज्याभिषेकपछि महेन्द्रले देशाटन गर्ने मनसुवा राखे। दरबारका भारदार, हुक्के, चिलिमे, बैठके सबैले राजाको अगाडि ‘हो’मा ‘हो’ मिलाए। राजाको अगाडि ‘बाबु बैरी’ भने जस्तै नयाँ राजाको कुरो काट्ने हिम्मत नहुनु अस्वाभाविक थिएन। राजाले सवारी चलाउने उर्दी कसे।
हात्ती, घोडा, बन्दुकसहित बन्दोबस्तीको सामान तयार भयो। भोलिपल्ट बडागुरुज्यूलाई बोलाएर सवारी चलाउने साइत हेराइयो। राजाको मनसुवा बुझेका चलाख राजज्योतिषीले तुरुन्त साइत निकाले। राजाले काठमाडौँ उपत्यकाबाट पूर्व घुम्ने इच्छा थाहा पाएकाले उतैतर्फको सवारी उपयुक्त हुने साइत परेको जोग निकाले।
राजा महेन्द्रको लावालस्कर निस्कियो। चार भञ्ज्याङको बाटो भएर चारकोशे झाडीमा शिकारको मनोरञ्जन लिँदै सप्तकोशी पूर्वको पल्लो किरातको पहाडतिर टोली हानियो। सम्भवतः राजा महेन्द्रलाई पल्लो किरातको स्वायत्तता अन्त्य गरेर राजतन्त्रको केन्द्रीय सत्तालाई अरू मजबुत बनाउनु थियो। तर पल्लो किरात पुगेपछि राजा थोरै निरास भए। तैपनि आफ्नो अभियानलाई उनले जारी राख्ने विचार गरे।
किरातीहरू सबै लाखापाखा
गण्यमान्य किरातीहरू परिवर्तनको पक्षमा लागेका थिए। राणाविरोधी आन्दोलनमै हतियार उठाएर सहभागिता जनाएका किरातीहरूले महेन्द्रलाई सघाउने कुरै भएन। फेरि पल्लो किरातको किपट व्यवस्थाविरुद्ध जाने किरातीहरूको साहस नहुनु स्वभाविकै थियो।
राणाकालीन समयमा कज्याइएका किरातीहरूको जनाधार उस्तो थिएन। तैपनि काम चलाउ सहयोगीको खोजीमा महेन्द्र थिए। उनले पल्लो किरातको गाउँ चाहार्दै केहीलाई आफ्नो पक्षमा पार्ने मनसुवामा लागे। यसमा पछि सफलता हासिल पनि गरे। तर त्यो कथाको प्रसंग बेग्लै ठाउँमा आउँछ।
यो पनि: राजा भनेका सिपाही पो रहेछन्!
यस्तै अभियानमा पल्लो किरात थातथलो भएका एक जना किराती भेटे। उनको चलाखी देखेर महेन्द्रले उनलाई सिधै हुकुम प्रमांगीमार्फत कानूनी फाँटको जिम्मेवारी दिए। त्यहाँका किरातीलाई नै कज्याउँदै उनी न्यायाधीशमा पदोन्नती गरिए। राजा महेन्द्र र किराती दुवै पात्र एक अर्कालाई ‘ढुंगा खोज्दा सिलाजित’ भेटेजस्तै भयो।
गढी डाँडा अदालतको कथा
समय बित्दै गयो। हालको सिन्धुली जिल्ला अन्तरगत सिन्धुलीगढी तत्कालीन समयमा जनकपुर अञ्चलको पहाडी भू–भागको प्रमुख प्रशासनिक केन्द्र थियो। त्यो प्रशासनिक केन्द्रमा अदालत पनि पर्थ्यो। त्यही अदालतको मुख्य न्यायाधीशमा ती किराती सरुवा भै गएका थिए।
उनी कार्यरत रहेकै बेला ओखलढुंगाको एउटा चरन खर्कको स्वामित्वलाई लिएर एक जना बाहुन र अर्का मुखिया (गुरुङ) बीच झगडा मच्चिएछ। झगडा नमिलेपछि अदालतमा मुद्दा चल्यो।
वर्षौंदेखि आफैले हकभोग गर्दै आएको जग्गाबाट बेदखल हुने देखेपछि मुखिया गाउँकै जान्नेबुझ्ने बाहुनसँग सल्लाह लिन पुगेछन्। ती चलाख बाहुनले न्यायधीशलाई घूस खुवाउन सके मुद्दा जितिने सल्लाह दिएछन्। मुखियासँग भेडा च्यांग्राबाहेक घूस खुवाउने नगद नारायण थिएन। तिनै बाहुनले कोठाभरी ढाक्ने राडी न्यायाधीशलाई दिए मुद्दा जित्ने सल्लाह दिएछन्।
मुखियाले पनि गजबको ठूलो राडी बुनेर न्यायाधीशलाई टक्य्राउन गढी अदालत पुगे। राडी लिँदै न्यायाधीशले गद्गद् भएर मुद्दा जिताइदिने आश्वासन दिए। यसरी ढुक्क भएर गुरुङ खर्क फर्किए।
अर्का झगडिया पनि तिनै बाहुनसँग सल्लाह लिन पुगेछन्। उनले दुहुना गाई न्यायाधीशलाई दिए मुद्दा जित्ने सल्लाह दिएछन्। झगडिया बाहुनले लैनो गाई दिइदिए। मुद्दाको सुनुवाइपछि फैसला लैनो गाई बुझाउने बाहुनको पक्षमा गयो।
यो कुरा थाहा पाएपछि खर्कबाट ती झगडिया गुरुङ सिधै गढी अदालत पुगे। उनले न्यायाधीशलाई भेटेर भने, “कसरी मुद्दा हारियो? मैले त राडी टक्रयाएको थिएँ! हजुरले जिताइदिन्छु भनेर ढुक्क पार्नुभएको थियो।”
यता न्यायाधीशले रौबका साथ भनेछन्, “हेर मुखिया गाईले राडी खायो।” मुखिया त्यहीँबाट निराश हुँदै खर्क नफर्की मुग्लान भास्सिए। एउटा जनजातिको तेजोबध यसरी भयो। यो कथा सुनेका गाउँलेले यसलाई गीतमा ढाले। आज पनि यो गीत सिन्धुली, रामेछाप र ओखलढुंगाका गाउँघर मेलापातमा सुन्न सकिन्छ। गीत यस्तो थियो–
रामेछापको डाँडैडाँडा भर्यो पुलिस दाइले
गढी डाँडा अदालतमा राडी खायो गाईले।
अर्का जनजातिको व्यथा
राजाको हुकुमबाट अदालत छिरेका तिनै न्यायाधीशले आफ्नो अर्दली बनाउन माझकिरात थातथलो भएका तर अरुणपूर्व बसाइँ सरी गएका एक जना किराती युवकलाई बसमा पारेछन्। ती युवक पनि जागिर पाउने लोभमा न्यायाधीशको सेवाचाकरीमा गए।
उनको जीवन सेवाचाकरीमै बित्दै गयो। जागिर भएपछि घरजम बसाउने मिठो सपना बुन्दै जीवन ‘कुमार’ नै बिताउँदै गए। धेरै समयपछि न्यायाधीशले अवकास पाए। ती किरातीको सपना भताभुंग भयो।
युवक किरातीको बैँशालु उमेर ढल्किँदै थियो। केही नलागेपछि उनी पनि न्यायाधीशसँगै उनकै घरदलानको बाटो लागे। अरुणपूर्वको पहाडी भूभाग छिचोल्दै गाउँनेर पुगेपछि न्यायाधीशलाई सुरक्षार्थ दिएको बन्दुकमा किरातीले बारुद भरे।
न्यायाधीशले ‘के गरेको’ भनेर सोधे। बाटोमा जंगली जनावरले आक्रमण गर्ला भनी बारुद भरेको भनेर आश्वस्त बनाए। केही पर पुगेपछि न्यायाधीशलाई पछाडिबाट ताकेर बन्दुकको टिगर दबाए। न्यायाधीशको इहलिला त्यहीँ समाप्त भयो। घरसम्म पुग्न पाएनन्।
अर्दली किरातीले प्रहरी समक्ष आत्मसमर्पण गर्दै आफ्नो बयान दिए। जेलमै उनको पनि इहलिला समाप्त भयो।
आफ्नो भोगचलनको खर्कको झगडाले गुरुङ मुग्लान भास्सिए। उनको कुनै अत्तोपत्तो भएन। न्यायाधीशको इहलीला आफ्नै अर्दलीबाट समाप्त भयो। अर्दली बनेर गएका किरातीको जेलमै जीवन सकियो। यो कथा सुनेका उति बेलाका ओखलढुंगा घर भएका प्रगतिशील गीतकार, गायक तथा संगीतकार रामेश श्रेष्ठले गीत बनाए-
बाहुनको छोराले बाहुनकै छोरालाई ठग्छ
जनजातिको छोराले जनजातिकै छोरालाई ठग्छ
वर्गीय समाजमा वर्गीय प्रेम मात्रै न्यानो र चोखो हुन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
